Monday, July 15, 2024

-->

जनप्रतिनिधिज्यू, सडकले सिर्जेका भल र गेग्र्यानको वितण्डा देख्नुभाछ?

पानी पर्न शुरू भएसँगै आगलागीको जोखिम कम हुँदै छ। तर बस्तीहरू ढुक्कले निदाउन सक्ने छैनन्। अब बाढी, पहिरो अनि डुबान विपत्तिको अर्को कारण बन्नेछ।

जनप्रतिनिधिज्यू सडकले सिर्जेका भल र गेग्र्यानको वितण्डा देख्नुभाछ

२०८० सालको अन्त्य र २०८१ को शुरूआतमा पूरै मुलुक आगलागीले आक्रान्त भयो। आगलागीकै कारण सायद जीवन, भौतिक सम्पत्ति र पर्यावरण तीनै पक्षको क्षतिको ग्राफ यो सिजन सबैभन्दा बढी उचाइमा पुग्यो होला। वैशाख खडेरीमै बित्दा आगलागीको अनुकूल समय थपिन पुग्यो। जसले क्षतिको ग्राफलाई थप उकालो दिशा दियो।

पानी पर्न शुरू भएसँगै आगलागीको जोखिम कम हुँदै छ। तर बस्तीहरू ढुक्कले निदाउन सकेका छैनन्। अब बाढी र पहिरो अनि डुबान विपत्तिको अर्को कारण बन्नेछ। यो त चक्रीय रूपमा चलिरहन्छ। तर थोरै मात्र सावधानी अपनाउँदा, सचेत र विवेकशील हुँदा कम गर्न सकिने कैयौँ मानवसिर्जित जोखिमतर्फ सम्बन्धित पक्षहरूको ध्यान गएको देखिँदैन। न त जाने सम्भावना नै देखिन्छ।

मूलतः पहाडी क्षेत्रमा ग्रामीण सडक निर्माण गर्दा पहिलेदेखि नै कायम रहेको भलको संरचना खलबल्याउँदा सिर्जना हुने र भएका क्षतिबारे यहाँ सामान्य चर्चा गरिनेछ। यो परिचर्चा विज्ञताको हिसाबले होइन, अनुभव र अनुभूतिको त्यान्द्रो समातेर गरिएको छ। यहाँ भल भन्ने शब्द ‘आकाशबाट पानी पर्दा या बाढी आउँदा पाखामा बगेको पानीको प्रवाह या भेल’ भन्ने अर्थमा प्रयोग गरिएको छ। यो अर्थ प्रज्ञा नेपाली शब्दकोशबाट लिइएको हो।

दृष्टान्त
नुवाकोटको  बेलकोटगढी नगरपालिका– ५ स्थित 'कान्लेको पखेरो' नामले परिचित पशु चरनका लागि उपयोग हुँदै आएको जंगल अहिले पशु चरनका लागि जोखिमयुक्त स्थानमा फेरिएको छ। २०५५ सालमा खनिएको स्थानीय सडक जति उन्नत बन्दै गयो, भल व्यवस्थापनको समस्या उति जटिल बन्दै गयो। पछिल्लो केही वर्षयता ठूलो प्रसवण (तरल पदार्थको बेगिलो बगाइ) क्षेत्रको वर्षाको पानीको भल निकास त्यही जंगलबाट गरिएको छ। 

जंगलको स्वरूप मात्र बिग्रिएको छैन, जंगलको सिरानदेखि पुछारसम्म सिधा ठाडो चिरा पारेको छ अव्यवस्थित भलले। जसको कारण त्यस चिराको एकापट्टिको जंगलबाट अर्कोपट्टि जान लगभग असम्भव छ। निर्माणाधीन खेलकुद मैदान पूर्ण रूपमा क्षतिग्रस्त छ। भल बग्ने चिरामा ठाउँ–ठाउँमा यति ठूला खाडल बनेका छन् कि पशु चौपाया मात्र होइन, मानिस नै खस्दा पनि जीवित बाहिरिन गाह्रो छ। उक्त पखेरोलाई अन्यत्रबाट हेर्दा बालकको गाला बिरालोले चिथोरेजस्तो देखिन्छ। पखेरो कटान गरेर बगाएको माटो उक्त सडककै तल्लो भागमा लगेर थुपार्ने गरिएको हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ। अब वर्षायाम शुरू हुँदै गर्दा यो समस्याको आवृत्ति ह्वात्तै बढ्नेछ।

सडक कालोपत्रको कार्यभार भएको छ। अब सडक अवरुद्ध हुने समस्या समाधान त प्राविधिक रूपमा निस्किएला नै, तर जंगलमा जुन विकराल समस्या सडकको कारण निम्तिएको छ, त्योचाहिँ दीर्घकालीन समस्याकै रूपमा रहिरहने पक्का छ। सडक पक्की बनाउने क्रममा पनि उक्त भलको असरबारे सम्बन्धित निकायले कान सुन्ने सम्भावना देखिएको छैन। उपयोगी जंगलको यस्तो जोखिमयुक्त रूपान्तरण सडक भलको व्यवस्थापन नहुँदा निम्तिएको हो। र, यो एउटा प्रतिनिधि उदाहरण मात्र हो। डोजरले विकासको ठेक्का लिएर गाउँ पसेपछि प्रायः पहाडी क्षेत्रको साझा दुःख बनेको छ यो।

२०७८ को दशैँताक लामो समयसम्म झरी पर्‍यो। पंक्तिकार अर्को एक साथीसहित घुमफिरका लागि दाङको घोराहीबाट रोल्पाको होलेरी पुगेर, होलेरीबाट स्वर्गद्वारी हुँदै फर्कने योजना बनाएर निक्लियौँ। स्वर्गद्वारी बास बसेको साँझबाट ठूलो वर्षा शुरू भयो। भोलिपल्ट स्वर्गद्वारीबाट भिंग्री निस्किएर बुटवल आइपुगियो। तर बाटोमा जे देखियो र भोगियो, त्यसले प्राकृतिक भललाई अनावश्यक दखल पुर्‍याएर निर्माण गरिएका ग्रामीण सडकको अँध्यारा पक्षबारे गम्भीर बनायो। सानातिना अवरोध त असंख्य ठाउँमा छिचोलियो। 

सानातिना जोखिम त जोखिम नै रहेनन्। भिंग्री र भालुवाङ बीचको सडकखण्डमा त एउटा खोल्साले माथिबाट गेग्र्यानसहितको लेदो यसरी बोकेर ल्याएको थियो कि त्यहाँ पानी नै देखिँदैनथ्यो। सडक पूर्ण रूपमा अवरुद्ध थियो। तीन जना अन्य सहयोगीसाथ उक्त भेलमा बाइक हुलेर वारिपट्टि निस्कँदा हामी दुबैलाई आफ्नो जिन्दगी नाफाको जिन्दगी भएको महसुस भयो। बाँच्ने आशा त लगभग सकिइसकेको थियो। सडक भोलिपल्ट बिहान मात्र खुल्यो। मूर्ख बनेर हामी उम्कियौँ। पछि सोचेँ, ती लाखौँ टन गेग्र्यान र माटो बग्दा माथिल्लो तहको जमिन कस्तो भयो होला?

नुवाकोटकै बेलकोटगढी–५ को लामाचौरमा ग्रामीण सडक निर्माण गर्दा थुप्रिएको अव्यवस्थित भलका कारण स्थानीय सरिता लामिछानेको एक हलको मेलो बारी पूर्णतः बेकामे भएको छ भने बारीको सिरानमा रहेको घर जोखिमको उत्कर्षमा छ। आर्थिक सामाजिक रूपमा पनि सबैभन्दा कमजोर उनको बारीको बीचबाट तेर्सो-उकालो लगिएको सडक र बारीको माथिबाट लम्बीय रूपमा झारिएको भलको परिणाम अहिले देखिएको छ।

यस्ता उदाहरण हजारौँको संख्यामा भेटिन्छ। सायद वैशाख–जेठदेखि भदौ–असोजसम्म पहाडी क्षेत्रमा बस्ने र यात्रा गर्नेमध्ये मानव सिर्जित भलको समस्या भोग्नु नपर्नेहरू लगभग भेटिँदैनन्। गत वर्षको असोजमा ककनी गाउँपालिका–२ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई भलले बगाएर नालीमा पुर्‍याएको थियो। उनीहरू जीवित रहेनन्। 

कारण र परिणामहरूबारे
सडक सञ्जाल निर्माण हुनुअघि वर्षायाममा पर्ने पानीको धेरै हिस्सा प्राकृतिक खोला र खोल्सामार्फत निकास हुन्थ्यो। थोरै हिस्सा किसानले आफ्नो खेतबारी जोगाउन कटाएको कृत्रिम भलमार्फत निकास हुन्थ्यो। सानो सानो प्रस्रवण क्षेत्रको पानी जम्मा हुने हुँदा भल पनि ठुलो हुँदैनथ्यो। त्यसमाथि डोजर नपुग्दासम्म किसानले कुटो कोदालो र कोदालीले खनेकै भरमा माटो खुकुलिएको थिएन। प्राकृतिक जंगलले माटो समाएर राखेको हुन्थ्यो। यसर्थ, माटो बगेर ठाउँ–ठाउँमा भल अवरुद्ध हुने र भलले अकस्मात् दिशा बदल्दा आजकल हुनेजस्तो ठुलो क्षति पनि हुँदैनथ्यो। पहाडको एउटा गालाबाट अनेकन् खोला र खोल्साहरू ठाडो चिरिएर बगेका हुन्थे। आआफ्नो प्रस्रवण क्षेत्र छुट्टाछुट्टै हुन्थ्यो। मानव निर्मित भलहरू पनि आफ्नो जग्गाको अन्त्यमा प्राकृतिक खोला खोल्सामै मिसाइएको हुन्थ्यो।

प्रायः सडकहरूले ठाडा खोल्सा खोला र भलहरूलाई क्षितिजीय रूपले काट्ने गरेका कारण सबै खोला र खोल्साहरूको गति अवरुद्ध हुने र माथिदेखि खोला र खोल्साले बोकेको पानी सबै सडकले बोक्ने गरेको देखिन्छ। सडकका अग्ला कान्लाबाट पानी परेको बेलामा स–साना पहिरो प्रशस्तै झर्ने र उक्त पहिरोले मार्ग अवरुद्ध गर्दा जुनसुकै ठाउँबाट पनि पानीको एकमुष्ट भल सडक छोडेर हाम फाल्ने गरेको पनि देखिन्छ। सडकको कमजोर आधार भएको ठाउँबाट सडकलाई चिर्दै भेलहरू अनियन्त्रित भई पाखापखेरा खेतबारी डुल्न थाल्ने गरेको पनि प्रशस्तै देखिन्छ।

प्रत्येक साल सडक फराकिलो बनाउने र बिग्रे भत्केको सडक मर्मत गर्न भन्दै डोजरहरू चली नै रहन्छन्। माटो खुकुलाउनु र माटो खनेर सडकको तल्लोपट्टि फाल्नु त सामान्य भइहाल्यो। जब वर्षा हुन्छ, ती सबै माटो बग्छन् र खेतबारीमा पुगी थुप्रन्छन्। जसले गर्दा खेतबारीमा बगर पल्टन्छन्। एकातिर ठूला ठूला भलहरू खेतबारीमा पस्छन् र सतहमा रहेका मलिलो माटोको तह पुरै बगाएर समुद्र पुर्‍याउँछ, अर्कोतिर बचेखुचेको मलिलो माटोको तह पानीले बगाएर ल्याउने गेग्र्यानले पुरिदिन्छ। यसरी खेतबारी खेतीपातीको लागि प्रतिकुल बन्दै छन्। जब खोला र खोल्साहरू नै सडकबाट आएर घुम्ती या साँघुरो स्थानबाट खेतपारिमा पस्छन्, त्यसपछि खेतबारी खेतबारी नै रहँदैनन्। कि त बगर हुन्छन् कि त खोलो नै बन्छन्। त्यसलाई पुनः खेतीयोग्य भूमि बनाउन ठुलो मानवश्रम जरुरी पर्छ।

नयाँ सडक निर्माणको लागि ट्र्याक खोल्दा होस् या पुरानै सडकको मर्मत गर्दा, त्यस क्रममा निस्कने ढुंगामाटो त्यही सडककै छेउबाट तल थुपार्ने गरिन्छ। त्यो खुकुलो माटो पानीले बगाउँदा त्यसको तल खेतबारी रहेनछ भने सिधै खोलामा जान्छ। खोलामा गएर गेग्र्यान थुप्रेर जमेपछि खोलाको स्वरूप पनि बिग्रने भइहाल्यो। गहिरा र ठुला रह र जँघारहरू अहिले कङ्क्रिटले पुरिएका छन्। ठुला ढुङ्गाका कापहरू (कुरहरू) जहाँ माछाहरू सुरक्षित बस्थे, ती पनि पुरिएका छन्। जँघार र कुर नभएको खोलामा माछालगायत जलचरहरू नासिँदै जानू स्वाभाविक छ। खोलानालामा जलचर मास्न अन्य अन्य मानवीय क्रियाकलाप पनि उत्तिकै जिम्मेवार छ । 

के गर्न सकिएला?
मानव केन्द्रित विकास आजको आवश्यकता त हो, तर प्रकृतिलाई कमभन्दा कम हानी पुर्‍याउनु पनि विकासको एउटा अनुल्लंघनीय शर्त हो र हुनैपर्छ। सडक नखन्नु या सडकको मर्मत नगर्नु समस्याको समाधान हुनै सक्दैन। आवश्यकताअनुसार सडक चौडा गर्नु पनि पर्ने नै छ। पर्यावरणीय संकटभन्दा मानवीय आवश्यकता बढी टड्कारो दृष्टिगोचर हुन्छ। पहिलो आगो आफ्नै पोल्टोको झारिनु स्वाभाविक छ।

डोजरको कर्कश आवाजसँगै नाचिरहेको विकासको तरिकामा थोरै मात्र परिमार्जन गर्दा पनि समस्याको ठूलो हिस्सा हल हुन सक्ने देखिन्छ। सडक निर्माण गर्दा प्राकृतिक भल संयन्त्रलाई लगभग शून्य दखल पुर्‍याउने हो भने भलसिर्जित सयौँ समस्या हल हुन्छन्। सडक छेउमा थुपारिएका खुकुलो माटोमा छिटो बढ्ने जातका बिरुवा रोपेर माटो कस्न सकिन्छ। सानातिना पोथ्रा घाँस तत्काल रोपेर माटो कस्दै गर्ने अनि बाँस निगालो प्रजातिका बिरुवा पनि रोप्दै जाने नीति न त खर्चिलो हुन्छ न त कठिन नै। 

अझ सडक छेउको भिरालो जमिनको निश्चित हिस्सालाई पूर्ण प्राकृतिक जंगल बनाउन सके त बिग्रँदो पारिस्थितिक प्रणालीले समेत राहतको सास फेर्न सक्छ। सडक छेउको जमिन व्यक्तिको निजी जमिन (खेतबारी, खरबारी)ले ओगटेको भए उनीहरूलाई पनि उक्त स्थानमा निजी प्रयोग गर्न पाउने गरी जंगलीकरण गर्न उत्प्रेरित गर्न सकिन्छ। नीति नियम बनाएर बाध्यात्मक परिस्थिति सिर्जना गर्न सकिन्छ। सडक खन्दा होस या अन्य विकास निर्माणका काम गर्दा, सयौँ वर्ष अघियता कायम रहेका भलका गल्छेडालाई नखलबल्याउनु जरुरी हुन्छ। त्यसो गर्दा अनावश्यक विवादबाट विकासमा हुने गरेको अवरोध पनि कम हुन्छ।

नीतिनिर्माताले आफ्ना बन्द विवेकलाई खुल्ला गर्ने हो भने थुप्रै समस्यालाई इतिहास बनाउन धेरै कठिन छैन। सडक निर्माण गर्न बजेट विनियोजन गर्दा सडक छेउको माटो थुप्रने जग्गाको उचित व्यवस्थापनका लागि पनि अनिवार्य बजेटिङ गर्नुपर्ने नीति बनाउन सकिन्छ। भल निकासका प्राकृतिक संरचना र लामो अभ्यास भइसकेको कृत्रिम संरचनामा दखल पुर्‍याउनै नपाइने (कुनै उपायमार्फत भलको दिशा नबदलिने उपाय खोजी गर्ने) नियम बनाउन सकिन्छ।

अन्त्यमा,
प्राकृतिक छनोटको सिद्धान्तअनुरूप बलिया बाँच्ने कुरा मानव चेतना र सभ्यताले केही हदसम्म फेरेको छ र फेर्दै छ। तर हाल माथि उल्लिखित प्रतिकुल परिस्थितिको सिकार भने तल्लो वर्गका मानिस र निमुखा प्राणी नै भएका छन्। भिर पाखामा बसोबास गर्ने र साना सुर्का र फोगटाहरूमा खेती गर्नेहरू तल्लो वर्गकै हुन्छन्। मर्का उनीहरूलाई नै छ। ‘जो होचो उसको मुखमा घोचो’ भन्ने उखानको सान्दर्भिकता कम गर्नु जरुरी छ। जनप्रतिनिधिले सडकले सिर्जेका भल र गेग्र्यान देख्नुभएको छ?


सम्बन्धित सामग्री