Friday, September 20, 2024

-->

रैथाने बालीका नाममा ब्रह्मलुट

निश्चित ठाउँ, टापु, प्रदेश, देश वा अन्य परिभाषित क्षेत्रमा मात्र पाइने वस्तु हो रैथाने। स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु राम्रो हो तर अल्पज्ञान प्रयोग गरी गलत शब्द प्रयोग गर्नु चाहिँ भ्रष्टाचार हो।

रैथाने बालीका नाममा ब्रह्मलुट

अहिले अन्यत्रझैँ कृषिबाली क्षेत्रमा समेत ‘रैथाने’ शब्द प्रचलित छ। रैथाने बजार, रैथाने उत्पादन, रैथाने खाना, रैथाने बाली। तर नेपाल सरकारको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुरद्वारा जारी गरिएको ‘रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि-२०७५’ ले गरेको रैथानेको व्याख्या नै गलत छ। सो परिभाषामा ‘रैथाने बाली’लाई यसरी परिभाषित गरिएको छ, “परम्परागत रूपमा सदियौँदेखि कृषकले खेती एवं संरक्षण गर्दै आइरहेका कृषिबालीहरूलाई सम्झनु पर्दछ” भनेर उल्लेख गरेको छ, जुन नितान्त गलत छ। 

सरकारीस्तरबाट यस्तो गलत किसिमको जानकारी दिइनु अच्चमलाग्दो हो। यसैगरी विभिन्न स्थानीय निकाय तथा गैरसरकारी संस्थाले ‘नेपालका रैथाने बाली’ संरक्षणको नाममा  ब्रह्मलुट नै गरेको देखिन्छ। कुनै पनि बालीको उत्पत्ति कहाँ भयो र त्यसपछि संसारभर फैलियो भन्नेबारे उकालोडटकममा २०८० कात्तिक १८ गते शनिबार आलुप्याजको इतिहास र बहुउपयोगी गुण र २०८० पुस ३ गते मंगलबार नेपालका कुनै पनि बाली रैथाने होइनन् भनेर दुई लेख लेखेको थिएँ। यस लेखमा किन र कसरी रैथानेको परिभाषा गलत छ र ‘रैथाने’ भनिएका सबै बाली कसरी रैथाने होइनन् भन्नेबारे थप प्रस्ट्याउने छु।

संसारमा विभिन्न वनस्पति र बाली प्रजातिको आ–आफ्नै किसिमका फैलावट ढाँचा (डिस्ट्रिब्युसन प्याटर्न) हुन्छन्। फैलावटका आधारमा तिनलाई हामीले विभिन्न प्रकारमा वर्गीकरण गर्न सक्छौँ। ती हुन्– विश्वव्यापी, स्थानीय (प्राकृतिक), गैरस्थानीय (बाह्य), रैथाने र भूप्रजातीय। यदि कुनै पनि बाली संसारमा जताततै पाइन्छ भने त्यो विश्वव्यापी (कस्मोपोलिटन) बाली हो। स्थानीय (प्राकृतिक) या अंग्रेजीमा ‘नेटिभ' भनिने बाली ती हुन्, जुन ऐतिहासिक रूपमा निश्चित ठाउँ, क्षेत्र वा देशमा सीमित हुन्छन्।

गैरस्थानीय (बाह्य) या ‘नननेटिभ’ वा ‘एक्जोटिक’ बाली भन्नाले ती बाली हुन्, जो ऐतिहासिक रूपमा एक क्षेत्र या देशमा अवस्थित हुँदैनन् र सामान्यतः मानव गतिविधिको कारणले ती कुनै ठाउँ, क्षेत्र वा देशमा भित्राइएका हुन्छन्। रैथाने बाली वा अंग्रेजीमा ‘इन्डेमिक’ भनिने बाली ती हुन् जो कुनै निश्चित स्थान (सानो ठाउँ, टापु, प्रदेश, देश या अन्य परिभाषित क्षेत्र)मा मात्र पाइने गर्छन्। यदि कुनै बाली निश्चित ठाउँ र जलवायु परिस्थिति अनि परम्परागत रूपमा खेती वा व्यवस्थापन गरिन्छ भने त्यसलाई भू-प्रजातीय बाली या ‘ल्यान्डरेस क्रप’ भनिन्छ। उदाहरणका लागि जुम्लाको मार्सी धान।

कथित रैथाने बालीको उत्पत्ति र फैलावट
नेपालमा अकबरे खुर्सानी, अदुवा, अम्रिसो, अलैँची, जौ, उवा, गहुँ, कागुनो, कोदो, चिनो, जुनेलो, बाजरा, चिया, केराउ, तोरी, धानका प्रकार, फापर, बेसार, भटमास, मकै, लट्टे (मार्से) र सिमीजस्ता बालीलाई यथेष्ट रूपमा सरकारी र गैरसरकारी निकायले ‘रैथाने’ भनेर किटान गरेको पाइन्छ। रैथाने बाली संरक्षण र प्रवर्द्धनको नाममा विभिन्न स्थानीय निकाय मात्र होइन, केन्द्रीय सरकारद्वारा पनि ठूलो मात्रामा बजेट खर्च गरेको देखिन्छ। किन र कसरी माथि उल्लेखित बाली रैथाने होइनन्, हामीले तिनको उत्पत्ति स्थान, खेतीपातीको विकास र फैलावटको सीमाबारे जान्न जरुरी हुन्छ। 

माथि उल्लेख गरिएका बालीको विस्तृत जानकारी यहाँ उल्लेख छ: 

अकबरे या डल्ले खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम यानम र प्रकार रासिफोर्मी हो। संसारमा खुर्सानीका जम्माजम्मी २७ प्रजाति तथा सयौँ प्रकार या उपप्रजाति छन्। खुर्सानीको उत्पत्ति मुख्यतः दक्षिण र मध्य अमेरिकामा भएको हो। पुरातात्त्विक अभिलेखले खुर्सानी पेरुको एन्डियन क्षेत्र र यो मेक्सिकोमा इसापूर्व ८ हजार ५०० देखि ५ हजार ६०० वर्षमा प्रयोग भएको देखाउँछन्। यद्यपि खुर्सानीको खेती भने इसापूर्व ५ हजार २०० देखि ३ हजार ४०० भित्र शुरू गरिएको हो। यो सन् १५४२ मा मात्र भारत तथा दक्षिण पूर्व एशियामा पुगेको देखिन्छ।

अदुवा (जिंजिबर अफिसिनेल)को उत्पत्तिस्थल भारत हो। यो पूर्णतः खेती गरिने नगदेबाली हो र यो जंगली अवस्थामा भेटिँदैन। अदुवा मसलाको रूपमा अबेरियन साम्राज्य हुँदै पश्चिम अफ्रिका र त्यसपछि मेक्सिको र जमैका पुगेको विश्वास गरिन्छ। युरोपमा भने यो १३औँ शताब्दीतिर उत्तर पूर्वी अफ्रिकाबाट मसलाको रूपमा भित्रिएको हो।

अम्रिसो (थाइसनोलेना  म्याक्सिमा) पाइने मुख्य स्थान दक्षिण पूर्व एशियाली देश; बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, न्यू गिनी, फिलिपिन्स, श्रीलंका, ताइवान, थाइल्यान्ड, भियतनाम र नेपाल आदि हुन्। यो केही अफ्रिकी मुलुकका साथै अमेरिका, इन्डिज र ब्राजिलमा पनि पाइन्छ। यो पूर्णतः खेतीपाती नगरिने भएकोले यो अर्धजंगली झार हो र यसलाई बाली हो भनेर किटान गर्न सक्ने आधार न्यून छन्।

जौ (होर्डियम भल्गेर)को उत्पादन तथा खेतीपाती इसापूर्व १० हजार ५०० वर्षतिर जाग्रोस पहाडी भूभाग र पूर्वी इरानी पठारमा भएको थियो भने उवा (होर्डियम भल्गेर प्रकार नुडम)को खेती तिब्बतमा भएको विश्वास गरिन्छ। निकोलाई भाभिलोभलाका अनुसार गहुँ (ट्रिटिकम एस्टिभम) इसापूर्व २१ सय वर्षतिर अफगानिस्तान, तुर्कमेनिस्तान, इरानका पहाडी क्षेत्र र काकेसियामा उत्पत्ति भएको हो। त्यहाँबाट प्रागैतिहासिक कालमा गहुँ उत्तर अफ्रिका, युरोप र पूर्वी एशियामा फैलिएको हो।

कोदो (इलियुसाइन कोराकाना) र कोदोजस्तै बाला लाग्ने बाली कागुनो (सेटारिया इटालीका), चिनो (प्यानिकम मिलियासिअम), जुनेलो (सोर्घम भल्गेर) र बाजरा (पेनिसेटम टाइफोइड्स) एशिया र अफ्रिकी मुलुकमा उत्पत्ति र विकास भएका यथेष्ट प्रमाण पाइन्छन्। कोदोको खेतीपाती लगभग ५ हजार वर्षपहिले पश्चिमी युगान्डा र इथियोपियाको उच्च भूमिमा शुरू भएको थियो र यो इसापूर्व ३ हजार वर्षताका भारतको पश्चिमी घाटतिर बालीको रूपमा फैलिएको थियो। त्यहीँबाट यो दक्षिण-पूर्वी एशियामा फैलिएको विश्वास गरिन्छ। 

कोदो सबैभन्दा पुरानो घरेलु उष्णकटिबन्धीय अफ्रिकी अनाज हो। कागुनो सर्वप्रथम इसापूर्व ६ हजार वर्षतिर चीनको उत्तरी भागमा अनाजका रूपमा विकास भएको थियो। त्यहाँबाट बिस्तारै एशिया, अफ्रिका, दक्षिणी युरोप र अमेरिकाका विभिन्न भागमा फैलिएको हो। सबैभन्दा पहिले चिनोको पूर्वी एशियामा खेती गरिएको थियो र पछि भारत, रुस, मध्य पूर्व र युरोपमा फैलियो। यो हाल मुख्यतः भारत, चीन, रुस र मध्य पूर्वमा उत्पादन गरिन्छ। जुनेलो इसापूर्व ८ हजारतिर अफ्रिकाको मध्य भाग इथियोपिया र सुडानमा उत्पत्ति भएको हो। पछि यो पूर्वी र दक्षिण अफ्रिका हुँदै संसारको अन्य भागहरूमा फैलियो। बाजराको उत्पत्ति इसापूर्व १ हजार वर्षतिर पश्चिम अफ्रिकाको मौरिटानियामा भएको हो।

पूर्वी एशिया, भारतीय उपमहाद्वीप र दक्षिण पूर्व एसियामा कमेलिया साइनेन्सिस अर्थात चियाको उत्पत्ति र विकास भएको हो। आजकल यो विश्वभर उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रहरूमा खेती गरिन्छ। भाभिलोभले सन् १९२६ मा केराउ (पिसम स्याटिभम)को आनुवंशिक विविधताका आधारमा विभिन्न उत्पत्तिका केन्द्रहरू सूचीबद्ध गरे। उनले मध्य एशिया, निकटपूर्व क्षेत्र (पश्चिम एशिया, बाल्कन, उत्तर अफ्रिका, लेभान्ट, अनातोलिया र इजिप्ट), एबिसिनिया र भूमध्यसागरीय क्षेत्र केराउको उत्पत्ति केन्द्रहरू हुन् भनी उल्लेख गरेका थिए।

तोरी (ब्रासिका रापा) र तोरी सम्बन्धित अन्य प्रजाति, जस्तै; काउली (ब्रासिका ओल्यारसिया) प्राकृतिक रूपमा पूर्वी भूमध्यसागर स्थित विशेषगरी ग्रिस र एशियन टापुदेखि मध्य एशियासम्म पाइन्छन्। फरक–फरक समयमा युरोप, एशिया र अफ्रिकासम्म फैलिएका तोरी र तोरी सम्बन्धित विभिन्न प्रजातिबीच सेचन गराइ मानिसले आफूलाई फाइदा हुने हुने कैयौँ नयाँ प्रजाति (जस्तै: रायो र ब्रोकाउली) विकास गरेका छन्।

संसारमा लगभग २४ प्रजातिका धान (ओरिजा सेटिभा) पाइन्छन्। ओरिजा सेटिभा उपप्रजाति जापोनिकाको खेतीपाती लगभग ९ देखि ६ हजार वर्षतिर चीनको यांग्त्जे उपत्यकामा शुरू गरिएको थियो। अहिले यो महत्त्वपूर्ण अन्नका रूपमा जापान अनि समशीतोष्ण पूर्वी र दक्षिण पूर्व एसियाका उच्च भूभागमा खेती गरिन्छ। ओरिजा सेटिभा उपप्रजाति इन्डीका भने सर्वप्रथम ८ हजार ५०० देखि ४ हजार ५०० तिर गंगा वरपर खेतीपाती गरिएको हो।

यसका विभिन्न प्रजाति; मुख्यतया उष्णकटिबन्धीय भागमा खेतीपाती गरिन्छ। यो प्रजातिको चामल सेतो, खैरो, कालो, बैजनी र रातोसहित अन्य रङका पनि हुने गरेका छन्। हाम्रो देशमा कल्टिभार, उपप्रजाति (सबस्पेसिस) र प्रकार (भेराइटी) विकास गरिए तापनि तिनलाई हामीले रैथाने भन्न मिल्दैन। धानका केही भू-प्रजातीय बाली भने नभएका होइनन्। यद्यपि तिनको व्यापक रूपमा अध्ययन अनुसन्धान गर्न जरुरी छ र हचुवाको भरमा ‘यो प्रकार, ऊ प्रकारको धान नेपाली रैथाने हो’ भन्नु वैज्ञानिक हिसाबले गलत हो।

फापर (फ्यागोपाइरम एस्कुलेन्टम) प्रथमतः इसापूर्व ६ हजारतिर दक्षिण पूर्व एशियामा खेती गरिएको थियो। यहाँबाट मध्य एशिया र तिब्बत (युनान क्षेत्र) अनि मध्यपूर्व हुँदै युरोपमा फैलियो। ‘म्याब्बरलेज प्लान्ट बुक’अनुसार संसारभर ५० प्रजातिका बेसार पाइन्छन्। सबैभन्दा धेरै उपयोग हुने पहेँलो बेसार प्रजातिको वैज्ञानिक नाम ‘कुरकुमा लंगा’ हो। इसापूर्व ४००० वर्ष पहिलेदेखि परम्परागत मसलाजन्य सामग्रीको रूपमा प्रयोग हुँदै आएको बेसार भारतमा उत्पत्ति भई सन् ७०० मा चीनको तटमा पुग्यो। त्यसको १०० वर्षपछि पूर्वी अफ्रिका र त्यसको करिब ५०० वर्षपछि पश्चिमी अफ्रिका पुग्यो। निक्कै पछि आएर १३औँ शताब्दीतिर मात्र अरब व्यापारीले यसलाई युरोपमा पुर्‍याए।

पूर्वी एशियामा इसापूर्व ११ हजारतिर ग्लाइसिन म्याक्स अर्थात भटमासको खेती गर्न शुरू गरिएको हो भने मकै (जिया मेज) ९-१० हजार वर्षपहिले दक्षिण पश्चिम मेक्सिकोको समथर भू-भागमा उत्पत्ति भएको हो। मकै ३-४ हजार वर्षपहिले उत्तरी अमेरिकामा र २ हजार वर्षपहिले मध्य र दक्षिण अमेरिकामा फैलिएको हो। ५ सय वर्षपहिले मात्र यो विश्वभर फैलियो। लट्टे (मार्से) वा एमारेन्थस  प्रजातिका बालीको करिब ७-८ हजार वर्षपहिले उत्तरी अर्जेन्टिनामा खेती गर्न शुरू गरिएको हो। यसै गरी विभिन्न सिमी प्रजाति या फ्यासिओलस  प्रजातिको उत्पत्ति दक्षिण अमेरिकाको पेरुमा करिब ८ हजार वर्षपहिले भएको हो। क्रिस्टोफर कोलम्बसले यसलाई युरोपमा पुर्‍याए र पछि युरोपियनले एशियामा फैल्याए।

उपसंहार
उत्पत्ति, खेतीपातीको विकास र विस्तारको मार्ग हेर्ने हो भने माथि उल्लेखित कुनै पनि बाली न त ‘प्राकृतिक वा स्थानीय’ हुन् न ‘रैथाने’ नै। आजकल नेपालमा जता पनि ‘यो बालीको प्रजाति रैथाने, त्यो प्रजाति रैथाने हो’ भनेर औँल्याउने गरेको पाइन्छ। कुनै बालीको आकार–प्रकार या बीउको रङका आधारमा ‘नयाँ प्रजाति या रैथाने’ भन्नु नितान्त गलत हो। एउटै बाली पनि विभिन्न ठाउँ र फरक–फरक मौसम, विभिन्न भौगोलिक अवस्था र माटोमा उमार्ने हो भने फरक रूपले उम्रन सक्छ। यस्ता सतही रूपमा नयाँ देखिने बालीलाई वैज्ञानिक हिसाबले अध्ययन गरी त्यसको पहिचान किटान गर्ने गरिन्छ। बोट, फूल या अन्य रूपमा छुट्याउन गाह्रो भयो भने त्यस्ता बालीको मिहिन रूपले आनुवंशिक अध्ययन गर्नुपर्छ। यसो गरिए अध्ययन गरिएको बालीको प्रजाति ठ्याक्कै कुन बालीको प्रजातिसँग मिल्छ भनेर छुट्याउन सकिन्छ।  

बालीको हकमा ‘रैथाने’ शब्द प्रयोग गर्दा हामी होसियार हुनैपर्छ, उपभोक्ताको ध्यान तान्न ‘फ्यान्सी’ शब्द प्रयोग गर्नु ठीक होइन। बालीका कुनै जंगली प्रजाति स्थानीय या रैथाने हुन सक्छन् तर त्यसको आधारमा ‘हामीले जंगली प्रजातिसँग सम्बन्धित बालीलाई स्थानीय वा रैथाने हो’ भन्नु असान्दर्भिक हुन्छ। लामो समयसम्म कुनै बाली भौगोलिक रूपमा बिकट ठाउँमा खेतीपाती गरिएको छ भने त्यो भू–प्रजातीय बालीका रूपमा विकास हुन सक्छ।

कुनै पनि उचित मूल्यांकन नगरी सरकारी तथा गैरसरकारी संघसंस्था तथा प्रायः नेपालका सबै समाचार पोर्टलले विभिन्न जिल्लाका ‘रैथाने बाली’ भन्दै उल्लेख गर्ने गरेका छन्। रैथाने शब्द सीप, कला, बजार या ज्ञानका अगाडि प्रयोग गर्न सकिन्छ, तर नेपालमा बालीका लागि होइन। यदि हामीले बाली उत्पादनको बजारीकरण गर्न चाहन्छौँ भने तिनको लागि स्थानीय, विशिष्ट उचाइमा उत्पादित, हिमाली, पहाडे, तराईको, रसायनमुक्त, स्वदेशी उत्पादन, स्थानीय उत्पादन आदि शब्द प्रयोग गर्न सक्छौँ।

कसैलाई ‘मेरो उत्पादन रैथाने बालीको हो भन्नु’ गौरवको विषय हुन सक्छ तर अन्तर्राष्ट्रिय क्षेत्रमा यसो भन्दा भद्दा मजाक सुनिन्छ र हामी पटमूर्ख कहलिन्छौँ। यसमा सबै सरोकारवालाको ध्यान जान जरुरी छ। के बुझ्नु पर्छ भने रैथाने भनेको ‘निश्चित स्थान, ठाउँ, टापु, प्रदेश, देश वा अन्य परिभाषित क्षेत्रमा मात्र पाइने वस्तु हो।’ यसमा गहिरिएर हेर्ने हो भने ‘मात्र’ले ठूलो अर्थ राख्छ र यसको मतलब तोकिएको ठाउँसिवाय अन्त कतै नपाइने भन्ने प्रस्ट बुझिन्छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु राम्रो हो तर अल्पज्ञान प्रयोग गरी गलत शब्द प्रयोग गर्नु गम्भीर अपराध र भ्रष्टाचार हो। यसरी हुँदै नभएका रैथाने बालीका नाममा बर्सेनि ठूलो मात्रामा बजेट छुट्याउँदै ब्रह्मलुट गर्नु उत्तम होइन। आशा छ, यो लेखले सम्बन्धित व्यक्ति र निकायहरूको ‘घैँटोमा घाम लाग्ने छ’।

(रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिकमा वनस्पतिविद्का रूपमा कार्यरत छन्।)


सम्बन्धित सामग्री