Wednesday, July 24, 2024

-->

‘प्रदूषणले मानव स्वास्थ्य र जलवायुमा उथलपुथल ल्याएको छ’

‘हिजोआज काठमाडौँमा पानी परिसकेपछि पनि यहाँको मौसम सफा हुन सकेको छैन। किन त? पानी परेपछि वाफबाट जुन कुहिरो बन्छ, त्यो वायु प्रदूषणका कारण लामो समयसम्म बसिरहँदा यस्तो भएको हो।’

‘प्रदूषणले मानव स्वास्थ्य र जलवायुमा उथलपुथल ल्याएको छ’
महेश्वर रूपाखेती।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) को सातौँ अध्ययन प्रतिवेदन निर्माण समितिको कार्यगत समूह–१ का उपाध्यक्ष रहेका महेश्वर रूपाखेती नेपालको तर्फबाट आइपीसीसीमा पुग्ने पहिलो नेपाली वैज्ञानिक हुन्।

जर्मनीस्थित ‘रिसर्च इन्स्टिच्युट फर सस्टेन्याबिलिटी’मा कार्यरत रूपाखेतीले दक्षिण एशियाको जलवायु परिवर्तन र वायु प्रदूषणमा काम गर्दै आएका छन्। उनी हिमाली क्षेत्रमा वायु प्रदूषणले पार्ने प्रभाव र असरसँगै जलवायु परिवर्तनको भौतिक विज्ञानबारे अनुसन्धानमा दख्खल राख्छन्। नेपालमा जेठ ८ र ९ गते भएको हिमाल, मानिस र जलवायु विषयक अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी रूपाखेतीसँग उकालोका मुकेश पोखरेलले वायु प्रदूषण र जलवायुका विषयमा कुराकानी गरेका थिए। प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारसंक्षेपः

वायु प्रदूषणलाई कसरी बुझ्ने? 
हाम्रो हावा विभिन्न रसायनहरू मिलेर बनेको हुन्छ। हावामा ८० प्रतिशत नाइट्रोजन हुन्छ। बाँकी २० प्रतिशतमध्ये १९ प्रतिशत अक्सिजन हुन्छ। बाँकी भएको एक/डेढ प्रतिशतमा कार्बन मोनोक्साइड, नाइट्रोजन अक्साइड लगायतका विभिन्न रसायनहरू हुन्छन्। केही रसायनहरू वनस्पतिबाट निस्कन्छन्। केही रसायन इन्धन बाल्दा निस्कन्छन्। इन्धन दुई किसिमको हुन्छ। जैविक इन्धनमा कोइला, ग्यास, डिजेल, पेट्रोल इत्यादि पर्छन्। त्यसलाई बाल्दा एक खालको रसायन निस्कन्छ। वायु मण्डलमा रसायनको जुन मात्राले मानिसको स्वास्थ्यलाई असर गर्न थाल्छ त्यसैलाई हामी प्रदूषण भन्छौँ।

रसायन तथा ग्यासहरूको नापजाँच कति सम्भव हुन्छ?
संसारभर हजारौँ रसायनहरू हुन्छन्। सबैको नापजाँच गरेर त्यसको रेकर्ड राख्न सकिन्न। मुख्य–मुख्य ६ वटालाई नापिन्छ। एकथरी ग्यास हुन्छ, अर्कोथरी पार्टिकल हुन्छ। पार्टिकलको विभिन्न साइज हुन्छ। त्यसमध्येको एउटालाई पीएम २.५ भनिन्छ। कपालको गोलाई नै हामी हेर्न सक्दैनौँ। विभिन्न किसिमका ग्यासहरूको प्रदूषण त्यसभन्दा सूक्ष्म तहको हुन्छ। ग्यासमा सल्फर अक्साइड, कार्बन मोनोक्साइड, नाइट्रोजन अक्साइड, एमोनिया, ओजन र पीएम १० र २.५ लाई मनिटरिङ गर्ने गरिन्छ। हामीले दैनिक क्रियाकलाप गर्दा यी ग्यासका अतिरिक्त अरू नयाँ–नयाँ रसायनहरू निस्कन्छन्। 

उदाहरणका लागि जैविक इन्धन प्रयोग गर्दा यी मात्र नभई अरू ग्यासहरू पनि निस्कन्छन्। त्यसलाई हामी ग्रूप अफ कार्बन भन्छौँ। त्यो पोलिसाइकल हाइड्रोम्याटिक एरोकार्बन (पीएएच) हो। त्यसमा १७ देखि २०/२१ वटा ग्यासलाई नापिन्छ। ती ग्यास क्यान्सरका कारण हुन् जुन कुरा प्रमाणित भइसकेको छ। कुनै पनि देशको नापजाँच गर्ने क्षमता, इच्छा तथा जनशक्ति अनुसार के–के नापजाँच गर्ने हो, त्यसअनुसार गर्न सकिन्छ। ती ग्यासहरूको पार्टिकलको मात्राका आधारमा वायु प्रदूषण भनिएको हो। 

अरू कारण पनि छ कि? 
विभिन्न कारणले वायु प्रदूषण हुन्छ। प्राकृतिकरूपमा पनि यी रसायनहरू निस्कन्छन्। बोटविरूवाबाट निस्कन्छ। हावाले धुलो उडाउँछ। समुद्रमा पानीको थोपा माथि हावामा उडेपछि सुक्छ। सुकेपछि नुन हुन्छ। नुनको धुलो हुन्छ। नेपालमा नभए पनि मरूभूमि भएका ठाउँमा हावाले धुलो मज्जाले उडाउँछ। कतिपय ठाउँमा ज्वालामुखी विस्फोट हुन्छ। यी प्राकृतिक कारणहरू भए जसले प्राकृतिकरूपमा वायु प्रदूषण गराउँछ। 

त्यसबाहेक मानिसहरूले गर्ने उद्योगधन्दा सञ्चालन र सवारीसाधनको प्रयोग, खाना पकाउने लगायतका काममा जैविक इन्धन अथवा वायोमास प्रयोग गर्दा त्यसबाट पार्टिकल्सहरू निस्कन्छन्। त्यसको मात्रा बढ्दै गएपछि विकराल रूप लिन्छ। कुनै क्रियाकलाप दैनिक र वर्षैभरि भइरहन्छ। जस्तै, खाना बनाउने काम त दैनिक हुन्छ। कुनै उद्योग १२ महिना चल्छ। इँटाभट्टा वर्षैभरि चल्दैन। जंगलको आगलागी र कृषिबालीका बोटहरू जलाउने काम पनि निश्चित समयमा भइरहेका हुन्छन्। 

मनसुनको चार महिनाको अवधिमा एक वर्षमा हुने वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ। हाम्रो मनसुन चक्रले गर्दा करिब आठ महिना सुख्खा हुन्छ। त्यो समय एकातिर सुख्खा हुन्छ भने अर्कोतर्फ त्यही बेला पाकिस्तान, बंगलादेश, भारत लगायतका देशमा इँटाभट्टाहरू चल्छन्। त्यो समयमा ठूलो मात्रामा विभिन्न ग्यासहरू उत्सर्जन हुन्छन्। त्यसले पनि नेपालमा प्रदूषण बढाउन भूमिका खेल्छ। दक्षिण एशियामा यातायातका साधनहरूको प्रयोग एकदमै उच्च गतिमा बढिरहेको छ । उत्सर्जनका लागि केही मात्रामा त्यसको पनि भूमिका छ। डढेलो त पहिलादेखि लाग्दै आएको हो। 

जलवायु परिवर्तनले केही प्राकृतिक चक्रहरूलाई प्रभाव पार्‍यो। ती प्राकृतिकरूपमा चल्दै आएका चक्रहरूको गति, क्षमता, मात्रालाई बढाइदिँदा त्यस्ता घटनाहरू पनि छिटो छिटो हुन थाले। उदाहरणका लागि म बच्चा हुँदा वर्षामा एक हप्तादेखि १५ दिनसम्म झरी पथ्र्यो। तर अहिले त्यस्तो झरी बिरलै मात्र अनुभव गर्न पाइन्छ। एकदम छोँटो समयमा ह्वार्र पानी पर्ने। त्यसले गर्दा प्रकोपका घटनामा वृद्धि भए। 

नेपाल र त्यसमा पनि खासगरी काठमाडौँमा जुन खालको प्रदूषण हुन्छ, त्यसमा नेपालको भूमिका मात्र छ कि बाह्य कारणले पनि काम गरेको छ? 
यो सिजनअनुसार हुन्छ। जस्तो नेपालमा आगो लागेर निस्कने धुँवा कहिलेकाहीँ तिब्बतसम्म पुगेको हुन्छ। कहिले भारतसम्म पुग्छ। सुख्खा सिजनमा नेपालमा पश्चिमी वायु चल्छ। त्यसबाहेक भारत र नेपालमा यही समयमा गहुँको छ्वालीमा आगो लगाइन्छ। पश्चिमी वायुले त्यसलाई नेपालसम्म ल्याउँछ। नेपालमा पनि बाली भित्र्याएपछि आगो लगाउने प्रचलन बढेको छ। यो पनि प्रदूषणको कारण हो।

प्रदूषणले मानिसको स्वास्थ्यबाहेक अन्य क्षेत्रमा के कस्ता असर पारिरहेको छ? 
दक्षिण एशियाको सन्दर्भमा वायु प्रदूषणले १२/१३ वटा कुरालाई असर पार्छ। मुख्यतः यसले मानव स्वास्थ्य र जलवायुमा नै उथलपुथल ल्याएको छ। सबैभन्दा बढी मानवको स्वास्थ्यमा असर पारेको छ। तुँवालोका कारण कतिपय अवस्थामा उडानहरू रद्द भएका छन्। त्यसको असर अर्थतन्त्रमा पर्छ। प्रदूषणले कृषिको उत्पादकत्व घटाउँछ। मौसम कस्तो हुने भन्ने कुरा पनि प्रदूषणको मात्रामाथि नै निर्भर भइरहेको छ। 

मौसमलाई प्रदूषणले कसरी असर पार्छ? 
उदाहरणका लागि हिजोआज काठमाडौँमा पानी परेको छ। पानी परेपछि त यहाँको मौसम सफा हुनुपर्ने हो। तर हुन सकेन। किन त? पानी परेपछि वाफबाट जुन कुहिरो बन्छ, वायु प्रदूषणका कारण त्यो लामो समयसम्म बसिरहन्छ। अर्को उदाहरण हिउँदको शीतलहर हो। सन् १९५५ मा भारतमा वर्षभरमा पाँच दिन मात्र हुस्सु लागेको रेकर्ड थियो। तर अहिले वर्षमा ५५ दिन हुस्सु लाग्छ। पहिला सानो ठाउँमा हुस्सु लाग्थ्यो, केही समयपछि उडेर जान्थ्यो, सकिन्थ्यो। अहिले त पाकिस्तानदेखि बंगलादेशसम्म पूर्णरूपमा महिनौँसम्म हुस्सु लाग्छ। यस्तो हुनुमा प्रदूषणकै भूमिका छ। प्रदूषण हुँदैनथ्यो भने हिउँदमा हुस्सु र कुहिरो त्यति लामो समयसम्म बस्दैनथ्यो। 

जलवायुमा पनि असर गर्छ? 
हो, प्रदूषणले जलवायुमा पनि असर पार्छ। कालो कार्बन लगायतले हावालाई तातो गराउँछ। अहिले पृथ्वीको तापक्रम वृद्धि गराउनमा पनि प्रमुख भूमिका कार्बनडाई अक्साइडको छ। दोस्रोमा कालो कार्बन हो। यसको धुलोका कणहरूले माथिबाट आएको प्रकाशलाई सोस्छ। त्यसले वायुमण्डललाई तातो गराउँछ। कालो कार्बन हिउँमा गएर टाँसियो भने त्यसले हिउँलाई नै कालो बनाउँछ। कालो भएपछि हिउँले सूर्यको प्रकाश बढी लिन्छ र हिउँ पग्लिन्छ। कुनै पनि इन्धनलाई बाल्दा त्यो शतप्रतिशत बल्दैन। इन्जिन अथवा दाउरा बाल्दा सबै इन्धन नबलेपछि त्यहाँ कालो धुलो निस्कन्छ। वायुमण्डलमा छ भने त्यसले त्यहाँ तातो गराउँछ। हिउँरेखामा रहेछ भने त्यसले कालो बनाउँछ र हिउँ पगाल्न भूमिका खेल्छ। 


सम्बन्धित सामग्री