Saturday, September 21, 2024

-->

नरबहादुर कर्माचार्य स्मृति दिवस
जनतालाई परिवार ठान्ने असल कम्युनिस्टको सम्झना

आफूभन्दा धेरै पछाडि राजनीतिमा आएकालाई समेत निशंकोच नेता मान्दै ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’को कम्युनिस्ट सिद्धान्त-सार आत्मसात् गर्ने कर्माचार्य असल कम्युनिस्ट हुनुहुन्थ्यो।

जनतालाई परिवार ठान्ने असल कम्युनिस्टको सम्झना 

समाजमा देखिएका विभेद, अन्धविश्वास, विसंगति र अन्यायविरुद्ध जागरूक युवाले वर्गविहीन समाजको परिकल्पना गरेर २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे। पार्टी स्थापना गर्नेमध्येका एक जना हुनुहुन्थ्यो नरबहादुर कर्माचार्य। उहाँले पार्टी जन्माउन योगदान मात्रै दिनुभएन, जीवनभर सो पार्टीमा रहनुभयो। कम्युनिस्ट जीवनशैली अवलम्बन गर्नुभयो। आन्दोलनमा सहभागी भएकै कारण लामो जेलनेल भोग्नुभएका उहाँले कम्युनिस्ट विचार र सिद्धान्तको जगलाई राम्रोसँग व्यवहारमा उतार्नुभयो। 

नेपाली कम्युनिस्ट आन्दोलनमा अहिले धेरै नेताले मूल सिद्धान्त बिर्सेको देखिन्छ, जसका कारण कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी भासमा भासिएको छ। दक्षिणपन्थी र वामपन्थी छुट्ट्याउन नसकिने 'विचित्र वियोग'को अवस्था छ अहिले। सधैँ प्रफुल्ल र हँसमुख देखिने कर्माचार्य पदका पछि कहिल्यै लाग्नुभएन, पदमा पुगेर त्यसको दुरूपयोग गर्नेमा उनले दर्ज हुन परेन। जुन उद्देश्यले उहाँहरूले पार्टी खोल्नुभयो, त्यसबाट उहाँ कहिल्यै विचलित हुनुभएन। 

जीवनको अन्तिम अन्तिम क्षणतिर मोडेल अस्पतालको सैयामा सुतिरहँदा पनि उहाँले नेपालका कम्युनिस्ट एकीकृत भई देश विकासमा लाग्नुपर्ने बताउनुहुन्थ्यो। पंक्तिकारले लामो समय उहाँसँग संगत गर्ने अवसर प्राप्त गरेकोले पनि उहाँको आनीबानी नजिकबाट बुझ्ने अवसर पाएको हुँ। यो कुनै बढाइचढाइ होइन, उहाँले कैयौँ पटक आफू तरकारी किन्न जाँदा बजारमा ज्याला मजदुरी गर्नेहरूका लागि तरकारी किनिदिनुभयो। उहाँको साधारण र दयालुपन त्यसबाट झल्कन्थ्यो। 

विश्व राजनीतिमा आएको परिवर्तनका कारण नेपालमा उतिखेर राजनीतिक जागरण आएको हो। सोही कारण कम्युनिस्ट पार्टी स्थापना सम्भव भएको थियो। तर नेपालभित्र जहानियाँ राणाशासन रहेकाले नेपालभित्रै पार्टी खोल्न उतिखेर सम्भव थिएन। सोही कारण भारतको कलकत्ता गएर सन् १९४९ अप्रिल २२ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, नीरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संलग्न रहेको नेपाल कम्युनिस्ट पार्टी गठन गरियो। सो पार्टी स्थापनाको उद्देश्य निरंकुश पारिवारिक राणाशासनविरुद्ध लडेर गरिब, किसान र मजदुरको हक अधिकार स्थापना गर्ने, देशलाई विकसित र उन्नत स्थानमा पुर्‍याउने आदर्श लक्ष्य रहेको थियो। 

अधिकांश जीवन जनताको न्याय र राष्ट्रका लागि समर्पित गर्ने कर्माचार्यको आदर्श यात्रा २० वर्षको उमेरबाट शुरू भएको थियो। उहाँहरूले काम गर्ने समय हरेक कोणबाट जोखिमपूर्ण थिए। किनभने राणातन्त्र परास्त भएपछि सुतेर बसेको 'शाहवंशीय शासन' जुरमुर्‍याउन थाल्यो। २००७ सालमा कत्रा दुःखले प्राप्त शिशु प्रजातन्त्रलाई दश वर्ष पनि पूरा हुन नपाउँदै महेन्द्रले २०१७ सालमा निमोठे। यी दुवै अँध्यारो शासनमा कर्माचार्य निरन्तर जनता जगाउन लागिरहनुभयो। 

भाइसहितको बृहत् र पुर्ख्यौली परिवारसँग ललितपुरको बंगलामुखीनजिकै बस्ने नरबहादुर छिमेकीसँग हँसिलो र ठट्यौली पारामा कुरा गर्नुहुन्थ्यो। धार्मिक तीर्थस्थलको रूपमा परिचित बंगलामुखीनजिक राजनीतिक तीर्थस्थलझैँ देखिने उहाँको घरमा राजनीतिक नेता, पत्रकार र अन्य बौद्धिक वर्गको बाक्लो उपस्थिति हुने गर्थ्यो। 

सादा जीवनका उहाँले विवाह गर्नुभएन। भाइको परिवारसँगै रहँदा आफ्नो नजिक पुग्ने जोकोहीलाई आफ्नै सन्तानझैँ समभाव देखाउनुहुन्थ्यो। सोही कारण पनि उहाँको सम्पर्कमा पुग्ने सबैले उहाँलाई "बा" भनेर सम्बोधन गर्न रुचाउँथे। शक्तिले उन्मत्त र अहंकारले युक्त 'बा', होइन, आदर्शलाई जीवन बनाएका अहंकार रत्ती नभएका बा। 

आफैँले जन्माएका सन्तानले समेत बुढ्यौलीमा तुच्छ व्यवहार गरेको हामी देख्छौँ। तर आफैँले जन्माएका सन्तान नभए पनि कर्माचार्यले परिवारबाट त्यस्तो व्यवहार झेल्नुपरेन। भाइतर्फका छोरी, छोरा र नाति नातिनीको मायाले उहाँ सँधै प्रफुल्ल देखिनुभयो। भाइका सन्तानलाई उहाँले 'भाइका'झैँ व्यवहार गर्नुभएन, न सन्तानले नै। उहाँ खुलेर आफ्नो परिवार, छोराछोरी, नातिनातिना र भाइबुहारीको तारिफ गर्नुहुन्थ्यो। उहाँ परिवारभित्र अनुशासन आवश्यक रहेको बताउनुहुन्थ्यो र त्यसको राम्रो पालना गर्नुहुन्थ्यो। समयमा खाना खाइदिदाँ मात्रै पनि भान्सेलाई सजिलो हुन्छ भन्दै कुरा चल्दै रहेको अवस्थामा पनि ‘माफ पाऊँ है’ भन्दै उठ्नुहुन्थ्यो। 

१२/१३ वर्षसम्म लगातार उहाँलाई भेट्दा के बुझियो भने कर्माचार्य शान्तिपूर्ण जनक्रान्तिका पक्षपाती हुनुहुन्थ्यो। जनताको साथ लिएर लडेको क्रान्तिले  लक्ष्यमा पुर्‍याउँछ भन्ने विश्वासकै कारण उहाँले हतियार बोक्ने आन्दोलनमा सामेल हुनुभएन। तर दुःखको कुरा, देश विकासको परिकल्पना गरेर खोलेको कम्युनिस्ट पार्टी राम्ररी फक्रन नपाउँदै विभाजनको चपेटामा पर्‍यो। अहिले पनि छिन्नभिन्न छन् कम्युनिस्टहरू। 

२००६ वैशाख १० गते स्थापना भएको कम्युनिस्ट पार्टीमा भएको दोस्रो महाधिवेशनमा उठेका आवाजको व्यवस्थित व्यवस्थापन हुन नसक्दा विभाजन आयो। तर जतिसुकै तिक्तताबीच पनि कर्माचार्य कम्युनिस्ट एकताका कुरा गरिनै रहनुभयो। उहाँले जीवनकालमा फरक कम्युनिस्ट पार्टीहरूमा काम गर्नुभयो। कर्माचार्य जनआन्दोलन २०६२/६३ ताका नेकपा एकता केन्द्र (मसाल) मा हुनुहुन्थ्यो। नेकपा माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि एकता केन्द्र (मसाल) र माओवादीबीच एकता भएर एकीकृत माओवादी बन्यो। त्यसपछि कर्माचार्य उक्त पार्टीको केन्द्रीय सदस्य बन्नुभयो। हेटौँडा महाधिवेशनपछि पार्टीको संरक्षकका रूपमा जीवनको अन्तिम समयसम्म रहनुभयो। 

कुनै पनि नयाँ काम आफैँमा चुनौतीपूर्ण हुन्छ। त्यसमा आफ्नो निजी हितका लागि नभएर देश र जनताको मुहार फेर्ने संकल्पमा जीवनभर लाग्नु आफैँमा महान् सत्कर्म हो। त्यसमाथि पद र पैसाका लागि जस्तोसुकै कर्म गर्नेहरूको बिगबिगी भएको समयमा निस्वार्थ पार्टीको काम गर्ने, पद र पैसाको पछि नलाग्ने कर्माचार्यजस्ता नेता दुर्लभमध्ये एक हुन्। त्यति मात्र होइन, आफूभन्दा धेरै पछाडि राजनीतिमा आएकालाई समेत निशंकोच नेता मान्दै ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’को कम्युनिस्ट सिद्धान्त-सार आत्मसात् गर्ने उहाँ असल कम्युनिस्ट हुनुहुन्थ्यो। 

आज कम्युनिस्ट आदर्श झन्डै सखाप छ। माथि नै भनियो, दक्षिणपन्थी र वामपन्थीबीच भेद देखिन छाडेको छ। सामूहिक निर्णय कुन चराको नाम हो थाहा छैन। एउटा टाउकाबाहेक बाँकी को नेता हुन् र को कार्यकर्ता पत्तो छैन। माथि महाराज, तल रैतीको बगालको अवस्था छ कम्युनिस्ट पार्टीमा। ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’ त सम्भवतः सबैले बिर्से होला। यस्तो महाविकृतिका बेला कर्माचार्यका आदर्शलाई सम्झँदै, उनका सद्गुणलाई अनुसरण गर्न सके कम्युनिस्ट भन्नेहरूको हितै हुने थियो। 

कर्माचार्य २०७० साउन ९ गते काठमाडौँको मोडल अस्पतालमा ८९ उमेरमा बित्नभयो। मान्छे बित्ने कुरा प्राकृतिक हो। यसलाई कसले नै रोक्न सक्छ र? तर राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा आजीवन खटेका कर्माचार्यजस्ता असल कम्युनिस्टको पाइला पच्छ्याउन सक्दा मुलुकको पनि हित हुने थियो। त्यसमाथि, उस्तै राता बोर्ड राखेर दर्जनौँ पसल थापिएका छन्। त्यसो गर्नुको साटो कर्माचार्यजस्ता नेता सम्झेर ती सबै पसल छाडेर कम्युनिस्ट झन्डामुनि विशाल सेवा केन्द्र (पार्टी) खडा गरे कति जाति हुँदो हो?


सम्बन्धित सामग्री