काठमाडौँ उपत्यकाभित्र रिङरोडको बसयात्रा। जीविकोपार्जनका लागिदेखि अनेकन् प्रयोजनका लागि यात्रु बस चढ्ने-ओर्लने गरिरहन्छन्। बिहानको त्यस्तै ८ बजेको हुँदो हो। एक हूल १८ देखि २५ वर्षका युवा बस चढे। सबैजसोले मदिरा सेवन गरेका थिए। अन्टसन्ट बोलेबाटै सो बुझिन्थ्यो। १० मिनेटको बसयात्राकै क्रममा उनीहरू निदाए या लट्ठिएझैँ देखिए। शारीरिक श्रमको दुखाई मदिराले कम गर्छ भन्ने भ्रमपूर्ण मान्यता हाम्रोमा छ। नियमित र बिहानैदेखि गरिने मदिरा सेवनले युवावस्थादेखि नै व्यक्तिको शरीर र मनोविज्ञानमा गम्भीर असर पक्कै छाडिहाल्छ।
एक जनाले गर्ने मद्यपानले पारिवारिक-वैवाहिक जीवन बिगार्छ। बालबालिकाको मनोविज्ञानमा गम्भीर असर पार्छ। मद्यपानबाट सबैभन्दा बढी असर कसैलाई पारेको छ भने ती हुन् श्रमिक कामदार-युवा। खासगरी निर्माण क्षेत्रमा काम गर्ने अनौपचारिक-मजदुर-युवामा यस्तो बढी देखिन्छ। समाज बिग्रेको यो पहिलो उदाहरण।
दैनिक दिनचर्यामै साक्षात्कार भइरहने अर्को जमात हुन् १२ या स्नातक सकाएर विदेशको सपना देख्दै त्यता जान तयारी गरिरहेका युवा। उनीहरूको मत यस्तो सुन्न सकिन्छ, “हामी त यो देश नबस्ने। यहाँ बसेर के फाइदा छ?’ सके अहिल्यै जापान, कोरिया, युरोप र अमेरिका छिर्ने, त्यति नभए दुबई, कतारलगायत खाडी मुलुक।” कतिसम्म भने युवा वयका मात्र नभई प्रौढमा समेत आफू ’अहिलेसम्म किन बाहिर गइनँ?’ भन्ने हीनताबोध देखिन्छ। तीमध्ये कतिले त ’यही उमेरमा भए पनि दुई चार वर्ष काम गरेर पैसा र सुखभोगको जिन्दगी जिउन विदेश जाने’ प्रयत्न गरेका छन्। कोही सफल, कोही निष्फल।
धेरैजसोमा निराशा देखिन्छ कि, ’नेपालमा बसेर के हुन्छ? युवाको करिअरको लागि के गरेको छ राज्यले? बाँच्नु मात्र हो र एकवारको जुनीमा? सुविधासम्पन्न जीवन पो बाँच्नुपर्छ। दुनियाँदारी पनि देख्नुपर्छ।’ ’होइन, हामी यहीँ बसेर मातृभूमिको लागि पनि आफ्नो तर्फबाट केही योगदान गरे भ्रमणकै लागि मात्रै पनि विदेश जान पनि सकिन्छ नि!’ भन्ने मानसिकता नवयुवामा खासै देखिँदैन। विदेश, त्यसमा पनि युरोप र अमेरिकाको लोभ त हाम्रा युवाको मनमस्तिष्कमा बसिसक्यो र अभिभावक पनि छोराछोरीको त्यो सपना पूरा गर्दिन नपाउँदा निराश र दुखी देख्न सकिन्छ।
देशकै अर्थतन्त्रको या नेपालीको आश्रित प्रमुख पेसा कृषि मानिन्छ। कृषि कर्मलाई सक्षम र स्वस्थ युवा जनशक्तिको खाँचो पर्छ। तर कति प्रतिशत युवा सन्तुष्ट तरिकाले कृषिमा लागेका होलान् त? सोचनीय छ। नेपालमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ६५.५ प्रतिशत जनसंख्या जीविकोपार्जनको लागि कृषिमा आश्रित छन्। राष्ट्रिय युवा नीति २०१५ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा नागरिकको रूपमा स्पष्ट रूपमा व्याख्या गरेको छ। नेपालको कूल जनसंख्याको करिब ४०.३५ प्रतिशत युवा वर्गमा पर्छन्।
नेपालको कूल युवा जनसंख्याको करिब १४ प्रतिशत रोजगारीका लागि विदेशमा रहेको पाइएको छ। विश्वका विभिन्न विकसित र अल्पविकसित राष्ट्रका वयस्क तथा उमेर ढल्किन लागेका समूह नै कृषिमा संलग्न भएको पाइन्छ र नेपालमा पनि यही प्रक्रिया लागु भएको छ। तर खासगरी पहिलो र दोस्रो भनिने विश्वले कृषिमा आधुनिक प्रविधि प्रयोग गरेर कृषिबाट लाभ कमाइसके भने नेपालमा उति सार्यो आधुनिक प्रविधिको प्रयोग भएको छैन। यहाँ त कृषकले भनेका बेला रासायनिक मल पनि पाइरहेका हुँदैनन्।
‘राष्ट्रिय कृषिगणना-२०७८’ अनुसार नेपालमा पछिल्लो १० वर्षमा कृषक परिवारको संख्या त बढेको छ, तर खेती गर्ने जमिनको क्षेत्रफल भने पहिलेभन्दा कम देखिन्छ। २०६८ सालको गणनामा २५ वर्ष मुनिका कृषकको हिस्सा ३.१ प्रतिशत रहेकोमा त्यो घटेर २.६ प्रतिशत रहेको छ।
नेपालमा युवाको कृषि सहभागिता कम हुँदै गर्दा युरोपमा स्याउ टिप्न या कोरियामा खेतीपाती गर्न भने हौसिएका छन्। समाज बिग्रेको दोस्रो सन्दर्भ हुन् यी।
आफ्नै हुर्मत लिँदै महिला…
युवा महिलाको सशक्तीकरण र भूमिकाको कुरा गर्दा देशको आधाभन्दा बढी जनसंख्या महिला रहेको यस देशमा केही औँलामा गन्न सकिने महिला उद्यमी छन्। राजनीतिक रूपमा ३३ प्रतिशत महिला सहभागितालाई नै हाम्रो महिला आन्दोलनको ठुलो उपलब्धि मान्नुपर्ने अवस्था छ। महिलाको आफ्नै बलबुता, महिला आन्दोलन र विश्व महिला सम्मेलनको प्रभाव, विश्व परिवेश तथा महिला शिक्षा र चेतनाको विकासले शिक्षालगायत राजनीति र विभिन्न पेसामा महिलाको संलग्नता बढेको नकार्न सकिँदैन। आर्थिक र बौद्धिक सीप-सिर्जनाभन्दा पनि सांस्कृतिक भूमिकामै महिलाको संलग्नता बढी देखिन्छ। भूगोल र स्थान अनि हाम्रो निर्देशित संस्कृतिले भने थुप्रै ठाउँमा महिला विकासमा व्यवधान खडा गरेको छ।
जस्तो कि, साउन महिनाभर प्रसिद्ध धार्मिकस्थल पशुपतिमा कोटिहोम आयोजना भयो। कोटिहोममा दुई जना महिला कथावाचकले धेरैको ध्यान खिच्यो। भर्खर किशोरावस्था पार गरेकी र अर्की परिपक्व युवतीको 'सेलिब्रेटीपन' मिडियामा छ्यापछ्याप्ती भयो। ती कथावाचक महिलाको जीवनशैलीले पनि उनीहरूले जिएको दोहोरो जीवनशैली झल्काउँछ। एकातर्फ, उनीहरू परम्परागत मूल्यमान्यता तथा वेदपुराणले निर्देशित गरेको जीवनशैलीलाई निरन्तरता दिनुपर्ने कुरा आफ्ना प्रवचनमा राखिरहेका छन् भने अर्कोतिर विज्ञान र भौतिकवादका सम्पूर्ण सुखभोग पनि गरिरहेका छन्।
र, उनीहरू महिलाले भोग्ने घरेलु हिंसा तथा अन्य गरिबी र दुःखलाई समेत प्रारब्ध कर्मफलको कुरा भनिरहेका छन्। यसै पनि रूढिवादी संरचना र 'माइन्सेडट'बाट परिचालित हाम्रो परिवार र समाजलाई यस्ता 'सुकिलामुकिला' तर पुरातनपन्थी सोच भएका वाचकका प्रवचनले समाजलाई झनै पछाडि फर्काउन सहयोग पुग्छ। महिलाको जीवन पछाडि पर्नुको सामाजिक,सांस्कृतिक,धार्मिक कारणलाई वस्तुगत रूपमा विश्लेषण गर्दै सुधारतर्फ अगाडि बढ्नुपर्नेमा 'हाम्रै कर्म खोटो' टाइपको विचारले त महिला समताको आन्दोलनलाई सिधै 'पाताल' पुर्याउँछ।
यता, स्त्रीद्वेषी भाष्यबाट पहिल्यै जकडिएका महिलाहरूले आफ्नै धज्जी उडाइरहेका छन्। हालसालै तीजको गीत भन्दै ’लोग्ने बाहिर छ भन्छे किन तीन महिने सुई लाउँछे’ जस्ता शब्दमार्फत महिला गायकले महिलाकै विषयमा अपमान गरे। त्यसबारे बिरलै महिला बोले। बरु त्यही गीतमा धेरै महिला रमाए। यसले पनि अधिकांश नेपाली महिलाको चेतना तथा संवेदना प्रस्ट पार्दछ। हामी नसुध्रेको तेस्रो प्रसंग हो यो।
महिला र जातद्वेषी अनेकन् कृत्य तथा अनेकन् अन्धविश्वास छाडेर हेर्दा हामीसँग सुन्दर संस्कृति र सभ्यता पनि छन्। युग नसुहाउँदा, खराब संस्कृति छाडेर संसारभर फैलाउनलायक हाम्रा कतिपय परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ। कुनै समुदाय, व्यक्ति, प्राणी र प्रकृतिप्रति क्रूर छैन भने त्यस्ता सांस्कृतिक अभ्यासको थप प्रवर्द्धन गर्नुपर्छ।
अन्धविश्वासको कुरा गर्दा छोइछिटो, पवित्र-अपवित्र, भाग्य, अपशकुन,शुभ अशुभजस्ता फजुल कुरामा हामी अल्झिरहेका छौँ। यो पनि विकासको अवरोध बनेको छ। लामो समय पहिले हाम्रा पुर्खामा प्रत्यारोपण गरिएको र सन्तान दरसन्तानमा सर्दै आएको यस्तो अन्धविश्वास सहजै बदलिन मान्दैन।
त्यसकारण, नियमित भइरहने सडक तथा हवाई दुर्घटनालाई समेत हामी कुनै अदृश्य शक्तिले गराएको अनिष्ट या 'शुभअशुभ'सँग जोड्छौँ। दोलखा भीमसेनको मूर्तिमा पानी रसाएकाले फलानो अनिष्ट भएको भन्दै धेरैले सामाजिक सञ्जालमा यस्ता अफवाह फैलाएको देखिन्छ। धेरैजसो मान्छे वैज्ञानिक चेतयुक्त नभएपछि तिनले यस्ता कुरा बाँड्ने नै भए।
अपठित र औसत व्यक्तिले यस्ता कुरा बाँड्नु स्वाभाविक हो, तर कतिपय पढेलेखेकै व्यक्ति पनि यस्ता कुरालाई पत्याइराखेका देखिन्छन्। जसले हाम्रो शिक्षा प्रणालीको असफलता बुझिन्छ। अर्को कुरा, कतिपय वास्तवमै शिक्षित, चेतनशील र जागरूक व्यक्तिचाहिँ यस्तो विषयमा प्रतिक्रिया व्यक्त गरिरहेका छैनन्। तिनको मौनताले समाज झनै अप्रगतिशील र अनुत्पादक हुँदै गएको छ। यसमा खासगरी जागरणका माध्यमबाट सबैभन्दा धेरै हस्तक्षेप गणतान्त्रिक र धर्मनिरपेक्ष सरकारले गर्नुपर्ने हो, तर सरकार स्वयं रसाएको ढुंगामा पूजाआजाका लागि फूलपाती खोज्दै देखिन्छ।
योचाहिँ चौथो प्रसंग हो, जसबाट थाहा हुन्छ परिवर्तनका लागि धेरै काम गर्न अझै बाँकी छ।