दक्षिण एशियाको ठूलो मुलुकका महत्त्वपूर्ण कम्युनिस्ट नेता सीताराम येचुरी बिहीबार ७२ वर्षको उमेरमा बिते। कम्युनिस्ट आन्दोलनले क्रान्तिकारी धार बदल्दै सुधारवादी र प्रतिरक्षात्मक दिशा लिइरहेका बखत संसदीय धारामा कम्युनिस्ट आन्दोलन अघि बढाउन भूमिका खेल्ने नेता हुन् उनी। त्यसो हुँदा कम्युनिस्ट आन्दोलनको सुधारवादी धारको ठूलो नाम हो येचुरी।
इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएताका त्यसविरुद्ध आन्दोलनमा जुट्दा गिरफ्तार भएर प्रभावशाली युवा विद्यार्थी नेताका रूपमा उदाए येचुरी। छात्र जीवनमा उनी स्टुडेन्ट्स फेडरेसन अफ इन्डिया (एसएफआई)सँग सम्बद्ध थिए। एसएपफआई भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), (माकपा)को विद्यार्थी मोर्चा हो। दिल्लीमा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)बाट अर्थशास्त्रमा प्रथम स्थानमा मास्टर्स सकेर पीएचडी गरिरहेका बखत पक्राउ परेपछि उनको पढाइ नै रोकियो, जुन कहिल्यै पूरा भएन।
बीचमै पिएचडी रोकिए पनि भारतमा मात्र नभएर संसारका अनेकन् देशमा वामपन्थी चिन्तकका रूपमा उनी परिचित र सम्मानित थिए। अक्सफोर्डलगायत धेरै विदेशी विद्यालयमा उनी आमन्त्रित वक्ताका रूपमा बोलाउने गरिइन्थे। वैश्विक अर्थनीति र समाजवादबारे उनका महत्त्वपूर्ण किताबहरू प्रकाशित छन्। उनी लामो समय माकपाका तर्फबाट भारतीय राज्यसभाका सांसद चयन भएका थिए। राज्यसभामा उनी आफ्नो वक्तव्य र भूमिकाका लागि प्रसिद्ध थिए। वास्तवमै धेरै ठूलो नाम थियो कमरेड येचुरीको।
नेपालको राजनीतिमा पनि उनको भूमिका महत्त्वपूर्ण थियो। खासगरी नेपालको कम्युनिस्ट आन्दोलनमा उनी र उनको पार्टीको मित्रवत् भूमिका थियो। माओवादी जनयुद्धप्रति उनी आलोचनात्मक दृष्टिकोण राख्थे। त्यसो हुँदा नेकपा माओवादीभन्दा बढी नेपालका अन्य कम्युनिस्ट पार्टीहरूसँग उनको बढी निकट सम्बन्ध थियो। नेपालका थुप्रै कम्युनिस्ट पार्टीसँग उनको सम्बन्ध थियो। तर नेपालको राजनीतिक परिवर्तनमा समेत उनी सक्दो भूमिका निर्वाह गर्ने चेष्टा गर्थे। नेपालको माओवादी जनयुद्ध र संसदीय राजनीतिक दलहरूलाई लोकतान्त्रिक गणतन्त्रको निम्ति समझदारीमा ल्याउन १२बुँदे दिल्ली सम्झौतामा पनि उनको भूमिका रहेकै हो।
विश्व कम्युनिस्ट आन्दोलनमा भएको दुई धारजस्तै भारतमा पनि सर्वहारावादी क्रान्तिकारी धारा र सुधारवादी शान्तिपूर्ण संक्रमणको संसदीय धारा पहिल्यैदेखि नै छ। कमरेड येचुरी र उनको पार्टी समाजवादी लक्ष्यको निम्ति ‘संसद्लाई उपयोग गर्नुपर्छ’ भन्ने धारको हो। भाकपा (मार्क्सवादी)ले सुधारवादी बाटो अँगालेपछि त्यसबाट फुटेर चारु मजुमदारको नेतृत्वमा भाकपा मालेको गठन भयो, जसले भारतमा नक्सलवादी आन्दोलनको उठान गर्यो। स्मरणीय छ, कुनै बेला भाकपा मालेको ‘नक्सलवाद’कै प्रभावमा नेपालमा झापाली मालेहरूले हिंसात्मक विद्रोह गरे। भाकपा मालेले उता आफ्नो धार बदलेपछि यता पनि एमालेले आफ्नो लाइन बदल्यो।
यद्यपि, सीपीआई (एम) हिंसात्मक विद्रोहको पक्षमा थिएन। येचुरीको पार्टीसँग पनि यताको एमालेको सम्बन्ध राम्रो थियो। एमालेसँग मात्र नभई माओवादीसँग समेत राम्रो सम्बन्ध भएकाले नै १२बुँदेमा उनले महत्त्वपूर्ण भूमिका खेलेको बताइने गरिन्छ। चारपाँच भाषामा बातचित गर्न सक्ने येचुरी खासमा सबै धारका व्यक्तिसँग सहजै सम्बन्ध स्थापित गर्न सक्ने नेता थिए।
येचुरी र उनी नेतृत्वका पार्टीको दस्ताबेज हेर्दा मूल रूपमा समाजवादप्रतिको समर्थन कायमै देखिन्छ। शास्त्रीय रूपमा धार बदले पनि सामाजिक न्याय, श्रमिकहरूको अधिकार र धर्मनिरपेक्षतामा येचुरी दृढ थिए। लामो समयसम्म राज्यसभाका सदस्य रहँदा त्यहाँ उनले गरेका भाषणमा व्यक्त गरेका अडानयुक्त दृष्टिकोण हामी पढ्न पाउँछौँ।
कांग्रेससँग मिलेर सन् २००४ मा संयुक्त प्रगतिशील गठबन्धन बनाउनुपूर्व भारतका कम्युनिस्टहरूले भारतमा फासिजमको उदय हुन लागेको भन्दै चेतावनी दिइराखेका थिए। सोही कारण वामपन्थीले उतिखेरको कांग्रेस सरकारलाई समर्थन गरे, पनि। त्यतिखेरको शक्तिशाली कम्युनिस्ट पार्टीमध्ये थियो भारतीय मार्क्सवादी। केरल र पश्चिम बंगालमा त्यस पार्टी नेतृत्वको सरकार थियो। तर आफ्ना अडानका कारण यता चर्चामा चाहिँ प्रायः कमरेड येचुरी रहन्थे।
येचुरी आफ्नो विचारमा कति दृढ थिए भने २००८ मा मनमोहनसिंह सरकारले अमेरिकी सरकारसँग परमाणुसम्बन्धी असैन्य सम्झौता गर्यो। त्यसैलाई कारण देखाएर उनले सरकारबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिए। अयोध्यामा नरेन्द्र मोदीको सरकारले आफ्नो पार्टीको प्रचारका रूपमा राम मन्दिर उद्घाटनको कार्यक्रममा गत जनवरीमा येचुरीलाई बोलाउँदा उनी गएनन्। उनले धर्मनिरपेक्ष राज्यमा सरकार प्रमुखहरू मन्दिर निर्माण र उद्घाटनमा लाग्नु गलत भएको भन्दै वक्तव्यसमेत दिए।
उनी महासचिव भएपछि पार्टीले संसदीय राजनीतिमा एकपछि अर्को असफलता भोग्दैगयाे। यसबीचमा पार्टीभित्रैबाट पनि आलोचना झेल्नुपर्यो। पार्टीको कार्यशैली र सिद्धान्तमा फेरबदल गर्नुपर्छ भनेर दबाब आए तर येचुरी आफ्नो वैचारिकताबाट अलग भएनन्।
सीपीआई (एम)का दिवंगत महासचिव येचुरी सशस्त्र आन्दोलनका आलोचक भए पनि कम्युनिस्ट क्रान्तिकारीमाथि सरकारी हमला या आक्रमण हुँदा जहिल्यै दृढतापूर्वक आलोचना गर्थे। येचुरी सुधारवादी कम्युनिस्ट भएकाले क्रान्तिकारी कोणबाट उनको पक्कै आलोचना हुनेछ। उनीमाथि मात्र नभएर सुधारवादी संसदीय राजनीतिमा भएका जोकसै कम्युनिस्टहरूलाई लाग्ने आरोप हो, यो।
मार्क्सवादी धारविरुद्ध रहेका विषयका उनी कट्टर आलोचक थिए, जसरी उनी अमेरिकी साम्राज्यवादका कट्टर आलोचक थिए। दृढतापूर्वक आफ्नो विचार राख्नसक्ने उनको खुबी पनि उनीबाट हामीले सिक्नुपर्ने कुरा हो। बितेका यी कमरेडबाट प्रगतिशील र क्रान्तिकारीहरूले इमानदार र वामपन्थी आचरण पक्कै सिक्न सक्छन्।
भारतीय कम्युनिस्ट पार्टीहरूलाई अरू विषयमा धेरै कोणबाट प्रश्न गर्न सकिएला तर उनीहरूले भारतमा 'चरित्र' भने बचाएका छन्। संसदीय राजनीतिमा आएर नेपालका कम्युनिस्टहरूमाथि आर्थिकलगायत अनेकन् विकृतिमा मुछिएको आरोप लाग्ने गरेको छ, तर भारतीय राजनीतिमा त्यहाँका कम्युनिस्टले आफ्नो ‘चरित्र’ बचाएका छन्। अहिलेसम्म कुनै पनि भारतीय कम्युनिस्ट पार्टीका नेता आर्थिक र अन्य अपराधमा मुछिएको आरोप लाग्ने गरेको छैन।
र, येचुरीमा पनि त्यो नभएकाले राजनीतिक सुचिता (शुद्धता) नेपालका कम्युनिस्टले पनि सिक्न सक्छन्। पुँजीवादी राजनीतिमा पसेर पनि आफ्नो सद्चरित्र कायम कसरी राख्ने भन्नेबारे संसदीय कम्युनिस्ट पार्टीहरूले सिक्न सक्छन्।