हामी सबैले सानै हुँदा सुनेको पञ्चतन्त्रको कथा छ— कुनै जंगलका जनावर खरायो र सिंहको कथा। जंगलको राजा सिंहले जब एक–एक जनावरलाई आफ्नै गुफामा आउने उर्दी जारी गर्दै तिनको सिकार गर्न थाल्छ तब एउटा खरायोले त्यस संकटबाट बच्ने जुक्ति निकाल्छ। अनि सिंहलाई जंगलमा त अर्को राजा पनि छ नि भन्दै एउटा इनारमा हेर्न लगाएर उसकै प्रतिविम्ब देखाएर मूर्ख बनाउँछ। हालै एक जना मित्रले त्यही पञ्चतन्त्रको कथा फेरि सुनाए, तर ‘क्लाइमेक्स’ अलि फरक पारेर। जसै खरायोले सिंहलाई इनारभित्र हेर्न भन्यो, सिंहले हेरिसकेपछि खरायोतिर फर्केर मुसुक्क हाँसेर भन्यो, ‘चार कक्षाको कथा सुनाएर मलाइ मूर्ख बनाउन खोज्छस्?’ त्यसो भन्दै सिंहले खरायोलाई खाइदियो।
एकछिन त रमाइलै लाग्यो तर ती मित्रको कथाको अन्त्यले यो पनि सम्झायो कि कसरी त्यही पञ्चतन्त्रको ‘ओर्वेलियन’ मञ्चनमा बाँच्न नेपाली समाज आज अभिशप्त छ।
डेढ वर्ष सत्तासीन भइसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई के लाग्न थाल्यो भने कुर्सी खतरामा परेझैँ भयो भने एमाले अध्यक्ष केपी ओलीसँग भेट हुँदा कांग्रेस सभापति शेरबहादुर देउवालाई देखाइदिने अनि देउवासँग भेट हुँदा ओलीलाई। शासन चलिरहेकै थियो। भई के दियो भने एक दिन देउवा र ओली मिलेर दाहालतिर मुसुक्क हाँस्दै भने, ‘कति दिन हो हामीले वर्षौं पहिले लेखेको ‘प्लेबुक’बाट चोरेर हामीलाई नै बेवकुफ बनाउने?’ अनि त के थियो, देउवा–ओली मिलनले दाहालको बहिर्गमन तय गरी नै दियो।
यति मात्र हो कि यीमध्ये कोही खरायो होइनन्। यी सबै सिंह नै हुन् जो एकअर्कालाई देखाउँदै जनताको सिकार गरिरहेका छन्।
गजब त के छ भने बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पछिका तीन दशक र संघीय लोकतान्त्रिक गणतन्त्रको डेढ दशकपछि पनि नेपाली जनता उही पञ्चतन्त्रको कथाझैँ जंगली राज्यमा जिउन अभिशप्त छन् जहाँ ओर्वेलियन शैलीमा भन्ने हो भने सिंह होइन सुँगुरले राज गरिरहेका छन्— नेपोलियन र उनका अवतारहरू। अनि तिनका स्क्विलर पनि छन् जो हरहमेसा अघोषित प्रोपागान्डा मन्त्रीझैँ दिनरात आ-आफ्नो नेताको रक्षा गर्न तल्लीन छन्।
आम जनताका सरोकार र पीडाप्रति यी नवशासकको उदासीनताको अश्लील प्रदर्शन त त्यो दिन भयो जब ६० बढी यात्रुसहित दुई बस वर्षाले अटेसमटेस भएको त्रिशूलीमा खस्यो। सो दिनभर काठमाडौँमा भने सरकार परिवर्तनको भद्दा नाटक प्रदर्शन भइरह्यो। आमजनताको अपेक्षा त विपद्को बेला सरकारी प्रणाली स्वचालित रूपमा सक्रिय होस् भन्ने हो तर यहाँ त शासकहरूका 'निर्देशन'बिना संस्थाहरू काम नै नगर्ने अवस्थामा पुगिसके। दाहाल सरकारको राजनीतिक वैधता गुमेको दिनदेखि ओली सरकारको गठन हुने दिनसम्म राज्य एक हिसाबले शून्यताको अवस्थामा हुनु एक लोकतान्त्रिक मुलुकमा कति लज्जाको विषय हो भन्नेसम्म कसैले हेक्का राखेनन्।
संस्थाहरूको लगातार क्षयीकरणले नेपाललाई करिब–करिब जंगल राज्यमा नै परिवर्तन गरिदिएको छ, जहाँ बलिया, बाठा र धनी— सिंह भन्नूस् या सुँगुरको आफ्नै नियमकानून मात्र चलिरहेको छ। त्रासदी यो छ कि पछिल्ला वर्षमा संस्थाहरू सबलीकरण गरेर लोकतन्त्र सुदृढ बनाउनुपर्नेमा शासकहरूको नै कुनै संस्थामाथि विश्वास छैन। आफैँले ध्वस्त पारेको संस्थाहरू विश्वसनीय छैनन् भनेर सार्वजनिक रूपमा, अझ संसद्बाटै भाषण गर्ने शासकहरूले आममानिसमा कस्तो नैराश्य प्रवाह गर्दो हुन्!
स्थायित्वको वाचा गरेर नथाक्ने तर मुलुकलाई निरन्तर अस्थिरतामा राखिराख्ने शासकहरूको प्रवृत्ति पञ्चतन्त्रको कथाको निर्दयी सिंहभन्दा कम छैन; आखिर जंगल राज स्थापना गरेर गरिब जनतालाई मार्ने र अझ बढी दुःख दिनेभन्दा अरू यिनले केही गरेका त छैनन्। अझ गरिब, जनजाति, पिछडिएका र सीमान्तकृतप्रति यति हेय भाव छ कि संविधानले सुनिश्चित गरेको उनीहरूको अधिकार पनि खोस्न उद्धत छन्। आफ्ना अनुकूल भएन भने खेलको बीचमा नै नियम परिवर्तन गरिदिनु यिनलाई आफ्नो जन्मसिद्ध अधिकारझैँ लाग्छ। एक त समाज नै त्यस्तो निर्माण गर्न खोज्दै छन् जहाँ प्रश्न नै नहोस् र कसैले प्रश्न नै सोधिहाले पनि उनीहरूसँग तयारी उत्तर छ कि ‘आखिर हामीले ल्याइदिएको लोकतन्त्र न हो।’
बहुदलीय प्रजातन्त्र र लोकतन्त्र त प्रतिस्पर्धात्मक व्यवस्था हो जहाँ जित्नेले सत्ताको सदुपयोग आम जनताका लागि गरोस्। तर पञ्चतन्त्रका सिंहहरू या ओर्वेलका सुँगुरहरूलाई शासनमा नियन्त्रण खुम्चिँदै गएको झैँ भएको छ र त उनीहरू अब सत्तामा आफ्नो मात्र एकछत्र अधिकार कसरी हुन सक्छ भन्ने अभ्यासमा दत्तचित्त भएर लागेका छन्। यही प्रयासअन्तर्गत बहुदलीय लोकतन्त्रलाई कसरी दुई दलीय व्यवस्थामा परिवर्तन गर्न सकिन्छ भन्ने अभ्यासमा उनीहरू लागेका छन्।
आइतबार उही परीक्षण भइसकेका ओलीले एक पटक फेरि विश्वासको मत लिए। संसद्मा मत गणना हुँदा ओली त फुलेल देखिए, तर त्यही बेला त्रिशूलीमा हराएका मानिसको लासको पनि गन्ती हुँदै थियो भन्ने कुरामा देशका प्रधानमन्त्रीदेखि सांसद सबै निरपेक्ष देखिन्थे। संसद्मा उनले विश्वासको मत त पाए तर वास्तविकता के हो भने आम जनताको चाहिँ उनी र उनको सरकारमा विश्वास गुमिसकेको छ।
ओलीको शक्ति केन्द्रीकरणको पुरानो अभ्यास हेर्दा उनी पञ्चतन्त्रको जंगलको ‘राजा’झैँ राज गर्न चाहन्छन्, अनि ओर्वेलको एनिमल फार्मको नेपोलियनले विन्डमिलमा सबै जनावरलाई अल्झाएझैँ उनी भ्यु टावर र पानीजहाजमा आम नेपालीलाई समृद्धिको सपना देखाएर अल्झाउन चाहन्छन्। त्यतिले पुगेन भने त्यसमा राष्ट्रवादको नारा उचालिदिने दक्खल हासिल छ। १९-२० को फरकबाहेक आम रूपमा शासनमा बलियो पकड राख्ने र दोहनको राजनीति गर्ने सबै दलका नेताहरूको चाहना उस्तैउस्तै छ। आफ्ना नेताका हावादारी नाराको प्रचार गर्न सबै दलमा स्क्विलरहरू छँदै छन्, र ‘फोर लेग्स गुड, टू लेग्स बेटर’ भन्दै सहीमा सही थप्ने (ओर्वेलियन) भेडाहरू पनि छँदै छन्।
हालैका दिन एक ट्याक्सी चालकले सुनाए— नेपालका शासकहरू भ्रष्ट त भए भए, निर्दयी पनि भए। उनको आशय थियो, भ्रष्टाचार अब रोक्नै नसक्ने स्थितिमा पुगिसक्यो, भ्रष्टाचार नगर्ने कोही भएन तर आम जनताका पीडासम्म पनि नबुझ्ने गरी क्रूर भएर गए। उनको अर्को अवलोकन थियो– नेपालमा अब अर्को दश वर्षसम्म कोही पनि ‘नेपाली’ बाँकी रहने छैनन् किनकि अधिकांश विदेश गइसकेका हुनेछन् र जो बाँकी हुनेछन् ती दलका कार्यकर्ता मात्र रहनेछन्। उनको संकेत सायद ओर्वेलका भेडाहरूतर्फ थियो।
विधिको शासन स्थापित गर्न व्यवहार पनि सोही अनुरूप गर्नुपर्छ भन्ने बिर्सेका शासकहरूलाई त जंगल राज नै उपयुक्त हुने भयो जहाँ उनीहरू इच्छाअनुसार सिकार गरिरहन पाउन्। तर उनीहरूले यो सत्य नभुलून् कि उनीहरूको आम जनता पञ्चतन्त्रको कथाको जंगलका बासिन्दा होइनन्। अत्यधिक शक्ति अभ्यासका लागि रचिएका प्रवञ्चना तथा पञ्चतन्त्रीय र ओर्वेलियन जंगली राज्यको स्थापनाको प्रयासको प्रत्युत्तरमा जनताले आफ्नै 'प्लेबुक'बाट जवाफ दिए भने भोग्नुपर्ने भवितव्यताका लागि दल र नेताहरू समयमै सचेत होऊन्।