संकटमा सर्भे कम्पनी र मिडियाको विश्वसनीयता
प्रदीप गुप्ताको आँखाबाट पाँच वर्षअघि आँसु झरेका थिए, यसपालि पनि झरे। त्यसबखत उनको सर्भे (एक्जिट पोल) यथार्थको एकदमै नजिक भएपछि लिइएको अन्तवार्तामा खुशीमा रोएका थिए। यसपालि यथार्थभन्दा एकदम टाढा भई ट्रोल भइरहँदा रोए। भारतमा सन् २०१९ को लोकसभा चुनावमा ‘इण्डिया टुडे ग्रुप’का लागि सर्भे गरेका उनी नेतृत्वको ‘एक्सिस माई इण्डिया’ले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन ‘एनडीए’ले ३२९–३३५ सिट जित्ने आकलन गर्दा ३५३ सिट जितेको थियो। यस्तै, कांग्रेस नेतृत्वको यूपीए (अहिले इण्डिया) गठबन्धन ७७–१०८ मा सीमित हुने आकलन गर्दा ९१ सिट जितेको थियो। सही आकलनका लागि इण्डिया टुडे ग्रुपले उनलाई आफ्ना माध्यमहरूको स्टुडियोमै आमन्त्रित गरी बधाई दिँदै अन्तर्वार्ता लिएका थिए।
यसपालि एनडीएले बहुमत (२७२) को आँकडा पार गरे पनि एक्जिट पोलहरूले प्रक्षेपण गरेको आँकडा नतिजाको छेउछाउ पनि नपुगेपछि सामाजिक सञ्जालका प्लाटफर्महरूमा गुप्ता भारी ट्रोलको सामना गरिरहेका छन् नै, सत्ताप्रति आलोचक नामचिन पत्रकार, विश्लेषक, नेताहरूले पनि नामै किटेर उनको आलोचना गरिरहेका छन्, उडाइरहेका छन्। रविशकुमार, आकाश बनर्जी (द देशभक्त) आदिले आफ्नो भिडियोमा गुप्ताको आलोचना गरे। इण्डिया टुडे ग्रुपकै ‘आजतक’को बहसमा गुप्तासँगै निम्त्याइएका कांग्रेस प्रवक्ता पवन खेडाले त ‘अपराधी’ करार गर्दै गुप्तासँग बहस गर्न इन्कार गरे।
एक्जिट पोलको आँकडामा विश्वास गरी शेयर बजारमा पैसा लगाएका लगानीकर्ताहरूले केही घण्टामै खर्बौं भारु गुमाएकोले गुप्ता अपराधी भएको जिकिर खेडाले गरेका छन्। चुनावको प्रारम्भिक नतिजा आउन थालेपछि मंगलबार बम्बे स्टक एक्सचेन्जको सूचकांक (बीएसई सेन्सेक्स) र नेशनल स्टक एक्स्चेन्ज (एनएसई)को सूचकाकंमा करिब ६ प्रतिशतको गिरावट आएको ‘टाइम्स अफ इन्डिया’ले लेखेको छ। भारतीय पुँजीबजारमा आएको यो गिरावट चार वर्ष यताकै उच्च हो। यसअघि कोरोनाकालमा एकै दिनमा सेन्सेक्स ६ प्रतिशतले घटेको थियो। सेन्सेक्स मंगलबार एकै दिन ४,३८९.७३ अंकले घटेर ७२,०७९ मा कायम भयो भने नेशनल स्टक एक्सचेन्ज (निफ्टी) पनि १,३७९.४० अंकले घटेर २१,८८४.५० मा समेटियो। लगानीकर्ताहरूले एकै दिनमा करिब ४० लाख करोड भारतीय रूपैयाँ गुमाए।
निशानामा गुप्ता परे पनि यसपालि सबैजसो एक्जिट पोल फेल खाए। सबैजसोले भाजपा एक्लैले बहुमत पु¥याउनुका साथै एनडीएले ३५० सिट नघाउने प्रक्षेपण गरेका थिए। गुप्ता नेतृत्वको एक्सिस माई इण्डियासहित केहीले चाहीँ एनडीएले ४०० कै आँकडा पार गर्ने प्रक्षेपण गरेका थिए।
चुनावी नतिजासँगै भारतीय मिडिया र तिनले गराउने एक्जिट पोलको विश्वसनीयता विवादको भूमरीमा फँसेको छ नै, अब विश्वसनीयता फर्काउन लामै समय कुर्नुपर्ने हुनसक्छ। भारतीय मिडियाको मूलधार (खासगरीकन टेलिभिजनका न्युज च्यानल र हिन्दी अखबार) यसै पनि ‘गोदी मिडिया’ भनेर आलोचित छन्। सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वमा सरकार बनेपछि सत्ताको ताबेदारी गरेको आरोप ती मिडियामाथि छ। सबैजसो सर्भे कम्पनीले मिडिया हाउससँगको साझेदारीमै एक्जिट पोल गर्छन। यसपालि तीमाथि शेयर बजारमा चलखेल गर्न नियोजित रूपमा ‘फेक’ एक्जिट पोल नतिजा निकालेको गम्भीर आरोप लागेको छ। “अरु त कोठामै बसीबसी जसलाई जे नतिजा चाहिएको हो त्यही रिपोर्ट निकाल्दिने कम्पनी हुन्,” युट्युबर आकाश बनर्जी भन्छन्, “एक्सिस माई इण्डिया चाहिँ फिल्डमै गएर सर्भे गर्छ भन्ठान्थे, त्यो पनि अरूजस्तै निस्कियो।”
मिडियासँग असन्तुष्ट मात्रै होइन रुष्ट नै सुनिने विपक्षी पार्टीहरूले शेयर बजारमा चलखेल गराउन नियोजितरूपमा गराइएको एक्जिट पोल भनेर छानबिनका लागि दबाब दिए भने मिडिया थप विवादित बन्ने निश्चित छ। छानबिनकै लागि ‘सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया’ (सेबी) मा दबाब पर्न पनि सक्छ।
मूलधार अनवरत सत्ताको ताबेदारीमा लागेपछि सत्ताप्रति आलोचक युट्युब च्यानल वैकल्पिक मिडियाको रूपमा फस्टाइरहेकाले पनि भारतीय न्यूज च्यानलहरूका लागि आगामी दिन चुनौतीपूर्ण देखिन्छ। युट्युबमा ध्रुव राठी, रविशकुमारहरूको सब्सक्राइबर्स/भ्युज टेलिभिजन च्यानलका सामग्रीभन्दा धेरै अघि छन्। राठीले बनाएको नरेन्द्र मोदीको कडा आलोचना गरिएको ‘एक डराहुवा डिक्टेटर’को भ्युज तीन करोड ५० लाख पुगिसकेको छ। राठी, रविशकुमारहरूलाई त मोदीको लोकप्रियता घटाई भाजपालाई पहिलाभन्दा कमजोर बनाउने पात्रकै रूपमा हेरिन थालिएको छ।
हुन पनि, चल्तिका एक दर्जन सर्भे कम्पनी/मिडिया हाउसले गरेको एक्जिट पोल नियाल्दा ‘दैनिक भाष्कर’ले गरेको एनडीएले २८१–३५० सिट जित्ने प्रक्षेपणबाहेक अरू अन्तिम नतिजाको छेउछाउमै नपुगेको देखियो। भोट दिएर बाहिरिएका लाखौँ मतदातासँग कुराकानी गरी तयार पारिएको भनिएका एकसे एक एक्जिट पोल फेल खाइरहँदा बरु यस्ता कुनै सर्भेबेगर ‘अब्जरवेशन’को आधारमा गरिएका अनुमान सही साबित भए। जस्तै, कांग्रेस बिटमा रिपोर्टिङ गर्ने आदेश रावलले भाजपा २३५–२४० सिटमा समेटिने दाबी गरेका थिए। विश्लेषक योगेन्द्र यादव पनि पहिलो चरणको चुनावमा मतदानमा जनउत्साह नदेखिएसँगै भाजपाको एकल बहुमत नपुग्ने दाबीमा अन्तिमसम्मै कायम रहे।
भारतमा यसअघि सन् २००४ मा सबैजसो एक्जिट पोलको आँकडा फेल खाएको थियो। सर्भेहरूले एनडीएले बहुमतसहित अटलविहारी वाजपेयीको नेतृत्वको सरकारले निरन्तरता पाउने अनुमान गरिरहँदा कांग्रेस नेतृत्वको यूपीएले बहुमतको आँकडा पार गरेको थियो। सन् २०२१ को पश्चिम बंगाल विधानसभा चुनावमा भाजपाले ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सत्तालाई विस्थापित गर्ने प्रक्षेपण फेल खाएको थियो। गत नोभेम्बरमा छत्तिसगढको विधानसभा चुनावमा पनि सबैजसो एक्जिट पोलहरूले कांग्रेसले नै दोस्रोचोटी सरकार बनाउने प्रक्षेपण गरिरहँदा भाजपाले आरामदायी बहुमतसहित सत्तामा वापसी गरेको थियो।
गुप्तापछि बढी ट्रोल गरिएका अर्का पात्र हुन् चुनावी रणनीतिकार प्रशान्तकिशोर। चुनावी माहोल शुरू भएसँगै बिहारमा जारी आफ्नो पदयात्रा स्थगित गर्दै दिल्ली गएर न्यूज च्यानलहरूमा अन्तर्वार्ता दिँदै उनले एनडीएले आरामपूर्वक बहुमतको आँकडा पार गर्ने दाबी गरिरहेका थिए। चुनाव नै शुरू भएपछि उनले भाजपाले नै ३०० पार गर्ने दाबी ठोकिरहेका थिए। केही राज्यमा भाजपाको सिट घटे पनि पश्चिम बंगाल, उडिसा आदिले त्यो पूर्ति गर्ने उनको विश्लेषण हुने गर्थ्यो।
आफ्नो दाबी अनुरूपकै आँकडा एक्जिट पोलहरूले पस्किएपछि उनले उत्साहित हुँदै एक्समा लेखेका थिए, “अबदेखि चुनाव र राजनीतिको कुरा गर्दा आफ्नो बहुमूल्य समय बेरोजगार पत्रकार, बडबोले नेता र सोसल मिडियाका स्वयम्भू विशेषज्ञका फजुलका गफ र विश्लेषणमा बर्बाद नगर्नुहोला।” उनको दाबी र अनुमान मतगणनासँगै मिथ्या साबित भएपछि मोदी सत्ताका आलोचकहरूले उनलाई ट्रोल गरिरहेका छन्। कुल आँकडा मात्र होइन पश्चिम बंगालमा भाजपाले तृणमूल कांग्रेसलाई पछि पार्ने उनको अनुमानले पनि हावा खाएको छ।
जित्ने निराश, हार्ने उत्सवमा
जनताले यस्तो जनादेश दिए कि आफ्नो नेतृत्वको गठबन्धनले बहुमतको आँकडा पार गरे पनि भाजपालाई हारेको जस्तो भएको छ भने गठबन्धन बहुमतको आँकडाभन्दा परै छुटे पनि कांग्रेस र ऊ नेतृत्वको गठबन्धनलाई जितेको जस्तो बनाइदिएको छ। एनडीएले २९३ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेको छ भने इण्डिया गठबन्धनले २३४ सिट जितेको छ। नौवटा दलसहितको इण्डियाको भन्दा ६ सिट बढी २४० त एक्लै भाजपाले जितेको छ। तैपनि भाजपाभन्दा कांग्रेससहित उसका साझेदार उत्साहित छन्। उत्सवै मनाइरहेका छन्।
मंगलबार साँझ भाजपा मुख्यालय पुगेका मोदी, गृहमन्त्री अमित शाहलाई स्वागत गर्दै जश्न मनाइए पनि उनीहरूको मुहारमा निराशा नै झल्किन्थ्यो। जबकि ९९ सिट जितेको कांग्रेसीमा चुनावै जितेको भाव पढ्न सकिन्छ। सन् १९८४ मा ५१४ स्थानमा भएको चुनावमै ४०४ सिटको रेकर्ड राखेको कांग्रेस ९९ सिटमै किन खुशी छ त?
चुनावी नतिजालाई वर्तमान राजनीतिक सन्दर्भमा हेरिनुपर्ने बताउने विश्लेषक योगेन्द्र यादव ४०० पारको नारामा अल्मलाइरहेको भाजपाले बहुमतबाट ३३ सिट पर हुनु पराजय नै भएको बताउँछन्। भाजपा निराश र कांग्रेस जश्नको मूडमा हुनुको एउटा कारण भाजपा एकल बहुमतबाट टाढा हुनु हो। सन् १९८९ देखि कुनै पार्टीको बहुमत नआएको भारतीय लोकसभामा एकैचोटी सन् २०१४ मा भाजपा एक्लैले बहुमत (२८२ सिट) जितेको थियो। सन् २०१९ मा थप सुधार गर्दै ३०३ को आँकडा छोएको थियो। गठबन्धनसहित चुनावमा गएको उसले एकल बहुमतको बावजूद गठबन्धनकै सरकार चलाएको थियो। भाजपा एक्लैले बहुमत ल्याउन नसक्ता जवाहरलाल नेहरूले गरेको ह्याट्रिक (सन् १९५२, १९५७ र १९६२ मा कांग्रेसको बहुमत) बराबरी गर्ने मौका चुकेको छ।
अब भाजपाको सरकार तेलुग देशम पार्टी (टीडीपी) र जनता दल युनाइटेड (जेडीयू)को वैशाखीमा चल्न बाध्य हुनेछ। फेरि दुवै पार्टी चुनावअघि मात्रै भाजपासँग जोडिएका हुन्। जेडीयूले भाजपासँग लामो समयदेखि बिहारमा गठबन्धन गरी सत्तासाझेदारी गरे पनि नेता नितिशकुमारले भित्र–बाहिर गरिरहने बानीका कारण पल्टुराम नामले चिनिन्छन्। टीडीपी पनि गठबन्धनमा जोडिएको हो। दुवै पार्टीको जनाधारमा मुस्लिम भोट उल्लेख्य रहेकोले पनि मोदीको साथ छाड्न बेर नलाग्न सक्छ नै, मोदीलाई यसअघि जस्तो हिन्दूत्वको एजेण्डा कार्यान्वयन गराउन सजिलो हुनेछैन। दुवै ‘सेक्युलटर’ पार्टी ठानिन्छन्।
मोदीलाई भाजपाले विश्वकै सबैभन्दा लोकप्रिय प्रधानमन्त्री आदि इत्यादी पगरी गुथाउँदै गएको भाजपा र त्यसका अन्धभक्तले मोदीलाई अब भगवानकै अवतार घोषणा गर्न मात्र बाँकी थियो। स्वयम मोदीले आफूलाई ‘परमात्माले पठाएको’ त घोषणा गरिसकेका थिए। चुनावी नतिजासँगै मोदीको अहंकार चकनाचुर भएको विश्लेषण गरिएको छ। उनको अवसानको यो ‘टर्निङ प्वाइन्ट’ हुने अडकल काटिएको छ। ठूलै अपेक्षा राखेर शंकाराचार्यहरूको विरोधका बावजूद मोदीले निर्माण सम्पन्नै नभइकन अयोध्यामा रामन्दिरको भव्य उद्घाटन समारोह त गराए, चुनावमा राम मन्दिर मुद्दै बन्न सकेन। अझ अयोध्या रहेको फैजाबादमै भाजपा उम्मेदवार पराजित भइदिँदा आलोचकहरूलाई स्वाद आएको छ। मोदी स्वयम बनारस भारतको लोकसभामा खासै ठूलो अन्तर नठानिने करिब डेढ लाख भोटले जिते।
मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराजसिंह चौहानले आठ लाखभन्दा बढीको मतान्तरमा जिते। बनारसमै यसअघि सन् २०१४ मा अरविन्द केजरीवाललाई पाँच लाखभन्दा बढी मतान्तरले जितेका मोदीले २०१९ मा ६ लाखभन्दा बढी भोटले विजयी भएका थिए। पूरै चुनावी क्याम्पेन ‘ब्राण्ड मोदी’को नाममा थियो। भोट पार्टी, उम्मेदवार नभई मोदीका लागि मागिएको थियो। अब ३०३ बाट २४० मा झरेपछि जिम्मेवारी पनि उनकै हुने भयो। ब्राण्ड मोदीको चमक पनि घटेको देखियो।
कांग्रेसले १०० को आँकडाधरी नछुँदा (साझेदार आरजेडीको विरोधका कारण पार्टीको टिकट नदिए पनि निर्दलीय जितेका पप्पु यादवलाई कांग्रेसले निष्काशन नगरी रायबरेली र अमेठीमा प्रचारमै परिचालन गरेकाले १०० सुनिश्चित छ) पनि कांग्रेस हुनु अस्वाभाविक छैन। लगालग दुई लोकसभामा आवश्यक १० प्रतिशत सिट जित्न नसक्ता कांग्रेसले प्रतिपक्षी नेता पनि बन्न पाएको थिएन।
इतिहासकै सबैभन्दा खराब प्रदर्शन गरेको सन् २०१४ को चुनावमा कांग्रेसले ४४ सिट जितेको थियो भने २०१९ मा ५२ सिट। यसपालि कांग्रेसले १८ प्रतिशत सिट हासिल गरी नेता प्रतिपक्ष सुनिश्चि पनि गरेको छ। यसअघि भन्दा दोब्बरकै छेउछाउ संख्यामै लोकसभा सिट जितेको कांग्रेसले यो चुनावसँगै ‘अच्छे दिन’ शुरू हुने अनुमान गरिएको छ। “बलियो हुने आत्मविश्वासै गुमाइसकेको कांग्रेसजन आत्मविश्वासले लबालब हुनेछन्,” कांग्रेसको उत्थान–पतनबारे किताबै लेखिसकेका विश्लेषक रासिद किदवई भन्छन्, “कांग्रेस बलियो हुने दिशातिर लागेको छ।”