Sunday, November 03, 2024

-->

षड्यन्त्रदेखि षडयन्त्रसम्मको ‘राजनीति’

पहिले सत्तामा रजगज हुन मात्रै एक अर्कालाई उत्तानो पार्ने खेल हुन्थ्यो, तर यस पटक सत्तामा हाबी हुने कुरामा मात्र यो सीमित छैन। विगतका काला कर्तुतहरू लुकाउन पनि नयाँ समीकरण आवश्यक भएको छ।

षड्यन्त्रदेखि षडयन्त्रसम्मको ‘राजनीति’

असार १८ को एकाबिहानै भेटेरान राजनीतिक व्यक्तित्व विश्वबन्धु थापाको फोन पाएँ। उहाँले ‘एमालेले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको थाहा भो’ भन्नुभयो। ६ घण्टा पहिले भएको घोषणाबारे मलाई जानकारी थिएन तर समाचारले मलाई खासै अचम्मित भने तुल्याएन। विगत केही दिनदेखि ओथारो बसेको कुखुराले चल्ला कोरले समान थियो यो समाचार। थापाज्यूले दुखेसो पोख्नु भएको थियो, ‘दुई ठूला दलको मेलमिलापमा सरकार गठन हुँदा संघीय संसद् प्रतिपक्षविहीन हुने भयो।’

उहाँको फोन राख्न नपाउँदै दाहाल सरकार र नयाँ समीकरणको भविष्यबारे एक मित्रको विवेचना सुन्न पाएँ। मेरा मित्रले नयाँ समीकरण अमेरिका तथा युरोपेली मुलुकहरूको संयुक्त प्रयासमा भएको धारणा राखे। जबकि, सत्ताप्राप्तिका निमित्त समीकरण फेरबदल गर्ने नेताहरूलाई लोकतन्त्रको भविष्यसँग के मतलब? बाहिरी नभएर आन्तरिक षड्यन्त्रको प्रतिफल हो नयाँ समीकरण भन्ने मेरो ठहर रह्यो। ‘वैज्ञानिक दिमाग तथा भावुक मन’ भएका प्रधानमन्त्रीले एनसेल आदि प्रकरणदेखि उहाँ स्वयं संलग्न केन्टोमेन्टलगायत अनेकन् काण्ड गलैँचामुनि लुकाइराख्न अक्षम हुँदै गएको निष्कर्ष कुनै ‘दहीचिउरे’ संवादमा निक्लेको हुनाले ‘मध्यरातमा षड्यन्त्र’ कार्यान्वयन गरिएको पंक्तिकारलाई लाग्यो। 

पुत्र हन्टर बाइडेनले विगतमा गरेका भ्रष्टाचारलगायत अन्य गैरकानूनी काण्डले उमेरले पाका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यतिखेर पिरोल्नुसम्म पिरोलेको छ। राष्ट्रपति बाइडेनको लोकप्रियता घट्दै गएकोमा डेमोक्रट पक्षधर अत्तालिएको छ। दहीचिउरा सेवनभन्दा दुई दिनपूर्व (असार १३) मा भएको राष्ट्रपति जो बाइडेन तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीचको टेलिभिजन वादविवाद कार्यक्रमपछि बाइडेन पक्षधरहरू साँच्चै अत्तालिएका छन्। वादविवादको क्रममा एकपटक बाइडेन वाक्य फुटाउन नसकेर अकमकिए, अर्को क्षण तिनले प्रश्नसँग असम्बन्धित र बेतुकको उत्तर दिए। यस घटनापछि तिनका समर्थक रन्थनिएका छन्। डोनाल्ड ट्रम्पजस्तो फटिचर पुनः राष्ट्रपति पदमा निर्वाचित हुने सम्भावनाले सत्तापन अमेरिकी पक्षलाई आतंकित तुल्याएको छ।

पूर्वी एशियाली मुलुकले सामना गरेको चिनियाँको बढ्दो सैनिक शक्ति प्रदर्शनका साथै ताइवानमा चीनको सैनिक कारबाहीले सो देशलाई चीनमा एकीकरण गर्ने सम्भावना बढेको छ। यी घटनाले विदेश मामला सम्बन्धमा अभिरुचि राख्ने तथा त्यससम्बन्धी कार्यरत अमेरिकी निकायहरू तनावग्रस्त देखिन्छन्। विद्यमान अवस्थामा इराक, लिबिया तथा अफगानिस्तानबाट कुम लुकाएर भागेको अमेरिकाको प्राथमिकतामा नेपाल पर्दैन। त्यसमाथि पनि समकालीन नेपाली राजनीतिक पात्रहरू पहिल्यै ‘टेस्टेड’ छन्। उनीहरूमध्ये दुईलाई मिलाएर तेस्रोलाई विस्थापित गर्दा अमेरिकाले पाउने के? त्यसमाथि यो नवनिर्मित सहवास कति टिक्ने भन्ने के ग्यारेन्टी? यो सत्तासाझेदारी र समझदारी पनि कार्यान्वयन नै हुन्छ भनेर के आधारमा विश्वास गर्ने?

यतिखेर समस्त युरोप युक्रेनमाथि रुसी आक्रमणले असुरक्षित महसुस गरिरहेको छ। त्यसमाथि पनि युरोपियन युनियन कुनै सरकार होइन, केवल क्षेत्रीय संगठन हो। यस संगठनमा कुनै एक राष्ट्रको वर्चस्व छैन। युरोपेली राष्ट्रहरू फैलिँदै गरेको संकीर्ण राष्ट्रवादको लहरले आन्तरिक रूपमा लपेटिँदै छन्। आन्तरिक चुनौतीको भारीले थिचिएका पश्चिमा राष्ट्रका नेताहरू डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति पदमा निर्वाचित होलान् भन्ने त्रासमा छन्। तिनलाई पिँधमा रहेको ब्रान्डीको गिलासलाई हत्केलाले तताउँदै नेपालजस्ता साना मुलुकको सत्ता ढाल्नका लागि षड्यन्त्र रच्ने फुर्सद छैन। 

हाम्रा नेताहरू जो हरपल केबल स्वादकै लागि सत्तासमीकरण बदलिरहन्छन्। यिनीहरू बीचको मित्रता ‘कहिलेको गलप्राणी त कहिलेको तातो खरानी’ हुन बेरै लाग्दैन। यस्ता अविश्वासिला पात्रहरूमध्ये कुनै दुईलाई मिलाएर एकलाई विस्थापित गर्न कोही किन अग्रसर होओस्? 

नयाँ समीकरणमा छिमेकी राष्ट्रहरूको चाहना तथा भूमिका देख्ने ‘अन्तर्राष्ट्रिय षड्यन्त्रविद्’हरूको संख्या नेपालमा सानो छैन, जबकि विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्रको अप्रत्याशित निर्वाचन परिणामबाट त्यस देशका राजनीतिक खेलाडीहरू नै चकित परेका छन्। निर्वाचन परिणामले गुमेको राजनीतिक साख पुनः कायम गर्न भारतीय प्रधानमन्त्री मोदी तथा मोदीपन्थीहरू भरमग्दुर प्रयासमा लागिपरेका छन्। यस्तो अवस्थामा झन्डै रुपैयाँ राखेर सलामी चढाउने हैसियत बनाएका प्रधानमन्त्रीलाई तिनले किन विस्थापित गर्ने?  

त्यसमाथि, भारतीय प्रधानमन्त्री मोदीलाई खुशी तुल्याउन नेपाली समकक्षी दाहालले कुनै कसर बाँकी राखेका छैनन्। यदि ‘सनातन धर्मसहितको धर्मनिरपेक्षता’ कारण हो भन्ने हो भने दाहालले पीताम्बर पहिरेर र रुद्राक्षका माला बोराका बोरा भारतीय मन्दिरतिर चढाएर पूजाअर्चना गरेकै छन्, भनौँ हर्जना तिरेकै छन्। भारतीय अन्तर्राष्ट्रिय सुरक्षा संयन्त्रहरूलाई चिढाए कि दाहालले भनेर उपशंका गर्ने हो भने पनि तिनका निमित्त कुन मित्र बढी घनिष्ठ भन्ने प्रश्न उठ्छ। भारतीय खुफिया एजेन्सी प्रमुखको निवासमा मध्यरातमा सुरुक्क पुग्ने तथा दिल्लीबाट विशेष विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै प्रधानमन्त्री निवास पुगेर रात बिताउनेमध्ये एकलाई छनोट गर्नुपर्ने हुन्छ। दिल्लीस्थित निवास नै धाउने र बालुवाटार पुग्नुपर्ने मध्ये एक छान्नु पर्दा जोसुकैले प्रथम नै रोज्ने कुरा बुझ्न सकिन्छ। 

अहिलेको समीकरण अदलबदलमा उत्तरको भूमिका छ भन्ने हो भने त्यो पत्याउन झनै कठिन हुन्छ। चिनियाँ परराष्ट्र नीति घरीघरी परिवर्तन हुँदैन। विगत केही वर्षदेखि नेपाली कम्युनिस्टहरू एकै छातामुनि रहून् भनेर चीनले धेरै प्रयत्न गर्दै आएको छ। छताछुल्ल हुँदै गरेका समाचारलाई आधार मान्ने हो भने चिनियाँ उक्त उद्देश्य प्राप्तिका निमित्त नेपाली कम्युनिस्ट नेताहरूलाई मेलमिलाप कलासम्बन्धी प्रशिक्षण दिँदै आएका छन्। उक्त नीति त्याग्दै रातारात चिनियाँहरूले एमाले तथा माओवादी मिली बनेको सरकार किन विघटन गर्न लागिपरे होला र?

स्थापित नेपाली ‘डाइनोसर’ नेताले विगत डेढ दशकमा एकउपरको विश्वाससमेत गुमाइसकेका छन्। पदीय मयार्दाको समेत ख्याल नराख्ने तिनको भनाइ र गराइ बीचको सदाबहार दूरीले नेपाली नागरिकले मात्र होइन, विश्वसमुदायले पनि तिनलाई विश्वास गर्दैन। त्यसमाथि, कुनै राष्ट्रको अन्तर्राष्ट्रिय नीति गतिशील हुने गर्छ तर त्यसमा आधारभूत परिवर्तन हुँदैन। भारतकै उदाहरण लिने हो भने त्यहाँका प्रथम प्रधानमन्त्री जहावरलाल नेहरू, जसले लामो अवधिसम्म परराष्ट्र मन्त्रालयसमेत सम्हाले। तिनले दुई हजार वर्षभन्दा पहिले चाणक्यले प्रतिपादन गरेको नीतिको अनुकरण गरे। चीनले त चाणक्यभन्दा पाँच शताब्दीपूर्व कन्फ्युसियसले प्रतिपादन गरेको नीति अँगाल्दै आएको छ। आधारभूत रूपमा दुवै मित्रराष्ट्रले अख्तियार गर्दै आएको नीतिलाई आजका दिनसम्म निरन्तरता दिँदै आएका छन्। 

बीए पढ्दाताका ज्योमेट्री विषयमा ‘पर्मुटेसन कम्बिनेसन’ सिद्धान्त पढनुपर्थ्यो। अहिलेका नेताहरूले सोही सिद्धान्तअनुरूप काम गरेको देखिन्छ। कहिले खड्गप्रसादलाई विस्थापित गर्ने हेतुले देउवा र पुष्पकमलबीच मिलेमतो हुन्छ। देउवा विस्थापित गर्न पुष्पकमल र खड्गप्रसादबीच मिलेमतो गरिन्छ। यसपटक घुमिफिरी पालो आएको छ खड्गप्रसाद तथा देउवाको मिलेमतोमा पुष्पकमल उत्तानो पर्ने! 

पहिले सत्तामा रजगज हुन मात्रै एकअर्कालाई उत्तानो पार्ने खेल हुन्थ्यो, तर यसपटक सत्तामा हाबी हुने कुरामा मात्र यो सीमित छैन। विगतका काला कर्तुतहरू लुकाउन पनि नयाँ समीकरण आवश्यक भएको छ। नेताहरू ‘मामाघर’ प्रस्थान हुनुपर्ने वातावरण बन्दै गएको छ। कुनै स्थापित दल अथवा नवआगन्तुकको कारणले यस्तो अवस्था आएको होइन। बरु ‘पाप धुरीबाट कराउँछ’ भन्ने उखान चरितार्थ भएको हुनाले हो। विगतमा भएका भ्रष्टाचारसम्बन्धी काण्डहरूको छानबिन गरिने घोषणा हुँदा तिनले आफू रचित भ्रष्टाचारका काण्ड पनि छानबिनको दायरामा पर्छ भन्ने ख्याल गरेका थिएनन्।     

जति ‘सुरो मुटु’ भए पनि पुष्पकमल दाहालमा बहकिने आदत छ। त्यसैगरी जतिसुकै बढी पटक प्रधानमन्त्री भए पनि शेरबहादुरमा हाकाहाकी झूट बोल्ने क्षमता छैन। उक्त कलामा माहिर छन् खड्गप्रसाद ओली। त्यसकारण कांग्रेस नै संसद्को सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि ‘दहीचिउरे’ सहमतिले दोस्रो ठूलो दलका नेता खड्गप्रसादलाई नेतृत्व सम्हाल्ने प्रस्ताव गरिनाका कारण देखिन्छ। अन्यथा, विगतमा धेरै पटक धोखा खाएका शेरबहादुर देउवाले किन छैटौँ पटक प्रधानमन्त्री पद प्राप्त हुने अवसरलाई जुवाको खालमा राख्न खोज्थे होलान् र? खड्गप्रसादको नेतृत्व रहँदा तिनी मात्र होइन, अन्य दुई पनि सुरक्षित हुने प्रबल सम्भावना छ। ‘भ्रष्टाचार भएकै छैन, किन छानबिन गर्ने?’ भन्ने ‘हिम्मत’ आखिर खड्गप्रसाद ओलीमा जति अरू कोसँग होला?

(उकालोमा प्रकाशित विचार लेखकका निजी हुन्।)


सम्बन्धित सामग्री