Thursday, January 23, 2025

-->

अन्तर्वार्ता
‘कलासम्पदा सकिएको दिन काठमाडौँ शहर रित्तो लाग्नेछ’

'नेपाली मन्दिरमा देवीदेवता जीवित जस्ता लाग्छन्। तिनै मूर्ति अमेरिकामा काँचको बाकसभित्र सजाइएका हुन्छन्। हाम्रा मूर्तिहरूलाई त्यहाँ थुनेर राखेजस्तो लाग्छ, जसमा जीवन छैन।'

‘कलासम्पदा सकिएको दिन काठमाडौँ शहर रित्तो लाग्नेछ’

अमिताभ जोशीले निर्माण गरिरहेको डकुमेन्ट्री ‘ह्याभ यु सिन माई गड्स’ केही दिनअघि काठमाडौँमा सीमित दर्शकमाझ प्रदर्शन गरिएको थियो। डकुमेन्ट्री नेपालबाट हराएका मूर्ति फिर्ता गर्ने अभियानमा केन्द्रित छ। उनको ‘टासिज टर्बाइन’ पनि प्रदर्शन भइसकेको छ। उनले २०१२ मा ‘प्रिन्सेस ग्रेस जस्टफिल्म्स ग्रान्ट’, २०१३ मा ‘द सेली एन्ड डोनाल्ड रुबिन फाउन्डेसन ग्रान्ट’ र २०१४ मा ‘सेन्टर फर एसियन अमेरिकन मिडिया डकुमेन्ट्री फन्ड’ पाएका थिए। जोशीसँग उनको पछिल्लो डकुमेन्ट्रीमाथि उकालोका लागि आमोद प्याकुरेल किरण दहालले गरेको कुराकानीः

काठमाडौँको मूर्तिप्रति तपाईंको आत्मीयता कसरी बढ्यो?
देवीदेवता र मूर्तिप्रति मेरो चासो बच्चैदेखि थियो। म काठमाडौँमा जन्मिए पनि अमेरिकामा हुर्किएँ। त्यहाँ हाम्रो घरको पूजा कोठामा विभिन्न देवीदेवताका मूर्ति थिए। बुवाआमाले हरेक दिन पूजा गरेको देख्थेँ। स्कुलले विभिन्न संग्रहालयमा घुमाउन लैजाँदा शिवजीलगायत विभिन्न देवीदेवताको मूर्ति देख्थेँ। त्यो देखेर मलाई अचम्म लाग्थ्यो। पछि यसबारेमा बुझ्न थालेँ। अमेरिकामा रुबिन संग्रहालय छ जहाँ थुप्रै नेपाली मूर्ति छन्। उनीहरूको ध्यान मुख्यतः हिमालयन आर्टमा छ। जताततै नेपाली मूर्ति देख्न थालेपछि मेरो दिमागमा कुरा खेल्न थाल्यो– यहाँ नेपाली मूर्ति कसरी आइपुगे होलान्! सन् २०१६ देखि मलाई यसप्रति एकदम चाख बढ्यो। त्यस बेलासम्म लैनसिंह बाङ्देलको नाम पनि सुनेको थिएँ, उहाँको प्रख्यात किताब ‘स्टोलन इमेजेज अफ नेपाल’बारे पनि थाहा थियो।

हराएका मूर्तिका सम्बन्धमा डकुमेन्ट्री बनाउनुपर्छ भनेर पहिलादेखि नै सोचिरहेको थिएँ। कोभिड माहामारी शुरू हुनुभन्दा अगाडि २०२० तिर हुनुपर्छ, नेपालका विभिन्न पत्रपत्रिकाले मूर्ति फिर्ता ल्याएका सम्बन्धमा समाचार लेखिरहेका थिए। मैले सोचेँ, यस विषयमा अवलोकनात्मक वृत्तचित्र तयार पार्छु। संग्रहालयबाट उठाएर ल्याएदेखि नेपालको मन्दिरमा पुनर्स्थापना गर्दासम्मका दृश्य देखाउने मेरो योजना थियो। तर त्यो अलि अप्ठ्यारो भयो। किनभने संग्रहालयहरू त्यसका लागि तयार भएनन्। त्यसपछि मूर्ति पुनर्स्थापनालाई केन्द्रमा राखेर नै अहिलेको डकुमेन्ट्री बनाएको हुँ।

तपाईंले नयाँ डकुमेन्ट्रीमा मूर्ति फिर्ता गर्ने विषय उठाउनुभयो। यो विषय रोज्नुको कारण के हो?
मलाई ‘भिजुअल आर्टस्’मा काम गर्ने रुचि पहिलादेखि नै थियो। हाइस्कुलमा पढ्दा मैले ‘माया’ कार्यक्रम चलाउँथे। त्यसमा थ्रीडी एनिमेसन गरिन्थ्यो। फोटोग्राफी पनि गर्थें। कलेजमा मैले ‘इन्टरनेसनल रिलेसन’ पढेँ। यो विषयमा मेरो लगाव भए पनि करिअर यसमा बनाउन मन लागेन। म अमेरिकामा बसेर फिल्म मार्फत नेपाल र अमेरिकी कल्चर जोड्न सक्छु। आफूलाई पोख्न पनि सक्छु। अमेरिकामा हुर्केको र नेपाल पनि आइरहने हुनाले विषयवस्तुलाई हेर्ने मेरो दृष्टिकोण अलि भिन्न होला। दुवैतिर बसेर काम गर्न मलाई सहज पनि हुन्छ।

नेपालबाट हराएको मूर्तिबारेको डकुमेन्ट्री ‘ह्याभ यु सिन माई गड्स?’ केही दिन अगाडि काठमाडौँमा देखाइयो। यस्ता विषयमा डकुमेन्ट्री बनाउन किन जरूरी छ?
काठमाडौँले सांस्कृतिक सम्पदाको ठूलो क्षति व्यहोरेको छ। चोरी अथवा अव्यवस्थित शहरीकरणलगायत त्यसका विभिन्न कारण होलान्। यहाँ सांस्कृतिक सम्पदालाई जोगाएर विकास गरेको देखिँदैन। त्यसकारण अब मानिसले सोच्नुपर्छ। अहिले मूर्ति फिर्ता हुन थालेको छ। फिर्ता भएका मूर्तिको व्यवस्थापनको सन्दर्भमा पनि कहाँ राख्ने, कसरी राख्ने भन्नेमा प्रश्न छ। हाम्रा अमूल्य सम्पदा जोगाउन अब युवा पुस्ताले पनि चासो देखाउन जरूरी छ। मैले यसै सिलसिलामा डकुमेन्ट्री बनाएको छु, तर त्यो पूरा भएको छैन। बन्दै गरेको यो डकुमेन्ट्री सीमित मानिसका बीच देखाएँ। पूरै बनिसकेपछि विभिन्न ठाउँमा देखाउने योजना छ।

डकुमेन्ट्री पूरा नभई सीमित मानिसलाई हतारमा देखाउनुपर्ने जरूरत किन पर्‍यो?
यस क्षेत्रमा लागेका केही मानिसलाई प्रारम्भिक रूपमा देखाएर उहाँहरूको प्रतिक्रिया लिने मेरो मनसाय हो। एक चरणको काम भइसकेको छ। मैले प्रस्तुत गरेको विषयलाई सांस्कृतिक सम्पदा जोगाउन लागेका मानिसले कसरी बुझ्छन् भनेर मैले पनि थाहा पाउनुपर्छ। मूर्ति फिर्ता ल्याउन केही–केही मानिसले ठूलो मेहनत गरिरहनुभएको छ। उहाँहरूबाट राम्रा प्रतिक्रियाहरू पाएको छु। यसबाट डकुमेन्ट्रीलाई थप समृद्ध बनाउन मलाई सहयोग पुगेको छ। उहाँहरूले दिएका प्रतिक्रिया अत्यन्त सिर्जनशील छन्। धेरैजसोको प्रतिक्रिया सकारात्मक छ। कतिपय मसिना कुराहरूलाई सुधार गर्नुपर्ने छ। पूरा डकुमेन्ट्रीमाथि नकारात्मक प्रतिक्रिया आएको छैन।

हराएका मूर्ति फिर्ता ल्याउने र त्यसको व्यवस्थापन गर्ने सन्दर्भमा राज्यको भूमिका कस्तो पाउनुभयो?
आजसम्म सरकार र राज्यका संयन्त्रले मूर्ति फिर्ता ल्याउन सक्रिय भूमिका खेलेका छैनन्। कतिपय ‘एक्टिभिस्ट’ र पत्रकारले मूर्तिका बारेमा राज्यलाई जानकारी दिएका छन्। तर फिर्ता ल्याउने प्रक्रिया लम्बेतान र झन्झटिलो हुने रहेछ। औपचारिक पत्र बनाउनेदेखि विभिन्न मन्त्रालयसम्म धाउनुपर्ने भएकाले हराएका मूर्ति नेपालमा ल्याउन लामो समय लाग्छ। हामीले एउटा प्रक्रियाबाट मूर्ति फिर्ता ल्याउन पनि थालिसक्यौँ। अब राज्य थप सक्रिय बन्नुपर्छ। हराएका मूर्ति कहाँ र कुन अवस्थामा छन् भनेर थाहा पाउन राज्यले स्रोतसाधन खर्च गर्नुपर्छ। 

डकुमेन्ट्री बनाउने सिलसिलामा धेरै स्थानीयसँग पनि कुराकानी भयो। अधिकांशलाई यसबारेमा चासो छैन। उनीहरू ‘अब हराइहाल्यो, छाडिदिऊँ’, ‘पुरानो कुरा हो, अब धेरै कोट्याउनुहुँदैन’, ‘गइसकेको कुरा, अब किन उचाल्नु’ भन्ने प्रतिक्रिया दिन्छन्। तर त्यसरी छाड्न मिल्दैन। मूर्ति हराउनु समाज र संस्कृतिका लागि ठूलो नोक्सानी हो। मूर्ति भेटियो भने अब त्यसलाई पुनर्स्थापित गर्न लाग्ने खर्च आफ्नो काँधमा आइपर्ने हो कि भन्ने डर स्थानीय वासिन्दालाई रहेछ। उमामहेश्वरको मूर्ति फिर्ता भयो, तर पहिलेकै स्थानमा राख्न सम्भव भएन र छाउनीको संग्रहालयमा लैजानुपर्‍यो। राज्यले अवस्था हेरेर कुन मूर्ति कता राख्ने भनेर निर्क्योल गर्नुपर्छ। नेपालबाट हराएका सबै मूर्ति एकाएक फिर्ता गर्नुपर्छ भन्ने पनि होइन। केही–केही मूर्ति अरू देशमा रह्यो भने पनि नेपाललाई विभिन्न कोणबाट फाइदा हुन्छ। जस्तो, अमेरिकामा केही मूर्ति रहे भने त्यहाँका मान्छे संग्रहालय जाँदा नेपालका चिजबिज पनि देख्न पाउँछन्। 

तपाईंले डकुमेन्ट्री बनाउँदा हराएका मूर्ति सम्बन्धमा अनुसन्धान गर्नुभयो होला। कतिपयले पूर्वराजपरिवारमाथि पनि शंकाको नजरले हेर्छन्। नेपालबाट मूर्ति कसरी हराउने रहेछन्, व्यक्तिगत रूपमा कि संस्थागत रूपमा चोरी भइरहेको रहेछ? 
यो प्रश्नको स्पष्ट जवाफ मसँग छैन। चोरीको प्रक्रियामा यहीँको समुदाय पनि संलग्न छ कि जस्तो लाग्छ। यो अपराधमा संलग्न हुनेहरूको लामो लहरो होला। कसलाई चोरको आरोप लगाउने हो, मलाई थाहा छैन। कसैकसैले स्थानीयको सहभागिता छ भन्लान्, तर उनीहरूले त्यो बेचेर ठूलो रकम आर्जन गर्लान् जस्तो लाग्दैन। संस्थागत रूपमा चोरी पैठारी भइरहेको दाबी गर्न मसँग कुनै प्रमाण छैन। धेरैले यसमा राजपरिवारको सहभागिता थियो भन्ने शंका गर्छन्, तर मलाई यसबारेमा थाहा छैन। चोरी निकासीमा शक्तिशाली मानिसको हात छ भन्ने चाहिँ सजिलै अनुमान गर्न सकिन्छ। नत्र ठूलो संख्यामा मूर्तिहरू कसरी बाहिरिन्छन्? एक–दुई वटा हराएको हैन नि, हजारौँ बहुमूल्य सम्पदा हराएका छन्। यहाँ क्रेन ल्याएर मूर्ति उखेलिएका छन्। सामान्य मान्छेले क्रेन ल्याएर, मूर्ति उखालेर लैजान त पक्कै सम्भव नहोला!  

काठमाडौँ र मूर्तिको सम्बन्धबारे पनि सोच्नुहुन्छ होला। कुनै दिन काठमाडौँबाट सबै मूर्ति हराउने हो भने यो शहर कस्तो रहला? 
काठमाडौँ र यहाँका सम्पदालाई अलग राखेर हेर्न सकिँदैन। मूर्तिहरू काठमाडौँका अभिन्न अंग हुन्। काठमाडौँबाट सबै सम्पदा हराउने हो भने यहाँ के बाँकी रहन्छ र? हामीले धेरै कलासम्पदा गुमाउँदा पनि अझ धेरै बाँकी छन्। ती पनि हराएको दिन यो शहर रित्तो लाग्नेछ।  

काठमाडौँबाट सयौँ मूर्ति हराएका छन्। ती सबै फिर्ता ल्याउन सम्भव छ?
अहँ, छैन। कुनै–कुनै मूर्ति व्यक्तिगत संकलनमा पनि राखिएका छन्, जसबारे हामीलाई थाहा पनि छैन। अहिलेसम्म केही संग्रहालयमा भएका मूर्तिबारे थाहा भयो। अझै अरू कति संग्रहालयमा पनि नेपालबाट चोरिएका होलान् जसबारे हामी अनभिज्ञ छौँ। संग्रहालयहरू पारदर्शी हुने हुनाले उनीहरूसँग नेपाली मूर्ति भए/नभएको बारेमा थाहा पाउन सकिएला।

कहिलेकाहीँ अमेरिकातिर संग्रहालय घुम्दै गर्दा नेपाली मूर्ति देख्नुभयो भने कस्तो लाग्छ? 
अमेरिकाका संग्रहालयमा पुग्दा नेपाली मूर्ति भेटिन्छन्। रुबिन संग्रहालयमा पनि नेपाली देवीदेवताका मूर्ति धेरै छन्। तर त्यहाँ देख्दा अलिक अप्ठ्यारो लाग्छ। नेपालका मन्दिरका मूर्तिमा श्रद्धालुहरूले फुलपाती चढाउँछन्, टीका लगाइदिन्छन्, अगरबत्ती बाल्छन्। त्यसकारण नेपाली मन्दिरमा देवीदेवता जीवित जस्ता लाग्छन्। तिनै मूर्ति अमेरिकामा काँचका बाकसभित्र सजाइएका हुन्छन्। हाम्रा मूर्तिहरूलाई त्यहाँ थुनेर राखेजस्तो लाग्छ, जसमा जीवन छैन। 

अमेरिका बसेर सिनेमाको काम गर्दा तपाईंले नेपाली डकुमेन्ट्री र सिनेमाहरू पनि हेरिराख्नुभएको होला। तिनीहरूले उठाएका विषयवस्तु कस्तो लाग्छ?
नेपाली फिल्म र डकुमेन्ट्री हेरिरहेको हुन्छु। मलाई पनि नेपालमा काम गर्न मन छ। विगत केही वर्षमा नेपाली फिल्मले उठाएको आवाज एकदम ‘युनिक’ लाग्छ। मैले भर्खर मीन भामले बनाएको ‘साम्बाला’ हेरेँ। फिल्म निर्माताहरू आफ्नो कुरामा असाध्यै ‘कन्फिडेन्ट’ छन् भन्ने राम्रो उदाहरण हो यो। दीपक रौनियारका सिनेमा पनि हेरेको छु। उनले नेपालका महत्वपूर्ण विषयलाई उठाएका छन्। 

फिल्म क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ। प्राविधिक कुरामा समस्या हुनु एकदम सामान्य हो। किनभने हाम्रोमा ‘फन्डिङ’ छैन। सरकारको सहयोग पनि आवश्यक पर्छ, यहाँ त्यो पनि छैन। अनि हाम्रा कतिपय डकुमेन्ट्री बाहिरका मान्छे नेपाल आएका कारण हामी पीडित हुन्छौँ भन्ने खालका छन्। यहाँ बन्ने डकुमेन्ट्रीले अलि व्यापक क्षेत्र समेट्न सक्नुपर्छ।

फिल्म क्षेत्रमा कसरी प्रगति गर्न सकिन्छ भनेर दक्षिण कोरियालाई हेरे पुग्छ, उसले एकदम राम्रो प्रगति गरेको छ। कोरियालीहरूले बनाएका फिल्म र डकुमेन्ट्री संसारभर हेरिएका छन्। उनीहरू स्वदेशी दर्शकमा मात्र सीमित छैनन्। पारासाइट हेर्नुस् न, अस्कर जित्यो। हामीले पनि नेपाली दर्शकलाई मात्र सोच्नुपर्दैन। हामी राम्रो ‘स्टोरी टेलर’ हौँ, हाम्रा कथा विश्वले मनपराउन सक्छ। नेपाली डायस्पोरा छन्, उनीहरूका कारण पनि नेपाली फिल्म ‘प्रमोट’ गर्न सहयोग पुग्छ। सिनेमा हेर्न जाने दर्शक पनि बढेका छन्, साम्बाला हेर्न जाँदा दर्शकहरू भरिभराउ थिए।

तपाईंले अहिलेसम्म डकुमेन्ट्री बनाउनुभयो, फिल्म पनि बनाउने सोच छ?
त्यसबारेमा सोचिरहेको छु। मैले केही ‘स्क्रिप्ट’ पनि लेखेको छु।  


सम्बन्धित सामग्री