Tuesday, June 25, 2024

-->

कांग्रेस नेतृत्व: इतिहासको मात्रै कुरा नगर, भविष्यको योजना देखाऊ

कांग्रेसका केही नेता भ्रष्टाचारमा मुछिँदा समग्र पार्टी नै बदनाम भएको छ। यसमा नेतृत्वको पनि कमजोरी छ, अभियोग लागेपछि निलम्बन गर्नु साटो संरक्षण गरिन्छ। यसले सिंगो पार्टीको गरीमा कमजोर बनाउँछ।

कांग्रेस नेतृत्व इतिहासको मात्रै कुरा नगर भविष्यको योजना देखाऊ

भर्खरै इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन भयो। राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यो चुनाव ठूलो प्रतिष्ठाको विषय थियो। एमाले पनि एक किसिमले पार्टीका सिनियर नेताको क्षेत्र जोगाउने कि गुमाउने भन्ने कुराले चिन्तित थियो। तर, कांग्रेसले उपनिर्वाचनलाई त्यति चिन्तित भएर लिएको पाइएन। महासमितिको बैठकपछि नेपाली कांग्रेसले चुनावपूर्व गठबन्धन नगर्ने निर्णय गरिसकेको थियो। त्यसो हुँदा आफूलाई परीक्षण गर्ने मैदानका रूपमा कांग्रेसले यो उपचुनावलाई लिएको बुझिन्छ। महासमितिको बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भए पनि कांग्रेस एक्लै चुनाव जित्न सक्छ भन्ने कुरा स्थापित गर्नका लागि पार्टी नेतृत्व त्रीणमूल तहसम्म भावनात्मक रूपमा लागेजस्तो देखिएन। यसलाई कांग्रेसको नेतृत्वको असक्षमताको रूपमै बुझ्न जरुरी छ। चुनावमा अरू पार्टीसँग गठबन्धन गर्नु भनेको सिद्धान्ततः गलत कुरा पनि हो। 

तर, एमालेले चुनावलाई भावनासँग जोडेको थियो। अहिलेका राजनीतिक दलहरूलाई गाली गरेर संसद्मा चौथो स्थान हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा ठूलो प्रतिष्ठाको विषय नै बनाएर इलाममा उत्रिएको थियो। तर परिणाम उत्साहजनक हुन सकेन। 

इलामलाई प्रतिष्ठाको विषय नबनाए पनि बझाङको प्रदेशसभा त नेपाली कांग्रेसका प्रदेशसभा सदस्यको निधन भएपछि हुन लागेको उपचुनाव थियो। त्यहाँ हार्नु प्रदेशसभामा एक सिट गुमाउनु थियो। तर पनि कांग्रेसको शीर्ष नेतृत्व त्यसमा संवेदनशील बनेन। कांग्रेस एक्लै लड्दा पनि मुख्य प्रतिस्पर्धीका रूपमा स्थापित हुन सक्यो। उपचुनावको राम्रो पक्ष त्यही रह्यो किनभने विगतजस्तो यस पटक नेपाली कांग्रेसभित्रका असन्तुष्टिहरू बाहिर आएनन्। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सामूहिक नेतृत्वको अभ्यास गरेकाले पनि उम्मेदवार छनोटमा केही छिनाझम्टी भएकै हो। 

यही परिणामकै आधारमा कांग्रेसले हार मान्नुपर्ने भने देखिँदैन किनभने कांग्रेसले गठबन्धन नगर्ने कुरा महासमितिको बैठकबाट निर्णय गरेकै कारण नयाँ सत्ता समीकरण बनेको चर्चाबीच माओवादी र एमाले मिलेर उम्मेदवारी दिए। त्यसो हुँदा, पक्कै पनि कांग्रेस मतका हिसाबमा केही पछाडि थियो। तर, एमाले र माओवादी मिल्दा पनि नेपाली कांग्रेसले २०७९ मा पाएको मत जोगाउन सफल भएको छ। यसलाई पनि कांग्रेसले सकारात्मक पुँजीको रूपमा लिनुपर्छ।

यसअघि गत वर्ष तनहुँ र चितवनमा भएको उपनिर्वाचनका क्रममा कांग्रेसले तनहुँलाई एकदमै ठूलो प्रतिष्ठाको विषय बनाएको थियो। त्यतिबेला प्रतिष्ठाको विषय बनाउँदा पनि कांग्रेसले उक्त सिट गुमाउन पुगेको थियो। त्यसैले यस पटक पार्टी सभापति शेरबहादुर देउवालाई ग्राउन्डमा आफू जाँदाभन्दा पनि नजाँदा फाइदा पुग्छ कि भन्ने मनोभावनाले काम गरेको रूपमा पनि यस पटकको चुनावलाई बुझ्न सकिन्छ। इलाममा महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमान्डर बनाइयो भने बझाङमा केन्द्रीय सदस्य एनपी साउदलाई जिम्मा दिइएको थियो। तर, अन्ततः दुवैतिरका कमान्डर असफल दरिए।  

अहिले चुनाव परिणामलाई कांग्रेसले चुनाव कसरी लड्ने भन्ने योजना नै बनाउन नसकेको रूपमा पनि लिनुपर्छ। युवा महामन्त्रीहरूमा पनि समस्या छ। २०१५ सालको चुनावमा बीपी कोइरालाको अनुहारका कारण कांग्रेसले चुनाव जितेको थियो भने २०४७ सालको संविधान जारी भएपछि भएको चुनावमा संघर्षबाट भर्खरै खुला भएको पार्टीका कारण उभारका कारण कांग्रेसले बहुमत हासिल गरेको थियो। 

कम्युनिस्टहरू 'क्याडर बेस्ड' भएकाले पार्टी अनुशासनको विषय कडा रूपमा लागू हुन्छ। तर मास बेस्ड पार्टी भएकाले कांग्रेसको अभ्यास फरक हुने गरेको छ। अहिलेको सन्दर्भमा कांग्रेसमा अनुहार मात्र देखाएर चुनाव जित्न सक्ने 'करिस्मेटिक' नेतृत्व पनि छैन। आफ्नो निर्वाचन क्षेत्रमा आफैँ चुनाव जित्न हम्मेहम्मे पर्ने नेताहरू छन्। एमाले वा माओवादीझैँ नेतृत्वले तोकेपछि उम्मेदवारको प्रचारमा लागिहाल्ने पार्टी पनि नेपाली कांग्रेस होइन। कतिपय सैद्धान्तिक सवालमा सहमति भएको अवस्थामा मात्र रुख चुनाव चिन्हमा भोट हाल्ने कार्यकर्ता भएको पार्टी हो यो। 

त्यसो हुँदा 'टावरिङ फिगर'को प्रभावका कारण देशका अन्य निर्वाचन क्षेत्रमा जनताले पार्टीलाई भोट हाल्लान् भन्ने अवस्था हुँदैन। कांग्रेसमा नेताहरू नभएकै होइनन्, राम्रा नेता छन्। तर राष्ट्रव्यापी ह्विम खडा गर्न सक्ने नेतृत्व छैन। त्यसो हुँदा सर्वत्र साना–साना प्रयासले पार्टीलाई जिताउने प्रयास गर्नुपर्छ कांग्रेस नेता कार्यकर्ताले। यद्यपि, विगतभन्दा यस पटक इलाममा कांग्रेसको संगठन परिचालन अब्बल रहेको चर्चा छ। त्यसो हुँदा, कांग्रेसले अब आफ्नै बलबुतामा आफ्नो निर्वाचन क्षेत्र जित्न सक्ने थुप्रै नेता बनाउनु पर्छ।

कांग्रेसको सबैभन्दा ठूलो पुँजी नै प्रजातन्त्र थियो। प्रजातन्त्रका विरुद्धमा कांग्रेस जाँदै जाँदैन भन्ने कुरामा जनता 'कन्भिन्स' छन्। कांग्रेसले मुलुकको लोकतन्त्र जोगाउन जस्तोसुकै मूल्य चुकाउन तयार हुने भएकाले नै अहिलेसम्म जनताले पत्याएका पनि हुन्। तर, नयाँ संविधान जारी भएपछि अर्थात् कम्युनिस्टहरू हाबी हुँदै गएपछि कांग्रेसलाई चुनौती थपिएको कुरा स्विकार्नुपर्छ। अहिले पनि प्रणालीमा खतरा देख्नेबित्तिकै जनता र अन्य दलसमेत कांग्रेसतर्फ नै फर्कन्छन्। यसको पुष्टि केपी ओलीले दुई दुई पटक असंवैधानिक रूपमा संसद् विघटन गर्दा सबै शक्तिले कांग्रेसलाई अघि सारी जोगाउन पहल लिएकोबाट पनि बुझिन्छ। 

कांग्रेसका नेताले अब इतिहासको मात्रै कुरा गर्ने होइन, भविष्यको योजना पनि प्रस्तुत गर्नुपर्ने हुन्छ। दोस्रो जनआन्दोलनपछि जन्मिएकाहरू अहिले बालिग भए। कुनै पार्टीको गर्विलो इतिहासभन्दा पनि भविष्यमा कुन राजनीतिक दलले कस्ता काम गर्छन् भन्ने योजनाका आधारमा भोट हाल्ने पुस्ता हो त्यो। त्यस्तै पुस्ताको निर्माण हुँदैछ अहिले। 

पक्कै पनि, कांग्रेसले २००७ सालमा राणा शासनको अन्त्यका लागि महत्त्वपूर्ण भूमिका खेल्यो, पहिलो निर्वाचित संसद‍्बाट सरकारको नेतृत्व गर्‍यो, २०४७ सालको संविधान बनायो, २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल बनाएर गणतन्त्र स्थापना गर्‍यो। संविधानसभाको चुनाव गराई कम्युनिस्टलाई सत्ता हस्तान्तरण गर्दा संविधान जारी हुन नसकेपछि दोस्रो संविधानसभाको निर्वाचनपछि बनेको कांग्रेस सरकारले संविधान जारी गरेर मुलुकमा स्थिरता प्रदान गर्‍यो। यी कुरा युवा पुस्तामाझ लैजाँदै नलाने होइन, तर त्यसको मार्केटिङ नयाँ ढंगले गर्नुपर्ने देखियो। 

एकछिनका मानौँ, नेपाली कांग्रेस पार्टी विघटन गरियो। यसो भयो भने आममानिसको जीवनमा के फरक पर्छ भन्ने कुराको जवाफ कांग्रेसले दिनुपर्छ। त्यसैले, अब आममानिसको गरिमा, विकास र उत्थानका लागि कांग्रेसले यो यो काम गर्छ भन्ने मिसन र भिजन लिएर कांग्रेस अघि बढ्नुपर्छ। अहिले कांग्रेसका नेतालाई तपाईं किन सांसद बन्न खोज्नुभएको भन्दा ‘मन्त्री हुन’ उत्तर आउने सम्भावना ज्यादा छ तर यसरी पार्टी चल्दैन। 

मन्त्री किन हुनेभन्दा पनि भएपछि के गर्ने भन्ने कुराको उत्तर दिने बनाउन सकिएन भने पार्टीका लागि अझै चुनौतीपूर्ण दिन आउने छन्। कांग्रेसले चाहेजस्तो शासन व्यवस्था हो यो र यसमा उसले पटक–पटक सरकारको नेतृत्व गरिसकेको छ। त्यसैले यही प्रणालीमा रहेर या यसलाई अझ उन्नत बनाएर नेपाली कांग्रेसले 'डेलिभरी' गर्न जरुरी छ। हामीले धेरै दियौँ इतिहासको बखान, अब भने हामीले विसं. २०८४ मात्रै होइन, २१०० मा पुग्दा यो काम गर्नेछौँ भन्न सक्नुपर्नेछ। यस्तो अभ्यास विश्वका अन्य देशमा पनि हुने गरेका छन्। सत्तामा बस्दाबस्दै बोधो भएको नेपाली कांग्रेसलाई सुधार गर्न र निखार ल्याउन आम जनतासँग सुझाव लिएर अघि बढ्नुपर्छ, जसको अभ्यास हाम्रा केही नेताले गरिरहनुभएको पनि छ। 

दुःखको कुरा के भने कांग्रेसभित्र एकअर्काको आलोचना र खिचातानीका लागि समय बढी खर्च भएको छ। अब के गर्ने भन्ने कुरामा कांग्रेस 'रिफोकस' हुन जरुरी छ। त्यसैले अब सांगठनिक संरचनामा फेरबदल गर्दै अघि बढ्नुपर्छ। सबै कम्युनिस्ट दलको एउटै भोट बैंक हो। त्यसकारण उनीहरू को र कहाँ कतिबेला मिल्छन् थाहा हुँदैन। त्यसो हुँदा आफ्नै बुतामा संगठन बलियो बनाएर २०८४ सालमा बहुमतका साथ सत्ता सम्हाल्ने पार्टीका रूपमा उदाएर जनतालाई डेलिभरी दिनुपर्छ। 

कांग्रेसको अर्को मुख्य चुनौती भनेको कांग्रेसलाई भ्रष्टाचारीको पार्टी भनेर लाग्ने  आरोप पनि हो, जबकि कांग्रेसकै पहलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनेको थियो। त्यसो हुँदा कांग्रेसका केही नेता भ्रष्टाचारमा मुछिँदा समग्र पार्टी नै बदनाम हुने अवस्था आएको छ। यसमा कांग्रेस नेतृत्वको पनि कमजोरी छ, कुनै पनि अभियोग लाग्नासाथ पार्टीबाट निलम्बन गर्नु साटो गुटगत राजनीतिका आधारमा संरक्षण गर्ने गरिन्छ। यसले सिंगो पार्टीको गरीमा कमजोर हुने गरेको छ। 

बीपी कोइरालाले प्रवासमा बसेर कांग्रेस पार्टी स्थापना गरेको इतिहास भए पनि अहिले प्रवासमा नेपाली कांग्रेसका संगठन भद्रगोल अवस्थामा छन्। त्यस्तै श्रमिकको रूपमा विभिन्न देशमा लाखौँ नेपाली काम गरिरहेका छन्, तिनका बारेमा कांग्रेसले संसद् र पार्टीमा कुरा नउठाएको भन्दैसमेत आलोचना हुने गरेको छ। उनीहरूका मुद्दा उठाउने सवालमा अरू पार्टी नै प्रभावकारी देखिँदा यहाँबाट पनि पार्टीलाई थप क्षति भएको छ। 

अब कांग्रेसले जित्यो भने के हुन्छ र जितेपछि के गर्ने भन्ने प्रश्नको जवाफ लिएर कांग्रेस अघि बढ्नुपर्छ। स्थानीय सरकारको नेतृत्वमा कांग्रेसीहरू धेरै ठाउँमा छन्। ती ठाउँमा उनीहरूले गर्ने काममा पार्टीले इमानदार तरिकाले सघाएर तिनलाई सफल बनाउँदै गर्दा भविष्यका चुनाव पनि पार्टीका लागि सफल हुँदै जान्छन् भन्ने कुरा बुझाउनुपर्छ। यिनै प्रयत्नमार्फत कांग्रेसको नेतृत्व जनताप्रति बढी जवाफदेखि छ भन्ने कुरा बुझाएर त्यहीअनुसार काम गर्न सकियो भने २०८४ सालको चुनावी नतिजाका लागि टाउको दुखाउनु पर्नेछैन।

(नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री पण्डित अमेरिकाको बाप्टिस्ट हेल्थ साइन्स युनिभर्सिटीमा भौतिकशास्त्र प्राध्यापन गर्छन्।)


सम्बन्धित सामग्री