संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा विश्वको चासो त्यता केन्द्रित छ। नोभेम्बर ५ मा हुने चुनावमा मुख्य गरी डेमोक्राट र रिपब्लिकन पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ। तर अरू स्वतन्त्र उम्मेदवार पनि छन्।
हरेक चार/चार वर्षमा हुने निर्वाचनबाट निर्वाचित राष्ट्रपतिले दुई कार्यकाल मात्रै काम गर्न पाउने संवैधानिक व्यवस्था छ। अहिलेको चुनावमा वर्तमान राष्ट्रपति जो बाइडेनले डेमोक्राट पार्टीको प्राइमरी निर्वाचनबाट उम्मेदवार निर्वाचित भइसकेपछि डोनाल्ड ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शन गरे। त्यसका साथै बाइडेनको स्वास्थ्य पनि बिग्रँदो छ।
यिनै कारण डेमोक्राटिक पार्टीका वरिष्ठ नेताहरूको आग्रहमा बाइडेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी फिर्ता गर्ने घोषणा गरे। त्यसपछि उनकै कार्यकालमा उपराष्ट्रपति भएर काम गरिरहेकी कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि आएकी छिन्। ह्यारिसको उम्मेदवारीलाई लिएर कतिले पहिलो पटक महिला अमेरिकी राष्ट्रपति भएर इतिहास निर्माण गर्ने सम्भावनाका रूपमा यस चुनावलाई लिएका छन्। ह्यारिसको मुख्य प्रतिस्पर्धा रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति ट्रम्पसँग हुँदैछ। त्यसबाहेक स्वतन्त्र उम्मेदवारका रूपमा क्रोनेल वेस्ट, जील स्टेन, चेज ओलिभर रहेका छन्।
अमेरिकी राष्ट्रपतीय चुनाव प्रक्रिया अनेकन् चरणमा हुन्छ। ५३८ इलेक्टोरल कलेजका लागि निर्वाचन हुने र त्यसमा विजयी हुने संख्याका आधारमा राष्ट्रपतिको छिनोफानो हुन्छ। सर्वाधिक मत ल्याउनेले जित्ने नभएर इलेक्टोरल कलेज जित्नेले चुनाव जित्छ। यसअघि हिलरी क्लिन्टनले ट्रम्पसँग प्रतिस्पर्धा गर्दा खसेको मत क्लिन्टनकै बढी थियो तर इलेक्टोरल कलेजमा पछि पर्दा राष्ट्रपति बन्नबाट बञ्चित भइन्। त्यसो त नेपालमा जस्तो अमेरिकामा नेताको आर्सीवाद प्राप्त व्यक्ति उम्मेदवार बन्दैनन्। उम्मेदवार बन्न पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
उम्मेदवार चयन गर्न प्राइमरी चुनाव
पार्टीका उम्मेदवार चयन गर्न हरेकजसो राज्यमा प्राथमिक चुनाव (प्राइमरी) र केही राज्यमा ककस आयोजना गरिन्छ। प्राथमिक चुनाव सामान्यतः आफ्ना पार्टीका मतदाता मात्र सामेल हुने चुनाव हो भने ककसचाहिँ पार्टीका कार्यकर्ता एउटा कोठामा भेला भएर छलफल गरी आफ्ना पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने प्रक्रिया हो। यो छलफलमा प्रत्यक्ष मतदान पनि हुन् सक्छ।
प्राथमिक चुनाव र ककसको आधारमा प्रत्येक पार्टीले आफ्नो राष्ट्रिय सम्मेलन आयोजना गर्छन्, जहाँ पार्टीका प्रतिनिधिले अन्तिम उम्मेदवार चयन गर्छन्। सम्मेलनमा पार्टीका प्रमुख मुद्दा र नीतिहरू तय गरिन्छ। राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारको औपचारिक रूपमा घोषणा गरिन्छ। उम्मेदवार चयन भएकाहरूले देशभर प्रचारप्रसार गर्छन्। चुनावको दिन नागरिक आफ्नो मत दिन मतदान केन्द्र जान्छन्। हुलाकबाट पनि आफ्नो मतपत्र पठाउन सकिन्छ। मतदान सामान्यतः नोभेम्बरको पहिलो मंगलवार हुने गर्छ। यस पटक नोभेम्बर ५ मा मतदान हुँदैछ।
अमेरिकामा राष्ट्रपति चयनका लागि ५३८ इलेक्टरको कलेज रहेको छ। प्रत्येक राज्यमा इलेक्टोरल मतको संख्या जनसंख्या र कंग्रेसका सिटका आधारमा निर्धारण गरिन्छ। उम्मेदवारले राज्यको बहुमत मत जितेमा त्यस राज्यको सबै इलेक्टोरल मत प्राप्त गर्छ। इलेक्टोरल कलेजका प्रतिनिधिले डिसेम्बरको तेस्रो सोमबार मतदान गर्छन् र त्यसपछि मतगणना गरिन्छ। जनवरी ६ का दिन नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुनावको परिणामलाई अमेरिकी कंग्रेसको संयुक्त बैठकमा प्रमाणित गरिन्छ। जनवरी २० का दिन नयाँ राष्ट्रपति र उपराष्ट्रपतिले औपचारिक रूपमा पदभार ग्रहण गर्छन्। अमेरिकी चुनावको प्रक्रिया लोकतान्त्रिक मान्यता र पार्टी प्रणालीमा आधारित छ र यसलाई अमेरिकी लोकतन्त्रको विशेषताको रूपमा पनि व्याख्या गर्ने गरिन्छ।
अमेरिकी चुनावको विश्वव्यापी प्रभाव
विश्वको प्रमुख शक्तिराष्ट्र ठानिन्छ अमेरिका। त्यसो हुँदा अमेरिकी राष्ट्रपतिले अन्तर्राष्ट्रिय राजनीतिको गति र दिशा परिवर्तन गर्न सक्छ। राष्ट्रपति जसले चुनाव जित्छ, उस/उनको नेतृत्वमा अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय मुद्दा—व्यापार युद्ध, जलवायु परिवर्तन, सैन्य गठबन्धन र मानव अधिकारमा कस्तो दृष्टिकोण अपनाउनेछ भन्ने कुराले फरक पार्छ, अर्थ राख्छ।
अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। अमेरिकी व्यापार नीति, कर नीति र वित्तीय नियमले विश्वभरका अर्थतन्त्रमा प्रभाव पार्छन्। नयाँ राष्ट्रपतिले आर्थिक नीतिमा ठूलो परिवर्तन गरे भने त्यसले वैश्विक बजार, व्यापार सम्झौता र विदेशी निवेशमा असर पार्न सक्छ।
अहिले पनि अमेरिका र चीन, अमेरिका र रुस वा अमेरिका र अन्य अन्तर्राष्ट्रिय साझेदार बीचका सम्बन्धमा नयाँ दृष्टिकोण र नीति अपनाइने सम्भावना रहन्छ। यस प्रकारको भूराजनीतिक परिवर्तनले वैश्विक शक्ति सन्तुलनलाई प्रभावित पार्न सक्छ। अमेरिकी राष्ट्रपति चुनावले विश्वकै ध्यान आकर्षित गर्नुको प्रमुख कारण अमेरिकी शक्ति, अर्थतन्त्र, भूराजनीति, सामाजिक मुद्दा र मिडिया प्रचार नै हो।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले प्रचारप्रसार शुरू गर्दा र अहिले डेमोक्राटबाट कमला ह्यारिस उम्मेदवार भइसकेको अवस्थामा केही फरक छ। रिपब्लिकन पार्टीको नेसनल कन्भेन्सन हुने बेला डेमोक्राटिक पार्टीको उम्मेदवार जो बाइडेन नै थिए। त्यतिबेला रिपब्लिकन पार्टी चुनाव जित्ने कुरामा ढुक्क थियो भने प्रचारप्रसार पनि खासै गरेको थिएन। तर जो बाइडेन र ट्रम्पबीचको टेलिभिजन बहसपछि बाइडेनले छाडेर कमला ह्यारिस उम्मेदवार हुने भइसकेपछि चुनावी रणनीति र समीकरण पनि बदलिएको छ।
अमेरिकामा चुनावी प्रक्षेपण (मत सर्वेक्षण) पहिल्यैबाट चल्छ। अहिलेको प्रक्षेपणअनुसार ह्यारिस ट्रम्पभन्दा अगाडि छिन्। तर रबर्ट एफ केनेडी जुनियरले भर्खरै ट्रम्पलाई समर्थन गर्दै राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्ने घोषणा गरेसँगै यसलाई रिपब्लिकनले ‘क्यास’ गर्न खोजेका छन्। केनेडी डेमोक्राटिक परिवारका भएकाले ट्रम्पप्रति उनको समर्थनलाई उनको परिवारले नै राम्रो मानेको छैन भने चुनावमा उनको मत बढीमा ५–७ प्रतिशत मात्रै रहेकाले यसले कुनै असर नगर्ने डेमोक्राट बताउँछन्।
चुनाव भनिसकेपछि विकास र समृद्धिका कुरा हुने गर्छ भने अमेरिका आफैँमा विकसित भइसकेको अवस्थामा पनि कस्ता मुद्दाले जनता रिझाउन सकिन्छ र आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने विषयमा राजनीतिक दल चनाखो छन्। रिपब्लिकन पार्टीले अहिलेको नेतृत्वले आर्थिक अनुशासन कायम गर्न नसकेको भन्दै आरोप लगाउँदै आएको छ। आर्थिक विकास निकै सुस्त गतिमा भएको र मुद्रास्फितिका कारण क्रयशक्ति घटेको भन्दै आर्थिक सवालमा बढी केन्द्रित भएको छ। बाइडेनका पालामा ठूला पूर्वाधारका परियोजना पास भएर काम भइरहेकाले सरकारले बाहिरबाट ऋण लिएर अर्थतन्त्रमा ‘पम्प’ गरेको भन्दै आलोचना पनि भइरहेको छ। त्यसँसगै रिपब्लिकनले महँगी बढेको विषयलाई पनि चुनावी अजेन्डा बनाएका छन्।
डेमोक्राटिक पार्टी
आफूलाई अलि लिबरल (उदारवादी) मान्नेहरू डेमोक्राटिक पार्टीका सदस्य हुन्छन्। डेमोक्राटिक पार्टी सबै अमेरिकी नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न चाहन्छ। यसमा ‘मेडिकेयर फर अल’ जस्ता प्रस्ताव सामेल छन्, जसले जनताले अधिक किफायती स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्य राख्छ। डेमोक्राट ‘अफोर्डेबल केयर एक्ट’लाई अझ बलियो बनाउन र स्वास्थ्य सेवा सर्वसुलभमा थप सुधार गर्न चाहन्छन्।
डेमोक्राटिक पार्टी जलवायु परिवर्तनको मुद्दामा ध्यान केन्द्रित गर्दै हरित ऊर्जा स्रोतको प्रयोग बढाउन चाहन्छ। यसमा, पेरिस सम्झौतामा पुनः सामेल हुने, नवीकरणीय ऊर्जा स्रोतको वृद्धि, र कार्बन उत्सर्जन घटाउने योजना समावेश छन्। डेमोक्राटिक पार्टी लिंग, जातीयता र यौनिकताका आधारमा समानता प्रवर्द्धन गर्न चाहन्छ। यसले नश्लीय समानता, लैंगिक समानता र प्रजनन अधिकारमा कानूनी सुधारको समर्थन गर्छ।
त्यस्तै, डेमोक्राटिक पार्टी धनी व्यक्ति र ठूलो व्यवसायमा करवृद्धिको समर्थन गर्छन्। यसो गरेर उनीहरू तल्लो र मध्यमवर्गीय नागरिकका लागि कर कटौती र सामाजिक सुरक्षामा वृद्धि गर्न चाहन्छन्। त्यति मात्रै होइन, न्यूनतम तलब वृद्धि र श्रमिक अधिकारको संरक्षणका लागि पहल गर्ने योजना छ। सँगै, डेमोक्राटले देश विकासमा आप्रवासीको योगदानको मूल्यांकन गर्दै पथप्रदर्शक कानूनी स्थिति र सीमा सुरक्षा सुधारमा जोड दिएको छ।
रिपब्लिकन पार्टी
आफूलाई अलि परम्परावादी (कन्जरभेटिव) मान्नेहरू रिपब्लिकन पार्टीका सदस्य हुन्छन्। रिपब्लिकन पार्टी ‘अफोर्डेबल केयर एक्ट’लाई सुधार गर्न वा हटाउन चाहन्छ। उनीहरू व्यक्तिगत बीमा विकल्पलाई प्रवर्द्धन गर्ने र त्यसमा सरकारी हस्तक्षेप कम गर्नेतर्फ ध्यान केन्द्रित गर्छन्।
यो पार्टी जलवायु परिवर्तनको मुद्दामा सरकारी नियमन कम गर्न र पद्धति सुधारको आधारमा ऊर्जा उत्पादनमा बल दिन चाहन्छ। परम्परागत ऊर्जा स्रोतको प्रयोगलाई जारी राख्न चाहन्छन् र जलवायु सम्झौतामा सहभागिता कम गर्न सक्छन्। रिपब्लिकन पार्टी पारम्परिक परिवार संरचनाको रक्षा गर्न चाहन्छ र सामाजिक मुद्दामा परम्परागत दृष्टिकोण अपनाउँछ। यद्यपि, नश्लीय समानता र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्छन्। उनीहरूको दृष्टिकोण केही परम्परावादी हुन सक्छ।
आर्थिक नीतिका हकमा रिपब्लिकन पार्टी व्यवसाय र व्यक्तिको कर कटौती गर्ने नीति अपनाउँछ। यसले तल्लो र मध्यम वर्गीय नागरिकका लागि कर घटाउने र आर्थिक वृद्धि प्रवर्द्धन गर्ने लक्ष्य राख्छ। व्यापार र औद्योगिक क्षेत्रका लागि नियम र विनियम कम गर्नेतर्फ ध्यान केन्द्रित गर्छ। रिपब्लिकन पार्टीले सीमा सुरक्षा कडा गर्ने र अवैध आप्रवासन रोक्नेतर्फ ध्यान केन्द्रित गर्छ। यसले कडाइका साथ सीमा नियन्त्रण र अवैध आप्रवासीलाई देश निकाला गर्नेमा जोड दिन्छ।
यी अजेन्डाले पार्टीको विचारधारा र प्राथमिकता प्रतिबिम्बित गर्छन्। हरेक पार्टीले आफ्ना नीति र योजनालाई प्रचार गर्ने क्रममा आफ्नो दृष्टिकोण जनतासामु प्रस्तुत गर्छन्।
अमेरिकामा बन्दुक
अमेरिकामा हरेक वयस्क मानिसले बन्दुक राख्न पाउने कानूनै छ। अमेरिकामा बन्दुक राख्नेबारेको नीति जटिल र विवादास्पद विषय बन्ने गरेको छ। अमेरिकी संविधानको दोस्रो संशोधनले ‘एक सुव्यवस्थित मिलिसियाको आवश्यकता’को सन्दर्भमा ‘जनताको बन्दुक राख्न र राख्नको अधिकार’लाई मान्यता दिएको छ। यसले बन्दुकको स्वामित्व र नियन्त्रणको विषयमा ठूलो प्रभाव पारेको छ। डेमोक्राटिक पार्टीले सामान्यतः बन्दुक नियन्त्रणको वकालत गर्दा रिपब्लिकनचाहिँ सामान्यतः बन्दुक राख्न पाउने अधिकारको समर्थन गर्दै कडा नियम बनाउन नहुने कुरामा जोड दिँदै आएको छ।
नेपालीको चासो
अमेरिकामा झन्डै ३ लाख नेपाली वैधानिक रूपमा बसोबास गरिरहेको अनुमान गरिन्छ। अवैधानिक बाटोबाट पुगेकाको संख्यासमेत जोड्दा नेपालीको संख्या पाँच लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ। अधिकांश नेपाली डेमोक्राटिकको पक्षमा देखिए पनि केही व्यापारिक पृष्ठभूमिका व्यक्ति रिपब्लिकनमा पार्टीमा आबद्ध छन्। अहिलेको अवस्थामा नेपालीले आप्रवासनको कुरामा बढी जोड दिएको पाइन्छ। आफ्ना हक अधिकार कसरी स्थापित गर्ने भन्नेमा उनीहरूको चासो छ।
नेपालको सन्दर्भमा हामीले अमेरिकी चुनावबाट केही सिक्नुपर्ने कुरा छन्। अमेरिकामा जस्तै नेपालमा पनि प्राइमरीद्वारा उम्मेदवार छनोट पद्धति अंगीकार गर्न सक्यौँ भने योग्य व्यक्ति उम्मेदवार बन्न पाउने थिए भन्ने अनुमान गर्न सकिन्छ।
अमेरिकी चुनावमा राजनीतिक दल र उम्मेदवारले उठाउने चन्दालाई पनि ठूलो महत्त्व दिइन्छ। पार्टी र उम्मेदवारले कति चन्दा संकलन गर्न सक्यो, त्यसका आधारमा उम्मेदवारको लोकप्रियता नापिन्छ। अहिले ट्रम्पभन्दा ह्यारिस यो मामिलामा अगाडि छिन्। उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा र चुनावी खर्च कसरी उठाउने भन्नेबारे नेपालको कानूनमा थप सुधार गर्न आवश्यक छ।
दुई उदाउँदा अर्थतन्त्र, भारत र चीनको बीचमा रहेको नेपालमा दशकौँदेखि अमेरिकी चासो रहँदै आएको छ। महाशक्ति अमेरिकाले चीनको प्रभाव सीमित गर्न ध्यान दिँदै आएको छ। एमसीसी सम्झौता त्यसै रणनीतिको अंशका रूपमा रहेको कतिपयको भनाइ छ।
जेसुकै भए पनि नेपालको लोकतन्त्र, मानव अधिकार र आर्थिक विकासमा अमेरिकी सहयोग तथा धारणाले महत्त्व राख्दै आएको छ। अमेरिकामा बन्ने नयाँ सरकारका नीतिले नेपालमाथि पनि प्रभाव अवश्य पर्नेछ। त्यसैले अमेरिकी चुनावप्रति नेपाली डायस्पोरा तथा संसारभर रहेका नेपालीको चासो स्वाभाविक हो।
(पण्डित अमेरिकाको बाप्टिस्ट हेल्थ साइन्स युनिभर्सिटीमा भौतिकशास्त्र प्राध्यापन गर्छन्।)