चाणक्य कुनै सरकारी कागजात लेखिरहँदा एक चिनियाँ यात्री उनलाई भेट्न उनको कोठामा छिरे। अँध्यारो कोठामा बत्ती बालेर काम गरिरहेका उनले काम सकेपछि पहिलेको बत्ती निभाए र अर्को बत्ती बाल्दै चिनियाँ यात्रीसँग कुराकानी गर्न थाले। इसापूर्व ३७०–२८३ तिरका तक्षशिला प्राज्ञिक संस्थाका आचार्य ठानिने चाणक्य (कौटिल्य)को प्रसंग हो यो। सरकारी काममा सरकारी बत्ती र निजी काममा आफ्नै बत्ती। यस्तो प्रसंग हामी यदाकदा पढ्न पाउँछौँ। चाणक्यको आर्थिक अनुशासनको कतिपय सिद्धान्त अहिले पनि प्रासंगिक छन्। हरेक व्यक्तिदेखि ठूला संघसंस्थासम्मले आर्थिक अनुशासन कायम गर्न सकेनन् भने आर्थिक प्रगति त हासिल होला तर त्यो क्षणिक हुनेछ। आर्थिक अनुशासन हरेक व्यक्ति र संस्थाको दीर्घकालीन प्रगतिको मेरुदण्ड हो।
आर्थिक अनुशासनले पैसाको सदुपयोग मात्र बुझाउँदैन, समग्रमा व्यक्तिको नैतिक मूल्य र जिम्मेवारी पनि जनाउँछ। चाणक्य सिद्धान्तअनुसार आर्थिक अनुशासनले दीर्घकालीन प्रगति सुनिश्चित गर्न मद्दत गर्छ। सँगै, यसले कुनै पनि समाज वा संस्थाको स्थिरता र समृद्धि कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। आर्थिक आयआर्जनदेखि खर्च व्यवस्थापनमा अधिकतम मितव्ययिता अपनाउँदै भड्किलो र देखावटी आर्थिक क्रियाकलापको अन्त्य गर्दै व्यवस्थित आर्थिक सञ्चालन प्रणालीको अभ्यास हरेक व्यक्ति र संस्थाको अपरिहार्य जिम्मेवारी हो।
हाम्रो समाजको हरेक क्षेत्रमा देखिएको र अझ समाजले नै बढवा दिइरहेको आर्थिक अराजकता आजको निम्ति त अहितकार छ नै यसप्रतिको मलजल यसैगरी बढ्दै जाने हो भने भावी पुस्ताले यसबाट निम्तिने अझै विकराल नतिजा बेहोर्नु पर्नेछ। भ्रष्टाचार भन्नेबित्तिकै हामी सरकार र सरकारी निकाय सम्झिन्छौँ। कतिपयले भ्रष्टाचार सरकारी निकायमा मात्रै हुन्छ, निजी क्षेत्र र जीवनमा हुँदैन भन्ने खालको तर्कसमेत गर्छन्, तर त्यो सर्वथा गलत हो।
निजी जीवनमा पनि भ्रष्टाचारको प्रभाव देखिन्छ, जसलाई हामीमध्ये धेरैले नजरअन्दाज गर्दै आएका छौँ। भ्रष्ट र आचार (आचरण) शब्दको सन्धिबाट ‘भ्रष्टाचार’ शब्द बनेको हो। आम रूपमा भ्रष्टाचार भन्नेबित्तिकै आर्थिक अनुशासनमा नबसेको बुझिन्छ, तर गलत नैतिक र सामाजिक क्रियाकलाप पनि भ्रष्टाचार नै हुन्।
नेपाली समाजमा भ्रष्टाचार पुरानो समस्या हो र यसले समग्र आर्थिक र सामाजिक संरचनामा गम्भीर प्रभाव पार्दै आएको छ। पहिलादेखिको यो समस्या अहिले पनि व्याप्त छ। पारदर्शिता र मिडियाको उपस्थिति भएका कारण पनि समस्या पहिलेभन्दा बढी अझै सतहमा देखिएको पनि हुनसक्छ।
सरकारी र निजी क्षेत्रका कतिपय प्रमुख व्यक्ति, व्यवसायी र अन्य सदस्यमा आर्थिक अनुशासनको कमी देखिन्छ। आर्थिक अराजकता, अनियमितता र भ्रष्टाचारको बढ्दो प्रवृत्तिले समाजको नैतिकता र सांस्कृतिक मूल्य-मान्यतालाई चुनौती दिइरहेको छ। सरकार र सरकारी निकाय सम्मिलित नेपाली वृत्तमा आइरहने नयाँ–नयाँ आर्थिक अनियमितताको काण्ड होस् या स्विस बैंकमा नेपालीहरूको बढ्दै गएको रकम सञ्चिति, त्यसले कर्मचारी, राज्य संयन्त्र र राजनीतिक दल तथा तिनका नेतृत्वसम्म आर्थिक अराजकताको महासागरमा डुबेको प्रस्ट पार्छ।
त्यसो त छोटो समयमा आर्थिक फड्को मारेको र देशदेखि विदेशसम्म नाम कमाउन सफल भनिएका नेपालका व्यावसायिक कतिपय घरानाले पनि आर्थिक अनुशासन अनुसरण गरेको देखिएन। आफ्नो संघर्ष र सफलताका कथाको पुस्तक नै लेखेर बजारमा बेच्नेदेखि ठुलाठालु कन्फेरेन्स हलका मञ्चमा उभिएर 'सफलताका सूत्र' सुनाउने देशका प्रतिष्ठित व्यापारीका पर्दा पछाडिका काला कर्तुत एकपछि अर्को गरी बाहिर आउन थालेका छन्। यस्ता विवरण सार्वजनिक हुनुले नेपालमा सफल व्यवसायी भनेर चिनिएका अधिकांश व्यापारिक घरानाका पछाडि पक्कै केही कालो कर्तुत जोडिएको हुनुपर्छ भनेर सोच्न धेरैलाई बाध्य बनाएको छ।
भड्किलो र देखावटी बन्दै गएको आम नेपालीको जीवनशैलीले कुनै न कुनै रूपमा आर्थिक अराजकतालाई आमन्त्रण मात्रै गरेको छैन, विद्यमान आर्थिक अराजकतालाई थप मलजल गर्दै लगिरहेको छ। चाडपर्व मनाउँदा या आफ्नो दैनिक जीवनयापनसँग सम्बन्धित क्रियाकलाप गर्दा नेपालीको लवाइखवाई र रवाफ बढ्दो छ। 'मुखमा माड छैन कुन्नि केमा घिउ' भन्ने उखान हाम्रो नसुहाउँदो उपभोग शैलीलाई ठ्याक्कै सुहाउँछ।
अर्कोतर्फ, स्रोतसाधनको असमान वितरण र पुँजीवादमैत्री सरकारी–प्रशासनिक संयन्त्रका कारण धनी र गरिबबीचको असमानताको पर्खाल झनै अग्लिँदै छ। संसारमा उब्जने अपराधका मुख्य कारणमध्ये अभाव, गरिबी, बेरोजगारी, आर्थिक असमानता र सामाजिक विभेदलाई अग्रस्थानमा इंगित गरेका छन्। त्यसको छिटपुट प्रभाव नेपाली समाजमा पनि देखिँदै आएका छन्।
पर्याप्त आधार र प्रमाणबिना अर्थतन्त्रमा नकारात्मकता सिर्जना गर्ने खालका अनेक अड्कलबाजी र वक्तव्यबाजी गर्नु आर्थिक अराजकताकै अर्को पाटो हो। अर्थतन्त्र देश विकासको मेरुदण्ड मात्रै होइन, देशका राजनीतिक, सामाजिक र सांस्कृतिक तत्त्वहरूको समेत अर्थतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहन्छ। अथवा अर्थतन्त्र हरेक देशको समग्र आन्तरिक तथा बाह्य वातावरणसँग पूर्णतः अन्तर्निहित रहन्छ।
यहाँनिर धनका अगाडि सत्य लुक्छ भन्ने कथन स्मरणयोग्य छ। धार्मिक कथाहरूमा र चलचित्रको दृश्यहरूमा बाहेक वास्तविक समाजमा 'सत्य'ले जितेका उदाहरण दुर्लभ छन्। सबै धन आर्जन गलत पक्कै होइनन्। यस युगमा धनसम्पत्ति कमाउने कुरा अधिकांश मान्छेको ध्येय हुनु स्वाभाविक हो, तर धन आर्जनलाई मात्र सफलता देख्ने र त्यस पछाडिका सबै कर्तुतलाई नजरअन्दाज गर्ने नेपाली समाजको मनोविज्ञानचाहिँ अस्वाभाविक र गलत हो। त्यो मनोविज्ञानले आर्थिक अराजकतालाई झनै बढवा दिइरहेको छ।
पैसाले 'इज्जत' प्राप्त हुन थालेपछि मानिसले धन आर्जनका निमित्त जेसुकै र जस्तोसुकै काम गर्नु अस्वाभाविक होइन। शायद त्यसकै कारण हुनुपर्छ, पछिल्ला दशकमा आर्थिक अराजकता र अपराधका शृङ्खलाका नाइकेका ठुला फोटा हामीले मिडियामार्फत देख्यौँ । त्यस्ता अपराधीलाई समाजले बोकेर हिँडेको पनि देखियो। विभिन्न आयोजना र प्रशासनिक अनियमितता त छँदै छ, पैसाकै लागि मानव तस्करी, चोरी पैठारीलगायत काम हुँदै जाने हो भने भावी पुस्ताको भविष्य के होला?
अतः संसार बदल्नु छ भने शुरू आफैँबाट गर्नुपर्छ भन्ने महात्मा गान्धीको चर्चित भनाइलाई नै अनुसरण गरेर समाजका हरेक व्यक्तिले आफूमा आर्थिक अनुशासन कायम गर्नुपर्ने देखिन्छ। घरपरिवार त छँदै छ, निजी संस्था होस् या सार्वजनिक, धार्मिक, सामाजिक, राजनीतिक या गैरराजनीतिक संस्था, सानो होस् या ठूलो, सबैले सदाचारी र मितव्ययी बन्नु आवश्यक छ।
अर्को कुरा, आफ्नो जिम्मेवारी र उत्तरदायित्व बोध नगर्ने, तर अरूमाथि प्रश्न उठाउने समस्या हामीमा छ। आफूले गरेको सही र अरूले गरेको गलत बुझ्ने मनोविज्ञान छ। तर हामी आफैँले आफैँलाई सोध्नुपर्छ–सदाचारको उपदेश दिन त हामी रुचाउँछौँ तर आफैँ कति सदाचारी छौँ?
प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी र उत्तरदायित्व शिरोपर गर्दै आर्थिक अनुशासन कायम गर्ने र आफैँप्रति इमानदार बन्ने हो भने समाजमा आर्थिक मात्रै होइन, भ्रष्ट आचरणको प्रश्न बिरलै उठ्नेछ। तर व्यक्तिसँगै संस्थागत रूपमा पनि यस्तो अनुशासन कायम गर्ने प्रयास पनि हुनुपर्छ।
अर्को कुरा, यो केवल कानूनी मापदण्ड र नियामक निकायको मात्र काम होइन, हरेक नागरिकले आफ्नो व्यवहारमा इमानदारी र पारदर्शिता कायम गर्नुपर्छ। समाजमा परिश्रम र इमानदारीका आधारमा धन आर्जन गर्ने व्यक्तिको सम्मान हुनुपर्छ र गैरकानूनी धन आर्जन गर्ने प्रवृत्तिको विरोध गर्नुपर्छ। आर्थिक अनुशासन अभ्यासले समाज मिहिनेती हुन्छ। लुटिखाने र चोरिखानेहरू हतोत्साहित हुन्छन्।
चाणक्यझैँ आचरणयुक्त हुन अलि कठिन होला तर हामीले यत्न गर्नुपर्छ। सदाचार मूल्यवान् विषय हो, यसलाई जोगाउँदै फैलाउनुपर्छ। कोही व्यक्ति रातारात धनी भयो भने उस/उनको पूजा गर्ने संस्कृतिको अन्त्य गर्नुपर्दछ। मिहिनेती र सदाचारीलाई पुरस्कृत र सम्मान गर्ने अभ्यास परिवार, कार्यालय र सार्वजनिक क्षेत्रमा गर्नुपर्छ। गैरकानूनी र समाज हित विपरीत काम गर्नेप्रति खबरदारी गर्नुपर्छ। सुन्दा अव्यावहारिक लागे पनि यो खाले परिवर्तन असम्भव भने होइन। हामी सबैले चाणक्यले झैँ बत्ती बाल्न सके समाज र राष्ट्र झलमल्ल हुँदो हो।