अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र उपराष्ट्रपतिका उम्मेदवार जेडी भ्यान्सले एउटा अफवाह फैलाए– ओहायो राज्यको स्प्रिङफिल्ड शहरमा बस्ने हेसियन (क्यारेबियन मुलुक हेटीबाट आएर अमेरिकामा रहेका) समुदायले घरपालुवा कुकुर–बिरालोको मासु खाइराखेका छन्। ट्रम्प र भ्यान्सले यस अफवाहलाई राजनीतिक मुद्दा बनाए। तर स्प्रिङफिल्डका पदाधिकारीहरूले यसमा सत्यता नभएको बताए। सञ्चारमाध्यमका खोजले पनि कतैबाट त्यस्तो आरोपलाई पुष्टि गर्न सकेन। यथार्थमा बदनियतपूर्ण आशयले फैलाइएको हल्ला थियो त्यो। अमेरिकी समाजमा ट्रम्पको राजनीतिक उदयसँगै बढेको जातिवादको निरन्तरता थियो यो।
यो घटना बुझ्न स्प्रिङफिल्डको विगत नियाल्नुपर्छ। विगत केही वर्षमा स्प्रिङफिल्डमा अत्यधिक हेसियनहरू आउन थालेका थिए। साठी हजार मानिसको बसोबास रहेको यस शहरमा विगत तीन वर्षमा लगभग २० हजार थपिएका थिए। तर उनीहरू अवैध आप्रवासी थिएनन्, बकाइदा कानूनी प्रक्रिया पूरा गरेर आएका थिए। उनीहरू आधिकारिक रूपमा त्यहाँ श्रम गरिरहेका थिए। कामदार नभएर बन्द गर्नुपर्ने अवस्थामा पुगेका कतिपय उद्योगधन्दालाई उनीहरूको आगमनले फाइदा पुर्यायो तर ट्रम्प समर्थकहरू भने चिढिए।
एक वर्षअगाडि स्प्रिङफिल्डको एउटा घटनाले हेसियनलाई विचलित बनायो। एक जना हेसियनले चलाएको गाडीले एउटा स्कुल बसलाई ठक्कर दिँदा केही विद्यार्थी घाइते भए भने ११ वर्षे एक विद्यार्थीको मृत्यु भयो। हेसियनप्रति रुष्ट भएकाहरूलाई यसले थप मलजल गरिदियो। उनीहरूप्रति आक्रोश थपियो। चालकलाई अनेक आरोप लगाइयो। कतिपयले चालक गैरकानूनी नागरिक भएको आरोप लगाए।
कसैकसैले मादक पदार्थ सेवन गरेर सवारी चालक अनुमति पत्रबिना गाडी चलाएको समेत दाबी गरे। तर प्रहरी अनुसन्धानले यी दुवै आरोप पुष्टि गरेन। अहिले उनी अदालतले कानूनबमोजिम तोकेको सजाय भोगिरहेका छन्। तर दोषीले सजाय पाइसकेपछि पनि यो घटना सेलाएन, किनकि त्यसबाट राष्ट्रपति चुनावको दौरान लाभ हुने देखियो। ट्रम्प र भ्यान्सले यो घटना पटक–पटक आमसभाहरूमा उठाइरहे। अन्ततः मृतक बालकको बाबु स्वयंले सो मुद्दा नउछाल्न आग्रह गरे। आफूहरूभित्रको पीडाको घाउ आलो रहेको भन्दै सो घटनालाई चुनावको मुद्दा नबनाउन र राजनीतिक लाभका लागि प्रयोग नगर्न अपिल गरे।
हेसियनप्रतिको कटाक्षको शृंखलामा भर्खर थपिएको हो, कुकुरबिरालो प्रकरण। शहरका सरकारी पदाधिकारी र मिडियाले यसलाई मिथ्या सूचना भनेर प्रमाणित गर्दासमेत ट्रम्प र उनका समर्थकले आरोप लगाउन छाडेनन्। विभिन्न हिंस्रक धम्कीका कारण स्कुल र सरकारी कार्यालय बन्द गर्नुपर्ने स्थिति आयो। हेसियन व्यापारीहरूले समेत धम्की व्यहोर्नुपर्यो। ट्रम्प र भ्यान्स दुवैलाई मिडियाले निरन्तर पुष्टि गर्न चुनौती दिए भने रिपब्लिकन पार्टीका कतिपय नेताहरूले समेत यस्तो भ्रम फैलाएकोमा निन्दा गरे।
स्प्रिङफिल्डभन्दा करिब अढाई सय किलोमिटर उत्तर–पूर्वमा एउटा सानो शहर छ– एक्रोन। द ग्रेट लेक्समध्येको लेक ईरीभन्दा ६० किलोमिटर दक्षिणमा रहेको यो शहर ‘रबर क्यापिटल’का रूपमा परिचित छ। यहाँ १९औँ शताब्दीको उत्तरार्द्धतिर बीएफ गुडरिच, जनरल टायर, गुडईयर र फायरस्टोनजस्ता प्रख्यात टायर कम्पनी र तिनका मुख्यालय थिए। यसले त्यहाँका स्थानीय बासिन्दालाई रोजगारी दिएको थियो। रोजगारीका निम्ति अन्यत्रबाट उल्लेख्य संख्यामा मानिस बसाइँ सरेका थिए। सन् १९१० देखि १९२० को दशकमा शहरको जनसंख्या तीन गुणा बढेर दुई लाख पुगेको थियो।
विगतमा भएका गाडी, स्टिल, कोइलाका ठूला–ठूला उद्योगहरू बन्द भएर सामाजिक आर्थिक अवस्था बिग्रेका कारण न्यूयोर्कको पश्चिमी भागलगायत मध्यपश्चिमका ८/९ राज्यलाई ‘रस्ट बेल्ट’ भनेर चिनिन्छ। त्यस क्षेत्रका बस्तीमा सिसा फुटेका झ्याल र प्लाइउड ठोकेका पुराना कारखाना, गोदाम र जीर्ण अवस्थाका घरहरूले अमेरिकाको ह्रास भएको औद्योगिक सानको संकेत गर्छ। सन् १९५० देखि १९८० सम्म रस्ट बेल्टका उद्योगहरू बन्द हुँदै गए। बाँकी भएका ठूला उद्योगहरू पनि सस्तो उत्पादनको खोजीमा ८० र ९० का दशकमा क्रमिक रूपमा अन्यत्र बसाइँ सरे।
एक्रोन पनि यो बदलिँदो अवस्थाबाट अछुतो रहेन। यहाँ रहेका ठूला टायर र गाडीका पार्टपुर्जाका कम्पनीहरू बन्द भए। केही नयाँ खुलेका थिए तर नयाँ प्रविधिका कारण तिनलाई पहिलाझैँ धेरै कामदार आवश्यक परेन। आर्थिक अवस्था बिग्रँदै गएपछि कामको खोजीमा अन्यत्र सर्नेको संख्या बढ्यो। फलस्वरूप, एक्रोन र सेरोफेरोको जनसंख्या घट्न थाल्यो।
रस्ट बेल्टको अधिकांश शहरमा अत्यन्त जाडो हुन्छ। जागिरबाट निवृत्त भएका र बुढ्यौली लागेका मान्छे पनि फ्लोरिडा, टेक्सस र एरिजोनाजस्ता न्यानो राज्यतिर सर्न थाले। अर्थतन्त्र र जनसंख्याको आकार घट्दै जानु शहरको अवसानको शुरूआती संकेत हो।
लेक ईरीको किनारमा रहेको क्लिबल्यान्ड शहर २००७/०८ तिर नेपालबाट पुनर्स्थापित भएर अमेरिका पुगेका कतिपय भुटानी शरणार्थीहरूको आश्रयस्थल थियो। पहिले क्लिबल्यान्डमा पुनर्स्थापित र अन्यत्रबाट सरेका भुटानीहरू क्रमिक रूपले एक्रोनतिर विस्तारित हुँदै गए। झन्डै २० वर्ष अर्काको देशमा शरणार्थी भएर बाँचेकालाई अमेरिकाको उत्तर–पूर्वी ओहायोले नयाँ पहिचान दियो।
नौलो देश, नौलो संस्कार र नौलो संस्कृतिमा घुलमिल हुन समय लाग्नु स्वाभाविक हो। एक्रोनमा बसोबासको थालनी गरेका भुटानीहरूलाई त्यहाँका स्थानीयले चासोसाथ लिएका थिए। उनीहरू त्यहाँ अब ‘नेपाली’ भनेर चिनिन थाले। भुटानी शरणार्थी समुदायभित्रै पनि आफूलाई नेपाली भनेर चिनाउने या भुटानी भन्नेमा दुबिधा होला।
उनीहरू एक्रोन शहरका खाली र जीर्ण भइराखेका ठाउँमा बस्न थाले। प्राय: आप्रवासीहरू कुनै पनि शहरका यस्तै ठाउँबाट आफ्नो नयाँ जीवन शुरू गर्छन्। त्यहाँ बस्दा घरभाडा सस्तो पर्छ। प्रायः आप्रवासीहरू एकअर्कालाई सहयोग हुन्छ भनेर नयाँ ठाउँमा आफ्नै समुदाय वरपर बस्न रुचाउँछन्। बिस्तार–बिस्तार पसल व्यापार खुल्दै जान्छ र ठाउँले चोला फेर्छ। एक्रोनको नर्थहिल भन्ने छरछिमेकको रूप पनि यसरी नै परिवर्तन भयो।
भुटानीहरू अमेरिका पुगेर आफ्नो दैनिकी र भेसभुसा परिवर्तनको क्रममा थिए। तन्नेरीले छिटै अमेरिकी तौरतरिकका अपनाए पनि पाकालाई समय लाग्यो। धोती लगाएका, पछ्यौरी ओढेका, टाउकोमा ऊनको माकल टोपी लगाएकाहरूले हिउँमा खेलेको देख्दा एक्रोनबासीहरू अनौठो मान्थे। शरणार्थीहरू हिँडेरै अफिस गएको देख्दा पनि उनीहरू अनौठो मान्थे। जाडोको परवाह नगरी शरणार्थीहरू टाढा टाढासम्म हिँड्थे।
भुटानीहरूको पहिलो प्रभाव हाइस्कुलमा देखियो। भुटानी विद्यार्थीहरू स्कुले प्रतियोगितामा विजेता भए। त्यसबाहेक केही, पढाइमा पनि राम्रो नतिजा ल्याए। सोही शहरमा अवस्थित युनिभर्सिटी अफ एक्रोनमा उनीहरूले छात्रवृत्ति पाए। सरकारी, गैरसरकारी, व्यापारलगायत सबै क्षेत्रमा उनीहरूको मिहिनेतको तारिफ हुन थाल्यो।
केहीले गैरसरकारी संस्था खोलेर समुदायमा सघाउन थाले भने कसैले ‘अर्बन फार्मिङ’को शुरूआत गरे। साना रेस्टुरेन्ट र ग्रोसरी स्टोरजस्ता व्यापार सञ्चालन गरे। २००० को शुरूआततिर नेपालीलाई चाहिने खाना र मरमसला लिनकै लागि एक घण्टा पर क्लिबल्यान्ड जानुपर्थ्यो, अब आफ्नै छरछिमेकमा उपलब्ध हुन थाल्यो। स्थानीय अमेरिकन पनि उनीहरूको पसलमा किनमेलका लागि आउन थाले। नेपाली खाना, विशेषगरी ममले एक्रोनबासीको जिब्रोमा स्वाद बसायो।
बिस्तारै भुटानीहरू स्थानीय निकायको कार्यालयदेखि प्रहरी सेवामा पनि सरिक भए। व्यक्तिगत उन्नति मात्र होइन, ‘यो मेरो समुदाय हो’ भन्ने भावना र पहिचान शहरका विभिन्न क्षेत्रमा स्थापित गरे। भुटानी समुदायको काम र लगावले शहरका अन्य बासिन्दा, स्थानीय पदाधिकारीदेखि राजनीतिज्ञहरूको ध्यान खिच्यो।
‘आप्रवासीहरूले बनेको देश’को पहिचान बनाएको छ अमेरिकाले। त्यही पहिचानमा भुटानी पनि समेटिए। बिस्तारै अन्य शहरमा रहेका भुटानी शरणार्थी समुदायका मान्छे पनि एक्रोन बसाइँ सरे। आफ्ना नातागोता र भुटानी समुदायले मात्र होइन, पूरा एक्रोनले उनीहरूलाई सहर्ष स्वागत गर्यो।
प्यू रिसर्चको तथ्यांकअनुसार एक्रोनमा अहिले पाँच हजार नेपाली बस्छन्। नेपाली मूलका भुटानीको पहिचान विभिन्न रिपोर्ट र तथ्यांकमा ‘नेपाली’ उल्लेख छ। सन् २००० को शुरूआतसम्म एक्रोनमा औँलामा गन्न सकिने नेपाली परिवार थियो। ती परिवार पनि त्यहाँ अवस्थित विश्वविद्यालय पढ्ने क्रममा पुगेका थिए।
शरणार्थी पुनर्स्थापनाको सफल कार्यक्रमको अन्तर्राष्ट्रिय नमूना बनेको छ आज एक्रोन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूले यसबारे विस्तृत रिपोर्ट तयार पारेका छन्।
तर त्यही अमेरिका, त्यही राज्य र त्यही समाजमा पनि झन्डै उस्तै परिवेशमा अमेरिकाको शरणमा पुगेकाहरूलाई विभेदी व्यवहार गरेको देख्दा अनौठो लाग्न सक्छ। तर यसको पत्रपत्र केलाउने हो भने विभेद बुझ्न सजिलो हुन्छ।
विगतको राष्ट्रपतिको चुनावको नतिजा हेर्दा ओहायोको मत परिणाम अति नै महत्त्वपूर्ण रहँदै आएको छ। त्यही कारण यसलाई ‘ब्याटलग्राउन्ड’ राज्य मानिन्छ। यो राज्यको १८ इलेक्टोरल भोट जित्नेले प्रायः राष्ट्रपति पद जितेको इतिहास छ। कुनै पनि रिपब्लिकन उम्मेदवारले शुरूआतदेखि ओहायो नजिती राष्ट्रपति पद जितेको इतिहास छैन। १९६४ देखि २०२० सम्म जसले ओहायो जित्यो, त्यही उम्मेदवारले राष्ट्रपतिमा जितेको छ। २०२० मा भने जो बाइडेन ओहायो नजितीकनै ह्वाइट हाउस भित्रिए।
ट्रम्पले किन स्प्रिङफिल्डबारे यस्तो दाबी गरे, तर एक्रोनबारे मौन बसे? यसको जवाफ स्प्रिङफिल्ड र एक्रोनको विगतका चुनावी नतिजाले बताउँछ। एक्रोन पहिलादेखि नै लिबरल शहर हो भने स्प्रिङफिल्ड कन्जर्भेटिभ। २०२० को चुनावमा एक्रोन शहर भएको समिट काउन्टीमा ट्रम्पले ४५ प्रतिशत र बाइडेनले ५४ प्रतिशत मत ल्याएका थिए भने स्प्रिङफिल्ड भएको क्लार्क काउन्टीमा बाइडेनले ३८ प्रतिशत र ट्रम्पले ६१ प्रतिशत मत। त्यस्तै, २०१६ मा समिट काउन्टीमा डेमोक्रेटिक उम्मेदवार हीलरी क्लिन्टनले ५२ प्रतिशत र ट्रम्पले ४४ प्रतिशत मत ल्याए। क्लार्क काउन्टीमा हीलरीले ३८ प्रतिशत र ट्रम्पले ५८ प्रतिशत मत। आफ्नो भारी समर्थकका अगाडि नेताहरू जस्ता झूट पनि बोल्न सक्छन्।
ट्रम्पले कमला ह्यारिससँगको बहसमा ३० तथ्यहीन कुरा बोलेको भनेर विभिन्न न्युज मिडियाका फ्याक्ट–चेकरले बताए। हेसियनबारेको त्यस्तो झूट ट्रम्पले सो बहसको दौरान पनि उठाएका थिए।
ट्रम्प र भ्यान्सले आफ्ना मतदाताबीच कुकुरबिरालोवाला अफवाहसँगै अन्य झूटसमेत स्थापित गर्न कसिएर लागे, किनकि उनीहरूलाई हरहाल ओहायो जित्नुछ। अब त त्यहाँ चुनाव हुन महिना दिन पनि बाँकी छैन। ‘अर्ली इलेक्सन भोटिङ’ र ‘मेल इन भोटिङ’ त कतिपय ठाउँमा शुरू नै भइसक्यो।