सडक दुर्घटना मानवसिर्जित अनेकन् प्रकोपमध्ये एक हो र यो विकराल बन्दैछ। सामान्य जीवन बाँचिरहेको कुनै मान्छेको अचानक मृत्यु आफैँमा त्रासद र ठूलो विषय हो। सडक दुर्घटनाले मानवीय क्षतिका अतिरिक्त भौतिक, मानसिक तथा आर्थिक क्षति पनि गर्छ। सडक दुर्घटनाका कारण विश्वकै कुल राष्ट्रिय उत्पादनको ३ प्रतिशत प्रतिवर्ष आर्थिक क्षति हुने गरेको अनुमान गरिन्छ।
सडक दुर्घटनाका प्रमुख चार कारण हुन्: १. चालकको आचरण (लापरबाही तथा अनुशासनहीनता) २. सडकको दुरावस्था ३. सवारीसाधनको कैफियत तथा ४) मानवीय पक्ष (चालकलाई हुने थकान आदि)। वर्ष २०२३ मा दुर्घटनामा परी नेपालमा दुई हजार ३६८ को मृत्यु तथा पाँच हजार ६४६ सख्त घाइते भएको तथ्यांकले देखाउँछ। यस लेखमा मानवीय पक्षलाई बढी ध्यान दिइएको छ। सडकमा देखा पर्ने अनुशासनहीनता नै सडक दुर्घटनाको प्रमुख कारण हो भन्ने मेरो मान्यता छ।
पैदलयात्री
शहरी क्षेत्रका पैदलयात्रुमा अत्यन्त साँघुरो फुटपाथ छाडेर सडकबाट हिँड्ने अभ्यास ज्यादा देखिन्छ। कतिपय व्यक्ति सडकमा अंकमाल गरी टहलिँदै र गफिँदै हिँडेको देख्न पाइन्छ। अभिभावकले फुटपाथ नै प्रयोग गर्दा पनि आफूसँगको बालबालिकाको हात भने दाहिनेतर्फबाट समातेर डोर्याउने चलन छ। सडकतर्फ बालक डोर्याउँदा व्यक्ति आफू भने सुरक्षित ठाउँमा हुन्छ र कतिपय अवस्थामा हातबाट बालक फुत्त फुस्किँदा दगुर्दै गरेको सवारीसाधनसँग ठोकिने जोखिम हुन्छ। जबकि, त्यसबारे धेरै अभिभावक बेखबर हुन्छन्। सडकमा बालबच्चालाई लिएर हिँड्दा हामीले बुझ्नुपर्ने अर्को कुरा के छ भने उनीहरूले पाको व्यक्तिले झैँ जोखिम र सवारीको गतिको मापन गर्न सक्दैनन्।
त्यस्तै, बाटो काट्दा रोकिएर सचेततासाथ दायाँबायाँ नजर घुमाउँदै अघि बढ्नुपर्नेमा धेरैले त्यसो गर्दैनन्। आफ्नै लयमा छड्के हुँदै बाटो काट्नेहरू देखिन्छन् सडकमा। ट्राफिकको चाप बेवास्ता गर्दै जेब्राक्रस भएको स्थानबाट सडक पार गर्नुभन्दा पायक परेको स्थानबाट मनमौजी बाटो काट्नु सहज मान्छन् अधिकांश पैदलयात्री। संख्यामा थोरै भएका आकासे पुलको प्रयोग गर्ने पदयात्रु बिरलै देखिन्छन्। कुनै सवारी चालकले बाटो काट्दै गरेको यात्रीको सुरक्षा ख्याल गर्दै साधन रोक्दा पदयात्री आफ्नै लयमा बाटो काट्छन्। रोकिएको सवारी साधनपछाडि गुड्दै गरेको सवारी चालकलाई यति बिघ्न हतार हुन्छ कि उनीहरू रोकिएको अघिल्लो साधनलाई ओभरटेक गरेर पैदलयात्रीसँग ठोकिन पुग्छन्। व्यस्त सडकमा समेत मोबाइल फोनमा मस्त गफ गर्दै हिँड्ने पदयात्री प्रशस्त देखिन्छन्।
सवारी चालक
चालकको रोजाइमा बीच सडक पर्छ। दुई लेनको सडकमा समेत सडकको बीचमा कोरेको सेतो तथा पहेँलो धर्को बीचमा पारेर सवारी साधन घुइँक्याउँछन्। चार लेनका सडकमा धीमा गतिले दायाँतर्फ (तीव्र गतिमा सञ्चालन गर्न पाइने) लेनमा चाहिँ सवारीसाधन मन्द गतिमा सञ्चालन गरिन्छ। उक्त (द्रुत) लेनमा नतमस्तक हुँदै अगाडि बढ्ने चालक साना र ठूला चारपांग्रेमा मात्र सीमित हुँदैनन्। दुईपांग्रे साधन चालक पनि बिन्दास भएर लेनको बीचबाट आफ्नै सुरतालमा साधन अघि बढाइरहेका हुन्छन्। त्यस्तो अवस्थामा बायाँतर्फको लेनबाट आउँदै गरेका चालकका निमित्त बायाँतर्फबाटै ओभरटेक गर्नुपर्ने अवस्था आइपर्छ। सवारीसाधनमा हुने बायाँपट्टिको सिग्नल लाइट उपयोगविहीन हुन्छ।
सोझो दिशातर्फ अग्रसर चालकले पनि दायाँतर्फको सिग्नल लाइट झ्यापझ्याप पार्दै दगुर्ने गर्छन्। सडकमा हुइँकिँदै गरेको साधन रोक्न नपर्दा पनि दायाँतर्फकै सिग्नल बालिएको देखिन्छ। विश्राम गर्दा होस् या पार्क गरिराखेको साधन अगाडि बढाउँदा, दाहिनेतर्फकै सिग्नल लाइटको उपयोग गरिन्छ। त्यति मात्र होइन, पछाडिबाट द्रुत गतिमा आउँदै गरेको साधनलाई ओभेरटेक गर्न इसारा दिँदा पनि त्यही दायाँ सिग्नल दिने चलन छ। त्यस्तो अवस्थामा पछाडिबाट आउँदै गरेका चालकले अगाडिको चालकको संकेत कसरी बुझे? सामुन्ने परेको साधन रोक्न अथवा अगाडि बढ्न फ्ल्यासलाइट बालिन्छ। आउँदै गरेको साधन चालकले त्यसलाई कसरी बुझ्ने?
सहायक सडकबाट मूल सडक प्रवेश गर्ने चालकले दायाँबायाँ नजर घुमाएर ९० डिग्री कोणमा सवारीसाधन बढाउने प्रचलन दुर्लभ देखिन्छ। मूल सडक प्रवेश गर्नेले बायाँतर्फबाट आउँदै गरेको साधनको बिरलै ख्याल गर्छन्। सामुन्नेबाट आउँदै गरेको साधनको जोखिम उठाउँदै बाटो स्वाट्ट काट्छन्। बायाँतर्फबाट हर्न बजाउँदै ओभरटेक गर्ने चालक ओभरटेक गरेलगत्तै दायाँउन्मुख हुन बेर मान्दैनन्। धेरैजसो महँगो मोटरसाइकल चलाउनेहरू अंग्रेजी वर्णमालाको ‘यस’ बनाउँदै अघि बढ्नुलाई ठूलै बहादुरी गरेझैँ ठान्छन्।
कतिपय चालकको त मोबाइल समातेर वार्तालापमा मग्न हुनु आदत नै हुन्छ। दोहोरी गीत घन्काउँदै बेतोडमा सार्वजनिक सवारी कुदाइरहेका चालकसमेत मोबाइलमा वार्तालाप जारी राख्छन्। साँघुरो सडकमा ओरालोउन्मुख चालकले अर्को दिशा (उकालो) तर्फबाट आउँदै गरेको साधनलाई छेउ लागेर आउन दिनु अथवा दुई साधन चल्न सक्ने स्थानमा कुर्ने धैर्य गर्नुभन्दा अगाडि बढेर उकालो उन्मुखलाई पछाडि फर्कन बाध्य तुल्याउँछन्। त्यसैगरी, साँघुरो घुम्तीमा अगाडिबाट आउँदै गरेको साधनका निमित्त रोकिएका चालकले पछाडि आउँदै गरेका साधनलाई अगाडि नबढ्न संकेत दिने अभ्यास कम हुँदैछ। साधनमा समस्या आएर रोकिँदा इमर्जेन्सी बत्ती बालेर छेउ लाग्ने चालकभन्दा बिना संकोच बीच सडकमा साधन तेर्स्याएर आवागमन अवरोध गर्नेको संख्या धेरै देखिन्छ।
राजमार्गतिर ‘फर्मुला १’को चालकले झैँ बेतोडसँग सवारीसाधन दौडाउने चालक धेरै हुन्छन्। जबरजस्ती दुई लेन तुल्याइएका सम्पूर्ण सडक ढाकेर दुइटा १६ पांग्रे लरी प्रतिस्पर्धा गरेको दृश्यसमेत बराबर देखिन्छ। हाम्रो सामाजिक मनोवृत्ति नै यस्तो हो कि, अकारण जोखिम उठाउनुलाई समेत बहादुरी नै मानिन्छ! पहिरो जाँदै गर्दा होस् या खहरे खोलामा बाढी आउँदै गर्दा साना–ठूला सार्वजनिक यातायातका साधनसमेत दुस्साहस गर्दै अघि बढेका दृश्य सामाजिक सञ्जालमा देखिन्छन्। सानाले मात्र होइन, ठूला साधनले पनि चर्को स्वरको हर्न बजाउँदै अगाडिको साधनलाई आँखा चिम्लेर ओभरटेक गर्छन्।
ट्राफिक प्रहरी
नेपाली राजमार्ग तथा सडकमा जस्तो ट्राफिक प्रहरीको बाक्लो उपस्थिति अन्यत्र देशमा देखिँदैन। उच्च धुलो, धुवाँ तथा ध्वनि प्रदूषणले ट्राफिक प्रहरीको स्वास्थ्यमा परेको असरबारे अनुसन्धान हुन बाँकी नै छ। उनीहरूमध्ये थोरैले मात्र मास्क पहिरेका हुन्छन्। जर्मन सरकारले अनुदानमा दिएको 'सनग्लास' पहिरने प्रहरी देखिन छाडिसके।
साँझबिहान ट्राफिकको चाप उच्च हुन्छ र चालकहरू गन्तव्यमा पुग्ने हतारोमा हुन्छन्, तर त्यही मौका छोपेर प्रहरीले चालक अनुमतिपत्रलगायत अन्य कागजात (स्वामित्व पत्र, कर तिरेको प्रमाण, इन्स्योरेन्स तथा पर्यावरण सर्टिफिकेटको म्याद आदि) जाँच पडताल गर्छन्। राजमार्गका प्रहरीले त त्यस्ता कागजातको लामो अध्ययन नै गर्दै सम्पूर्ण ट्राफिक अवरोध गरिरहेका भेटिन्छन्। परीक्षण-अवरोधकै कारण सवारी सञ्चालन अवरोध भइरहेका हुन्छन्।
बेलुकीको जाँचपडताल 'मापसे' गरेका चालक पहिचान तथा तिनबाट राजस्व असुल्न केन्द्रित हुन्छ। अँध्यारो हुँदा घर प्रवेश गर्न हतारो हुने चालकहरू 'चेकजाँच'ले दण्डित हुन्छन्। सडक अवरोध गर्ने प्रहरीलाई त्यसको अत्तोपत्तो हुँदैन।
पैदलयात्रु तथा चालकउपर हैकम चलाउनु सडकमा खटिएका प्रहरीको अधिकार ठानिन्छ। त्यसो हुँदा पैदलयात्रु तथा चालक सकेसम्म प्रहरीको आँखा छल्न प्रयत्नशील हुन्छन्। यस प्रक्रियामा अनुशासनको पालना केवल प्रहरीबाट दण्डित नहुनका निमित्त भन्ने भाष्य बनिसकेको छ।
प्रशंगवस दुई राष्ट्रमा भोगेको अनुभव बाँड्नु सान्दर्भिक हुन्छ।
टोरन्टोदेखि मोन्ट्रेल (क्यानडा) जाँदा धागो तानेजस्तो सिधा र खाल्टाखुल्टीविहीन फराकिलो (दुवै दिशातर्फ फराकिला दुई/दुई लेन) खुल्ला राजमार्गमा चालकले औसत ११०-११५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गाडी दगुर्दै थियो। पट्यार लागेर चालकलाई सोधेँ, “यस्तो ट्राफिकविहीन उच्च कोटीको सडकमा किन धिमा गतिमा गाडी चलाएको? यहाँ कतै पनि रोयल माउन्टेन प्रहरी देखिँदैन!” चालकले बताए, “राजमार्गको स्पिड लिमिट १००-११० हो। दुस्साहस गर्नुभन्दा अनुशासित चालक भएर सडकको नियम पालना गर्नु मेरो कर्तव्य हुन्छ। प्रहरीको आँखा छल्न होइन। यात्रुको जीवनलाई जोखिममा पार्ने अधिकार मलाई छैन।”
स्विट्जरल्यान्डमा मलाई चालक अनुमतिपत्र (लाइसेन्स) हस्तान्तरण गर्ने क्रममा अधिकारीले भनेका थिए, “सवारीसाधन अत्यन्त खतरनाक मेसिन हो। चालकले मामुली हेलचेक्र्याइँ गर्दा अत्यन्त ठूलो जनधनको क्षति हुन्छ। हेक्का राख्नुहोला, हामी स्विसहरू सडकको नियम पालनमा सजग, अनुशासित तथा जिम्मेवार हुन्छौँ। यहाँ हुने प्रायजसो सडक दुर्घटना विदेशी नागरिकका कारण हुने गर्छ।”
ती दुवै राष्ट्रमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या प्रत्येक वर्ष घट्ने क्रममा छ। विगत एक दशक (२०१० देखि २०२०) मा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या उदाहरणका निमित्त तल प्रस्तुत गरिएको छ।
देश |
सन् २०१० |
सन् २०२० |
क्यानडा |
२,२२७ |
१,७४५ |
स्विट्जरल्यान्ड |
३२८ |
२२७ |
नेपाल |
१,७३४ |
२,५०० |
सडक दुर्घटना न्यूनीकरण उपाय
क्यानडा तथा स्विट्जरल्यान्ड मात्र होइन, विश्वका सबैजसो सरकार सडक दुर्घटना न्यूनीकरणका निमित्त प्रयत्नशील छन्। तर अनुशासित भएर सडकको नियम पालना गर्ने समाज/राष्ट्र मात्र दुर्घटना कम हुन्छन्। नेपालमा पैदलयात्री, चालक तथा प्रहरी सबैले अनुशासन पालना गर्न चुक्छन्। अज्ञान तथा मिचाहा मनोविज्ञान दुवै कारणले दुर्घटना बढी हुने हो। प्रविधि तथा सडकको स्तर आदि सुधारेर दुर्घटना न्यून तत्कालै सम्भव छैन। नीति निर्माताले पैदलयात्री, चालक तथा प्रहरीलाई सडक नियम पालनाका निमित्त आवश्यक तालिम तथा अनुशासन उल्लंघनकर्तालाई कठोर सजायको व्यवस्था गर्दा बढी लाभप्रद हुने देखिन्छ।
सञ्चारमाध्यमले नागरिकलाई पैदलयात्रा गर्दा कायम गर्नुपर्ने अनुशासनबारे बारम्बार सचेत गर्नुपर्ने देखिन्छ। लाइसेन्स पाउनुपूर्व ट्राफिक नियम तथा साधन सञ्चालनसम्बन्धी ज्ञान सवारी चालकमा हुनु अनिवार्य छ। प्रहरीको आँखा छल्ने प्रयास आफैले आँखा बन्द गरेर साधन चलाएझैँ घातक हुन्छ भन्ने बोध प्रत्येक चालकलाई हुनुपर्छ। ट्राफिक प्रहरीलाई पनि सडकको नियमसम्बन्धी ज्ञान तथा तिनको पालना नितान्त आवश्यक छ।