नेपाली साहित्यमा चिनिएका आलोचक रामकृष्ण शर्मा (१९७८–२०४३) ले ३८ वर्षअघि आदिकवि भानुभक्त आचार्यबारे यो लेख लेखेका थिए। पहिलोपटक सिक्किमबाट प्रकाशित हुने ‘चिन्तन’ साहित्यिक संकलन (१९८६) मा ‘विचार कतिपय’ शीर्षकमा प्रकाशित भएको थियो। साहित्यिक पत्रिका ‘रचना’का सम्पादक रोचक घिमिरेको सौजन्यमा प्राप्त यो लेख भानुजयन्तीको अवसरमा पुनः प्रकाशित गरेका छौँ।
एउटा कुरा पहिल्यै भनिहालौँ। भानुभक्त विषय लिएर मैले बोल्न र लेख्न थालेको धेरै नै वर्ष भयो। मैले भानुभक्तको विषयमा लेख्न थाल्दा एउटा मुख्य कुरोले मेरो मनमा आसन जमाएको थियो, त्यो यही हो– ह्युमनाइजेसन अफ गड्स एन्ड डेफिकेसन अफ ह्युमन बिइङ्स (देवतालाई मनुषत्व दिनु र मानिसलाई देवत्व दिनु) हिन्दूहरूको पुरानै खेल। हामी हिन्दूहरू एकातिर भगवानलाई मान्छेको विशेषता मानवीय गुण दिन्छौँ, जस्तै हाम्रा भगवान विवाह गर्छन्, पत्नी लिन्छन्, सन्तति जन्माउँछन्, प्रेम गर्छन्, डाह गर्छन्, रिस गर्छन्, युद्ध गर्छन्, कोही–कोही बेला मात्छन् र कोही बेला व्यभिचार पनि गर्छन्। देवतालाई अथवा भगवानलाई मनुषत्व दिएको उदाहरण हाम्रो सम्पूर्ण शास्त्रले गर्छ अनि भानुभक्तले लेखेको रामायण पनि त्यही गर्छ।
अर्का पाश्र्वमा लोभ, क्रोध, मोह, लालसा, आकांक्षा इत्यादि गुणावगुण भएको मानिसलाई देवतुल्य बनाउने प्रयत्न र ती दोष दागलाई चुनावको पचेरा दिनु लिप्लाप र पोतपात गरी टक्क सेतो देखाउने रिवाज हिन्दूहरूको छँदैछ। यो रिवाजअनुसार नेपालीले भानुभक्तमा दोष देख्न चाँहदैनन् अनि अब लेखनाथ, लक्ष्मीप्रसाद, बालकृष्णले पनि देख्न नचाहलान्। त्यस्तै बंगालीले पनि रवीन्द्रनाथमा केही दोष नै देख्न चाहँदैनन्। हिन्दी भाषाभाषीले तुलसीदास अनि त्यस्तै अरू भाषाभाषी हिन्दूहरूले आफ्ना–आफ्ना कविमा।
पाश्चात्य देशमा भने यो रिवाज त्यति लागू छैन। शेक्सपियरले गरेका, बाइरनले गरेका, लियो टाल्सटायले गरेका अप्रिय र अप्रशंसनीय कामहरू पनि त्यहाँका लेखकहरूले दर्शाएका छन्–लुकाएका दबाएका छैनन्। भनौं त भने, पचेरा लाउने काम पनि कमै मात्रामा गरेका छन्। यही कुरा मनमा खेलेर अनि भानुभक्त स्मारक ग्रन्थमा भानुभक्तमाथि गरिएको प्रशंंसाको तँछाड् र मछाड् जस्तो होडबाजी देखेर मैले भानुभक्त सम्बन्धी तीतो, पिरो, ठाडा तेर्छा वचनबाण चलाएँ। अरूले लुकाएको किंवा, पचेरा लाएर सफेद बनाएका दोष र दागबाट पचेरा हटाएर ती दोष र दागलाई स्पष्ट र छ्याङ्ग पारी नेपाली पढन्ताहरूका अगाडि राख्ने कोशिश गरेँ। मैले गरेको काम भानुभक्तका प्रशंसकलाई अप्रिय र असंगत लाग्नु अस्वाभाविक होइन। तर भानुभक्तका चरित्रलाई एउटै पाटो मात्र पठित जनतालाई देखाएर अर्को पाटोलाई देवलतिर झुन्ड्याई राख्ने चलन मलाई रुचिकर जँचेन। यो हो मेरो थालनीको कुरा।
यो पृष्ठभूमिमा भानुभक्तको जन्मदिवस मनाउने श्रद्धालु जनताहरूले मजस्तो मानिसलाई लेख्न र बोल्न आह्वान गर्नु किम्बा निमन्त्रण दिनु मेरो श्रद्धा बेसी गरेको र भानुभक्तको श्रद्धा कम गरेको हो वा निष्पक्ष विचारले भानुभक्त समालोचना रुचाएको हो वा अज्ञानले गर्दा म जस्तो छुसीलाई भानुभक्तको जन्म दिवसमा बोल्ने मौका दिएको हो, मैले केही बुझिनँ। मैले अघि नै भनेथेँ र अझै दोहोर्याउन मलाई केही संकोच लाग्दैन– भानुभक्त प्रशंसाका पात्र छन् र तिनलाई प्रशंसा गर्ने ठाउँ पनि छ। तर साथै भानुभक्तलाई देवतुल्य नजरले हेर्न केही खाँचो छैन। तिनमा र तिनका कृतिमा भएका दोष, दाग र त्रुटिहरूलाई ढाकछोप गर्नपर्ने पनि केही दरकार छैन।
जति नै छुच्याइँ गरेर बोले पनि भानुभक्तको जन्मोपलक्ष्यमा खुलमखुल्ला भानुभक्तको कटु आलोचना गर्न भानुभक्तले गजाधर सोतीकी घरबूढीमाथि गरेको दुष्कर्म जस्तै हुन जाला कि भन्ने मलाई शंका लाग्छ तर साथै आफूले गरिल्याएको भानुभक्तको चरित्र र कृतिको अर्को पाटो देखाउने काम छाडिहाल्दा पनि फलानाले उमेर छिपिंदै गएपछि भानुभक्तको प्रशंसक बन्न करै लाग्यो भन्ने भ्रम फैलेला भन्ने डर पनि लागेर आउँछ। यसकारण, मैले भानुभक्तको जन्मोपलक्ष्यमा भानुभक्त सम्बन्धी कटु आलोचना गरेँ भनेँ, सो गर्नेभन्दा गर्न निम्ताउनेहरूमाथि नेपाली पाठकहरूले आफ्नो अरुचि जनाउन् भन्ने मेरो अनुरोध छ।
भानुभक्तलाई देवत्व दिने कामको अब म केही उल्लेख गरौँ। भानुभक्तलाई देवत्व दिने हिन्दूहरूको पुरानो साँचोमा भानुभक्तको चरित्रलाई ढाल्ने काम निकै मात्रामा भएको छ। भानुभक्तले सरकारी चाकर–जागिर खाए, भानुभक्तले स्याहा स्रेस्ता बमोजिम बुझाउनुपर्ने कागज वा रकम वा जिम्मेदारी बुझाउँदा केही कालसम्म शासनतन्त्रको नियम बमोजिम थुनुवा रहनु पर्यो, किम्बा नजरबन्दी भएर बस्नुपर्यो। धेरैजना भन्छन्, भानुभक्त थुनुवा वा कैदी भएर बसे। तर नेपालको तत्कालीन शासन पद्धतिको ज्ञान भएका बाबुराम आचार्य भन्छन्, भानुभक्त थुनुवा थिएनन् तर निगरानीमा थिए। त्यस्तो त्रुिटपूर्ण रकम गरेर सरकारी नोकरले निगरानीमा रहनु परेकोमा भानुभक्तका प्रशंसकहरूले सरकारी नोकरको दोष त देखेनन् तर शासन पद्धतिको ठूला कर्मचारीको अत्याचार पो देखे। अथवा भानुभक्तमाथि त्यस्तो अनर्थको अत्याचार भयो भन्ने भान पार्दै घटनाको विवरण दिइयो।
मोतीराम भट्टले लेखेको ‘भानुभक्तको जीवन चरित्र’ (१९४८ साल) मा प्रकाशित भानुभक्तको पहिलो चित्र।
त्यो घटना घट्नुमा भानुभक्तको केही दोष थियो वा भानुभक्तमाथि अत्याचार गरिएकै हो, त्यसको खोजी आजसम्म कसैले गरेर टुङ्गो लाएको छैन। त्यसर्थ, सरकारी नोकरको भुलमा सरकारबाट शासना खप्नु परेको भानुभक्तलाई दोषमुक्त गराउने प्रकारले उल्लेख वा वर्णन गर्नु भानुभक्तलाई मनुषत्व होइन देवत्व दिनु हो। गजाधर सोतीकी गृहिणीले आफ्ना पाहुनालाई परिस्थिति बोध गरी बास नदिएकोमा भानुभक्तले आफ्ना कवित्व शक्तिको चरम दुरुपयोग गरेता पनि बिचरी गजाधर पत्नीकै कर्तव्य सोह्रै आना दोषी देखाउनु भानुभक्तलाई मनुषत्व दिनु होइन, देवत्व दिनु हो।
किन्नुपर्ने बन्दुकजस्तो हतियार लाज पचाएर याचक भएर मागेको पद्य कविको चरित्र र व्यक्तित्व जाँच त होइन तर एक्कासि पद्य रचना गर्न सक्ने भनी तारिफ दिएको देख्दा भानुभक्तका चरित्रमा भएको दोषलाई दबाएर गुणको मात्र बखान गरी मनुषत्वको ठाउँमा देवत्व दिएको नभनी के भन्नू!भाटसँगको रिसले आफूले बास बस्नुपर्ने घरको छाना कच्चा हुने भएता पनि भाटा व्यवहार गर्न नदिई लाउन खोज्नु, चाणक्यभन्दा अबुझ रिसाहा मानिसको स्वभाव प्रशंसनीय नै मात्र देख्नु देवत्व दिएको नभनी के भन्नू!
आफ्ना मित्रले भुल गरेर मर्ने उमेर आउँदा पनि बेवकुफले जस्तो तरुणी स्वास्नी बिहे गरेको खबर पाएर मित्रलाई ‘उल्लु’ भन्दै दयात्मक चिठी लेखेकोमा भानुभक्तलाई स्पष्टवादी भन्न सकिएला तर महात्माको जस्तो स्वभाव भएको कसरी भन्न सक्नू?
यसै प्रकारले भानुभक्तको जीवन चरित्रमा उल्लेख गरिएका घटनाको एक–एक गरी जाँच गर्दा वल्लोपल्लो पाटो दुवै देखाई भानुभक्त देवता होइनन् तर मानिस थिए भन्ने स्पष्ट हुन्छ। तर अघि नै भनिहालेँ, देवतालाई मानिस बनाउनु र मानिसलाई देवता बनाउनु हिन्दूहरूको स्वभाव नै यहाँ बाधाको पहाड भएर उठेको छ।
भानुभक्तको चित्र पनि हिन्दूहरूको ब्रम्हा, विष्णु, महेश वा गौरी, लक्ष्मी, सरस्वतीको चित्र बनाएजस्तो काल्पनिक चित्र तयार गरेका छन्। यद्यपि धेरै बाहुनहरूको नाक चुच्चिएको हुन्छ तापनि चुच्चो नाकको कमै कदर गर्ने नेपालीले भानुभक्तको नाक मठारिएको बनाएको छ। नचाहिँदो लामा र घोप्टे जुँगा राख्ने नेपालीहरू गाउँ बस्तीमा प्रशस्त पाइन्छन्, भानुभक्तको छवि राम्रो हुनपर्ने हुनाले भानुभक्तमा जुँगा मठारेर, जुंगाको माथिल्लो भाग हटाएर अच्छा राईको शब्दमा भानुभक्तलाई ‘प्वांख–जुंगे’ बनाएका छन्।
भानुभक्तका समयमा भानुभक्तको रामायण छापिएको थिएन, उनले आफ्नो रामायणका सबै काण्डहरू संकलन गरेर काखी च्यापी डुलिहिँडेको घटना पनि तथ्य रूपमा कतै उल्लेख छैन। तथापि, नेपालीहरूले भानुभक्तको शालिक बनाउँदा भानुभक्तको हातमा नेपाली रामायण थमाइदिएका छन्। भानुभक्तका समयमा कार्चोप भरिएको बिर्के टोपी बाहुनहरूले लाउँथे वा लाउँदैनथे, त्यसको पनि खोजी भइसकेको छैन। तर मुडुले टुप्पीगाँठे भानुभक्त असुहाउँदा देखिएलान् भनेर अथवा फेटा लगाएका भानुभक्त मधेशी जस्ता देखिएलान् भनेर भानुभक्तलाई नेपालीत्व दिँदा एउटा विशेष प्रकारको टोपी दिइएको छ। यस्तै प्रकारले तथ्य जम्मा गरेर भानुभक्तको चित्र हामीले नेपाली समाजका सम्मुख उभ्याएका छौँ।
भानुभक्तसम्बन्धी कतिपय घटना पनि सन्देह र द्विविधाजनक छन्। त्यो जमानाको नेपाली गाउँमा घाँस बेचेर जीवन निर्वाह गर्ने त के धनसमेत कमाउने घाँसीको उल्लेख गर्दा स्वतन्त्र विचार गर्न सक्ने नेपालीहरू छक्क पर्छन्। किन त्यहाँ घाँस बेचिन्थ्यो, के को लागि किन्थ्यो; किन्ने मानिस के गरी खान्थ्यो, यस विषयमा खोजी गर्नथाले घाँसी थियो भन्ने होइन, थिएन भन्ने प्रमाण पाइएला। यस्ता उदाहरण दिइबस्नु विशेष दरकार छैन, कारण अरू लेखकहरूले यो विषय लिएर धेरै लेखेका छन्। मेरो ख्यालमा मेरो स्मरण शक्तिले धोका नदिए डा.भूपदास राईले यस विषयमा केही लेखेजस्तो लाग्छ।
भानुभक्तको रामायणले नेपाली भाषालाई नेपाली उपजातिमा फैलाएको कुरा गद्गदाएको स्वरमा मुग्ध भएर बोल्ने कति छन्। तर हामीले सम्झनुपर्छ, मोतीराम भट्टकै बेलामा पनि भानुभक्तको नेपाली रामायण पाउन दुर्लभ थियो। पाउन दुर्लभ भएको ग्रन्थले कसरी नेपाली भाषा फैलाउने होला भन्नेप्रति कसैले विचार गरेको देखिन्न। नेपालीका उपजातिमा नेपाली भाषा फैलाउने श्रेय पैलो मेरो एक लेखमा बाहुन, छेत्री, कामी, दमाईहरूको बास बसाइलाई दिएको छु। यिनीहरू छरिएर बसेको हुनाले र यिनीहरू नेपालीमै मात्र बोल्ने हुनाले यिनीहरूबाट पनि नेपाली भाषाको प्रचार भयो।
भानुभक्तको रामायण हेरेर नै अनेकौँ नेपालीले नेपाली साउँ अक्षर सिके भन्ने कुरा धेरैले गर्छन्। तिनीहरू यस्तो घटनाको विवरण गर्दै भानुभक्तका रामायणको प्रशंसा गर्छन्। तर साउँ अक्षरको किताबको अभावले गर्दा कुनाकानीमा बस्ने केटाकेटीहरूले बाध्य भएर त्यसो गर्न परेको कुरा सजिलै बिर्सिदिन्छन्। भानुभक्तकै रामायणबाट साउँ अक्षर जान्न सजिलो भए आज हामीले हाम्रा स्कूलमा नानीहरूलाई म्याकमिलन कम्पनीको कपिराइट भएको पारसमणिले लेखेको साउँ अक्षरका किताब किन किन्न लाउनु त?
नेपाली कविको हैसियतमा भानुभक्तलाई कुन स्थान दिनू भन्ने प्रश्न कसैले मलाई गरेछ भने प्रथम स्थान भन्ने उत्तर उसले मबाट कदापि पाउने छैन। मलाई थाहा छ, लेखनाथ, लक्ष्मीप्रसाद, बालकृष्ण, सिचिद्धरण, यी सब कविले भानुभक्तको घनीभूत प्रशंसा गरेका छन्। बालकृष्णले एक ठाउँ भनेका छन्, “यो हाँगो नभए त्यो हाँगो हुन सक्थ्यो तर भानुभक्त फेद हुन्, उनी नभए केही हुन सक्दैनथ्यो।”
भनाइ मीठो छ तर भन्नेले भुलेका छन् कि भानुभक्तभन्दा पनि अघि नेपाली भाषामा कविता गर्ने कवि थिए। यसर्थ जसले जे भने पनि, भानुभक्तलाई म उच्च स्थान अवश्य दिन्छु, तर प्रथम, द्वितीय र तृतीय पनि होइन। आशुकवि शम्भुप्रसाद, आशुकवि लक्ष्मीप्रसाद, कवितिलक लेखनाथ, यिनीहरू कुनैै हालतमा पनि भानुभक्त भन्दा होचा कवि ठहरिन सक्तैनन्। तर यसो भन्नुको अर्थ भानुभक्तलाई नीचो देखाउनु होइन तर सत्य लागेको कुरालाई स्पष्ट बोलेको हो अनि हाम्रो नेपाली साहित्यको टाकुरा भानुभक्त भन्दा उँचो उभिएको हो।
भानुभक्तले नेपाली भाषाको मर्म बुझेका थिए। उनले भन्दा पहिले नेपाली भाषामा मर्म बुझ्ने कविहरू धेरै थिएनन्। लय हालेर गाउन सकिने श्लोक कवि रघुनाथले लेख्न सकेनन् तर कृष्ण चरित्रका लेखक वसन्त शर्माले लेखेका थिए। यस्तै विषय लिएर जहाँसम्म मलाई ख्याल छ, गणेशप्रसादले एउटा लेख पनि लेखेका छन्।
भानुभक्तको जीवनी र कृति मोतीराम भट्टले खोजी गरेर नेपाली जातिका समक्ष ल्याए तर बर्सेनि भानुभक्तको जन्मोत्सव मनाउने चलन कहिलेदेखि आयो, भन्न गाह्रै छ। यो जन्मोत्सवको प्रथा नेपालदेखि शुरू भएर आएको हो वा नेपाल बाहिरबाट शुरू भएर नेपाल पसेको हो, खोजी भएको छैन। मेरा विचारमा आफ्नो जन्मोत्सव र जन्मस्व मनाउने र साथै बाबुको श्राद्ध गर्न छाडेका वा नसक्नेलाई भानुभक्तको जन्मोत्सव मनाउने प्रेरणा केले दियो? बाबुको श्राद्ध र आफ्नो जन्मस्व मनाउन उदासिन हालतमा भएको नेपाली समाजले आफ्नो पात्रोमा ३६५ दिन नै खाली पायो। अरूहरूले कसैकसैको नाममा जन्मतिथि मनाएको देख्यो। आफूले कसको मनाउनु भन्ने चिन्ता पर्यो।
राणाकालमा श्री ५ को मनाउँ त राणाको आँखाको छारो हुने, होइन श्री ३ कै मनाउँ त चित्त अलिक नपर्ने। नेपालबाहिर बस्नेलाई त श्री ५ र श्री ३ कै मनाउने केही दरकार नदेखिएको। यस्तो अवस्थामा बाबु सूर्यविक्रम ज्ञवालीका प्रयासले भानुभक्तको स्मारक ग्रन्थ पनि बन्यो। यसरी केही वर्ष अघिदेखि मात्र भानुभक्तको जन्मोत्सव मनाउने चलन चल्यो। अब हामी नेपालीले ३६५ दिनमध्येको एउटा दिन उत्सवमा बिताउन सक्ने भयौँ। हामी यसैमा रत छौँ। भानुभक्तको विषयमा खोजी र आलोचना गर्ने कसैलाई केही चासो छैन। यो नाराको युग हो, हामीले एउटा नारा पायौं र त्यो नारा लाउन पाउँदा गद्गद् छौँ– भानुभक्त जिन्दावाद, भानुभक्त अमर रहून्...।