भारतको बिहार राज्य–क्षेत्रमा कुनै समय शिशुनागा, मौर्य, गुप्त र पालजस्ता शासन थिए। यी साम्राज्यको राजधानी पाटलीपुत्रलाई स्थानीय शासनको प्रारम्भिक र उच्च विकसित मोडेल भन्दै ग्रिकयात्री र कूटनीतिज्ञ मेगास्थेनिसले तारिफ गरेका थिए। उन्नत कला अभ्यास, विज्ञान र शिक्षाको केन्द्रविन्दु थियो यो। बौद्ध र जैन धर्मको उद्गम भूमिसमेत हो बिहार। तर गौरवपूर्ण इतिहास भएको यो भूमि जातीय असमानता, संगठित अपराधको सिन्डिकेट, भ्रष्टाचार र कलंकित सरकारको श्रृंखलाले ग्रस्त स्वतन्त्र भारतको सबैभन्दा पिछडिएको राज्यमा कसरी परिणत भयो?
यसै वर्ष (२०२४) मृत्युंजय शर्माद्वारा लिखित पुस्तक, ‘ब्रोकेन प्रमिसेजः कास्ट क्राइम एन्ड पोलिटिक्स इन बिहार’ (तोडिएका वाचा: बिहारमा जातीय अपराध र राजनीति)मा बिहारको उदयकालदेखि आधुनिक बिहार निर्माणसम्मका विषय समेटिएको छ। यसमा खासगरी आधुनिक निर्माणभन्दा पनि सन् १९९० को दशकदेखि २००५ सम्म बिहारमा देखिएको सामाजिक, आर्थिक एवं राजनीतिक विनिर्माणका कथा छन्। ३३३ पृष्ठभारको पुस्तक लालुप्रसाद यादवको उदय र प्रभावको इर्दगिर्दकेन्द्रित छ।
लालुप्रसाद यादव त्यस्तो नाम हो, जसको चर्चा हुनसाथ आममानिसमा दुईथरि विम्ब आउँछ। कतिपयले लालुलाई बिहारमा सामाजिक न्यायको मुद्दा उठानकर्ताका रूपमा लिन्छन् भने कतिले नब्बेको दशकतिर बिहारमा देखिएको जंगलराजको कारक।
लालुको जन्म सन् १९४८ मा उत्तरी बिहारको गोपालगन्ज जिल्लाको एक अव्यवस्थित गाउँ फुलवरियामा भएको थियो। कुनदन राई र मर्छियादेवीका सात सन्तानमध्ये छैटौँ सन्तानका रूपमा जन्मिएका उनी एक बिघा जग्गा र मध्यम स्रोतसाधन भएको परिवारमा हुर्के। पटना भेटेरिनरी कलेजमा दूधवालाको काम गर्दै आएका आफ्ना मामा यदुनन्द राईसँग उनी ६ वर्षकै उमेरमा बिहारको राजधानी पटना पुगे। मिलर राई स्कुल भर्ना हुनुअघि उनले नजिकैको बिहार मिलिटरी पुलिस क्याम्प स्कुलमा शिक्षा शुरू गरे। विशेषगरी परम्परागत रूपमा पढाइलेखाइमा झुकाव नभएको परिवारका लागि लालुले तेस्रो श्रेणीमा हाइस्कुल पास गर्नु नै ठूलो उपलब्धि थियो।
लालु–उदय
लालुको उच्चशिक्षा र उच्च पदमा आरोहण उनको जीवनजत्तिकै मोहक छ। सन् १९९० को मार्चमा लालुले बिहारको मुख्यमन्त्री पदको शपथ ग्रहण गरे, दशकौँदेखि गरिबी, जातीय अत्याचार र अराजकताको चपेटामा परेका करोडौँ बिहारीमा अचानक आशा र अपेक्षाको अनुभूति जागृत भयो। दलित र उत्पीडित जातिका चम्किला आँखा आशाले चम्किए, जब लालुले पटनाको गान्धी मैदानबाट बिहार र बिहारीको कायापलट गरिदिने खालका वाचा गरे।
मुख्यमन्त्री भएको एकाध वर्षसम्म लालु ‘एक्सन ओरियन्टेड’ नेताको रूपमा प्रस्तुत भइरहे। तर समय क्रममा उनी जातीय घृणा पैदा गर्नेतर्फ लागे र बिहारीसँग गरेका वाचा बेवास्ता गर्दै गए। यसै कारण हुनुपर्छ, लेखकले पुस्तकको नाम ‘ब्रोकेन प्रमिसेज’ राखेको।
लालुको पहिलो कार्यकालमा उनको सरकारले लिएका केही निर्णयले सामाजिक न्यायप्रतिको प्रतिबद्धता झल्कन्छ। उनको सरकारले बृद्धभत्ता ३० रुपैयाँबाट १०० रुपैयाँ पुर्यायो। त्यसैगरी, गर्भवती महिलालाई गर्भावस्थामा पोषणयुक्त आहारका लागि भत्ता दिने घोषणा गर्यो। त्यसबेला बिहारमा गरिब, दलित र भूमिहीनहरूले लालुलाई त्यस्तो व्यक्तिका रूपमा हेर्न थाले, जसले लामो समयदेखि उनीहरूले गुमाएको गरिमा पुन:स्थापित गर्ने मात्र नभई, दुःखदायी जीवनबाट बाहिर निकाल्ने बाटो पनि प्रदान गर्लान् भन्ने आशा पलायो।
दलित र अन्य उत्पीडित जाति समुदाय (ओबीसी)को उजुरीहरूमा प्रहरीको प्रतिक्रियामा अचानक परिवर्तन देखिन थाल्यो। उच्च जातिको वर्चस्व भएको अघिल्लो कांग्रेस शासनमा गरिब र दलितहरूको गुनासो बिरलै सुन्ने वा कारबाही गर्ने प्रहरी चौकीहरूले अब भने ध्यान दिन थाले। जातीय विभेद र त्यसमा आधारित विभेद बिहारको मानसिकतामा लामो समयदेखि गाँसिएको थियो। दरोगा राई, कर्पुरी ठाकुर, भोला पासवान र राम सुन्दरदास जस्ता मुख्यमन्त्रीहरूले राज्यमा शासन गरेको भए तापनि आम उच्च भनिइने जातका मान्छेले तल्लो भनिने जातका मानिसलाई कुर्सी वा खाटमा बस्नसमेत दिएका थिएनन्।
जस्तै, लालुले सत्ताको बागडोर सम्हालेको केही महिनापछि नै बेगुसरायमा अनुसूचित जातिका एक व्यक्तिको हत्या भएको थियो। उक्त घटनाका अभियुक्त कथित उच्च जातिको भएका कारण प्रहरीले समातिरहेको थिएन। तर लालु आफ्ना अधिकारीसहित घटनास्थलमा आइपुगे र दोषीलाई पक्राउ नगरेसम्म आफू पछि नहट्ने घोषणा गर्दै दृढतापूर्वक प्रहरी कार्यालयको कुर्सीमा बसिरहे। प्रहरीले अपराधीलाई पाँच घण्टाभित्र पक्राउ गर्यो।
‘हमे विकास नहीँ, सम्मान चाहिए’
अब यादव समुदायले प्रहरी चौकीहरूमा ग्राह्यताका साथ 'कुर्सी पाउन' थाले। उत्पीडित जाति समुदायका मानिसको जाहेरी पनि प्रहरीले धमाधम दर्ता गर्न थाल्यो। यसले यादवलगायत पिछडा वर्गमा लालुप्रति सम्मान त बढ्ने नै भयो तर लालुले भने यो विषयलाई सत्तामा टिकिरहने तुरुपका रूपमा प्रयोग गर्न थाले। कतिसम्म भने सत्ता सम्हालेको एक वर्षपछि लालु मुखर भएर भन्न थाले, ‘हमे विकास नहीँ, सम्मान चाहिए।’ (हामीलाई विकास होइन, सम्मान चाहिन्छ)।
आफ्नो गाउँमा सडकको माग गर्ने जो कोहीलाई उनी मुसुक्क हाँसेर भन्थे, ‘‘सडक बन्यो भने उच्च जातिलाई फाइदा हुन्छ, किनभने मोटर गाडी उनीहरूसँग छ।’’ सोझासिधा गरिब जनता लालुको चतुर्याइँको प्रशंसक बन्न अभीसप्त हुँदैगए। तर लालुले आफ्नो जन्मगाउँ फुलवरियामा भने यो सिद्धान्त लागू गरेनन्। उनको गाउँमा द्रुत गतिमा विद्युतीय सब–स्टेसन, रेल्वे स्टेसन, अस्पताल, प्रहरी चौकी र ब्लक–स्तरीय पूर्वाधार स्थापना भयो। तर लालुले सामाजिक न्यायको नाममा जातीय घृणा पैदा गर्न कुनै कसर बाँकी राखेनन्।
१९९४ जुलाई १९ को घटना हो। एक स्थानीय डीएसपीलाई ३०० रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेको कुरा बिहार विधानसभामा उठ्यो। राज्यका यातायातमन्त्री सीताराम सिंहले उजुरीलाई आधार मान्दै विभागीय कारबाही गर्ने बताए। तर सबैलाई आश्चर्य पार्दै लालु आफ्नो सिटबाट उठे र गुनासो गर्ने सदस्य र आफ्नै मन्त्रीलाई हप्काउँदै भने, ‘‘डीएसपी मेरो भरपर्दो मान्छे भएका कारण उनीमाथि राजनीतिक षडयन्त्र गरिँदैछ।’’ सामाजिक न्यायको हवाला दिँदै लालुले भनेका थिए कि 'सामाजिक न्यायशैली'अन्तर्गत समाजका केही वर्गका अधिकारीलाई दण्डहीनतासाथ घूस लिने अनुमति दिइएको थियो। यसरी उत्पीडित जातिका जो कोहीलाई लालुले भ्रष्टाचारमा समेत खुल्ला संरक्षण दिन थाले।
लालुको कार्यकालमा उनी निकटबाहेक कोही पनि भय र त्रासबाट मुक्त हुन सकेनन्। बिहारका शक्तिशाली र प्रभावशाली व्यक्तिहरू पनि लालुको क्रियाकलापविरुद्ध बोल्न सक्दैनथे। लालुको पहिलो कार्यकालमा झन्डै दुई दर्जन प्रशासनिक तथा प्रहरी अधिकारीको हत्या वा अपहरण गरियो। १९९५ को पहिलो पाँच महिनामा राज्यका विभिन्न भागबाट लगभग ७०० अपहरण प्रतिदिन हुने डरलाग्दो रेकर्ड भेटिन्छ। १९९२ र २००४ को बीच बिहारमा अपहरणका कुल ३२ हजार ८५ घटना रिपोर्ट गरिए।
बिहारको राजनीतिक बागडोर लालुको हातमा आउनुपहिला नै बिहार सामन्ती राज्यको रूपमा रहेको थियो। बिहारमा जातीय आधारमा सामाजिक–आर्थिक असमानताको खाडल धेरै गहिरो थियो। त्यसो हुँदाहुँदै पनि सन् १९५० मा जमिनदारी प्रथा उन्मूलन गर्ने स्वतन्त्र भारतको पहिलो राज्य बिहार नै थियो। सन् १९५३–५४ मा राष्ट्रिय नमुना सर्वेक्षणअनुसार १० प्रतिशत घरपरिवारमा ५२ प्रतिशतभन्दा बढी जमिनको स्वामित्व थियो र ती १० प्रतिशत परिवारले प्रायः तथाकथित उच्च जाति र थोरै संख्याका मुस्लिम समुदायलाई प्रतिनिधित्व गर्थ्यो। यसको ठिक विपरीत, तथाकथित तल्लो जातिलाई प्रतिनिधित्व गर्ने ४० प्रतिशत आबादीसँग केवल १.२५ प्रतिशत जमिन थियो। जमिन-सम्पत्तिको माथिको स्वामित्वको सो तथ्यांकले बिहारको दुःखको कारक संरचनात्मक विभेद हो भन्ने बुझिन्थ्यो। त्यसैबीच जमिनदारी प्रथाको कानुनी रूपमा अन्त्य गर्ने प्रयासहरू भइरहेका थिए।
बिहारको पृष्ठभूमि
बिहार राज्यको जन्म आफैंमा विभिन्न असन्तुष्टिहरूको अभिव्यक्ति थियो। अविभाजित बंगालमा बङ्गालीहरूले विभिन्न स्रोतसाधनमा आफ्नो वर्चस्व बढाएका थिए। सरकारी सेवा, कानुनी र शिक्षणजस्ता पेसामा बंगालीको प्रभुत्व थियो। बंगाली प्रभुत्वलाई शैक्षिक रूपमा उत्पन्न जाति; मुख्यगरी कायस्थले ठुलो अवरोधको रूपमा लिएका थिए। बङ्गालीहरूले आफ्ना आफन्तलाई विभिन्न रिक्त सरकारी पदहरूमा स्थापित गराउँछन् भन्ने दाबी उतिखेर बारम्बार गरिन्थ्यो। यसबाट विशेषगरी सरकारी जागिर र त्यस्ता पेसामा आश्रित कायस्थहरूले बंगालबाट बिहारलाई अलग गराउने आन्दोलनको नेतृत्व लिए। कायस्थ जातिका सच्चिदानन्द सिन्हाले आन्दोलनको नेतृत्व सम्हालेका थिए।
बंगालबाट बिहार अलग भएपछि बिहारमा जागिरलगायत अन्य सरकारी सेवामा आउने सीमित मौकामा कायस्थहरू हाबी हुन थाले। यसले बिहारभित्र फेरि असन्तुष्टि देखिन थाल्यो। अनि कायस्थको वर्चस्वलाई गम्भीर रूपमा चुनौती दिने र भत्काउने पहिलो जाति समूह संख्यात्मक रूपमा महत्त्वपूर्ण र आर्थिक रूपमा स्थापित भूमिहारहरू थिए। यसले कायस्थहरूलाई आफ्नो विशेषाधिकारको रक्षा गर्न राजपूतहरूसँग पंक्तिबद्ध हुने अवस्था निम्त्यायो। यद्धपी, उनीहरूले आफ्नो राजनीतिक जमिन लामो समयसम्म जोगाउन सकेनन्, किनभने उनीहरूको संख्या अन्य जातीय समूहभन्दा कम थियो।
१९३४ मा काँग्रेस कार्यसमितिको ५४ प्रतिशत सिट कायस्थले ओगटेका थिए भने सन् १९६० मा त्यो ५ प्रतिशत सिटमा सीमित हुन पुगेबाट पनि कायस्थको पहुँच घटेको देखिन्छ। अर्थात् बिहारमा उच्च भनिने जातहरूभित्र आफ्नै किसिमका मतभिन्नता थिए। लालुको कार्यकालपछि जब सरकार संरक्षित अत्याचार बढ्दैगयो र लालुले खुला रूपमा ‘भुराबाल (भूमिहार,राजपूत,ब्राह्मण,लाला) साफ करो’–अभियान चलाए, त्यसपश्चात् उच्च भनिने जातिमा केही हदसम्म सामूहिकता बढ्यो।
लालुले अब पिछडा समाजले ब्रह्माण्डहरूले भन्दा अग्लो घर बनाउनुपर्छ भन्दै भाषण गर्न थाले। उच्च जातिबाट प्रतिनिधित्व गर्ने प्रहरी हुन् या अन्य कर्मचारी, सार्वजनिकस्थलमै तिनको मानमर्दन गर्न लालु तल्लीन रहन्थे। लालुको व्यक्तित्वमा अहंकारको भद्दापनसमेत बढ्दै थियो। सोही कारण कुनै समारोह वा कार्यक्रममा उनीनजिकै बस्नसमेत मान्छे डराउँथे। सन् १९९१ को घटना हो, लालु भर्खरै पटना क्लबमा एउटा विवाह समारोहमा प्रवेश गरेका थिए। क्याबिनेट मन्त्री तथा पूर्वमुख्यमन्त्री दरोगा राईका छोरा चन्द्रिका राई लालुको नजरबाट बच्न आफ्नो कुर्सीबाट टाढिए।
पछि एक जना पत्रकारले तपाईं किन त्यसरी भागेको भनेर सोध्दा उनले आफू लालुको छेउमा बसेको भए अहंकारी मुख्यमन्त्रीले आफ्नो मुखमै थुक्दिन सक्थे भन्ने संशय सुनाए। लालुको पान चपाउने बानी थियो। उनी सभाकक्षमा एउटा पिकदानी राख्नेगर्थे र उनीनजिक बस्ने जोकोहीले उक्त पिकदानी उठाएर लालुको मुखसामु लगिदिनुपर्थ्यो। लालुको पिकदानी उचाली दिनुपर्नेमा बिहार सरकारका मन्त्रीदेखि वरिष्ठ कर्मचारीसम्म हुन पुग्थे।
बिहार राज्यले आकार ग्रहण गरेसँगै मध्यबिहारमा वामपन्थी आन्दोलनको उदय भयो, सँगै जातीय सेनाहरूको उदय भयो। स्वतन्त्रतापछि भारतमा बिहार एक मात्र यस्तो राज्य थियो, जहाँ १९८० को दशकमा जातीय सेना खडा गरिए। लालुराजको उदयपश्चात् यस्ता सेना गठनले प्रमुखता पाउन थाले। सबैभन्दा पहिला राजपूतहरूले कुवर र किसान मोर्चाजस्ता सैन्यदस्ता तयार पारे भने भूमिहारहरूले १९९० मा ब्रम्ह्रर्षी सेना र १९९४ मा रणवीर सेना बनाए। ब्राह्मण र कायस्थहरूको कुनै सेना नभए पनि उनीहरूले राजपूत र भूमिहार सेनालाई मनपेटले समर्थन गर्ने काम गरे।
जनता दलबाट लालु मुख्यमन्त्रीका रूपमा उदाएपश्चात् कुर्मीलगायत अन्य जातहरूले पनि आफ्नो भागीदारी खोजेपनि लालुले यादव र मुसलमानहरू मिलाएर ३० प्रतिशत भोटलाई संरक्षित गर्दै तिनकै तुष्टिकरणमा लाग्दै गए र अन्य ओबीसी लालुको माय (मुस्लमान+यादव) फर्मुलाबाट प्रताडित हुनपुग्दा कुर्मीलगायत अन्य ओबीसीहरूले पनि आफ्ना सेना बनाउन पुगे। ‘नक्शलवाद र लालुवाद’सँग लड्न यी जातीय सेना सक्रिय थिए।
नितिशकुमारको उदय
लालुसँगै जेपी आन्दोलनबाट राजनीतिमा उदाएका नेता थिए नितिशकुमार। लालुलाई मुख्यमन्त्री बन्न नितिशले विशेष भूमिका निर्वाह गरेका थिए। नितिशले एक पटक लालुलाई भनेछन्, "तपाईं हाम्रो आन्दोलनको मर्मअनुसार बिहार चलाइरहनुभएको छैन।” नितिशले बिहारका गरिब जनतासँग गरेका वाचा सम्झाउन खोज्दा लालुले जवाफ फर्काउँदै भनेछन्, "तिमीले मलाई राजकाज सिकाउने हो? पावर सुशासनबाट आउँछ र? पावर त भोट ब्यांकबाट आउँछ। तिमी के सुशासनको रटान लगाएर बस्छौ?” यतिसम्मकी नितिशकुमारले प्रतिनिधित्व गर्ने कृषि कर्म गर्ने कुर्मी जातलाई समेत लालुले अनादरयुक्त सम्बोधन गर्न थाले।
सामाजिक न्यायका असली पहरेदारका रूपमा छवि स्थापित गरेका कर्पुरी ठाकुरलाई ‘कपटी’समेत भन्न भ्याए। लालुको ‘यादववाद’लाई चुनौती दिन कुर्मी समाजले सन् १९९४ मा पटनाको गान्धी मैदानमा नितिशको अगुवाइमा कुर्मी महासभा आयोजना गर्ने घोषणा गर्यो। तर त्यस्तो सभा आयोजना गरिएमा नितिशमाथि राजद्रोह लगाउँछु भनी लालुले हप्कीदप्कीसमेत दिन भ्याए। तर लाखौँको भिडबाट नितिशले, ‘‘भिक्षा होइन, हिस्सेदारी चाहियो। जुन सरकारले हाम्रो हितलाई नजरअन्दाज गर्छ, त्यस्तो सरकार सत्तामा रही रहन मिल्दैन’’ भनी भाषण गरे। लालुलाई सत्ताको नशामा चुर्लुम डुबेको निरङ्कुशको संज्ञा दिँदै नितिशले सम्बोधन गर्नसाथ ‘‘नितिश तिमी अगाडि बढ, हामी तिम्रो साथ छौ’’ भनी भिडले आवाज लगायो। नितिशकुमार लालुको विकल्पको रूपमा त्यहीँ सभाबाट उदाए।
लालुले वकालत गरेको सामाजिक न्याय उनी मुख्यमन्त्री बनेको एकाध वर्षमै सतही साबित हुनथाल्यो। जगन्नाथ मिश्राको कार्यकालमा लालु भ्रष्टाचारको विरोध गर्थे, तर लालु मिश्राभन्दा पनि भ्रष्ट र जातीय द्वेष फैलाउने खालका भए। लालुले धेरै यादवलाई 'ब्राह्मण' बनाए, तर बिहारका दलित समाजको जीवनमा त्यसले कुनै तात्त्विक परिवर्तन देखिएन। आज पनि बिहारमा दलितको अवस्था नब्बेको दशकजस्तै छ भन्दा अतिशयोक्ति नहोला।
लालु चारा घोटाला (फोडर स्क्याम) मा पक्राउ परी १९९७ जुलाई २५ मा जेल पुगे। त्यतिबेला बिहार विधानसभामा लालुसँग सयभन्दा अधिक विधानसभा सदस्य थिए। त्यही बलमा आफ्नी निरक्षर पत्नी रावडीदेवीलाई बिहारको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरे। लालुको सामाजिक न्यायको नाराको यो एक भद्दा प्रदर्शन थियो। लालुराजलाई जंगलराजको उपमा प्रदान गर्न रावडीको कार्यकालको समेत ठूलो भूमिका रह्यो। अब रावडीका दुई भाइ साधु र सुभाष यादव (एस–२) ले समानान्तर सत्ता सञ्चालन गर्नथाले।
छोरीद्वयलाई डाक्टर बन्ने रहर लागेपछि…
कुशासनको अर्को भद्दा दृष्टान्त हेरौँ: रावडीको कार्यकालमा उनका छोरीलाई डाक्टर बन्ने रहर जागेछ। लालुकी जेठी छोरी मीसा भारती मेडिकल प्रवेश परीक्षामा अनुत्तीर्ण हुन्छिन्, तर टाटा आइरन एन्ड स्टिल कम्पनी (टिस्को) कोटामा जमशेदपुर मेडिकल कलेजमा एमबीबीएस सिट प्राप्त गर्छिन्। बिहारको शिक्षा प्रणालीको सबैभन्दा स्पष्ट दुरुपयोग थियो मीसाले प्राप्त गरेको कोटा, किनकि टिस्को कोटा केबल टाटा कर्मचारीका छोराछोरीका लागि थियो।
मीसालाई पछि सुरक्षा कारणहरू देखाउँदै पटना मेडिकल कलेज अस्पतालमा सारियो र मीसा नियमित कलेज नगईकनै स्त्रीरोगमा विशिष्टताका साथ 'टप' गरिन्! मीसाले आफ्नो जीवनमा एकदिन पनि चिकित्सा अभ्यास गरिनन्। रावडीदेवी मुख्यमन्त्री रहेकै बेला कान्छी छोरी रोहिणीलाई पनि मेडिकल पढ्ने रहर जागेछ, मीसाजस्तै उनलाई पनि लालु- रावडीले पढ्नै नपर्नेगरी डाक्टर बनाए। यसरी सत्ताको चरम दुरुपयोग गर्न लालुको कार्यकाल इतिहासमा दर्ज छ।
कुशासनले रिक्त दरबन्दी
लालुको कथित सामाजिक न्यायको युगमा स्वास्थ्य क्षेत्रमा ९० प्रतिशत चिकित्सक र ९५ प्रतिशत पारामेडिकल स्टाफको दरबन्दी रिक्त थियो। १९९६ देखि २००६ सम्म ९० हजार शिक्षकको स्वीकृत दरबन्दीमध्ये केवल ३० हजार शिक्षकको नियुक्ति भएको थियो, जसमा लालुले आफ्नो भोट ब्यांकलाई ध्यानमा राखेर शिक्षक भर्ना गरेका थिए। बिहारमा लालुराज आउनुभन्दा पहिला नै कमजोर रहेको विद्यार्थी–शिक्षक अनुपात उनी आएपछि ९०ः१ सम्म पुग्यो। परीक्षा स्थगित हुने र अगावै परीक्षा पत्र बाहिरिने र नतिजामा विसंगती सामान्य भइसकेको थियो।
१९९० को दशकयता दिनानुदिन बढ्दै गएको कमजोर शासन र फितलो कानून व्यवस्थाका कारण सन् २००१ मा बिहारबाट बसाइसराइको दर १९९१ को तुलनामा २०० प्रतिशतले बढ्यो। अन्य राज्यमा सोही अवधिमा औसत बसाइसराइ वृद्धि २१.५ प्रतिशत मात्र थियो। लालुयुगमा बिहारमा चलेको ‘अपहरण उद्योग’का कारण बिहारका व्यवसायी र अन्य पेशाकर्मी पलायन भए, जसका कारण बिहारमा मानव तथा औद्योगिक पुँजीमा ह्रास आयो। ‘ब्रोकेन प्रोमिसेज’ पुस्तकका ६ वटा च्याप्टरबाट निचोड निकाल्न सकिन्छ– लालुको सामाजिक न्याय वास्तवमा भ्रम थियो, उनी जंगलराज चलाइरहेका थिए।
पुस्तकको सातौँ अध्याय भने नितिशकुमारबारे छ। सन् २००५ मा मुख्यमन्त्री बनेपश्चात् वर्तमान अवस्थासम्म नितिश बिहारको मुख्यमन्त्री पदमा विद्यमान छन्। लालुले छाडेको जंगलराजको लिगेसीबाट बिहारको अहिले कत्तिको मंगल भएको छ, त्यसबारे छुट्टै व्याख्या चाहिएला। उल्लेख्य छ, विगत दुई वर्षयता बिहारमा चुनावी रणनीतिकार/प्रबन्धक प्रशान्त किशोर 'जन सुराज अभियान' चलाइरहेका छन्। यो अभियान आउँदो अक्टोबरमा राजनीतिक दलका रूपमा दर्ता हुने क्रममा छ। जन सुराजप्रति बढ्दो उत्साहले नितिशको कार्यकालको छुट्टै तुलनात्मक समीक्षा गर्न केही समय पर्खिनु उचित होला।
लालु यादवबारे लेखिएका अन्य लेख: १. गुरु लालु, चेला रवि, २. कहाँका लालु, कहाँका रवि?, ३.फेरि पनि लालुकै कुरा!