ग्राफिक्स : दहिन्दूबिजनेसलाइनडटकम
केही दिनपहिले अखबार पल्टाउँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर र उनको नाम समाचार शीर्षकहरूमा थिएनन्। सामान्य देशमा यो कुनै ठूलो कुरा होइन। देशमा प्रधानमन्त्रीको अनुहार र नामभन्दा अन्य धेरै महत्त्वपूर्ण कुरा भइराखेका हुन्छन् र सरकार प्रमुख सबै कुरामा संलग्न हुन सक्दैनन्, हुनु पनि पर्दैन।
तर मोदी सरकारको विगत दुई कार्यकाल ख्याल गर्ने हो भने उनको तस्वीर या समाचार सधैँ अखबारका पहिलो पृष्ठमा हुन्थ्यो। असामान्य परिस्थितिबाहेक सबै अवस्थामा मोदीका ठूला तस्वीरसहितका विज्ञापन पत्रिकामा छापिएका हुन्थे। उनी सर्वव्यापी थिए भन्ने कुरा सम्झाउँथे ती विज्ञापनले।
मोदीले अहिले नाममा मात्रै नभएर वास्तवमै संयुक्त–एनडीए सरकारको नेतृत्व गरेका छन्। र हामी अलि पहिलेकै ‘पाराडाइम’मा फर्कदैछौँ, जहाँ प्रधानमन्त्रीले केही काम गर्दा या भन्दा मात्रै सो विषय समाचार बन्थ्यो। दुर्भाग्यवश, अहिले मोदीका लागि भारत या विदेशमा विदेशी नेताहरूसँग खिचिएका मिलनसार तस्वीरको अपवादबाहेक धेरैजसो खराब समाचार हुने गरेका छन्।
भारत ठूलो, महत्त्वपूर्ण देश र अर्थव्यवस्था हो, जसका कारण विदेशी नेताहरू यस देशलाई आफ्नो रणनीतिमा सामेल गर्न या आफूसँग सहकार्यका लागि प्रयास जारी राख्ने गर्छन्। घरेलु रूपमा भने कुरा बिलकुल फरक छ।
आन्तरिक सुरक्षा, अर्थतन्त्र र रोजगारीदेखि लिएर, निकट भविष्यमा कुनै ठूलो प्रगतिको आशा छैन भारतमा। राज्य विधानसभाको चुनावअघिका बीजेपी स्वयंका चिन्ता/आशंकामा पनि सो देखिन्छ। किनभने ‘विकास’ र ‘अच्छे दिन’को वाचा प्रगतिका आकांक्षाबाट कटु–विडम्बनाका शर्तमा परिणत भएको छ, जसका कारण भाजपा स्वयं पनि यी शब्द प्रयोग गर्नबाट हच्केको/रोकिएको छ।
सुरक्षा जिम्मेवारीबाट अलग प्रधानमन्त्री
मोदी सरकारको सबैभन्दा प्रमुख असफलता मणिपुरमा जारी हिंसा र त्यसको विस्तार हो। १८ महिना लामो द्वन्द्वका क्रममा धेरै अत्याचारका घटना भएका छन्। यसले केवल यहाँको बिग्रिँदो स्थिति देखाउँछ। कुकी र मैतेईका ‘जातीय सीमाहरू’ पार गर्ने मानिसलाई हत्या गर्न मिल्छ भन्ने कुराले लोकतान्त्रिक गणतन्त्रले वाचा गरेका सबै कुराको भयानक असफलता दर्साउँछ। रसियन राष्ट्रपतिसँगको भेटमा मोदीले यो ‘युग युद्धको होइन’ भन्दै जति खोके पनि ड्रोन, रकेट प्रोपेल्ड ग्रेनेड र मध्यम तहका मेसिनगनको प्रयोग गरेर भारतीय मार्न भारतीय नै प्रयोग भइरहेको सत्य हो।
समाधानको बाटोमा केही राम्रो त भएकै छैन तर ओठे चिन्तासमेत प्रकट हुन छाडेको छ। मोदी अहिले राज्यबाट पूर्ण रूपमा हराएका छन्, जसरी उनका भाषणबाट राज्य हराएको छ। उल्लेखनीय प्रदर्शनमा भारतका प्रधानमन्त्री भारतीय राज्यबाट अलग्गिएका छन्। साँच्चै नै प्रधानमन्त्री अभूतपूर्व रूपमा मणिपूर राज्यबाट गायब भएका छन्।
अन्यत्रको द्वन्द्वको सवालमा पनि यही सत्य हो। ‘नोटबन्दी’ले कश्मीरको आतंकवाद अन्त्य गर्ने र नक्सल विद्रोहलाई कमजोर गर्ने भनिएको तपाईंलाई याद छ? त्यसपछि ‘लाइन अफ कन्ट्रोल’का बमबारी, लाइन अफ कन्ट्रोलको छापा मिडियामा देखाउँदै अनुच्छेद ३७० को खारेजी र जम्मू कश्मीरको संघशासित प्रदेशमा घटुवा गर्ने काम भएको थियो।
प्रधानमन्त्रीका प्रचारकहरू (जो आफूलाई पत्रकार भनेर चिनाइरहेका थिए) भन्दै थिए कि यी सबै मोदीका ‘मास्टरस्ट्रोक’ले सबै कुरा ठीक पार्नेवाला छ। तर कुनै पनि विषयमा उल्लेखनीय सुधार भएन। बरु सिखविरोधी द्वेषले मृत–खालिस्तान विद्रोहको कुरासमेत पुनर्जीवित गरिरहेको छ। एउटा कुरा ध्यान दिनुहोला, यी विषय मोदीका भाषणबाट अहिले हराएका छन्। मोदी जम्मू कश्मीरमा ‘स्थिति सामान्य भएको’बारे ठूला कुरा गर्न सक्लान् तर सावधानीपूर्वक लाइन अफ कन्ट्रोलमा बिग्रँदो स्थितिको उल्लेख गर्नबाट टाढा रहन्छन्। ‘चेसायर बिरालो’को मुस्कानझैँ समस्या बाँकी रहन्छ तर प्रधानमन्त्री बिस्तारै दृश्यबाट गायब हुँदै छन्। (चेशायर बिरालो लुइस क्यारोलको उपन्यास एलिस इन वन्डरल्यान्डमा देखा पर्ने प्रख्यात पात्र हो, जो 'हर्कतवाला' मुस्कानका लागि परिचित छ।)
केबल ५ ट्रिलियन अर्थव्यवस्थाको गफ
अर्थव्यवस्था र रोजगारीको हकमा पनि यही सत्य हो। सन् २०१४ मा सत्तामा आउँदा भाजपा र मोदीले लाखौँ रोजगारी सिर्जना गर्नेबारे धेरै वाचा गरेका थिए। यसको धेरैजसो हिस्सा पाँच ट्रिलियन डलरको अर्थव्यवस्था सिर्जना गर्ने कुरा नारामा परिणत भएको छ। सुन्नलाई सो अंक धेरै ठूलो सुनिन्छ तर यो वास्तवमा धेरै थोरै हो, जब १.४ अर्ब भारतीयमा सो रकम विभाजन गर्दा प्रतिवर्ष करिब तीन हजार ५७० डलर या दिनको १० भन्दा कम प्रतिव्यक्ति हुन आउँछ।
त्यसको तुलनामा, एक व्यक्तिका लागि अमेरिकी गरिबीको सीमा–आय १५,००० डलर हो– हाम्रो औसत आयभन्दा चार गुणामाथि। अवश्य पनि दक्षिण एशियामा डलर साँच्चै महँगो छ तर भुटानको प्रतिव्यक्ति आय पहिले नै तीन हजार ५०० डलरभन्दा बढी छ। यो सुन्दर देश गत वर्ष मात्र ‘कम विकसित देश’को स्थितिबाट माथि उक्लियो।
रोजगारीको कुरा गर्दा, हामीले अहिले 'जागिरबारे नसोध्नुहोस्, जागिरबारे भन्नुहुन्न' भन्ने दृष्टिकोण अँगालेजस्तो देखिन्छ, जसरी प्रधानमन्त्रीका भाषणबाट उनका वाचा हराइसकेका छन्। उनका वाचासँगै सरकारी तथ्य लुकाइएका, मेटाइए, समायोजन गरिए या अतिशयोक्तिपूर्ण बनाइए। भित्र के भएको भनेर कसैलाई थाहा छैन। तर, जब भारतीय रेलले ‘सुरक्षा’ श्रेणीमा डेढ लाखभन्दा बढी पद रिक्त रहेको कुरा बताउँछ, बाँकी कुरा छाडौँ– हामी राष्ट्रिय बजेटको अभाव देख्छौँ।
अग्निपथ योजनाको पछाडिको हतासा जनशक्ति र पेन्सन लागतलाई कुनै न कुनै रूपमा घटाउन थियो र यो राज्यका कर्मचारीको पेन्सन योजना सुधार गर्ने सोच पनि हो। यी परिवर्तनमध्ये केही सम्भवतः आवश्यक थिए, तर राज्यले तलब वा पेन्सन तिर्न असमर्थ भएकोले ठूलो रणनीतिक महत्त्वका निर्णय गर्नु बुद्धिमानी नीति निर्माण होइन।
शायद तथ्य यो हो कि पछिल्लो १० वर्षदेखि मोदी सरकारले ठूला कर्पोरेसनलाई बिनाअवरोध दौडन दिइराखेको छ, त्यतिसम्म कि कर्पोरेट कर सरकारको आम्दानी कर संकलनभन्दा कम छ। २ प्रतिशतभन्दा कम जनसंख्या आयकरका लागि उत्तरदायी छ। आयकर संकलनको वृद्धिले समाज राम्रो अवस्थामा छ नभन्ठानौँ, बरु २ प्रतिशत जनसंख्याचाहिँ महत्त्वपूर्ण रूपमा धनी छन्। यसबीच, धेरै बढाइचढाइ गरिएका आईटी क्षेत्रले गत वर्ष ७० हजारभन्दा बढी रोजगारी घटाएको छ।
असफल सरकारले ‘हेडलाइन’ कसरी बनाउँछ?
जम्मू कश्मीरमा चुनाव भइरहेको छ र आगामी ६ महिनाभित्र हरियाणा, महाराष्ट्र, झारखण्ड र शायद दिल्लीमा पनि चुनाव हुनेछ। यीमध्ये कुनैमा पनि भाजपाले राम्रो प्रदर्शन गर्ने सम्भावना धेरै थोरै छ। तर मोदी सबै चुनावमा पार्टीका अटल प्रचारकका रूपमा रहने छन्। त्यसैगरी समाचारका शीर्षकबाट पनि उनी हराउने सम्भावना कम कम छ।
आफ्नो कार्यकालमा कुनै काम देखाउन नसकेका मोदीसँग वाचा गर्ने सवालमा झनै थोरै कुरा छन्। तर मुस्लिमविरुद्ध घृणा जगाउने आफ्ना भाषणमा उनी अडिग छन्, गत आम चुनावमा पनि उनले यस्तै गरेकै हुन्। उनले आफू ‘सामान्य मानव जातिमा नजन्मिएको’ बकबकसम्म पनि गरे तर गत चुनावले देखायो कि यस्ता भाषणले वास्तवमा मोदीको पक्षमा मत बढाएनन्।
भनेजस्तो चुनावी परिणाम हात नपरे पनि मोदी समाचारमा भने रहनै पर्छ। त्यसै कारण प्रधानमन्त्रीलाई भारतीय प्रधानन्यायाधीशको निवासमा गणेश चौथी मनाउँदै गरेको हास्यास्पद तमासा देख्यौँ हामीले। यो विषयलाई लिएर भएका आलोचनाले फेरि एक पटक मोदीले आफूलाई पीडितको रूपमा चित्रण गर्न पाए र आफ्ना विपक्षीलाई ‘हिन्दू विरोधी’का रूपमा चित्रण गर्न पाए। उनलाई फेरि एक पटक समाचारका हेडलाइनमा फर्कने मौका मिल्यो, जसको उनी साह्रै रहर गर्छन्।
एनडीएले एकपछि अर्को ठक्कर खाँदै गर्दा ‘युटर्न’का युटर्न गर्ने मोदीलाई रिँगटा लागेझैँ हुँदो हो। तर मोदीका चर्चा र हेडलाइनका तृष्णा भने पक्कै बढ्नेछ र सार्वजनिक पदको उनको बाँकी कार्यकाल हामीले एउटा हताश बूढो मान्छे चिच्याइरहेको सुनिरहनेछौँ, ‘मलाई हेर! मलाई हेर! म अझै सान्दर्भिक छु।’
(द वाइरडटआइएनमा छापिएको लेखको भावानुवाद। लेखक अहमद भारतीय पत्रकार र लेखक हुन्।)