Saturday, December 14, 2024

-->

गोली लागेका रेगन, गोली लागेका ट्रम्प

रेगनको रंगभेदी अडियो सार्वजनिक भएपछि रेगनकी छोरी पट्टी डेभिसले वासिङ्टन पोस्टका लागि लेख लेखेकी थिइन्, “तपाईंहरूले मेरो बुवालाई क्षमा गरिदिनुहुन्छ भन्ने आशा छ। उहाँले एकदम गलत बोल्नुभयो।”

गोली लागेका रेगन गोली लागेका ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत १४ जुलाईमा भएको गोली प्रहारले अमेरिकीलाई आफ्नो ४०औँ राष्ट्रपति रोनाल्ड रेगनको सम्झना गराइदियो। सन् १९८१ मार्च ३० को मध्याह्न ‘वासिङ्टन हिल्टन होटल’मा आयोजित एक कार्यक्रममा भाषण गरेर रेगन भर्खर बाहिरिएका थिए। अचानक चर्को आवाजमा बन्दुक पड्किएपछि सुरक्षाकर्मीले रेगनलाई जोगाउन खोजे तर उनको बायाँ काखी छेउमा गोली लागिसकेको थियो। मृत्युको मुखमा पुगेका ७० वर्षीय रेगन ११ दिनसम्म अस्पताल बसेर सकुशल घर फर्किएका थिए। रेगनजसरी ट्रम्प अस्पतालको बेडमा थलिनुपरेन, उनको कानमा चोट लागे पनि केही दिनमा निको भयो।

अमेरिकी राष्ट्रपति, पूर्वराष्ट्रपति या राष्ट्रपतिका उम्मेदवारलाई गोली लागेको अन्तिम पटक १९८१ मा रेगनलाई हो। ४३ वर्षपछि ट्रम्प हुन्। हुन त १९९४ मा बिल क्लिन्टन र २००५ मा जर्ज बुसमाथि हत्याको प्रयास भएको थियो, तर तिनलाई गोली लागेको थिएन। अहिले गोलीले रिपब्लिकन पार्टीका यी दुई राजनीतिज्ञलाई जोडे पनि उनीहरूलाई थप बुझ्ने एउटा अर्को पक्ष छ– रंगभेद। 

ट्रम्पमाथि गोली हानिएपछिको तनाव। 

सन् २०१६ जुनमा ‘वासिङ्टन पोस्ट’का वरिष्ठ पत्रकार मार्क फिसर अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पको अन्तर्वार्ता लिन उनको कार्यालय जाँदै थिए। बाटोमा उनले आफ्नो ट्याक्सी ड्राइभरलाई गफगाफको सिलसिलामा राष्ट्रपतिका प्रत्याशीहरूबारे सोधे। ड्राइभरले ट्रम्पतिर झुकाव रहेको जवाफ दिए। तर आफूले ट्रम्प रंगभेदी हुन् भन्ने हल्ला सुनेको र यदि त्यो साँचो हो भने उनलाई भोट नदिनेसमेत बताए।

फिसरले पुन सोधे– ट्रम्पले आफू रंगभेदी होइन भनेर विश्वास दिलाउन के गर्नुपर्छ? केहीबेर सोचेर ड्राइभरले जवाफ दिए– थाहा छैन, सायद सबैप्रति माया देखाउनुपर्ला। फिसरले ट्याक्सीवालाको प्रसंगबाट ट्रम्पसँग अन्तरवार्ता शुरू गर्छन्। ट्रम्पले आफू रंगभेदी नरहेको दाबी गर्छन्। अन्तर्वार्ताकारलाई उनको जवाफ छ, “तपाईंले अन्तर्वार्ता गरेकामध्ये सबैभन्दा कम रंगभेदी मै हुँला।” उनले ‘कल एन्ड पोस्ट’को एक अंक हातमा लिन्छन्। यो एक अमेरिकी साप्ताहिक पत्रिका हो, जसलाई अफ्रिकी–अमेरिकनको प्रभावशाली आवाजका रूपमा लिइन्छ। त्यसको पछिल्लो पृष्ठमा राष्ट्रपतिमा ट्रम्पलाई समर्थन गर्ने घोषणा थियो। त्यो देखेर ट्रम्प दंग थिए।

ट्रम्पले आफू रंगभेदी नभएको दाबी गरे पनि उनले त्यति बेला दिएका अभिव्यक्ति आपत्तिजनक थिए। राष्ट्रपति हुनुपूर्व मात्र होइन, राष्ट्रपति भइसकेपछि पनि अश्वेत समुदायप्रति उनको दृष्टिकोण कत्ति पनि फेरिएन। उनी झन्झन् उग्र देखिएका थिए। उनको परिचय अमेरिकी राष्ट्रपतिको रूपमा मात्र होइन, जातिवादी नायकका रूपमा पनि बन्यो। उनलाई विश्वले रंगभेदी, जातिवादी, स्त्रीद्वेषी, नश्लवादी र धार्मिक असहिष्णुलगायत थुप्रै परिचयमार्फत चिन्यो।

रेगनमाथि गोली हानिएपछिको तनाव।

सन् २०१८ को जनवरीमा ट्रम्पले हाइटी र अन्य अफ्रिकन मुलुकलाई ‘सिटहोल’ भनिदिए। ह्वाइट हाउसको ‘ओभल अफिस’मा तत्कालीन राष्ट्रपति ट्रम्प र अरू कानून निर्माताहरूको बैठक चलिरहेको थियो। छलफलको विषय थियो– बाइपार्टीसन इमिग्रेसन डिलअन्तर्गत हाइटी, एल साल्भाडोरलगायत अफ्रिकन मुलुकका आप्रवासीलाई दिने सुरक्षा। उक्त बैठकमा ट्रम्पले भनेका थिए, “हामीले त्यस्तो ‘सिटहोल’ देशबाट आएका नागरिकलाई किन सहजै स्विकारिरहेका छौँ?”

अफ्रिकनलाई ल्याउनुभन्दा बरु नर्वेबाट मानिस ल्याउन ट्रम्पको सुझाव थियो (नोट: यस मिटिङको अघिल्लो दिन मात्र ट्रम्पले नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गलाई ह्वाइट हाउसमा भेटेका थिए)। नर्वे र हाइटी दुवै मुलुक भौगोलिक हिसाबले सानो भए पनि आर्थिक हिसाबले आकाश जमिनको फरक छ। त्यति बेला नर्वेको प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन दर अमेरिकाको भन्दा २३ प्रतिशत बढी थियो। पश्चिमी गोलार्द्धको सबैभन्दा गरिब देशहरूमध्ये एक थियो हाइटी। गरिब मुलुकका नागरिकमाथि ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर त्यति बेला खुब आलोचना भयो।

ट्रम्पलाई अफ्रिकाभन्दा नर्वे मनपर्नुको कारण त्यहाँ गोरा समुदायको वर्चस्व भएकाले पनि हो। नर्वे नर्डिक र जर्मेनिकहरूको भूमि हो, जो ‘रेस हायरआर्कीमा’ सबैभन्दा माथि विराजमान हुन्छन् भन्ने नश्लवादी नाजीहरूको विश्वास थियो। तर यो मानवशास्त्रीय सिद्धान्त उन्नाइसौँ शताब्दीमै निराधार भनेर स्थापित भइसकेको थियो।

ट्रम्पले त्यस दिन अफ्रिकनलाई भन्दा एशियनलाई ल्याउँदा आर्थिक रूपमा अमेरिकालाई फाइदा हुने धारणा राखेका थिए। वासिङ्टन पोस्टका अनुसार हाइटीका नागरिकप्रति उनी एकदम रूष्ट सुनिन्थेँ। उनको भनाइ थियो, “हामीलाई किन चाहियो हाइटीका नागरिक? उनीहरूलाई आफ्नै देश फर्काइदेऊ।”

पोस्टका अनुसार २०१७ नोभेम्बरमा ट्रम्प प्रशासनले २०१० को भूकम्पपछि लगभग ६० हजार हाइटीका नागरिकलाई दिइएको निर्वासन सुरक्षा खारेज गरेको थियो र उनीहरूलाई २०१९ सम्म घर फर्कन आदेश दिएको थियो।

राष्ट्रपति हुनुपूर्व ट्रम्प रंगभेदी नरहेको समेत तर्क कतिपयले गर्छन्। उनका समर्थकले सामाजिक सञ्जालमा ट्रम्प विभिन्न अफ्रिकन–अमेरिकनहरूसँग बसेको तस्वीर पोस्ट गर्छन्। ट्रम्प पनि बेलाबेला सार्वजनिक मञ्चहरूमा आफू रंगभेदी नरहेको दाबी गर्छन्। तर चुनावी प्रतिस्पर्धामा आएपछि मात्र ट्रम्पको स्वभाव फेरिएको होइन।

०१६ मा अमेरिकामा राष्ट्रपतिको चुनावी अभियान भर्खर शुरू भएको थियो, ट्रम्पले मेक्सिकनविरुद्ध तिता अभिव्यक्ति दिन थाले। एकचोटि उनले मेक्सिकन आप्रवासीलाई लक्षित गर्दै भने, “मलाई विश्वास गर्नूस्– उनीहरू हाम्रा मित्र हैनन्, उनीहरूले अमेरिकामा अपराध भित्र्याएका छन्, उनीहरू बलात्कारी हुन्।”

सामाजिक सञ्जालमा पनि ट्रम्प धाराप्रवाह अश्वेत समुदाय र हिस्प्यानिकको खेदो खन्थे। सन् २०१३ जुन ५ मा उनले ट्विटर अहिलेको एक्समा लेखे, “दुखद कुरा हो। हाम्रा मुख्य शहरमा अपराध बढेको छ र यसको कारण ‘अश्वेत समुदाय’ र हिस्प्यानिक –स्पेनिस भाषा बोल्नेहरू – हुन्। यो विषयमा गहन छलफलको जरुरी छ।”

ट्रम्पलाई थप बुझ्न ट्रम्प क्यासलका घटना हेर्नुपर्छ। क्यासिनोमा ट्रम्प गएको बेला त्यहाँ काम गर्ने अश्वेत समुदायका युवालाई उनका अगाडि देखा नपर्ने आदेश दिइन्थ्यो। क्यासिनोमा काम गर्नेमध्ये एक कामदार किप ब्राउनले ट्रम्पको त्यो प्रवृत्तिबारे सार्वजनिक रूपमै भनेका थिए, “जब डोनाल्ड ट्रम्प र इभान्का ट्रम्प क्यासिनोमा आउँथे, हाकिमले अश्वेतहरूलाई धपाउँथे। यो ८० को दशकको कुरा हो। म त्यति बेला किशोर थिएँ, तर अहिले पनि सम्झिन्छु– उनीहरू आएपछि हामी लुक्नुपर्थ्यो।”

पूर्वराष्ट्रपति ट्रम्प अहिले पुनः राष्ट्रपति उम्मेदवार छन्। कतिपय रिपब्लिकनहरू ट्रम्पलाई समर्थन गर्दैनन्। कतिपय ट्रम्पका समर्थक होइनन्, तर रोनाल्ड रेगनलाई खुब सम्मान गर्छन्। रेगनका कारण मात्रै पनि रिपब्लिकनलाई समर्थन गर्नेहरू प्रशस्त छन्। नेपालमा कांग्रेसले बीपीलाई आदर्श मानेजस्तो त्यहाँका धेरैजसो रिपब्लिकले रेगनलाई सोही स्थानमा राख्छन्।

ट्रम्प चुनावी अभियानमा सक्रियतापूर्वक लागिरहँदा, ट्रम्पविरोधी रिपब्लिकनहरू पार्टीको भविष्यमाथि चिन्ता व्यक्त गरिरहेका छन्। २०१६ मा ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको नारासँगै पार्टी ओरालो लागेको धेरैको विश्लेषण छ। 

केन बेइजलर, जसले ट्रम्प आउनुभन्दा अगाडि निरन्तर रिपब्लिकनलाई भोट हालेका थिए, ट्रम्पले पार्टीलाई रसातलमा पुर्‍याएको उनको अनुभव छ। गत फेब्रुअरीमा साउथ क्यारोलाइनामा भएको एक कार्यक्रममा उनले भनेका थिए– “रोनाल्ड रेगन चिहानबाट उठेर यो पार्टीलाई बचाए हुन्थ्यो।”

रंगभेदमा रेगन पनि कम थिएनन्। २०१९ मा रोनाल्ड रेगनको जातीय विभेद झल्काउने एक टेलिफोन संवाद सार्वजनिक भयो। संवादमा रेगनले तान्जेनियाबाट संयुक्त राष्ट्रसंघमा आएका प्रतिनिधिमाथि अपमानजनक अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, “तिनीहरूलाई हेर्नूस् न! अफ्रिकन मुलुकबाट आएका बाँदरहरू। धिक्कार छ, तिनीहरू अहिले पनि जुत्ता लगाउन जान्दैनन्।”

यति भनेर रेगन बेस्सरी हाँसेका छन्।

यो अडियोको केही अंश २००२ मा सार्वजनिक भइसकेको थियो। इतिहासकार टिम नाफ्टालीले ‘एटलान्टिक’ म्यागजिनमा बताएअनुसार त्यसबेला रेगनको गोपनीयतालाई ख्याल गर्दै रंगभेदी अंश हटाइएको थियो। सन् २००४ मा रेगनको मृत्यु भएसँगै गोपनीयताको मुद्दा नभएपछि २०१८ मा नेसनल अर्काइभले यो अडिया सार्वजनिक गरेको थियो।

अडियो सार्वजनिक भएपछि रेगनकी छोरी पट्टी डेभिसले वासिङ्टन पोस्टका लागि लेख लेखेकी थिइन्। उनले भनेकी छिन्, “तपाईंहरूले मेरो बुवालाई क्षमा गरिदिनुहुन्छ भन्ने आशा छ। उहाँले एकदम गलत बोल्नुभयो।”

रेगनले बारम्बार रंगभेदी अभिव्यक्ति दिएको भेटिन्छ।

सन् १९६६ मा क्यालिफोर्नियाको गभर्नर हुँदा रेगनले भनेका थिए, “यदि कोही नागरिकले निग्रो या अरू जोसुकैलाई घर बिक्री गर्दा होस् या कोठा भाडामा दिँदा होस्, विभेद गर्न चाहन्छ भने त्यो उसको अधिकारको कुरा हो।”

अर्को महत्त्वपूर्ण घटना, सन् १९८६ मा साउथ अफ्रिकाको तत्कालीन रंगभेदी सरकारविरुद्ध ल्याएको बिलमा रेगनले गरेको निषेधाधिकारलाई कांग्रेसले उल्टाइदियो। विश्वमा साउथ अफ्रिकाको तत्कालीन नश्लवादी व्यवस्थाविरुद्ध लहर आइरहेको बेला अमेरिकाका राष्ट्रपतिको निषेधाधिकार मान्यतामाथि प्रश्न उठेको थियो।

हुन त रेगनलाई विभिन्न उदाहरणमार्फत उनी रंगभेदी थिएनन् भनेर प्रमाणित गर्ने कोशिश हुने गरेको छ। त्यसमध्ये सबैभन्दा धेरै प्रयोग हुने उदाहरण हो– सन् १९३१ मा उनले अश्वेत दुई खेलाडीलाई आफ्नो घर ल्याएको प्रसंग। सन् १९३१ मा इलिनोइसमा खेल हुँदा खेलाडीहरू फर्‍यांक्लिन बुर्घार्ट र जिम र्‍याटनलाई होटलमा बस्न दिइएन। त्यति बेला रेगनले उनीहरूलाई आफ्नै घर ल्याएर बसाए। उनको परिवारले पनि उनलाई स्वागत गर्‍यो। तर, यस्ता छिटपुट सदाशयतालाई हेरेर उनी रंगभेदी थिएनन् भन्ने निष्कर्षमा पुग्न सकिन्न।


सम्बन्धित सामग्री