लोकतान्त्रिक तागतको ऐतिहासिक प्रदर्शनका क्रममा विश्वका तीन दक्षिणी लोकतन्त्र- भारत, मेक्सिको र दक्षिण अफ्रिकाले यस वर्ष ठूलो र प्रष्ट आवाजमा बोलेका छन्: न्याय र समानता यस देशका जनताहरूको प्रमुख प्राथमिकता हो। न्याय र समानताप्रति आफ्नो मत जाहेर गर्ने मतदाताको संख्या धेरै ठूलो छ।
समता र निष्पक्षताको नयाँ युगको माग गर्दै यी देशका लगभग ७४ करोड मतदाताले मतदान गरे। विश्वभर ‘ग्लोबल साउथ’को बढ्दो प्रभाव मात्र नभई न्यायप्रति यहाँका जनताको प्रतिबद्धतासमेत स्वीकार गर्न विश्वका लागि आह्वान हो यो जागरण। यो घटना त्यतिखेर भएको छ, जतिबेला युरोप र संयुक्त राज्य अमेरिकामा दक्षिणपन्थीहरूको चुनावी प्रभाव बढिरहेको छ।
म बेलायतको ससेक्स विश्वविद्यालयमा एआई, ग्लोबल डिजिटल नीति र नैतिकता विषयका कक्षामा तीन ‘फ्रेमवर्क’बारेमा सिकाउँछु, जुन यस राजनीतिक उभारलाई अझ स्पष्ट पार्न सहयोगी हुन सक्छ।
पहिलो, अमर्त्य सेनको फ्लुट प्यारबल (बाँसुरी दृष्टान्त)ले हामीलाई सिकाउँछ कि स्वतन्त्रतावाद वा उपयोगितावादभन्दा पहिले समतावाद स्थापित हुनुपर्छ। यी देशमा भएका चुनावमार्फत जनताले बोलेका छन्: अझै दलाल पुँजीवाद वा कुलीन स्वार्थको हित चाहिँदैन। त्यसो हुँदा सम्पत्तिसम्बन्धी अधिकारलाई पुन: परिभाषित गर्ने र थोरैभन्दा धेरैलाई प्राथमिकता दिनेबारे सोच्ने समय पनि हो यो।
भारतका किसान, जसले कर्पोरेट स्वार्थको हित गर्ने कृषि कानूनको विरोध गरे, संघर्षको यो बलियो प्रमाण हो। त्यस्तै, ब्राजिलका भूमिहीन मजदुर त्यहाँको कृषि सुधार र भूमिमा समान पहुँचका लागि आन्दोलनमा नै भिडिरहेकै छन्।
दोस्रो चासो, यी समाजमा रहेको डनिङ-क्रुगर प्रभाव हो, जहाँ अज्ञानीले नै विशेषज्ञताको दाबी गर्छ तर अब तिनलाई वास्तविक ज्ञानको भोक र नम्रताले प्रतिस्थापन गर्नुपर्छ। एल्भिन टोफ्लरको ज्ञान वास्तवमै सत्य सुनिन्छ: ‘भविष्यका अशिक्षित ती होइनन्, जसले पढ्न वा लेख्न सक्दैनन् तर ती हुन् जो सिक्न, अनलर्न गर्न (पहिले सिकाइएका गलत कुरा नसिक्न/छाड्न) र पुन: सिक्न सक्दैनन्।’
ग्लोबल साउथका लोकतन्त्रले छद्म-विशेषज्ञताको खाडलबाट बच्न र पिटर नेवारोस (पूर्व अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारमध्ये एक प्रमुख व्यक्ति, जो आफ्नो अनुदार अर्थनीतिका लागि चिनिन्छन्) जस्तालाई मुख्य आर्थिक नीति बनाउने पदबाट हटाउन यो सोच अँगाल्नुपर्छ। विज्ञान-चालित नीति निर्माणका लागि मेक्सिकोले गरेको नयाँ प्रतिबद्धता यस दिशामा सही कदममध्ये एक हो। विशेषगरी विगत २०० वर्षमा नयाँ र पहिलो महिला राष्ट्रपति चुनेर यस देशले त्यो संकेत दिएको छ।
अर्जेन्टिनाको ग्रासरुट आन्दोलन, ‘नी उना मेनोस’ (एक महिला पनि नछुटून्)ले लिंगमा आधारित हिंसा र लैंगिक सशक्तीकरणसम्बन्धी नीतिलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ र हालै सम्पन्न चुनावको मुख्य सन्देश त्यही हो।
तेस्रो, मैले मेरा व्याख्यानमा संकेत गरेको तेस्रो ढाँचा जसलाई म ‘ट्रली समस्या’ भन्छु। ‘पाँचलाई बचाउन एक जनालाई मार्ने?’ रूपमा त्यसलाई व्याख्यासमेत गर्न सकिन्छ। भारतको नोटबन्दी, कृषि कानून र कोभिड महामारीको लकडाउनले त्यहाँको सरकार र प्रशासनले धेरैभन्दा थोरैलाई प्राथमिकता दिने खतरा देखायो।
दक्षिण अफ्रिकाको असमानता र भेदभावविरुद्धको संघर्षले न्यायमा ढिलाइ गर्नु आखिर न्याय नै अस्वीकार गर्नु हो भनी सम्झाउने काम गरेको छ। कोलम्बियामा सत्य र मेलमिलाप आयोगले हिंसा र दण्डहीनताको विरासतलाई सम्बोधन गर्न काम गरिरहेको छ।
भारत, मेक्सिको र दक्षिण अफ्रिकाका चुनावी जनादेशले महामारी पछिको संसारको विश्वव्यापी सार्वजनिक नीतिलाई पुन: गम्भीर मूल्यांकन गर्ने अवसर/मौका दिएको छ। जलवायु परिवर्तन, कृषि, डिजिटलाइजेसन, स्वास्थ्यसेवा, नवप्रवर्तन, बैंकिङ र वित्त तथा पूर्वाधार विकासलाई समतावादको लेन्सबाट हेर्नुपर्ने/पुनर्विचार गर्नुपर्ने समय अब आएको छ।
ग्लोबल साउथले अब नाफा कमाउनेभन्दा पनि मान्छेको हितलाई प्राथमिकता दिने कुराको नेतृत्व गर्नुपर्छ। यतिखेर इन्डोनेसियाको किसान आन्दोलन भूमि अधिकार र दिगो कृषि अभ्यासका लागि समेत लडिरहेको छ।
यी लोकतन्त्रहरूले नयाँ कोर्स (मार्ग) अघि बढाएको विषय विश्वले नियालिरहेको छ। के यिनले न्याय, समानुभूति, र विशेषज्ञता-सञ्चालित नीति निर्माणका लागि आह्वान गर्लान्? यदि तिनीहरूले त्यसै गरे भने सन् २०२४ को चुनावलाई अझ न्यायपूर्ण र समानतापूर्ण संसारतर्फको यात्रामा ग्लोबल साउथको मार्चलाई एउटा महत्त्वपूर्ण घुम्तिका रूपमा रूपमा सम्झिइनेछ।
यस जनमतका दूरगामी असर छन्। न्याय र समानतालाई प्राथमिकता दिने ग्लोबल साउथले नवउदारवाद र अधिनायकवादको यथास्थितिलाई चुनौती दिँनेछ। कर्पोरेट हितको सट्टा मान्छेलाई प्राथमिकता दिँदै यसले विश्वव्यापी आर्थिक व्यवस्थालाई पुन: परिभाषित गर्नेछ।
स्रोत र ज्ञानको अधिक समानुपातिक वितरणको माग गर्दै यसले 'ग्लोबल नर्थ'को प्रभुत्वलाई चुनौती दिनेछ। सेनेगलमा, जनस्तरको आन्दोलन 'येन अ मारे' (अति भयो या हामी थाकेका छौँ)ले सुशासन र जवाफदेहिताको नीतिलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। सेनेगलमा मात्र नभएर भारत, दक्षिण अफ्रिका या मेक्सिकोमा हालैका चुनावी परिणामले देखाउँछ, जनतालाई धेरै दिक्क लागेको छ।
ब्यूनस आयर्सको सडकदेखि जोहानेसबर्गको नगरीसम्म, भारतको खेतबारीदेखि मेक्सिको शहरको बजारसम्म, ग्लोबल साउथ सन् २०२४ को चुनावमा चर्को आवाजमा बोलेको छ। झन्डै ७४ करोड भोटले प्रजातन्त्र र न्याय हाम्रा बालबच्चाको प्रगतिशील भविष्यका आधार हुन् भन्ने स्मरण गराउँछ। त्यो जनमतलाई फस्टाउन दिऊँ।
(चटर्जी युनिभर्सिटी अफ ससेक्स, बेलायतमा विकास अर्थशास्त्र, नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्यका प्राध्यापक हुन्। उनको यो लेख दवायरडटआइएनबाट अनुवाद गरिएको हो।)