लगभग एक वर्षअगाडि विशिष्ट परिस्थितिवश केही समयका लागि प्रतिनिधिसभा सदस्य बनेपछिको संसद् यात्राबारे मैले यहाँहरूलाई जानकारी गराएको थिएँ। बिर्सनुभयो, अथवा पूर्वजन्मको कर्मअनुसार फल भोग्न चिप्लिएर अहिले मात्र यहाँ आइपुग्नु भएको भए रिफ्रेसर लिंक यता छ।
त! सालभर म संसद्मा हुने विविध गतिविधि नियाल्नै व्यस्त थिएँ। सार्वजनिक महत्त्वका प्रस्ताव दर्ता गर्ने, बहस गर्ने, सरकारका निर्णय जाँचबुझ गर्ने, संसदीय समितिमा छलफल आदि कामकारबाही चल्दै छन्। मेरो विचारमा संसद्मा हुने सबसे उत्पादक कार्य सांसदको गतिविधि नियाल्नु नै हो। सांसदको व्यक्तित्व बुझेर जति ज्ञान बढ्छ, बौद्धिक उत्पादकत्वमा वृद्धि हुन्छ, त्यति नियम कानून बनाएर हुँदैन। गतिविधि नियालुन्जेल सब ठीकठाक थियो, बिस्तारै एक हिसाबले उनीहरूको बोलीचाली, चालचलन, रंगढंगसित हुन पुगेँ ‘अब्सेस्ड’। समयक्रममा यहाँ भेटिने हरेक दलको हरेक प्रजातिको सांसदका विचित्र क्रियाकलाप देखेर म अर्थात् माननीय कुरोग्राफर पहिला चकित, बीचमा भ्रमित, अलिकति पुलकित र पछिपछि थकित हुन थालेँ।
दुई पहलमान दल, ती पहलमान दललाई पालैपालो मच्चाएर अहिले थचारिएको दल। नयाँ बोतलमा पुरानै स्वादवाला दल। देश बचाउन मुकुटधारी गुहार्ने दल। सरकारमा एक सिट फिक्सवाला दल। ठूला-साना दल, पाका-काँचा दल। तिनका बा सांसद, दाइ सांसद, भाउजू सांसद, काका-भतिज सांसद, दिदी सांसद, कमरेड सांसद, अर्बपति सांसद, दिवालिया सांसद। भगवान् सांसद, भक्त सांसद। १० वर्षअघि ४० कटेर रमाइसकेका युवा सांसद। कोही हाई काढ्ने, कोही घडी हेरेको हेरै, कोही तेस्रो पटक छपाएको भिजिटिङ कार्ड बाँड्ने। केही आफ्नै धुनमा मग्न, केही फोनमा मस्त–देश कसरी बनाउने भनेर च्याट जीपीटीलाई सोधिरहेका।
एक दिन को बढी नालायक भन्ने गनगन। अर्को पूरै दिन कुनै सिलिक कपाल परेको चस्मावाल ‘केटो’ले बाको किल्लाको पर्खाल फाँडी सेनामेना चोरेर आधै बनाइदिएको गनथन चल्यो। अलिकति रमाइलो, अलिकति हाँसोउठ्दो।
पहलमान दलका युवा पचासेहरूको दोगलापन झन् हाँसउठ्दो। हाँसोउठ्दो के हुन्थ्यो, हाँसमर्दो। दुई घण्टाअघि प्रतिपक्ष हुँदा एउटा कुरो, चार घण्टापछि सत्तापक्ष हुनपुग्दा १८० डिग्री फरक बोली।
नयाँ माननीयहरू उस्तै। एकाध सांसद साह्रै सोझा। जसले जताबाट फसाए पनि फसिदिने। पूर्वविपक्षी, विपक्षी र सम्भावित विपक्षी सबको गोप्य करतूतको फाइल राख्ने तर आफ्नै व्यापारिक-साझेदार महाठग भएको चाल नपाउने। कोही शिक्षकलाई सबको पोल लगाउने मोनिटर जस्ता, कोही मानानीय मास्टर-मास्टर्नी जस्ता। अगाडि मान्छे भेट्यो कि प्रेजेन्टेसन स्लाइड खोलेर पढाउन बसिहाल्ने।
अनि यिनका कहिले मिल्ने, कहिले बाझिने मत। टोटल केओस! ऐब्सल्युट सर्कस! बट नथिङ न्यु...
ब्रिटिस हाउस अफ कमन्सबाट आधा, भारतीय लोकसभाबाट उधी चरित्र सापटी लिएको हाम्रो प्रतिनिधिसभामा केही नयाँ तुजुक छैन, ताजा कुरा छैन। दिमाग खैलाबैला पार्ने विचार छैन। इनोभेसन भन्ने कुरै छैन।
सदनको एउटा कुनामा बसेर यस्ता अनेक चर्तिकला देखिरहँदा मभित्र आफू सांसद हो कि जोकर भन्ने अन्तर्द्वन्द्व चल्न थालिसकेको थियो। यहाँ मैले मोरल हाइग्राउन्ड लिन खोजेको हैन है पाठकवृन्द (म र मेरो तलबी स्वकीय सचिव कमरेड चरणदासबाहेक कसैले यो पढिरहनुभएको भए)। जोकर त म हुँँ नै, कतै सांसद पनि भएँ कि न भन्ने दुबिधा मात्र हो।
यत्तिकैमा गत मंगलबार मेरो साक्षात्कार भयो पूर्वक्रान्तिकारी (हाल इच्छाधारी) दलका सांसद मोदीजीसँग। नामतिर नजानूस्, पारिका उही नामधारी ‘नन-बायोलजिकल’ महामानवसँग केही सम्बन्ध छैन। माथि उल्लेखित कुनाबाट लोकल मोदीजीले बोलेको एउटा गहन वाक्य सुनेँ– 'शान्तिका लागि हाम्रो दलका अध्यक्ष कमरेड उथलपुथललाई नोबेल पुरस्कार दिनुपर्छ।’ एक्कासि ‘आई अग्री मिलोर्ड’ भनेर चिच्याउने रहर जाग्यो। जसो तसो सम्भालिएँ। न यो अदालत नै थियो। यी वाक्य सुनेर वैराग्य र बोरडमको द्वन्द्व चलिरहेको मन–मस्तिष्कमा आशाको मुना पलायो। यो हो नि मैले माथि भनेझैँ दिमाग खैलाबैला पार्ने कुरो! क्रिएटिभ, आउट अफ द बक्स थिन्किङ!
यस्तो उराठलाग्दो बेला त्यस्तो मथिंगल झनझनाउने प्रस्ताव आउनुको महत्त्व हाम्रो बुझाइभन्दा धेरै छ। धेरै भयो नेपालको नाम केही उपलब्धिका लागि अन्तर्राष्ट्रिय प्लाटफर्ममा नआएको। लोन्ली प्लानेट र ट्रिप अडभाइजरले नसम्झिएको पनि धेरै भयो।
मोदीजीको यस्तो मन्तव्यलाई धेरैले हाँसोमा उडाए, गाली गरे। एक जना संसदीय मामिलामा कलम चलाउने पत्रकार भाइले यही सन्दर्भमा भने, ‘कुकुर पाल्नु तर कुकुर एक्लै भयो भन्दैमा कुकुरको साथी बनाउने बहानामा भ्रम नपाल्नु’। तर मैले ती लगायत सब आलोचक–विलोचकको कुरा हाजमोलाबिनै पचाइदिएँ।
सांसदको त धर्म नै हो दलका अध्यक्षको पक्षपोषण गर्नु, समर्थन गर्नु, वाहवाही गर्नु। सबै दलका अध्यक्ष आफैँले 'मैले भाषण गरेपछि बीचबीचमा ताली ठोक्नु, सामाजिक सञ्जालमा विरोधीलाई अरिंगालले ठुङ्गेझैँ ठुङ्नु, मलाई राजनेता भन्नु' भनेर कहाँ सार्वजनिक आदेश जारी गर्छन् र। केही व्यक्ति स्वतःस्फूर्त रूपमै वफादार हुन्छन्। यिनले आफ्नो अध्यक्षका लागि पुरस्कार मागे। बिग डिल?
मोदीजीझैँ मेरो मत पनि त्यही हो। कमरेड उथलपुथल नोबेल पुरस्कारका हकदार हुन्। मोदीजीले नोबेल पिस प्राइजका लागि उनको नाम सिफारिस गरे। म उनको मागको समर्थन गर्छु। उस्तै परे नयाँ विधा बनाएर भए पनि अध्यक्ष कमरेडलाई अन्तर्राष्ट्रिय पुरस्कार दिनुपर्ने माग गर्दछु। सर्वहाराको लडाइँदेखि सर्वसम्पन्न लवाइ-खवाइसम्मको उनको यात्रा अलौकिक छ। तर यी साधारण विषय हुन्। उनले विश्वस्तरमा गरेको योगदानबारे धेरैलाई थाहा छैन, शायद उनका लागि पुरस्कारको याचना गर्ने कमरेड मोदीलाई पनि। म बताउँछु।
दुई तर विशिष्ट कारण मात्र बताउँछु।
प्रथम, तपाईंहरूलाई ‘द मंक हु सोल्ड हिज फरारी’ भन्ने किताब थाहै छ होला। त्यो किताब बेस्टसेलर बन्दा फरारी र मंकको बढी चर्चा भयो, फरारी किन्ने ग्राहकको कम। जानकारी होस्, त्यो फरारी किन्ने व्यक्ति कमरेड उथलपुथल हुन्। पर्दापछाडि चुपचाप बसेर एक महापुँजीवादी कानून व्यवसायीलाई मंक अर्थात् भिक्षु बन्ने बाटो खोले। सुमार्ग देखाए। ती व्यक्तिलाई पुँजीवादको दलदलबाट बचाए जसका कारण उक्त किताब लेखियो, जसलाई समयक्रममा कैयौँ स्वार्थी पुँजीवादीले पढे, प्रेरित भए, मंक बने।
यसरी विश्वमा पुँजीवाद कम हुँदै गयो, भौतिकवादमा ह्रास आयो, शान्ति छायो। कमरेडले नोबेल पुरस्कार पाए थप मान्छेले किताब पढ्ने छन्, पुँजीवादी भिक्षु बन्ने छन्, हातहतियारको व्यापार ओरालो लाग्ने छ, लडाइँ बन्द हुनेछ। 'मंक-सोसलिजम' आएर व्यापक शान्ति छाउनेछ। संसार सुन्दर हुनेछ।
हुन त राष्ट्रिय पर्यावरण र अर्थतन्त्रमा पनि उनको योगदान अतुलनीय छ। बिर्को लाको चिनीमा कमिलो पसाएर कमिलाहरूमा व्याप्त भोकमरीको अन्त्य गरे इकोसिस्टम सन्तुलनमा ल्याउने र धेरै खुद्रा हुने सुर्के थैली लुकाएर नेपालको अर्थतन्त्रमा पनि उनै कमरेड हुन्। तर हामी ध्यान केन्द्रित गरौँ अन्तर्राष्ट्रिय योगदानमै।
दोस्रो, विश्वकै धनी खर्बपति एलोन मस्क केही समयअगाडि गोप्य रूपमा नेपाल आएका थिए। भ्रमणका क्रममा मस्कले यहाँका कम्युनिस्ट नेताहरूसँग समाजवादी अन्तरिक्ष-उपनिवेश ‘कम्युनएक्स’ स्थापना गर्नेबारे छलफल गरेका थिए– एउटा यस्तो ‘कम्युनिस्ट युटोपिया’ जहाँ सबै लेनदेन बिटकोइनमा हुनेछ र टेस्ला हरेक आँगनमा देखिनेछ।
विश्वस्त स्रोतका अनुसार कमरेड उथलपुथलले मस्कको यस्तो ‘आवरणमा कम्युनिस्ट अन्तरमा महापुँजीवादी’ हस्तक्षेपकारी ग्र्यान्ड डिजाइनबारे बेलैमा चाल पाएर प्रति–प्रस्ताव राखे। अन्तरिक्षमा उपनिवेश बनाउनुअघि नेपाललाई सिंगापुर बनाउनुपर्ने शर्त! यस्तो असम्भव प्रस्ताव सुन्नेबितिकै मस्कले एकछिन टाउको कन्याए, दुईछिन गम खाए र अन्त्यमा कमरेडको चलाखीसित नतमस्तक हुँदै शान्तिपूर्ण टाटा–बाइबाइ गरे।
सम्भावित हस्तक्षेपलाई सावधानीपूर्वक सँभाल्दै कमरेडले कूटनीतिको अनुपम उदाहरण पेश गरेका कारण नेपालको नजिकका दुवै छिमेकीसँग सम्बन्ध थप सुदृढ हुन पुग्यो। र यसरी उनले नेपाललाई भूउपग्रह–राजनीतिको दलदलमा फस्नबाट कुशलतापूर्वक जोगाए।
कूटनीति र शान्तिबारे यस्तो गहन सैद्धान्तिक ज्ञान र त्यसलाई व्यवहारमा उतार्ने क्षमता भएका अर्को नेता आजको संसारमा शायदै कोही होलान्। योग्य अध्यक्ष कमरेडको सही पहिचान गर्दै उनको हकका लागि आवाज उठाउन, संगठित भएर राष्ट्रियस्तरमा लागिपर्न ढिलाइ गर्नु हुँदैन।
झन्डै एक वर्षपछि म आज यस स्पेसमा आएको एक मात्र कारण यही हो कि १०–१२ जनामाझ भए पनि यी महान् शान्तिदूत कमरेडलाई नोबेल शान्ति पुरस्कार दिने महत्त्वपूर्ण प्रस्ताव सदनको यही कुनामा बसिबसी साझा गर्न सकौँ।
‘युद्धै रोक्ने सामर्थ्य’ भएका पारिका मोदीजीले आफ्ना लागि नउठाउन सकेको विषय, निःस्वार्थ रूपमा अरूका लागि राखेको यो युगान्तकारी प्रस्तावलाई संसद्मा भित्रिएको एक वर्षसम्म अरू सांसदको गतिविधि नियाल्नेबाहेक केही ठोस् संसदीय अभ्यास नसकेको माननीय कुरोग्राफरको एक मत!