Saturday, October 05, 2024

-->

नयराज पन्तको योगदानको चर्चा कसले गर्ने?

इतिहास, ज्योतिष, साहित्यजस्ता विविध विधामा नयराज पन्तका कृति करिब ३० वटा छन्। २०४३ सालमा उहाँको कृति ‘लिच्छवि संवत‍्को निर्णय’ले मदन पुरस्कार नै प्राप्त गरेको थियो।

नयराज पन्तको योगदानको चर्चा कसले गर्ने

ज्ञानगुन प्रकाशन एवं नयराज पन्त शोध सम्मान कोषले गएको साउन २६ गते प्रज्ञापुरुष नयराज पन्तको ११२औँ जन्मजयन्ती मनायो। पन्त गुरु नेपालको शैक्षिक इतिहासमा बहुविषयविद् व्यक्तिको रूपमा चिनिनुहुन्छ। यस्ता श्रद्धाका पात्रको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रम यथार्थमा सहभागीहरूका लागि अविस्मरणीय भएको छ।

उक्त समारोहमा मन्त्री तथा राजनीतिक पदले विद्वान् मानिएका र विशिष्ट सम्मान पाएका कोही पनि थिएनन्। नेपालको शैक्षिक जगत्मा नाम चलेका उल्लेख्य कृति प्रकाशन गरी आफ्नै पृथक् पहिचान कायम गर्न सक्षम नयराज पन्तका शिष्य, अनुयायी, इतिहासकार र विशिष्ट प्राध्यापकहरूको उपस्थिति थियो। राजनैतिक कार्यक्रम र मन्त्री तथा नेताको भाषणलाई मात्र प्राथमिकता दिने चलनका कारण यस्ता कार्यक्रमले सञ्चारमाध्यममा अपेक्षाकृत चर्चा भने पाउँदैनन्। 

नयराज पन्तको व्यक्तित्व, कृतित्व र योगदानका विषयमा प्रचुर मात्रामा अध्ययन अनुसन्धान भएका छन्, हुँदै पनि छन्। कतिपयले त नयराज पन्तकै विषयवस्तुमा आधारित शोधप्रबन्ध तयार गरी विद्यावारिधि नै प्राप्त गरेका छन्। साहित्यकार, प्राज्ञ, इतिहासकार, गणितज्ञ, ज्योतिष एवं प्राध्यापकहरूका रूपमा विशिष्ट तर पृथक् पहिचान कायम गर्नुभएका पन्त नेपालको बौद्धिक क्षेत्रमा स्थापित ऐतिहासिक पुरुष हुनुहुन्छ।

१९९७ सालदेखि २०३५ सालसम्म ज्योतिष र गणित विषयमा प्राध्यापन गरी सम्बन्धित विषयको अनुसन्धानमार्फत वर्तमान स्थितिमा पुर्‍याउन उहाँले उल्लेख्य योगदान गर्नुभयो। यसैगरी स्वदेशमा रहेका स्रोतहरूको अधिकतम उपयोग गरी नेपालको इतिहास तयार गर्ने कार्यको प्रारम्भसमेत गर्नुभएको थियो। नेपालको इतिहासलेखन विधामा भएको विदेशी इतिहासकारहरूको वर्चस्वको अन्त्य गरी उहाँले ती विदेशी लेखकले गरेका ऐतिहासिक कमजोरीहरूको सप्रमाण उजागर गर्नुभयो। तत्कालीन नेपाली इतिहासकारहरूको कृतिमा भएका कमजोरी तथा गलत विवरणहरूकोसम्परीक्षण तथ्यको आधारमा गराउने परम्पराको पनि थालनी गर्नुभएको थियो। यस अर्थमा भन्ने हो भने पण्डित पन्त नेपालको इतिहासलेखन विधाका अगुवा र मार्गदर्शक व्यक्तित्व हुनुहुन्छ।

२००९ सालमा संशोधन मण्डल स्थापनामार्फत नेपालको इतिहासमा लुप्त प्रायः हुन लागेका स्रोतको रूपमा रहेका अभिलेख तथा शिलालेखहरू खोजी गरी प्रकाशन गर्ने, स्वदेशी र विदेशीहरूले लेखेका इतिहासका पुस्तकहरूमा भएका कमी कमजोरी प्रकाशमा ल्याउने, असुरक्षित र संरक्षण हुन नसकेका प्राचीन ग्रन्थहरू प्रकाशित गर्ने, इतिहासप्रधान अनुसन्धानमूलक ‘पूर्णिमा’ नामक पत्रिका प्रकाशन गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू पण्डित पन्तकै निर्देशन र लगानीमा भएका थिए। 

उहाँले गुरुकुल परम्परालाई प्रभावकारी रूप दिँदै शिक्षालय स्थापना गर्नुभयो। धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, गौतमवज्र वज्राचार्य, भोलानाथ पौडेल, शंकर राजवंशी, डा. महेशराज पन्त, प्रा. दिनेशराज पन्तलगायत इतिहासकार उहाँकै शिष्य हुन्, जसले नयराज पन्तको सिद्धान्त, आचरण र मान्यतालाई निरन्तरता दिँदै स्वदेश र विदेशमा पनि प्रसिद्धि कमाएका छन्। ‘पूर्णिमा’ पत्रिकाका अंक आजसम्म प्रकाशित हुँदै छन्। नेपालको इतिहासको अध्ययन अनुसन्धानमा संशोधन मण्डल सक्रिय नै छ।

नेपाली भाषामा नेपालको इतिहासलेखनको अभाव भएको बेला २००४ सालमा नयराज पन्तले तोत्रराज पाँडेसँग मिलेर ‘नेपालको संक्षिप्त इतिहास’ प्रकाशन गर्नुभयो। इतिहास, ज्योतिष, साहित्यजस्ता विविध विधामा नयराज पन्तका कृति करिब ३० वटा छन्। २०४३ सालमा उहाँको कृति ‘लिच्छवि संवत‍्को निर्णय’ले मदन पुरस्कार नै प्राप्त गरेको थियो।

नेपालको शैक्षिक जगत्मा एक उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका नयराज पन्तको सम्मानमा सरकार एवं अन्य संस्थाबाट खासै पहल भएको देखिँदैन। तर निजी क्षेत्रमा एक व्यक्तिको प्रयासमा स्थापना भएको ज्ञानगुन प्रकाशनले उहाँलाई नयाँ पुस्तासँग परिचित बनाइराख्ने सत्प्रयास गरेको छ। 

आज जीवित हुँदा वान्छित कदर नगर्ने तर मरणोपरान्त सम्मान देखाउने संस्कृतिको विकास भएको छ। यसका कतिपय राम्रा कारण पनि होलान् तर जीवित नै हुँदा सम्मानित हुनपाउँदा सम्बन्धित व्यक्तिको मनोबल वृद्धि हुने, आत्मसन्तोष प्राप्त गर्ने र आफ्ना कार्यमा दत्तचित्त भई लाग्न हौसला प्राप्त हुने तथ्यलाई पनि बिर्सन सकिँदैन। जीवित र दिवंगत भएपछि पनि लगातार पण्डित नयराज पन्तका कार्य र योगदानका विषयमा चर्चा परिचर्चा गर्ने कार्य ज्ञानगुन प्रकाशनले गरिरहेको छ। भानुभक्तलाई मोतीराम भट्टले चिनाए, रामकृष्ण परमहंसको सिद्धान्त र आदर्शलाई स्वामी विवेकानन्दले अगाडि बढाए भने पण्डित पन्तको व्यक्तित्व, कृतित्व र योगदानका विषयमा चिनाउन र सदैव अमर राख्न ज्ञानगुन प्रकाशन समर्पित छ। 

ज्ञानगुन प्रकाशनको पहिलो अंक २०४३ माघ २१ गते प्रकाशन भएको थियो, जुन पण्डित नयराज पन्तको सम्मानमा समर्पित थियो। ज्ञानगुनका कुराको भाग ३५ देखि पण्डित नयराज पन्त विशेषांकको रूपमा प्रकाशित हुँदै आएको छ र हालसम्म यसका ३१ अंक प्रकाशित भइसकेका छन्। नयराज पन्त जीवित हुँदा नै यसका १० अंक प्रकाशित भएका थिए भने बाँकी २१ अंक स्मृति विशेषाङ्कका रूपमा छन्। यसैगरी, ज्ञानगुन प्रकाशनले नयराज पन्त: नेपालका शुक्र तारा (२०५५), स्वाभिमानका सगरमाथाः नयराज पन्त (२०५९), प्रज्ञा महिषीः नयराज पन्त (२०६०), नयराज पन्त स्मृति र स्पन्दन (२०६१), नेपालका बौद्धिक विभूतिः नयराज पन्त (२०६२), असाधारण विद्वान्ः नयराज पन्त (२०६३), ज्ञान ज्योतिपुञ्जः नयराज पन्त (२०६४) गरी सात वटा ग्रन्थ शेषराज शिवाकोटीको सम्पादनमा प्रकाशन भएका छन्।

नयराज पन्त स्वयंले लेख्नुभएका अप्रकाशित कृतिहरू पनि ज्ञानगुन प्रकाशनले जनसमक्ष प्रस्तुत गर्दै आएको छ। २०६२ सालमा नयराज पन्तकाद्वारा लिखित म त गोबर गणेश भएँछु कृति डा. महेशराज पन्तको सम्पादनमा प्रकाशित भयो। २०७० सालमा नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा डा. महेशराजकै सम्पादनमा ज्ञानगुन प्रकाशनले जनसमक्ष ल्याएको थियो। यस प्रकार नयराज पन्तको व्यक्तित्व र कृतित्व विषयमा ज्ञानगुन प्रकाशनले अनुसन्धानमूलक कार्य गर्दै आएको छ।

ज्ञानगुण प्रकाशनकै सक्रियतामा कोष खडा गरी २०६१ सालदेखि ज्ञानगुन साहित्य प्रतिष्ठानले संस्कृत साहित्य, इतिहास, ज्योतिष, गणित विषयमा विशेष अध्ययन अनुसन्धानमूलक कृति र उक्त कृति प्रकाशन गरेका विद्वानलाई नयराज पन्त शोधसम्मान प्रदान गर्दै आएको छ। यो सम्मानबाट हालसम्म १८ जना सम्मानित भइसकेका छन्। सम्मानित हुनेमा ज्ञानमणि नेपाल, डा. स्वामी प्रपन्नचार्य, डा. तुलसीराम वैद्य, डा. तीर्थबहादुर श्रेष्ठ, डा. बालकृष्ण पोख्रेल, डा. माधवप्रसाद पोख्रेल, टोपबहादुर सिंह, डा. शंकरराज पन्त, डा. ऋषिराम पोखरेललगायत छन्। यसैगरी ज्ञानगुन प्रकाशनले नयराज पन्तकै शिष्य धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल र प्रा. दिनेशराज पन्तको नाममा शोधसम्मान दिन थालेको छ। शिष्यलाई सम्मान गर्नु नै नयराज पन्तलाई श्रद्धा गरेको हो भन्ने बुझ्न सकिन्छ। किनकि, नयराज पन्तले गोदवा पाउँदा त्यसको श्रेय आफ्ना चेलाहरूलाई दिएका थिए।

नेपालमा नेता र तिनका परिवारका नाममा प्रतिष्ठान, अध्ययन केन्द्र जस्ता संस्था बग्रेल्ती छन्। त्यस्ता संस्थामा सरकारले उदारतापूर्वक आर्थिक अनुदान दिने गरेको पाइन्छ। तर नयराज पन्तको नाममा प्रतिष्ठान स्थापना गरी उनले उठान गरेका विषयमा अध्ययन अनुसन्धान गर्ने चाँजोपाजो मिलाउन सकिएको छैन। प्राज्ञिक जगत‍्ले पहल गरेमा राज्यको ध्यान यस दिशामा आकृष्ट हुन सक्थ्यो होला।


सम्बन्धित सामग्री