Thursday, January 23, 2025

-->

निम्छरो ‘सिभिक सेन्स’मा सम्भव छैन समृद्धि

कानून प्रयोग गरेर सिभिक सेन्स हुने होइन, यो त नागरिकको आन्तरिक उत्प्रेरणाले सिर्जना हुने हो। तर सिभिक सेन्स प्रवर्द्धनबारे हामीकहाँ बहस र छलफल बिरलै हुन्छ।

निम्छरो ‘सिभिक सेन्स’मा सम्भव छैन समृद्धि

घोराही उपमहानगरको कुनै एक रेस्टुरेन्ट। सफा चिटिक्क सेतो सर्ट, कालो पाइन्ट अनि कालै इस्टकोट! टिलिक्क टल्केको जुत्ता, चिटिक्क कोरेको कपाल र समग्रमा आकर्षक व्यक्तित्वसहित करिब २२/२३ वर्ष हाराहारीका एक वेटर विनम्रसाथ पाहुनाको स्वागतमा हाजिर हुन्छन्। 

वेटरकै उमेर हाराहारीका केही युवा टेबलमा छन्। तर ग्राहक युवाले वेटरप्रति गरेको भाषिक सम्बोधनसँगै हाउभाउ र व्यवहार आपत्तिजनक देखिन्छ। तिनका शब्द छन्, “ए भाइ, ह्याँ आऊ, अर्डर टिप न यार,  खै तिम्रो म्यानेजरलाई बोलाऊ, वेटर भएर पनि …!" एक वयस्क व्यक्तिले आफ्नो पेसा गरिरहेको आफ्नै उमेरको अर्को व्यक्तिलाई हियाउँदै निःसंकोच  'तिमी’ कसरी भन्ने सकेको होला? त्यस्तो हाउभाउ र व्यवहारको जरो के होला?

यसले हाम्रो ’सिभिक सेन्स’ अर्थात् नागरिकको बोध स्तर देखाउँछ। यसलाई नागरिक सचेतता स्तर पनि भनिन्छ। हामीले समाजका अनेकन् अवयवप्रति गर्ने व्यवहारको गुणस्तर नाप्ने औजार हो– सिभिक सेन्स। समाजका अवयव अर्थात् मानिस, संस्था, समुदाय, सार्वजनिक सम्पत्ति, नियमकानून, पर्यावरण, प्राणी, वनस्पति आदिप्रति हामीले गर्ने व्यवहारले हाम्रो सामाजिक सचेतता स्तर देखाउँछ।

उच्चस्तरको सिभिक सेन्स कुनै निश्चित स्थान विशेषको समृद्धिको सूचक हो। उच्चस्तरको ’सिभिक सेन्स’का लागि नागरिकले कुनै आर्थिक, भौतिक, शारीरिक भार भुक्तान गर्नुपर्दैन। मात्र चाहिन्छ मान्छे, प्रकृति र प्राणीप्रति मैत्री र समभाव। सबैप्रति संवेदनशीलता। तर पनि किन हामी सिभिक सेन्समा यति कमजोर छौँ?

हामी ‘अन्य’लाई कस्तो व्यवहार गर्छौँ? 'आफू' र 'आफ्ना'बाहेक अरूप्रति कस्तो शब्द प्रयोग गर्छौँ? अरूको आत्मसम्मानप्रति कति सचेत हुन्छौँ? वेटरको दृष्टान्त एक उदाहरण हो। सार्वजनिक सवारीका सहयोगी, कवाडी संकलक, नाइ, सफाइ कर्मचारी वा 'हाइरार्की’मा आफूभन्दा तलको मानिससँग हामीले गर्ने व्यवहार अत्यन्त असंवेदनशील छ। अझै खास पन्थ, जात वा सम्प्रदायले कथित तल्लो भनिने पन्थ, जात या समुदायप्रति गर्ने व्यवहार सिभिक सेन्सको कसीमा हेर्दा अत्यन्तै निम्छरो छ। 

सडक, पार्क, बसपार्कलगायत सार्वजनिक स्थलमा पान, गुट्खा र खैनी खाएर पिच्च थुक्ने, चुरोटका ठुटा जहाँसुकै फ्याँक्ने, चाउचाउ र चिप्सका खोला/फोहोर यत्रतत्र छरपस्ट फ्याँकिदिने हाम्रो संस्कारै छ। हाम्रा बाटोघाटो, चौर, पार्क, अस्पताल, खोलानाला, सार्वजनिक स्थल सफा राख्न आफूद्वारा सिर्जित फोहोरको उचित व्यवस्थापन गर्न एक नागरिकलाई के कुराले अवरोध गर्छ? आफ्नो घरआँगन र चार दिबार चिटिक्क राख्ने मानिस घर बाहिर भने किन यति लापरवाह हुन्छ?

यसमा एउटा घतलाग्दो दृष्टान्त छ ’विश्वगुरु’ भारतको राजधानी नयाँ दिल्लीको। गत मेमा भारतका लागि डेनमार्कका राजदूत फ्रेडी स्भानेले नयाँ दिल्लीस्थित डेनिस राजदूतावास छेउमा फोहोरको डुंगुर थुप्रिएपछि सफा गर्न अपिल गर्दै भिडियो नै बनाएर सामाजिक सञ्जालमा राखे। त्यसपछि मात्र त्यहाँको नगरपालिकाले त्यो फोहोर सफा गर्‍यो। ’विश्वगुरु’ भारतका लागि एउटा लज्जास्पद घटना थियो त्यो। सिभिक सेन्स कति महत्त्वपूर्ण कुरा हो भन्ने त्यहाँबाट पनि थाहा हुन्छ।

सार्वजनिक सम्पत्तिको संरक्षणप्रति हाम्रो संवेदनशीलता जाँच्न एक पटक गुगलमा ’सरकारी गाडीमा आगजनी’ र ’सार्वजनिक गाडीमा आगजनी’ भनेर खोज्ने हो भने सयौँ समाचार भेटिन्छन्। केही कुरामा चित्त बुझेन भिड जम्मा हुने अनि सरकारी गाडी भेट्नेबित्तिकै आगो झोसिदिने! 

गत जेठमा विराटनगरमा विद्यालयको शुल्कवृद्धिको विरोधमा आन्दोलन गर्दैगर्दा ’विद्यार्थी’ले प्रदेश योजना आयोगको स्कोर्पियो गाडीमा आगजनी गरिदिए। सामान्य मुद्दामा विरोध र दबाबका लागि सार्वजनिक सम्पत्ति नै ध्वस्त पार्ने कामलाई कसरी ’जस्टिफाइ’ गर्ने? 

केही वर्षपहिले काठमाडौँमा सार्क सम्मेलन भएको केही दिनमै सडक किनारमा सजाइएका गमला चोरी भएको समाचार हामीले पढ्यौँ, जबकि हरेक सार्वजनिक सम्पत्तिमा नागरिकको पनि आंशिक स्वामित्व छ। जसरी हामी निजी सम्पत्तिको संरक्षणमा अत्यन्त संवेदनशील हुन्छौँ, सार्वजनिक सम्पत्तिको हकमा हामीमा त्यस्तो किन हुँदैनौँ? 

कानून प्रयोग गरेर सिभिक सेन्स हुने होइन, यो त नागरिकको आन्तरिक उत्प्रेरणाले सिर्जना हुने हो। तर सिभिक सेन्स प्रवर्द्धनबारे हामीकहाँ बहस र छलफल बिरलै हुन्छ। 

नेपालमा सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुने तथ्यांक छ। यसमा मानवीय कारण पहिलो छ। अर्थात् ट्राफिक नियम पालन नगर्ने, तीव्र गतिमा सवारी चलाउने, मापसे गर्ने, मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, गलत लेनबाट सवारी चलाउने, तीव्र गतिमा ओभरटेक गर्नेलगायत कारण दुर्घटना र मृत्युको प्रमुख कारण बनेको छ। तर दैनिक ६ जनाको ज्यान लिने सवारी दुर्घटना हाम्रो लागि किन महत्त्वपूर्ण नलागेको होला?  

सिभिक सेन्सको अर्को सामाजिक अंग अर्थात् कानूनको न्यूनतम पालना नगर्नु उल्टै हाम्रो लागि पुरुषार्थसरह भएको छ। धार्मिक पर्व र अवसरमा चर्को स्वरमा म्युजिक बजाएर हामी टोल छिमेकमा ’डिस्टर्ब’ गर्छौँ, सार्वजनिक सेवा प्राप्तिको लागि बलपूर्वक लाइन उछिन्छौँ, सार्वजनिक स्थलमै अरूलाई असर गर्ने गरी धूमपान गर्छौँ, फुटपाथ मिचेर सवारी पार्क गर्छौँ। 

जनावरलाई निर्दयतापूर्वक ढुवानी गर्छौँ र त्यसो गर्दा प्रतिक्रिया जनाउँदैनौँ। कुखुरा र हाँसलाई मोटरसाइकलमा उधोमुन्टो गराई सार्वजनिक ढुवानी त सधैँ देखिने गरेको छ नै, कुकुर आदि पशुलाई लात्तीले भकुर्दा रमाउने मान्छे पनि छन्। सवारी चलाउँदा चर्को हर्न प्रयोग गर्ने, नागबेली शैलीमा सवारी हुइँक्याएर यात्रु र पैदलयात्रीको सातो लिने चालकहरू पनि भेटिन्छन्। यी सबै अति असामान्य काम हाम्रा लागि अति सामान्य लाग्छन्। हामी बिरलै यसबारे बोलिरहेका छौँ। बरु सहिरहेका छौँ। सामान्य मानिरहेका छौँ। 

निम्छरो नागरिक सचेतना समाज र देशको समृद्धिको प्रमुख बाधक पनि हो। शायद यसका सबै आयाम नबुझेर पनि होला हामी नबोलेका। सार्वजनिक मञ्चमा पुँजीवाद, समाजवाद, उदारीकरण, सशक्तीकरणजस्ता उत्तराधुनिकता, विश्वव्यापीकरणजस्ता विषय अगाडि 'सिभिक सेन्सका खुद्रामसिना विषय' अत्यन्तै गौण विषय मानिन्छ। मान्छेको ज्यानै जाने, समाजलाई कुरूप बनाउने, पर्यावरण बिगार्ने, देशको छवि धमिल्याउने कुरो नै महत्त्वपूर्ण नलागेपछि ’समृद्धि’ आउनेचाहिँ  कहाँबाट होला?

सिभिक सेन्सको अर्को महत्त्वपूर्ण पक्ष नागरिक र समुदायका लागि अत्यावश्यक मुद्दामा हाम्रो सहभागिता हो। समुदायको पर्यावरण संरक्षण, खुला स्थान, खेलमैदान, पार्कको  व्यवस्था हरियाली, सरसफाइ जस्ता विषयमा हाम्रो सहभागिता पनि सिभिक सेन्सकै विषय हो। यसका लागि एउटा उदाहरण हेरौँ न। गुट्खा तथा सुर्तीजन्य पदार्थको प्लास्टिकको खोलले पर्यावरण बिगार्‍यो भनेरै सरकारले यस्ता प्याकेट प्लास्टिकमा नभई जैविक रूपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याक गर्नुपर्ने कानून नै बनायो तर यसको कार्यान्वयन अझै राम्ररी भएको देखिँदैन। पर्यावरण बिगार्ने यस्तो विषाक्त सामग्री हटाउने कुराको कार्यान्वयनमा नागरिकले कत्तिको चासो दियौँ त?

हामी युरोप, अमेरिका, अस्ट्रेलिया र जापानलगायत 'समृद्ध' देश घुमेका मानिसबाट धेरैजसो सुन्छौँ, ‘कति सफा? सार्वजनिक स्थलमा कहीँ फोहोर नदेखिने, शहरैभरी हरियाली पार्क, केटाकेटी खेल्ने ठाउँ प्रशस्त, कसैले कसैलाई डिस्टर्ब नगर्ने, चर्को स्वर कति नसुनिने, चित्त नबुझेको कुरामा मानिसहरू सार्वजनिक सम्पत्तिको बिनाकुनै क्षति विरोध प्रदर्शन गरिरहेका भेटिने, सबै जना बिनाभेदभाव लाइनमै बसेर सेवा लिने!’ तर यी सबै काम के सरकारले कठोरतापूर्वक कानून लगाएर मात्र कार्यान्वयन भएका हुन् त? अवश्य हैनन्। उच्च स्तरको नागरिक सचेतनाको परिणाम हुन्। 

फेरि तर्क आउँला, ‘यी त समृद्ध देश हुन्, हामी त गरिब र विपन्न राष्ट्र, यसरी तुलना गर्न मिल्ला र?’ भन्ने प्रश्नतिर। उच्चस्तरको सिभिक सेन्स हुन देश धनी हुनुपर्ने शर्त बिलकुल बेकार हो। हाम्रै हाराहारीका भुटान र हामीभन्दा पनि गरिब देश रुवान्डालाई उच्चस्तरको सामाजिक सचेतना भएको देशको रूपमा लिइन्छ; विशेष गरी वातावरण, पर्यावरण र कानून पालनाको कसीमा।

एक जना नागरिकले कानूनको पालना गर्न, सार्वजनिक स्थल सफा राख्न, अरूको शान्ति नबिथोल्न, ट्राफिक नियम पालन गर्न, अरूको आत्मसम्मानको ख्याल गर्न र समाजको राम्रोको लागि पैरवी गर्न देश गरिब भएकै कारण कहाँनेर अवरोध हुन्छ? समस्या देशको गरिबिको मात्र हैन, राज्यको शिक्षा र नागरिकको आन्तरिक उत्प्रेरणामा कमी हो। यसको प्रवर्द्धनमा व्यक्तिगत, सामुदायिक प्रयत्न जरुरी छ। कतिपय सन्दर्भमा त उच्च स्तरको सिभिक सेन्सले शासक प्रशासकलाई समेत सुशासनको बाटोमा डोर्‍याउँछ। तपाईं हामीमा छ त्यस्तो सेन्स?


सम्बन्धित सामग्री