सानो छँदा दुवै हातले लेख्न सक्थेँ तर हृदयले भने बायाँ हाते नै थिएँ। एक दिन मेरा बाले दुई हातमध्ये एउटा मात्र छान्न भनेपछि मैले बायाँकै प्रयोग जारी राखेँ। त्यसयता, दायाँ हातको प्रयोगले लेख्न झन्डै असम्भव हुन थाल्यो। तर बायाँ हातको यो सन्दर्भ भगवान् मान्ने या नमान्ने विषयसँग आखिरमा ठोक्किन पुग्यो।
बुझ्ने भएदेखि नै जेसुकै काम गर्दा मेरा कारण भगवान् रिसाउलान् कि भन्ने पिर हुन्थ्यो। दियो बालेर भुईं वा पूजाकक्षमा राख्दा गलत दिशातर्फ फर्काएँ कि भनेर चिन्ता पर्थ्यो। बालेको दियो एकातर्फ फर्काउनुपर्छ भन्नुहुन्थ्यो आमा, हजुरआमा अर्कोतर्फ। मचाहिँ के गर्ने होला भन्ने दुबिधामा पर्थेँ। त्यसपछि मलाई लाग्न थाल्यो, यदि भगवान् साँच्चै दयालु हुनुहुन्छ भने यति जाबो कुरामा उहाँ बेखुस किन हुनुपर्ने?
बायाँ हातेका कुरा
समय बित्दै जाँदा, मैले आफ्नो 'बायाँ हातेपन' अपनाउन थालेँ। यो मेरो पहिचानको हिस्सा बन्यो। फेसबुकमा बायाँ हातेहरूको समूहमा पनि सामेल भएँ। तर आम रूपमा नेपालमा बायाँ हातको प्रयोग गरेर खाना खानुलाई असभ्य मानिन्छ। अन्ततः सातौँ कक्षामा पढ्दाताक मैले बायाँ हात प्रयोग गरेरै खाना खान थालेँ।
त्यसपछि मान्छेहरूले भने, ‘तर धार्मिक कर्मकाण्डहरूमा तिमीले बायाँ हातको प्रयोग गर्न मिल्दैन।’
किन? किन भगवान् बायाँ हातेलाई घृणा गर्नुहुन्छ?
मैले बिस्तारै बायाँ हातेहरूबारे खोज्न-बुझ्न थालेँ र थाहा पाएँ कि संसारभर १०-२० प्रतिशत मानिस बायाँ हाते हुन्छन्। उनीहरू जन्मले नै बायाँ हाते हुन्छन्, कसैले सिकाएर होइन। यो स्वाभाविक र प्राकृतिक हो। त्यति मात्र होइन, जनावरहरू पनि बायाँ हाते हुन सक्छन्। त्यसो हो भने किन भगवान् प्राकृतिक स्वभाव/अस्तित्व रुचाउनुहुन्न र घृणा गर्नुहुन्छ? मनमा अर्को जिज्ञासा उठ्यो-भगवान् साँच्चै हुनुहुन्छ या काल्पनिक विषय मात्र हो?
उल्लुको 'बोध'
म रातभर नसुत्ने उल्लुझैँ थिएँ। अनिदो बसेर युट्युबमा घण्टौँ भिडियो हेर्थेँ। अनिद्राले मलाई अनलाइनमा अनेकन् रोचक विषय पत्ता लगाउन प्रेरित गर्यो, मनोविज्ञानदेखि दर्शनसम्म। रातभर जागा रहने म बिहान ६ बजे कलेज जान्थेँ, १० बजे होस्टेल फर्कन्थेँ। दिउँसोको खाजापछि बल्ल निदाउँथे।
रात्रि-खोजमा मैले 'न्यु एथिज्म' (नव नास्तिकता)बारे थाहा पाएँ। अब म साम ह्यारिस, रिचर्ड डकिन्स, डान डेनेट र क्रिस्टोफर हिचेन्सजस्ता वैज्ञानिक र तर्कशास्त्रीका सामग्री हेर्न थालेँ। जति धेरै यस्ता सामग्री सुनेँ, उति नै भगवान् रहेनछन् भन्ने कुरामा आश्वस्त हुँदै गएँ। हामीलाई सिकाइएका कर्मकाण्डका तथाकथित नियमहरू अर्थहीन रहेछन् भन्ने लाग्यो।
दुःखको निवारण कहाँ?
दुःख सर्वत्र छ। युद्ध, गरिबी र रोगहरूमा अझ त्यो बढी भेटिन्छ। मानिस आफ्ना प्रियजन गुमाउँछन्। कैयौँ ठाउँमा बालबालिका भोकै पर्छन् र मर्छन् समेत। संसार वास्तवमै दुःखले आहत छ। तर यदि कुनै दयालु र सर्वशक्तिमान् भगवान् हुनुहुन्छ भने उहाँ सबै यो किन हुन दिनुहुन्छ? किन त्यसमा हस्तक्षेप गर्नुहुन्न?
एपिक्युरसले यही प्रश्न सोधेका थिए। यदि भगवान् दुःख रोक्न इच्छुक हुनुहुन्छ, तर सक्षम हुनुहुन्न भने उहाँ सर्वशक्तिमान् नभएको प्रस्ट हुन्छ। यदि उहाँ सक्षम हुँदाहुँदै संसारका दुःख हटाउन इच्छुक हुनुहुन्न भने उहाँ असल हुनुहुन्न। यदि उहाँ यो सबै काम गर्न सक्षम र इच्छुकसमेत हुनुहुन्छ भने आखिर दुःखचाहिँ कहाँबाट आउँछ? र यदि उहाँ सक्षम पनि हुनुहुन्न र इच्छुक पनि हुनुहुन्न भने फेरि उहाँलाई भगवान् किन भन्ने?
दुःख र दर्दको कुराले आखिर विश्वास/आस्थाको जग हल्लाउँछ। सर्वज्ञ र दयालु कुनै अस्तित्वले मानिसलगायत निर्दोष प्राणीको दुःख किन चुपचाप हेरेर बसिरहन सक्लान्? यही विरोधाभासले धर्म र ईश्वरबारे प्रश्न उठ्न थाले। दयालु भगवान् र संसारका दुःख/दर्दबीच मैले सामञ्जस्य बनाउन सकिनँ। होइन, परमेश्वरकै लेखान्त नै यही हो भने यो क्रूर र पीडक योजना हो। र, अन्य धर्म परम्परा/ईश्वर आस्थाझैँ हामीले मानिरहेका पनि कुनै पनि अर्थमा फरक छैनन्। यो उस्तै विश्वास हो, केबल हामीसँग धेरै देवता छन्।
कुनै पनि तर्कशील व्यक्तिले ईश्वर-अस्तित्व बुझ्न र स्वीकार गर्न धेरै मानसिक व्यायाम गर्नुपर्छ। हामीलाई बच्चैदेखि देवताहरूमा विश्वास गर्न भनिन्छ, ती देवता, जसले हामीसँग कर्मकाण्ड र बलि/भोगको आशा राख्छन्। हामी त्यति गर्दागर्दै पनि देवताहरू संसारको दुःख नाश गर्न सक्दैनन्। यदि भगवान् उति शक्तिशाली छन् भने किन यो संसारका सारा दुःख र समस्या हल गर्न सक्दैनन्? यदि उनीहरू हामीलाई माया गर्छन् भने उल्टै हामीबाट भोग-प्रसाद आदिको अपेक्षा नै किन राख्छन्?
हुर्कँदै जाँदा अनेकन् देवताको अनुसरण गर्न हामीलाई सिकाइयो। मेरो हकमा धार्मिक नियमहरूको पालना नगरे भगवान्ले यसो गर्छन् र उसो गर्छन् भनेर डर देखाइन्थ्यो। तर ती नियमको कुनै अर्थ थिएन। पूजामा बायाँ हात प्रयोग गर्न नहुने कुराको के अर्थ छ? दियो कुन हातले समात्ने भन्ने कुराले के फरक पार्छ? सर्वज्ञानी भगवान्लाई यति झिनामसिना कुराले के फरक पर्छ? यदि साँच्चै पर्छ भने, भगवान्को 'चित्त' कत्रो होला?
'रहस्यहरूको खोज'तर्फ प्रेरित गर्ने 'आध्यात्मिकता'भन्दा यो त मान्छेलाई नियन्त्रण गर्ने खेलझैँ लाग्यो। आँखा चिम्लेर जेसुकै अनुसरण गर्न र प्रश्न नगर्न सिकाइएको प्रणाली। जति सोच्यो, उति नै अर्थहीन लाग्न थाल्यो यो प्रणाली। मानवीय कमजोरीहरू सहितका ती कथानक पात्रहरू कतैबाट पनि देवताझैँ लागेनन्। बरु यी कथा केबल मान्छेलाई नियन्त्रण गर्न बनाइका हुन् भन्नेमा यकिन हुँदै गएँ।
जति मनन गर्न थालेँ, उति लाग्दै गयो कि विश्वास प्रणालीले हामीलाई वास्तविकता बेवास्ता गर्न सिकाउँछ। यसले त्यस्ता कुरामा विश्वास गर्न लगाउँछ, जसले अनुसन्धान झेल्न सक्दैनन्। जिज्ञासालाई दण्डित गर्ने र आँखा चिम्लेर विश्वास गर्नेको प्रशंसा गर्ने व्यवस्था हो यो। तर यो म त्यस्तो जीवन चाहन्नँ। विरोधाभास, दुःख र पाखण्डलाई बेवास्ता गर्न चाहन्नँ म। अनेकन् जिज्ञासाको तर्कसंगत उत्तर चाहन्छु। तर हामीले मानिरहेको धर्म होस् या अरू, तिनले हामीलाई चित्तबुझ्दो उत्तर दिँदैनन्। शायद, यसैकारण एपिकुरसले भगवान्को अवधारणामा प्रश्न उठाएका हुन्। संसार पीडाले भरिएको हुँदाहुँदै भगवान् केही गर्न सक्दैनन् भने किन हामी तिनको पूजा गर्ने? एपिकुरसको कुरा तर्कसंगत लाग्यो र भगवानमाथिको विश्वास हट्यो। पूजा र कर्मकाण्डको अर्थ खोज्नै छाडेँ। संसार दग्ध भइरहँदा अति दयालु भगवान् चुप लागेर बस्न सक्छन् भन्ने कुरामा मलाई विश्वास भएन। दुःख र पीडाको विषय पहिले प्रश्न थियो, अब उत्तर भयो। भगवान् छैनन् र कहिल्यै थिएनन्, प्रार्थना र पूजाबाट केही प्राप्त हुन्न भन्ने बोध भयो। बस् जस्तो छ, त्यस्तै जीवन। वास्तविक र काँचो। आँखामा पट्टी बाँधेर अन्धश्रद्धाको नाटक गर्नुभन्दा यही ठिक लाग्यो।
'ब्ल्याकमेल'
संस्कृति र धर्म फरक हुन्। त्यसो हुँदा नास्तिक पनि मन्दिर/मस्जिद/गिर्जाघर र गुम्बा जान मिल्छ। नास्तिकका लागि मन्दिर देवतासम्बन्धी विषयभन्दा पनि सुन्दर भवन र खुला ठाउँ हुन्। ती स्थल मान्छेका सिर्जनात्मक अभिव्यक्ति हुन्। बढ्दै जाँदा परिवारबाट परम्पराको पालनाका लागि दबाब आउन थाल्यो। परिवार र समाजले त्यस्तो अपेक्षा प्राय: सबैतिर हुने गर्छ।
जस्तो कि, मलाई मेरो व्रतबन्ध आदि कर्मकाण्डमा रुचि थिएन। तर २६ वर्षको उमेरमा मलाई सो गर्न बाध्य गरियो। आमाबुबा, काकाकाकी र दिदीबहिनीले दबाब दिए। मैले आत्मसमर्पण गरेँ। प्राय: सबै नास्तिक यस्तै आत्मसमर्पण गर्न विवश हुन्छन्।
हरेक वर्ष, दशैँमा म टीका लगाउने बेला स्वाभाविक रूपमा बायाँ हात माथि उठाउँछु, तर एक न एक जनाले भनिहाल्छ, “दाहिने हात उठाऊ। बायाँ हुन्न।” मलाई दिक्क लाग्छ। म अपमानित महसुस गर्छु। मेरो हातमा मेरो मर्जी हुन्छ। यदि कोही मेरो प्राकृतिक अस्तित्व स्विकार्न सक्दैनन् भने मचाहिँ उनीहरूले भनेको परम्परा किन स्विकार्नु?
'नास्तिक संसार'मा जीवनको अर्थ
कतिपय मान्छे भन्छन्–धर्मले मानिसलाई जीवनको उद्देश्य र बाँच्नुको अर्थ दिन्छ। संसारका अनेकन् अनिश्चय र पीडा सामना गर्ने एउटा उपाय पनि हो। भगवानमा विश्वास नभएपछि त्यो अर्थ कसरी भेट्टाउने?
दर्शनशास्त्रले वैकल्पिक उपायहरू सुझाउँछ। 'स्टोइकवाद'ले हामीलाई आफ्नो नियन्त्रणमा भएका कुरासम्म मात्र ध्यान केन्द्रित गर्नु भन्छ र दुःख जीवनको हिस्सा भएको स्विकार्छ। विचारकहरू किर्केगार्ड र सार्त्रले अघि सारेको अस्तित्ववादले हामीलाई कुनै अर्थ नभएको संसारमा आफ्नो जीवनको अर्थ आफैँ सिर्जना गर्न सुझाव दिन्छ। यहाँ अल्बर्ट कामुले मूल रूपमा अघि सारेको ‘एब्सर्डिज्म’ (निरर्थकतावाद) महत्त्वपूर्ण हुन्छ। जीवन स्वाभाविक रूपमा निरर्थक भए पनि आफ्नो उद्देश्य आफैँ तय गर्नु नै निरर्थकता विरुद्धको विद्रोह हो भन्ने उनको तर्क छ।
मनोविज्ञानले पनि सो तर्कलाई 'सपोर्ट' गर्छ। व्यक्तिगत रूपमा कसैले जीवनको अर्थ भेट्टाउनु मान्छेको स्वास्थ्यका लागि एकदमै हितकर हुन्छ भन्ने कुरा अनुसन्धानले देखाएको छ। भिक्टर फ्रान्कल्को लोगोथेरापी अवधारणाले अत्यन्त खराब परिस्थितिमा पनि बाँच्नुको उद्देश्य भेट्टाउँदा बाँच्न सहज हुन्छ भन्छ। भिक्टर आफैँ हिटलरको यातना शिविरमा यातना पाएका व्यक्ति थिए। जीवनको लक्ष्य र मूल्य स्पष्ट रूपमा परिभाषित गर्न सक्षम मान्छेहरू ज्यादा खुसी हुने कुरा मेटा विश्लेषणहरूले पनि देखाउँछन्।
व्यावहारिक रूपमा, अस्तित्ववादी मनोविज्ञानले आत्मचिन्तनलाई प्रोत्साहन गर्छ। "म केलाई मूल्यवान् ठान्छु? र, आफ्नो जीवन कसरी बाँच्न चाहन्छु?"जस्ता स्वनिर्मित लक्ष्यहरूमा ध्यान केन्द्रित गर्दै हामी आफैँ अर्थपूर्ण जीवन निर्माण गर्न सक्छौँ। र, त्यसका लागि कुनै आकाशे-काल्पनिक पात्र हामीलाई आवश्यक पर्दैन।
नास्तिकको संसारमा जीवनको अर्थ र परिभाषा अरू कसैमा निहित हुँदैन। हामी आफैँ सो तय गर्छौं। र, त्यस प्रक्रियामा हामी अझ महत्त्वपूर्ण केही पाउँछौँ: आफ्नो जीवनको सत्त्व र स्वामित्व। यसो गर्न सक्दा पीडाको सामना गर्न र आफ्नै सर्तमा खुसी फेला पार्न सक्ने क्षमता पाइन्छ। आफूसँग आफ्नो स्वामित्व हुनु साह्रै गजब हो। जीवनका क्षणहरूको, सम्बन्धहरूको र आफैँले तय गरेका लक्ष्यहरूको अर्थ पाउने विषय हो यो। हाम्रो जीवन निश्चित/सीमित हुन सक्छ, तर यिनै कुराले हरेक पललाई विशेष र महत्त्वपूर्ण बनाउँछ।
धार्मिक विश्वासरहित 'अध्यात्म'
म बौद्ध धर्म/दर्शन मन पराउँछु। बुद्धले मानिसहरूलाई सबै कुरामा प्रश्न गर्न प्रोत्साहन गर्थे। उनले कुनै पनि कुराको परीक्षण र प्रश्न नगरी विश्वास नगर्न भने। आफूले दिएका शिक्षासमेत परीक्षण गर्न शिष्यहरूलाई उनले प्रोत्साहन गरे। आफ्नो शिक्षा अनुभवजन्य र प्रयोगात्मक हुने बताए। यही कुराले मलाई बौद्ध धर्मतिर तान्यो, तर बौद्ध धर्ममा पनि अन्यमा झैँ अन्धविश्वास प्रशस्त विकास भएका छन्।
पुनर्जन्ममा त्यहाँ विश्वास त्यहाँ भेटिन्छ। तिब्बती बौद्ध परम्परामा टुल्कु भनिने प्रणाली छ, जसअनुसार उनीहरू आध्यात्मिक गुरुहरूको पुनर्जन्म भएको दाबी गर्छन्। यी कुराको अर्थ छैन। सत्यभन्दा पनि यी केबल परम्परा हुन्। हामीले गहुँका बालामा भएका 'कन'हरू फ्याँकेर गहुँको दाना मात्र लिनुपर्छ। काम लाग्ने राख्ने, नलाग्ने फ्याँक्ने।
मेरा लागि ध्यान महत्त्वपूर्ण हो: शुद्ध चेतना, चेतनाको पनि चेतना। त्यो अवस्था, जहाँ तपाईँ विचारहरूमा नहराई तिनबारे मनन गर्नुहुन्छ। शून्यमा बिलाउनेजस्ता अर्थहीन ध्यानको कुरा होइन यो। यो कुनै जड विश्वास प्रणालीसँग बाँधिएको छैन। यसका लागि पुनर्जन्म वा भगवान्हरूमा र कुनै कर्मकाण्ड आवश्यक छैन। कुनै जड सिद्धान्तको अर्थ छैन। मेरो लागि 'अध्यात्म'को सार यही हो। मेरो हकमा आफूभन्दा बाहिर केही तत्त्वमा विश्वास गर्नेबारे नभएर आफूभित्रको चेतनासँग जोडिने विषय अध्यात्म हो।
निष्कर्ष
८० प्रतिसतभन्दा बढी एउटै धार्मिक समुदाय रहेको दाबी गरिने नेपालमा नास्तिक हुनु सजिलो छैन। यो केवल देव-कथाहरूलाई अस्वीकार गर्ने कुरा होइन; संस्कृतिभित्र गहिरोसँग गाडिएर रहेको जीवन पद्धति नै अस्वीकार गर्ने कुरा हो।
परिवार, समाज, चाडपर्व—यी सबै धार्मिक विश्वास वरपर घुम्छन्। जब आफन्त र साथीहरूको 'स्क्रिप्ट' तपाईँ मान्नुहुन्न, मान्छेले तपाईंलाई ख्याल गर्छन्, प्रश्न गर्छन्। उनीहरूजस्तै हुन/बन्न दबाब दिन्छन्।
एकातिर म मेरो परिवारको परम्पराको सम्मान गर्न चाहन्छु। अर्कोतर्फ मैले अस्वीकार गरेको विषयमा विश्वासको नाटकचाहिँ कसैसँग गर्न सक्दिन। त्यसकारण आफूलाई म नास्तिक भन्छु।
कर्मकाण्डहरू मलाई बेकार लाग्छन् भने नियमहरू भने स्वेच्छाचारी। दशैँमा टीका लगाउने बेला कपाल मिलाउन मेरो बायाँ हात उठाउँदा, मेरो प्राकृतिक स्वभाव (साँचो) उनीहरूको ढाँचा (ताल्चा)मा मेल खाँदैन।
तर यो द्वन्द्वसँगै अब बाँच्न सिकेको छु। मैले बहुसंख्यकको विश्वास अस्वीकार गर्दा जीवन र आफ्नै अर्थ पाएको छु। दर्शन, मनोविज्ञान र ध्यानमार्फत आफ्नो बाटो बनाएको छु। यो सजिलो छैन र सर्वस्वीकार्य पनि। तर मेरा लागि यो महत्त्वपूर्ण छ।
संसार दुःख र अनुत्तरित प्रश्नहरूले भरिएको छ। र संसारका धेरैजसो मान्छे उत्तरहरूका लागि देवता खोज्छन्। यसबीच नास्तिक हुनु एक्लो हुनुझैँ पनि लाग्न सक्छ। तर आफ्नै उद्देश्य सिर्जना गर्नुमा मैले स्वतन्त्रता महसुस गरेको छु। खासगरी शिक्षित, विकसित र धर्मनिरपेक्ष समाजहरूमा नास्तिकहरूको संख्या बढ्दै गएको बताइन्छ। मजस्ता चाहिँ कति होलान् संसारमा?
(आचार्य डेटा साइन्स विषय लिएर स्नातकोत्तर अध्ययनरत छन्।)