Friday, September 20, 2024

-->

धार्मिक भुलभुलैयामा रुमल्लिएको दलित समुदाय

विश्वकर्मा जात महादेवको सन्तान भएको हुँदा आफूहरूले तीनसुते जनै भिर्न पाउनुपर्ने भगत सर्वजितको माग राणाराजले पूरा गरिदिएको यतिका समय बितिसक्दा पनि जात व्यवस्थाका मुख्य आधार स्तम्भ टसमस भएका छैनन्।

धार्मिक भुलभुलैयामा रुमल्लिएको दलित समुदाय

९ अगस्टलाई उत्पीडित राष्ट्र अर्थात् आदिवासी–जनजाति समुदायले ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाइरहेका बखत पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन भइरहेको कोटिहोम महायज्ञको व्यासासनमा पुगी आचार्य कृष्ण दमाईले ‘संघर्ष–कथा’ वाचन गरेपश्चात् हिन्दू समाज उद्वेलित र तरंगित भएको छ। विशेष गरी दलित र इतर समुदायका बौद्धिक र समसामयिक घटनाक्रममा चासो राख्ने मध्यम वर्ग अहिले स्पष्ट दुई कित्तामा विभाजित छ; पक्ष र विपक्षमा। पक्षधरको दाबी कृष्ण दमाईलाई व्यासमा उचालेर ऐतिहासिक सफलता हासिल भयो भन्ने खालको छ। विपक्षमा उभिएकाको दाबी दमाईलाई जात व्यवस्था टिकाउने मतियारका रूपमा हतियार बनाइयो भन्ने छ। 

भगत सर्वजितकालीन चेत
राणाकालीन परिस्थितिमा भगत सर्वजित विश्वकर्माले सञ्चालनमा ल्याएका सुधारोन्मुख अभियान सापेक्षित रूपमा सही र अग्रगामी थिए। क्रूर र मनुवादी राणाशासन अवधिमा समेत दलित समुदायका निम्ति विद्यालय सञ्चालन, गोलझारा र बालीघरे प्रथाको विरोध, तत्कालीन पण्डितहरूसँग शास्त्रार्थ गर्न सक्ने उनको साहस असाधारण थियो। सालाखाला एक शताब्दीअघि तत्कालीन धार्मिक अतिवादीहरूको दबदबामा गुज्रिएको निरक्षर अछुत समुदायबाट शास्त्रार्थको हवाला दिनु र त्यो स्तरको विद्रोह गर्नु  आफैँमा प्रगतिउन्मुख कदम थियो, यद्यपि उनको बुझाइको सीमितता भने थियो नै।

जटिल सामाजिक सम्बन्ध भएको अहिलेको समाजमा सर्वजितकालीन चेतनाले पुग्दैन। विश्वकर्मा जात महादेवको सन्तान भएको हुँदा आफूहरूले तीनसुते जनै भिर्न पाउनुपर्ने भगत सर्वजितको माग राणाराजले पूरा गरिदिएको यतिका समय बितिसक्दा पनि जात व्यवस्थाका असमान आर्थिक, राजनीतिक र सांस्कृतिक मुख्य आधार स्तम्भ टसमस भएका छैनन्। यस्तो परिप्रेक्ष्यमा कुनै एक अमुक व्यक्तिलाई धर्माधिकारीको पगरी गुथाएर गरिने कर्मकाण्डी अभ्यासले सांस्कृतिक फटाइँगिरीमा उद्धत केही फटाहाको भान्छा अझै सहज बन्न सक्ला तर दलित मुक्ति आन्दोलनलाई भने यसले झनै पश्चगमनको यात्रातर्फ धकेल्छ।

धर्मान्धताले निम्त्याउने खतरा
एउटा सत्यकथाको स्मरण गरौँ। पञ्चायतकालीन तामाङ बस्तीबाट राष्ट्रिय पञ्चायत सदस्यका निम्ति एउटा प्रतिनिधि पठाउनुपर्ने फर्मान राजाबाट आएछ। राजनीतिक सत्ता र अवसरबाट बेदखल उक्त मसिन्या मतुवाली बस्तीलाई फसाद पर्‍यो। झगडालु, बलिष्ठ शरीर भएको र पिटाई खप्न सक्ने खालको एक युवालाई सबैले जबरजस्त राजाकहाँ पठाइदिए। एक कार्यकाल समाप्तिपछि अर्को कार्यकालमा कुनै हिचकिचाहट र असहजताबिना सोही युवा दोहोरिएर गयो।

यस्तो परिस्थिति कसरी बन्छ? तथ्य स्पष्ट छन्। उसले सत्ता के हो बुझ्यो र त्यो राजसी सानसौकतको सुविधाभोगसमेत गर्‍यो। अब अर्को वैकल्पिक उम्मेदवार उसको सुविधाजनक जिन्दगीका निम्ति बाधक बन्यो। उक्त व्यक्ति सो समाजका निम्ति सेवक नभई शासक भइसकेको थियो। यी दमाई अब आचार्य र वेदअनुसार ब्राह्मण बनेको भनिँदै छ। केबल एक जना उत्पीडित वर्गको रापंस बन्नु अथवा आचार्य वा पशुपतिनाथ मन्दिरको मूल पुरोहित नै बन्नुसमेत तात्त्विक रूपमा उति धेरै भिन्न कुरा होइन। 

अहिले जात व्यवस्थाको पक्षमा काम गर्ने कारिन्दाका रूपमा एक जनाले जागिर पाउँदा उत्पीडित समुदायका अन्य मानिसलाई थप भुलभुलैयामा पार्नेबाहेक अरू केही हुनेवाला छैन। त्यसमाथि बहुसंख्यक धार्मिक नकाबधारी शोषकहरूद्वारा घेरिएको एक्लो इमानदार व्यक्तिले न अनियमितताविरुद्ध आवाज उठाउन सक्छ न विद्रोह गर्न नै। त्यसो हुँदा आखिर सो अबोध पात्र फटाइँगिरी र बेइमानी ढाकछोप गर्ने कर्मचारी र धोइपखाली गर्ने सफाइकर्ता बन्ने खतरा प्रबल हुँदै जान्छ।

धर्म नभई व्यवस्थाविरुद्ध संघर्ष
दलित आन्दोलन कुनै एक धार्मिक पन्थविरुद्धको लडाइँ होइन। न कुनै खालको धार्मिक मुक्ति मार्गले दलित मुक्तिको बाटो तय गर्ने हो। धर्मावलम्बी शासक वर्गले सत्ता सञ्चालनको आधार स्तम्भ वेद, ग्रन्थ र पुराणहरूलाई बनाएको र त्यहीँबाट ब्राह्मण-शूद्र वा छुत-अछुतको अपमानजनक अवधारणा फैलिएको हुँदा जात व्यवस्थाविरोधी शक्तिले त्यसलाई ठाडो प्रहार गर्ने विषय स्वाभाविक र वस्तुगत यथार्थ बन्न जान्छ। दलित आन्दोलन जात व्यवस्थाविरुद्धको संघर्ष हो। हजारौँ वर्षदेखि आर्थिक, राजनीतिक र सांस्कृतिक अधिकारबाट बेदखल बनाइएका समुदायले उक्त अधिकार प्राप्तिका निम्ति गरिएको एक ‘होलिस्टिक अप्रोच’ हो। 

अर्को कुरा, एउटा कुनै भाषामा स्नातकोत्तर उत्तीर्ण गरेको आधारमा उक्त व्यक्तिलाई मञ्चासिन गराउँदैमा साढे तीन हजार वर्ष लामो विभेदको शृङ्खलालाई धक्का पुगेको निष्कर्षमा पुग्नु किमार्थ सही र वैज्ञानिक ठहर्दैन। यस्ता छेउ कुनाको विषयवस्तुलाई दलित उन्मुक्तिको मुख्य मुद्दाका रूपमा बुझ्नु ऐतिहासिक भुल हुन्छ। धार्मिक अतिवादीको प्रपञ्चलाई वस्तुगत ढंगले विश्लेषण गर्न नसक्नु र दलित मुक्तिको बाटो धर्मलाई देख्नु सही वैचारिकीको अभाव हो। 

धर्म-संशोधन र धर्मान्तरणले दलित मुक्ति असम्भव
पछिल्लो समय केही हिन्दू धर्माधिकारीहरूले छुवाछूत मुक्तिलाई मुख्य मुद्दा बनाई सुधारवादी क्रियाकलाप गर्दै डुलेको र आफूलाई क्रान्तिकारी दाबी गरेको देखिन्छ। यस्तो परिस्थिति उनीहरूको स्वेच्छाले नभई सच्चा क्रान्तिकारीहरूले जात व्यवस्थाविरुद्ध निरन्तर र तीव्र गतिमा गरेको हमलाले उत्पन्न भएको हो। अब ठोकेरै भन्न सकिन्छ कि जात व्यवस्था रक्षात्मक स्थितिमा पुगेको छ। धार्मिक सत्ता रक्षात्मक हुँदैछ। पुनरुत्थानवादी र धार्मिक अतिवादीहरू त्रसित मनोभावले ग्रसित छन्। 

यता, केही दलित अभियन्ताहरू धर्म-संशोधनले दलित मुक्तिको बाटो खुल्छ कि भन्ने डरलाग्दो भ्रमित सपनाले आनन्दित छन्। केही थान दलितहरू चतुर्वेदी बन्ने पङ्क्तिमा लामबद्ध छन् त केही धार्मिक सत्ताका शासकहरू रिझाउने दाउमा। यस्ता हरकत गर्नेहरू पश्चगामी तत्त्व र अन्धकार सुरुङका यात्री हुन्। अझै प्रस्ट रूपमा भन्दा जात व्यवस्थाको सुरक्षार्थ खटिएका सैनिक हुन्। चतुर्वेदको अध्ययनले ज्ञानको दायरा बढाउन सक्छ, दलित मुक्ति अभियानमा सहयोग पुर्‍याउन सक्दैन भन्ने दृष्टान्त भगत सर्वजितले आर्जेको वैदिक ज्ञान र दीक्षित आचार्य पदले छर्लङ्ग पार्छ।

दलित समुदायमा छताछुल्ल देखिएको अर्को गलत मुक्तिको मार्ग हो, धर्मान्तरण। धर्म परित्याग गरी अन्य धर्म अपनाउँदा वा अवलम्बन गर्दा जात व्यवस्थाबाट उन्मुक्ति मिल्छ भन्ने अवैज्ञानिक र अपरिपक्व विचारले ग्रसित भई धर्मान्तरणमा धेरै दलित होमिएका छन्। धर्मान्तरणको अभ्यास र प्रयोग गलत र असफल सिद्ध भएको भारतीय समाज हाम्रो सम्मुख छँदैछ। पौने शताब्दीदेखि हालसम्मको फेहरिस्त हेर्दा अम्बेडकरवादी विचारधाराद्वारा निर्देशित बौद्ध धर्मान्तरणको अभियान जात व्यवस्था उन्मूलनमा निष्प्रभावी ठहरियो। गन्तव्यहीन यात्राको असफल र गुनासोका कथा सुनिबस्नु समय र ऊर्जाको बरबादी मात्रै हो। एक धर्मबाट अर्को धर्ममा आस्था राख्नु भनेको तीव्र गतिमा गुडिरहेको तर अगाडि लिक नभएको रेलको दोस्रो डब्बामा छिर्नु हो। जता गए पनि दुर्घटना अवश्यम्भावी छ। अतः धर्म-संशोधन वा धर्मान्तरण मिति गुज्रिसकेको मुद्दा भएकोले यसको अति रञ्जनामा बौद्धिक विलास गर्ने बानी हटाउनु लाभकारी हुन्छ।

चेतनास्तरमा छलाङ
जात व्यवस्थाले निर्माण गर्ने सौन्दर्य चेत बढो अजिबको देखिन्छ। उचनिचमय पदानुक्रममा रहेको जातको श्रेणीले एक अर्को जातमा अलगावको भाव पैदा गर्छ। एकता र सहकार्यको विपरीत फुट र वैमनस्यताको आलम्ब खडा पार्छ। यही भावभूमिमा स्वाभाविक रूपले एउटा गलत सौन्दर्यचेतको विकास हुन्छ। खास जातको मानिसलाई सोही जातको व्यक्ति उत्कृष्ट र सर्वोत्कृष्ट लाग्ने स्वत्व निर्माण हुन्छ। जस्तो: अहिलेको घटनाक्रम हेर्दा पनि दलित समुदाय अन्तर्गतका दमाई जातका अधिकांश मानिस नयाँ आचार्यको पक्षमा बोलिरहेका छन्। शासकले शासित अन्तर्गतको पिँधमा परेको तप्कालाई प्रत्युत्पादकको भूमिकामा उतार्ने गरेको दृष्टान्त यही घटनाक्रमले सपाट रूपमा देखाएको छ।

मनुस्मृति ग्रन्थमा उद्धृत श्लोक, "जन्मना जायते शूद्र: कर्मणा द्विज उच्यते" (जन्मले सबै शूद्र हुन्छन्, कर्मले ब्राह्मण भइन्छ)लाई आधार बनाई धार्मिक बहसमा धर्माधिकारहरू तर्क वितर्कमा उत्रिएको पाइन्छ। ३५ सय वर्षदेखि हालसम्म दक्षिण एशियाली उपमहाद्वीपमा बसोबास गरेका करोडौँको संख्याका शूद्र वा अछुत कति लाख ब्राह्मण भए वा दुष्कर्म गरेबापत कति ब्राह्मणको घरमा जन्मेका मानिस शूद्र वा अछुत भए? यी र यस्तै प्रश्नहरू दलितहरूले धर्माधिकारहरूसमक्ष सोध्न अब ढिला गर्नु हुँदैन। जात व्यवस्थाप्रति आलोचनात्मक बन्दै यसविरुद्ध प्रतिरोधी वैज्ञानिक विचार निर्माणमा घोत्लिन र दिमाग खियाउन थालियो भने मात्रै चेतना स्तरमा अर्को छलाङ मार्न सम्भव छ।

अबको बाटो
धर्मनिरपेक्ष राष्ट्र र सोही समयमा बाँचेका हामीले अब धर्मलाई मूल विषय र मुद्दा बनाउने कालबाट धेरै अगाडिसम्मको यात्रा तय गरिसक्यौँ। धार्मिक फन्डा र लहडबाजीमा रुमल्लिने छुट र समय क्रान्तिकारी दलित तप्कालाई छँदै छैन्। एआईकालीन विश्व परिवेशमा अबका पुस्तालाई विज्ञान र प्रविधिमा लैस बनाउनु पर्छ। धर्मान्धता भएका विद्रूप चेतनायुक्त पुस्ता होइन, विज्ञान र प्राविधिक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने नवपुस्ता निर्माणको समय आएको छ। 

धार्मिक सत्ता र यसका धर्माधिकारहरू रक्षात्मक स्थितिमा धकेलिएकोले हुँदा बलशाली बन्दै गएको दलित मुक्ति शक्तिलाई दुरुपयोग गर्दै ब्याक फायर गर्न सक्ने आपत्कालीन खतराको साइरन बजेको हुँदा अग्रगामी शक्ति झनै सचेत हुनुपर्ने भएको छ। अब गाईको पुच्छर समातेर होइन, विज्ञान प्रविधिको फेरो पक्रेर मुक्तिको बाटो तय गर्नुपर्ने समयमा हामी आइपुगेका छौँ। भौतिकवादी जीवनशैली अवलम्बन र यसको निरन्तर सिर्जनात्मक अभ्यासले नै दलित र सम्पूर्ण मानवलाई मुक्तिको दिशातर्फ डोर्‍याउने छ।

(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)


सम्बन्धित सामग्री