हालै मात्र बहुराष्ट्रिय चुरोट कम्पनी फिलिप मोरिस इन्टरनेसनलले आफ्नो स्वामित्वमा रहेको एउटा सहायक कम्पनी बिक्री गर्यो। व्यापारको दुनियाँमा यस्तो खालको कारोबार भइरहने हुनाले यो सामान्यतया खासै चर्चायोग्य होइन। तर यो कारोबार त्यति सामान्य पनि होइन।
बिक्री गरिएको सहायक कम्पनी भेक्ट्युरा नामको एउटा औषधि उत्पादक थियो। यसले प्रमुखत: दमको औषधि उत्पादन गर्नेगर्छ। फिलिप मोरिस इन्टरन्यासनलले यो कम्पनीलाई सन् २०२१ मा एक अर्ब ३६ करोड डलरमा किनेको थियो। केही साताअघि बिक्री गर्दा भने भेक्ट्युराको बिक्री मूल्य मात्रै २० करोड डलर पर्न आयो। तीन वर्षको अवधिमै यो कारोबारमा फिलिप मोरिसले एक अर्ब डलरभन्दा धेरै नोक्सान बेहोर्नु पर्यो।
एउटा चानचुने कम्पनी भएको भए यो हदको नोक्सानीले कम्पनीको आर्थिक अवस्था शिथिल भइसक्ने थियो। तर फिलिप मोरिस चानचुने कम्पनी होइन। यो संसारकै धेरै मुनाफा कमाउने कम्पनीमध्ये एक हो। फिलिप मोरिस इन्टरन्यासनलका उत्पादनहरू संसारका सबैजसो देशमा बिक्री वितरण हुने गर्दछन्। विश्वभर परिचित मार्लबोरो, बेन्सन एन्ड हेजेजलगायत ब्रान्डका चुरोट उत्पादन तथा वितरण गर्ने १६० अर्ब डलर बराबरको यो कम्पनीले गतवर्ष मात्रै सात अर्ब डलरभन्दा धेरै मुनाफा कमायो।
फिलिप मोरिसले सन् १९२४ देखि अनवरत रूपमा संसारभर मार्लबोरो चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। बिसाैँ शताब्दीको शुरूआतसँगै संसारभर चुरोटको औद्योगिक उत्पादन, बजारीकरण तथा खपत कैयौँ गुणा बढ्यो। यसो हुनुमा फिलिप मोरिसको महत्त्वपूर्ण भूमिका थियो। तर फिलिप मोरिसले संसारभर चुरोटको उत्पादन, बजारीकरण र खपत बढाउने काम मात्रै गरेन। यो कम्पनीले चुरोटलाई हाम्रो समाज र संस्कृतिको अभिन्न अंग बनाउन अभूतपूर्व भूमिका खेल्यो। गएको शताब्दीमा चुरोट पिउने बानीलाई ‘कुल’ बनाउन फिलिप मोरिसको ठूलो भूमिका रह्यो।
बिसाैँ शताब्दीको शुरूआतसम्म चुरोट आममानिसको सहज पहुँचमा थिएन। सीमित रूपमा उपलब्ध चुरोट सैनिकको मनोबल उच्च गराउन रासनका रूपमा दिने गरिन्थ्यो। त्यसैले युद्धबाट घर फर्किने सैनिकले अक्सर ओठमा चुरोट च्यापेर घर आउने गर्थे। फिलिप मोरिसले यही ऐतिहासिक घटनाक्रमलाई एक सांस्कृतिक बिम्बका रूपमा भरमग्दुर प्रयोग गर्यो। चुरोट पिउनुलाई साहसी व्यक्तिको आदतका रूपमा बजारीकरण गर्यो। यस्तो गर्न फिलिप मोरिसलाई अमेरिकी मिडिया तथा विज्ञापन एजेन्सीले सहयोग गरे।
मध्यपश्चिम अमेरिकाका सुन्दर पहाडी फाँटमा जिन्स् सर्ट तथा काउबोय ह्याट लगाएर मार्लबोरो चुरोट तान्दै घोडामा सवार एक आकर्षक र साहसी अधबैँसे पुरुष सायद गएको शताब्दीकै सबैभन्दा प्रख्यात मिडिया पात्रमध्ये एक थियो। विश्वभर ‘मार्लबोरो म्यान’ले परिचित यो पात्र सन् १९५४ तिर न्युयोर्कको लियो बर्नेट नामको एजेन्सीले फिलिप मोरिसका लागि सिर्जना गरेको मिडिया क्याम्पेनको उपज थियो।
यो काल्पनिक ‘मार्लबोरो म्यान’को प्रयोग गरेर फिलिप मोरिसले चुरोटलाई ‘रोमान्टिसाइज’ गर्यो र चुरोटको आदतलाई स्वतन्त्रता र साहसको प्रतीकका रूपमा चित्रण गर्यो। अन्य चुरोट कम्पनीले पनि फिलिप मोरिसकै सिको गरेर मार्लबोरो म्यानजस्ता पात्र खडा गरेर बजारीकरण गर्ने तरिका अपनाए। नेपालमा त्यही मार्लबोरोका त्यस्तै खाले विज्ञापन अखबारमा सन् २००० ताका प्रशस्त छापिए।
चुरोटको विज्ञापनमा बन्देज लगाइनुअघि नेपाली चुरोट कम्पनीले पनि यस्तै खालका ‘साहसी’ पात्र सिर्जना गरेर विज्ञापन बनाउने गर्थे। एउटा नेपाली चुरोट ब्रान्डले त ‘साहसीको प्रतीक’ ट्यागलाइन नै प्रयोग गर्ने गर्थ्यो।
व्यापक बजारीकरण तथा रचनात्मक मिडिया क्याम्पेनको बलमा बिसाैँ शताब्दीमा फिलिप मोरिस आफ्ना उत्पादनलाई संसारका हरेकजसो देशमा पुर्याउन सफल भए। पहिले सीमित व्यक्तिका लागि मात्रै उपलब्ध चुरोट जनमानससम्म पनि सहजै उपलब्ध हुन लागेसँगै चुरोटको खपत तीव्र रूपले बढ्दै गयो। यससँगै फिलिप मोरिसको आर्थिक–व्यावसायिक सफलता पनि चुलिँदै गयो।
तर बिसाैँ शताब्दीको उत्तरार्धतिर भने फिलिप मोरिसलगायत चुरोट कम्पनीको बढ्दो व्यावसायिक सफलताको ग्राफमा धक्का लाग्न थाल्यो। चुरोटको खपतको अत्यधिक वृद्धिसँगै फोक्सोको क्यान्सर पनि उत्तिकै बढ्दै थियो। सन् साठीको दशकतिर आएर चुरोट फोक्सोको क्यान्सरको कारण हो भन्ने वैज्ञानिक प्रमाण बलियो हुँदै गयो। यससँगै सन् साठीको बीचतिर अमेरिकी सरकारी निकायले चुरोटका हानिबारे प्रतिवेदन नै प्रकाशित गरे। सार्वजनिक मिडिया तथा समाजमा चुरोटको नकारात्मक स्वास्थ्य असरबारे चर्चा बढ्दै गयो।
सन् साठी तथा सत्तरीको दशकमा फिलिप मोरिसलगायत चुरोट कम्पनीले यस्ता रिपोर्टको खण्डन गर्ने भरमग्दुर प्रयास गरे। तर चुरोटको प्रतिकूल स्वास्थ्य प्रभावबारे वैज्ञानिक प्रमाण जुट्ने क्रम रोकिएन। फोक्सोको क्यान्सरका साथै चुरोटका कारणले हृदयाघात, स्ट्रोक तथा अन्य रोग लाग्ने वैज्ञानिक प्रमाण अकाट्य बन्दै गयो।
वर्तमानमा मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने प्रमुख तीन कारकमध्ये चुरोट तथा सुर्तीको प्रयोग एक हो। फोक्सो, मुटु तथा अन्य अंगमा लाग्ने नसर्ने रोगको हिस्सा आकासिनुमा यसको प्रमुख भूमिका छ। चुरोट तथा सुर्तीको प्रयोगले संसारभर बर्सेनि ८० लाखभन्दा धेरै मानिसको अकालमा मृत्यु हुने गर्दछ। गएको शताब्दीमा मात्रै सुर्ती चुरोटको प्रयोगले १० करोडभन्दा धेरै मानिसको अकालमा मृत्यु भएको अनुमान छ।
त्यसैले विगतका केही दशकमा चुरोट कम्पनीलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ। फिलिप मोरिसजस्ता कम्पनीलाई आफ्ना प्राणघातक उत्पादन सजिलै बजारीकरण गर्न दिनुहुँदैन भन्ने आवाज बलियो हुँदै गएको छ। संसारका धेरै देशमा चुरोट तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न बन्देज लगाइएको छ।
चुरोट तथा सुर्तीजन्य पदार्थलाई हेर्ने दृष्टिकोणमा समाजमा आएको यो परिवर्तनले यस्ता कम्पनीलाई अप्ठ्यारोमा पारेको छ। यसै कारण संसारभर फिलिप मोरिसजस्ता कम्पनीले आफ्नो व्यावसायिक रणनीति नै बदल्न बाध्य भएका छन्। नयाँ रणनीति अनुरूप यी कम्पनी आफ्नो ‘इमेज’ तथा परिचय बदल्न उद्धत छन्। फिलिप मोरिसले त त्यो रणनीतिक दिशालाई ‘धुवाँरहित भविष्य’ नामको नारा नै दिएको छ। भेक्ट्युराजस्ता औषधि कम्पनीको खरिद यही रणनीतिअनुरूप गरिएको थियो।
अहिले फिलिप मोरिस एक चुरोट कम्पनीको साथसाथै चुरोटजन्य रोगको औषधि उत्पादक पनि हुन चाहन्छ। तर भेक्ट्युराको अनुभवले देखाएजस्तै फिल्म मोरिसजस्ता कम्पनीको यो ‘इमेज मेकओभर’ गर्ने काम त्यति सजिलै फत्ते हुनेवाला छैन।
आजभोलि चुरोट कम्पनीसँगको उठबसलाई समाजको विभिन्न तप्कामा निको मानिँदैन। स्वास्थ्य क्षेत्रका धेरै व्यक्ति तथा संस्था त यी कम्पनीसँग कुनै पनि हिसाबले जोडिन सजिलो मान्दैनन्। फिलिप मोरिसले औषधि उत्पादनमा चाहेको प्रवेशलाई अत्यन्तै महत्त्वपूर्ण स्टेकहोल्डरले निको मानेनन्।
दम, क्यान्सरलगायत छातीरोगबाट पीडितका समुदाय/समूहले नै फिलिप मोरिस चुरोटका साथसाथै फोक्सोको रोगका औषधि उत्पादनमा एकैसाथ संलग्न भएको विषयलाई फिटिक्कै रुचाएनन्। बेलायतको छातीसम्बन्धी रोगका डाक्टरको छाता संगठन ब्रिटिस थोरासिक सोसाइटीले फिलिप मोरिस र भेक्ट्युराको सम्बन्धलाई तिरस्कार मात्रै गरेन, भेक्ट्युराका उत्पादन नै बहिष्कार गर्नेसम्मको नीति लिन पुग्यो।
यसरी फिलिप मोरिससँगको सम्बन्धले भेक्ट्युरालाई व्यावसायिक तथा वैज्ञानिक सम्बन्ध विस्तार गर्न अप्ठ्यारो भयो। यस्तो प्रतिकूल अवस्थामा पहिले नै अलि कमजोर भएको भेक्ट्युराको वित्तीय अवस्था सुध्रिने छाँट पनि देखिएन। त्यसैले फिलिप मोरिस बाध्य भएर ठूलो घाटा सहेर भेक्ट्युरा बेच्नुपर्ने अवस्थामा पुग्यो।
समाजमा चुरोट कम्पनीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएसँगै फिलिप मोरिस ‘आफै चोर, आफै प्रहरी’ बन्ने रणनीतिमा अगाडि बढ्दै थियो। भेक्ट्युरा प्रकरणले केही समयका लागि भए पनि त्यो दुईजिब्रे रणनीतिमा ब्रेक लगाइदिएको छ।
(पाण्डे फिजिसियसन तथा स्वास्थ्य सेवाविद् हुन्।)