अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी निर्वाचन नलड्ने भनी आइतबार घोषणा गरेसँगै उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने सम्भावना प्रबल बनेको छ। गत जुन महिनामा भएको राष्ट्रपतीय बहसमा वार्धक्यका कारण कमजोर स्वास्थ्यस्थितिमा रहेका बाइडेनले रिपब्लिकन प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध निरीह प्रदर्शन गरेपछि उनलाई निर्वाचनमा भाग नलिनका लागि दबाब बढ्दै गएको थियो।
उनकै पार्टीका सांसदहरूले समेत आगामी निर्वाचनमा उनको जित्ने सम्भावना कमजोर रहेको र त्यसले गर्दा आफूहरूलाई असर पर्ने आकलन गर्दै उनलाई उम्मेदवारी नदिन आग्रह गरेका थिए। लामो समयसम्म यी दबाबहरूको सामना गरेका बाइडेनले अन्ततोगत्वा हार मान्दै निर्वाचनमा नलड्ने निर्णय सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरे।
बाइडेनले कमला ह्यारिसलाई आफ्नो समर्थन रहेको बताएर कित्ता स्पष्ट पारिसकेका छन्। यससँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टन, राष्ट्रपति पदको प्रबल उम्मेदवार मानिएका क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्युसम, वामपन्थी धारकी नेत्री अलेक्जान्ड्रा ओकासियो कोर्टेज लगायतका डेमोक्रेटिक नेताहरूले ह्यारिसलाई आफ्नो समर्थन रहेको घोषणा गरेका छन्।
ह्यारिसले आफूलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा गरेलगत्तै डेमोक्रेटिक पार्टीलाई चन्दा दिँदै आएका धनाढ्यहरूले उनलाई मन फुकाएर नगद सहयोग गरिरहेका छन्। घोषणा गरेको पाँच घन्टाभित्रै उनले दुई करोड ७५ लाख डलर उठाइसकेको याक्टब्लु नामक गैरनाफामूलक राजनीतिक संस्थाले जनाएको छ। त्यसमाथि बाइडेनका लागि आएको चुनाव लड्ने पैसा समेत उनले चलाउन थालेकी छन्।
तर कमला ह्यारिस नै डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने सुनिश्चित भइसकेको छैन। आगामी अगस्ट महिनाको १९ देखि २२ तारिखसम्म शिकागोमा हुने डेमोक्रेटिक पार्टीको महाधिवेशनमा उनलाई उम्मेदवार बनाउने विषयमा मतदान गरिनेछ। त्यसमा नै ह्यारिससँग मिलेर उपराष्ट्रपति पदमा लड्ने उम्मेदवारको पनि टुंगो लाग्नेछ। महाधिवेशनमा प्रतिनिधिहरूको मन जितेर उम्मेदवार बन्न आफूले सक्दो प्रयास गर्ने ह्यारिसले बताएकी छन्।
बाइडेनलाई प्राथमिक चरण (प्राइमेरिज) मा भोट दिएका ३९ सयभन्दा बढी प्रतिनिधिले स्वतः कमला ह्यारिसलाई मत दिने कुनै सुनिश्चितता छैन। बाइडेनले उनीहरूलाई स्वतन्त्र छोडिदिएपछि उनीहरूले अन्य कुनै पनि उम्मेदवारलाई मत दिन सक्नेछन्। त्यसो त ग्रेचेन ह्विटमर, जेबी प्रिजकर, जो मान्चिन, एन्डी बेशियर लगायतका नेताहरू पनि उम्मेदवार बनाइने आकांक्षा राख्छन् तर कमला ह्यारिसको जति प्रभाव उनीहरूको देखिँदैन।
त्यसमाथि निर्वाचन आउन १०० दिन चानचुन बाँकी रहेको सन्दर्भमा प्रशस्त चर्चा नगरिएको कुनै उम्मेदवारलाई अघि सार्दा डेमोक्रेटिक पार्टीलाई खासै फाइदा नहुने देखिन्छ। अनि पार्टीको वामपन्थी धार तथा शक्तिशाली अश्वेत समूहले ह्यारिस बाहेकको अन्य उम्मेदवारलाई स्वीकृति दिने खासै सम्भावना छैन।
त्यसैले अहिलेसम्मको परिस्थितिलाई विचार गर्दा ह्यारिस नै डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना प्रबल देखिन्छ। लगभग चार वर्ष उपराष्ट्रपतिका रूपमा काम गरेर उनले बलियो राजनीतिक अनुभव बटुलिसकेकी छन्। विशेषगरी सन् २०२२ मा अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपातको अधिकारलाई उल्ट्याउने निर्णय गरेपछि उक्त अधिकार बहालीका लागि चर्को आवाज उठाएर ह्यारिसले उदारवादी महिला मतदाताहरूमाझ लोकप्रियता हासिल गरेकी छन्।
भारतीय आमा र जमैकाका काला जातिका पिताकी छोरी ह्यारिसले आप्रवासी, काला जाति, लतिनो, दक्षिण एशियाली र युवा जनसंख्यामा राम्रो पकड बनाएकी छन्। बाइडेनले निर्वाचन दौडबाट पछि हट्ने निर्णय गरेलगत्तै युवा मतदाताहरूले विभिन्न सामाजिक सञ्जालमा आफ्नो उमेर उल्लेख गर्दै आफूले ह्यारिसलाई मतदान गर्ने घोषणा गरेका छन्। त्यसबाट पनि उनी युवामाझ लोकप्रिय रहेको देखिन्छ। तर प्रश्न उठ्छ– आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउन यति मात्र पर्याप्त हुन्छ त?
पछिल्ला केही सर्वेक्षणका नतिजाहरू हेर्दा ह्यारिसले ट्रम्पलाई हराउन निकै मेहनत गर्नुपर्ने देखिन्छ। गत साता सीबीएस न्युजले गरेको एक सर्वेक्षणमा ट्रम्पले ह्यारिसमाथि झिनो अग्रता कायम गरेको पाइएको थियो। ट्रम्पलाई ५१ प्रतिशत सहभागीले पत्याएका थिए भने ४८ प्रतिशतले ह्यारिसको पक्षमा मत दिएका थिए। तर बाइडेन र ट्रम्पबीच ५ प्रतिशतको अन्तर रहेको सन्दर्भलाई विचार गर्दा ह्यारिसले ट्रम्पलाई कडा टक्कर दिने सम्भावना देखिएको छ। रोयटर्स÷इप्सोस, सीएनएन लगायतले गरेको सर्वेक्षणमा पनि यस्तै किसिमको परिणाम देखिएको छ।
तर ह्यारिसको उग्र प्रगतिशील विचारधाराका कारण पेन्सिलभेनिया, मिशिगन, ओहायो, विस्कोन्सिन, इन्डियाना, वेस्ट भर्जिनिया लगायतका रस्ट बेल्ट क्षेत्रका मतदाताले उनलाई कत्तिको रुचाउलान् भन्ने प्रश्न पनि जल्दोबल्दो छ। उक्त क्षेत्रका अनिर्णित मतदाता (स्विङ भोटर) ले अन्तिम निर्वाचन परिणामलाई पल्टाउने क्षमता राख्छन्। सन् २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनलाई हराउँदा होस् वा सन् २०२० मा बाइडेनले ट्रम्पलाई पराजित गर्दा, यसै क्षेत्रका मतदाताको मत निर्णायक ठहरिएको थियो। बाइडेनको भन्दा बढी ‘लेफ्टिस्ट’ सोच राख्ने भएकाले ह्यारिसलाई यस क्षेत्रका मतदाताको मन जित्न कठिन हुनेछ।
त्यसमाथि यिनै मतदातालाई रिझाउनका लागि ट्रम्पले ओहायोको गरिब परिवारबाट आएका जेम्स डेभिड (जेडी) भ्यान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन्। ट्रम्पको यो ‘मास्टरस्ट्रोक’ लाई चुनौती दिन ह्यारिस र उनको डेमोक्रेटिक पार्टीले रणनीति बनाउन आवश्यक छ।
विगत ४० वर्षदेखि अमेरिकाको राष्ट्रपति निर्वाचन परिणामको सही आकलन गर्दै आएका अमेरिकन विश्वविद्यालयमा इतिहासका प्राध्यापक एलन लिक्टम्यानले ट्रम्पका विरुद्ध ह्यारिसको सम्भावना कायमै रहेको बताएका छन्। विभिन्न अन्तर्वार्ताहरूमा उनले आगामी महाधिवेशनमा डेमोक्रेटहरूले ह्यारिसको नाममा एकजुट रही मतभिन्नता प्रकट नगरेमा मतदातामाझ राम्रो सन्देश जाने र ह्यारिसको विजय सम्भावनालाई बढाउने बताएका छन्।
तर अमेरिकामा बहालवाला राष्ट्रपतिले चुनाव नलड्दा र सत्तारूढ पार्टीभित्र मतभिन्नता हुँदा कहिल्यै पनि त्यस पार्टीको उम्मेदवारले चुनाव जितेको इतिहास नरहेको प्राध्यापक लिक्टम्यानको भनाइ छ। त्यसको उदाहरणका रूपमा सन् १९६८ मा तत्कालीन राष्ट्रपति लिन्डन बी जोनसनलाई लिन सकिन्छ। भियतनाम युद्ध चलिरहेका बेला स्वास्थ्य समस्या पनि बेहोरिरहेका जोनसनले एक्कासि टेलिभिजनमा बोल्दै आफू पुनः राष्ट्रपति पदको उम्मेदवार नबन्ने घोषणा गरेका थिए। उनी निर्वाचनबाट हटेपछि उपराष्ट्रपति हुबर्ट हम्फ्रे पर्याप्त प्रतिनिधिहरूको मत पाएर राष्ट्रपति पदको उम्मेदवार बनेका थिए। तर उनका प्रतिस्पर्धी रिपब्लिकन पार्टीका रिचर्ड निक्सनले उनलाई हराइदिए।
हम्फ्रेलाई डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बनाउँदा कतिपय डेमोक्रेटहरू असन्तुष्ट बनेको बताइएको थियो। निर्वाचन अघिसम्म निक्सनको भन्दा कम समर्थन सूचकांक रहेका हम्फ्रे अन्ततोगत्वा पाँच लाखभन्दा बढी मतले पराजित भए।
अहिलेको परिस्थिति पनि त्यस्तै छ। बाइडेन अन्तिम घडीमा राष्ट्रपतिको उम्मेदवारीबाट हटेपछि कमला ह्यारिस उनको स्थानमा उम्मेदवार बन्न खोज्दैछिन् र माथि उल्लेख गरिएका सर्वेक्षण परिणाम मुताबिक ट्रम्पभन्दा उनको समर्थन सूचकांक कम छ। त्यसैले कुनै चामत्कारिक घटना नभएसम्म ह्यारिसलाई ट्रम्पविरुद्ध विजय पाउनु फलामको चिउरा चपाएजस्तो हुनेछ।
त्यसमाथि अमेरिका विश्वको अग्रणी मुलुक भए पनि महिलाप्रतिको दृष्टिकोण त्यहाँ फराकिलो भइसकेको छैन। राष्ट्रको सर्वोच्च पदमा महिलालाई राख्न पितृसत्तात्मक सोच भएका बहुमत अमेरिकी मतदातालाई गाह्रो हुने गरेको छ। सन् २०१६ मा हिलारी क्लिन्टनले महिलालाई माथि जान बन्देज लगाउने शीशाको छत (ग्लास सिलिङ) निकै बलियो रहेको भनेकी थिइन्। हुन पनि त्यतिबेला उनको साटो ‘महिलालाई वस्तुको रूपमा हेर्ने व्यभिचारी’ भनी चित्रित गरिएका डोनल्ड ट्रम्पलाई मतदाताले पत्याएका थिए। आठ वर्षको अन्तरमा यस्तो सोचमा परिवर्तन आइसकेको छ कि छैन भन्ने प्रश्न ज्वलन्त छ।
तर ट्रम्पको आफ्नै बोली व्यवहारका कारण कमला ह्यारिसविरुद्ध प्रतिस्पर्धा गर्न कठिन हुने देखिन्छ। आफूविरुद्धको हत्या प्रयासपछि मतदाताको सहानुभूति बटुलेका ट्रम्पले रिपब्लिकन पार्टीको महाधिवेशनमा विभाजनकारी कुरा गरेर पहिलेकै जस्तो रूप देखाए। अबको तीन महिनामा उनले आफ्नो व्यवहार सुधारेनन् भने उनीजस्ता ‘भङ्जाहा’ व्यक्तिलाई फेरि राष्ट्रपति बनाउनु कत्तिको उचित होला भनी मतदाताले प्रश्न गर्न सक्छन्।
आगामी निर्वाचनमा बाइडेनको साटो ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार बनाउँदा राजनीतिक लाभ हुने आकलन डेमोक्रेटिक पार्टीले गरेको छ। तर बाइडेन प्रशासनका कतिपय कमजोरीहरूको जिम्मेवारी ह्यारिसले पनि बोक्नुपर्ने भनी रिपब्लिकन पार्टीले उनीमाथि आक्रमण गर्न सक्छ। त्यसका साथै बाइडेनको वृद्धावस्थाका कारण उत्पन्न मानसिक कमजोरीलाई यतिका दिनसम्म लुकाउन योगदान गरेको आरोप पनि उनीमाथि लाग्नेछ। अनि आफ्नो विचार स्पष्टरूपमा राख्न सक्ने र बेप्रसंग हाँस्ने उनको स्वभावका कारण उनलाई अनिर्णित मतदाताहरू रिझाउन गाह्रो पर्ने देखिन्छ। त्यति हुँदाहुँदै पनि ह्यारिसले ट्रम्पलाई निकै कडा टक्कर दिने पक्कापक्की छ।