संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त अरब इमिरेट्सको दुबईमा यही नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा पृथ्वीको बढ्दो तापक्रम र जलवायु परिवर्तनका कारण पग्लिँदै गएका हिमालको अवस्था प्रमुखताका साथ उजागर गर्न अघिल्लो हप्ता नेपाल भ्रमण गरे। उनले नेपालको संसद्मा हिमालको हिउँ जोगाउन नेपालका लागि विश्व समुदायसँग पर्याप्त सहयोगको अपिल गर्ने वचन पनि दिए।
महासचिव गुटेरेसको हिमाली गाउँपालिका खुम्बु पासाङ ल्हामुको भ्रमण दौरान सँगै रहेका नेपालका सरकारी अधिकारीले दिएको सार्वजनिक वक्तव्यअनुसार नेपालले कोप–२८ को सम्मेलनमा हिमाल र पर्वतीय मुद्दाका साथै जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि नोक्सानीका लागि कोषको व्यवस्थापन, कार्बन उत्सर्जन कटौती र समावेशीलगायत सवाल प्राथमिकतासाथ उठाइने छ। अधिकारीको अभिव्यक्तिमा कतै पनि तराईका जिल्लामा परेको जलवायु परिवर्तनका समस्याप्रति संवेदनशीलता र चासो भेटिएन। अधिकारीका अनुसार कोप–२८ मा ‘कार्बन घटाउ, हिउँ बचाऔँ’ वरिपरि छलफल केन्द्रित रहने छ।
जलवायु परिवर्तनको कारण
मानवीय क्रियाकलापले गर्दा वातावरणमा कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन वातावरणले सोस्न सक्ने मात्राभन्दा बढी हुँदा त्यसको अतिरिक्त परिणाम वातावरणमा नै बसिरहन्छ। त्यसले वातावरण र धर्ती सतहको तापमानमा वृद्धि हुन्छ। वातावरणमा कार्बन डाइअक्साइड अधिक मात्रा सञ्चित भएपछि विकिरण रक्षा कवच-ओजन तहमा अन्टार्टिकामाथि सन् १९८५ मा प्वाल देखा पर्यो र त्यसपछि विश्व वैश्विक वातावरणको विषयप्रति संवेदनशील बन्न थाल्यो।
वातावरणको तापमान वृद्धिको प्रत्यक्ष असर पहाड, समुद्र र हिमशृंखलामा सहजै देखिन्छ। बढ्दो तापले हिउँ पग्लिई धर्ती सतहमा रहेका समुद्रको पानीको पनि वृद्धि हुन्छ, जसले समुद्री तटका जमिन जलमग्न हुने प्रक्रिया पनि नजानिँदो पाराले बढिरहेको हुन्छ। धर्ती तातेपछि धर्ती सतहले आफूलाई चिसो र नरम राख्न जमिनमुनिको पानी पनि सोस्न थाल्छ। परिणामस्वरूप, जीवजन्तु चराचुरुंगी, रुख र अन्य वनस्पतिलाई चाहिने पानी अभाव हुन थाल्छ।
भूतलमा पानी कम भएपछि धर्तीको तापमान वृद्धि हुन्छ र जीवन-जगत्मा त्यसको प्रत्यक्ष असर देखिन थाल्छ। एउटा सीमा पार गरेपछि बढ्दो तापमानको असरले गर्दा मौसमको चक्रमा पनि बदलाव आउन थाल्छ र त्यसैलाई जलवायु परिवर्तन भनिएको हो। जलवायुमा भएका नकारात्मक परिवर्तनले आँधी–तुफान, अतिवृष्टि, अनावृष्टि, बिनामौसमको वर्षा, अत्यधिक जाडो, अत्यधिक गर्मी र हिमपातजस्ता घटना हुन्छन्।
तराईमा जलवायु परिवर्तनका असर
पग्लनका लागि तराईमा हिउँ हुँदैन, तर हामी सबै एउटै पृथ्वीमा बस्ने भएका कारण जलवायु परिवर्तनका असर तराईमा पनि देखिने नै भयो। सिरहा जिल्लाको लहान नगरपालिकामा यस वर्षको गर्मी र बर्सातको मौसममा जलवायु परिवर्तनका असर प्रत्यक्ष महसुस गरेँ। यो अनुभव पछिल्ला वर्षहरूभन्दा नितान्त फरक रह्यो र यसले स्थितिको गम्भीरता बुझ्न सकिन्छ। अब जेठ, असार, साउन र भदौमा समेत मधेशमा बस्ने हिम्मत ममा कमजोर भइसकेको महसुस गर्न थालेको छु। यस वर्षका अनुभव म कहिल्यै बिर्सनेछैन।
२०३६ सालदेखि मैले लहानलाई नजिकबाट देखेको र भोगेको छु।
यत्तिका वर्षपछि यसपालि पहिलो पटक लहानमा म बस्ने घरमा पानीको चापाकल सुक्यो। सुक्ने प्रक्रिया जेठको अन्त्य र असारको प्रारम्भमा शुरू भयो र असारको मध्यसम्म आउँदा दिउँसो कलमा पानी पूर्ण रूपमा बन्द भयो। अलार्म लगाई राति दुई बजे उठेर मोटर चलाई कलबाट आफू र गाईहरूका लागि ड्रमहरूमा पानी संग्रह गर्न थालेँ।
मेरो घरमा झैँ आसपास जताततै पानीको अभाव देखिन थाल्यो। लगभग तीन हप्तासम्म यो क्रम जारी रह्यो। पानी अभावसँगै मानिसहरूले धमाधम लहान नगरपालिकाको खानेपानीको लाइन जडान गराउन थाले। किसानहरू मोटरबाट पानी तानी खेतको सिँचाइ गरी धान रोप्न लागे। स्थानीय जानकारहरूले भने, 'साउन १५ गतेपछि मात्र जमिनमुनिको पानी सतहमाथि आउँछ।' तथ्य के हो भने प्रत्येक वर्ष सालाखाला पाँच फिटका दरले पानीको सतह तल झर्दै छ। नभन्दै वर्षाको आगमन ढिलो भयो र संकटको अवधि थप लम्बियो।
यसैबीच गाईगोरुमा लम्पी स्किन रोगको कहर शुरू भयो। पशुहरू कष्ट भोग्दै मर्न थाले। कोरोनाको कहर खपेका गृहस्थ र किसान अब लम्पी स्किनको मारमा परी थप आर्थिक क्षति र भावनात्मक पीडाको संघारमा थिए। साउनको अन्ततिर वर्षा भएपछि त चारैतिर पानी नै पानी र हिलो भयो। मोटरले तान्ने क्षमताभन्दा बढी पानी जमिनमुनिबाट आउन थाल्यो। यो अतिवृष्टिकै परिणाम हुनुपर्छ।
लम्पी स्किनका कारण सुख्खा याम
लम्पी स्किन भाइरस पहिला अफ्रिकाको जाम्बियामा भेटिएको थियो र अब विश्वभर घरपालुवा पशुहरूमा यो रोग फैलिँदै गइरहेको छ। केही अनुसन्धानकर्ताले पशुमा हुने यस रोगको सम्बन्धसमेत जलवायु परिवर्तनसँग हुनसक्ने बताएका छन्।
विभिन्न समयमा देखिने नयाँ-नयाँ जीवाणु र कीटाणुबारे वैज्ञानिकहरूले 'कुनै प्रकारका परिवर्तनले ठोस धर्ती या वा बरफका दबिएका नयाँ पत्रहरू निस्कनासाथ ती पत्रहरूमा सुषुप्त अवस्थामा रहेका जीवाणु वा भाइरस सक्रिय भएपछि धर्तीका जीवजन्तुहरू नयाँ–नयाँ रोगको निशानामा पर्न सक्छन्' भनेका छन्। यसरी, जलवायु परिवर्तनको मारमा मानिस मात्र होइन, पशुसमेत पर्न थालेका छन्। कृषिमा आधारित समाजमा यस्ता पशुधनमाथि नकारात्मक असर दूरगामी प्रभावको हुनसक्छ।
यस पटक चुरे-भावर क्षेत्रका अधिकांश जिल्लामा जनता अत्यधिक गर्मी, खानेपानीको अभाव र लम्पी स्किनबाट आक्रान्त रहे। आउने वर्षहरूमा पनि यस्तो स्थिति दोहोरिएला जस्तो लाग्छ।
तर जलवायु परिवर्तनका असरहरूबाट आक्रान्त तराईका जनताको समस्याले काठमाडौँलाई कत्तिको चिन्तित तुल्याएको छ? महासचिव गुटेरेसको भ्रमण दौरान कोप–२८ सम्मेलनमा नेपालले प्रस्तुत गर्ने अजेन्डाका विषयवस्तु सुन्दा जलवायु परिवर्तनको विषयले तराईलाई छोएको देखिँदैन, तर महासचिवको वक्तव्यमा भने तराई छ, तर त्यो लुकेको छ। स्मरणीय छ, तराईका २४ जिल्लामा त्यहाँका मूलबासी मात्र नभएर अन्य क्षेत्रबाट बसाइँ सरेकाहरूसहित देशका लगभग ५० प्रतिशत जनता बस्छन्।
गुटेरेसले हिमालको बरफ अहिलेकै गतिमा पग्लिँदै जाँदा तल्लो तटीय देश र समुदायहरू सदाका लागि मेटिने बताए। गुटेरेसको यो कथन अत्यन्त महत्त्वपूर्ण छ। गुटेरेसले 'देश' शब्दको प्रयोग गरे। देश भन्नेबित्तिकै हामी छुट्टै सिमाना, जनता र सरकार भएको राजनीतिक वर्गीकरणलाई बुझ्छौँ। नदी अथवा समुद्रको किनारलाई तट बुझ्छौँ। तर एउटा राजनीतिक सिमानाभित्र पनि भूगोल र पर्यावरणीय भिन्नताका कारण धेरै देश र तट हुन्छन्। वैज्ञानिक परिभाषामा एउटा विशेष पर्यावरणीय क्षेत्रलाई पनि तट भनिन्छ। गुटेरेसले भनेको तल्लो तटलाई 'लोअर रिपेरियन' भनिन्छ र यसको विपरीत 'अपर रिपेरियन।'
सामान्यतया तटीय क्षेत्रले त्यस्तो क्षेत्रलाई जनाउँछ, जहाँ नदी र जमिनको मिलन हुन्छ। यसले उक्त क्षेत्रको मानव बसोबास, वनस्पति र समग्र पर्यावरणसमेत जनाउँछ। माटो, जल, जीव, जीवाणु र वनस्पतिको संगम र अन्तर्क्रियाबाट जन्मेको प्राकृतिक वातावरण हो पर्यावरण। कुनै क्षेत्रको प्राकृतिक वातावरणमा मानवीय हस्तक्षेप वातावरणीय संरक्षण वा वातावरणीय ह्रासको मूल कारणको रूपमा लिइन्छ।
गुटेरेसले आफ्नो अभिव्यक्तिमा जलवायु परिवर्तनका कारण माथिल्लो तटमा भइरहेका घटनाहरूबाट तल्लो तटमा बसोबास गर्ने समुदायलाई पनि प्रभावित गर्छ भनेका छन्। लगभग एक अरब जनताको जलस्रोतको रूपमा रहेको हिमालको हिउँ र बरफबाट निस्केका नदीनाला र खोलामा बग्ने पानीको मात्रा कम भए आउने दिनमा जमिन र पानीका लागि थप द्वन्द्वहरू हुने सम्भावनाप्रति उनले चिन्ता व्यक्त गरे। द्वन्द्वका सम्भावनाबारे भइरहेका विभिन्न अनुमानलाई आधार बनाइ अहिलेको युद्धग्रस्त र अति संवेदनशील समयमा गुटेरेस संसारका १० ठूलामध्ये ८ हिमाल भएको देश नेपालको भ्रमण रोजेझैँ लाग्छ।
नेपाल सरकारले पनि तराईलाई हिमालको पर्यावरण भूगोल र भिन्नताको दृष्टिकोणले तल्लो तटको रूपमा स्वीकार गरी जलवायु परिवर्तनको असरहरूको प्रभावलाई न्यूनीकरण गर्ने नीति र कार्यक्रम लागु गर्नुपर्छ, तल्लो तटका रूपमा भारत र बांग्ललादेशलाई लिने पुरानो रूढीग्रस्त सोच त्याग्नुपर्छ।
जलवायु परिवर्तन र छिमेकी
अति कम विकसित नेपाल पृथ्वी तात्ने क्रियाकलापका लागि कुनै पनि कोणबाट जिम्मेवार छैन। यसका लागि विकसित र तीव्र गतिले विकास गरिरहेका देशहरूको उद्योगधन्दा र कलकारखानाबाट निस्केका कार्बन डाइअक्साइडलगायत अन्य हानिकारक ग्यास, फोसिल फ्युल प्रयोग गर्ने सवारीसाधन र संयन्त्रबाट निस्केको धुवाँ, जनावर पालन/उद्योगबाट उत्सर्जित ग्यासहरू मूल कारक हुन्।
जाडो मौसममा नेपालको आकाशमा देखिने बादलजस्तो धुवाँ र धुलाका कण मूलतः छिमेकी मुलुक चीन र भारतबाट यहाँ आइपुगेका हुन्छन्। परिणामस्वरूप धेरैजसो गरिब जनता श्वासप्रश्वासको रोगबाट पीडित बन्छन्। हाम्रा हिमालमा बरफ पग्लिने घटनाका लागि नेपालभन्दा बढी भारत, अमेरिका र युरोपलगायत मुलुक जिम्मेवार छन्। यसका लागि नेपालले ती देशबाट तथा अन्तर्राष्ट्रिय समुदायबाट पर्याप्त क्षतिपूर्ति पाउनुपर्छ। क्षतिपूर्तिको कुरा महासचिव स्वयंले बारम्बार गर्ने गरेका छन्।
महासचिवको नेपाल भ्रमणमा साथै रहेका हाम्रा सरकारी अधिकारीको वक्तव्यअनुसार कोप–२८ सम्मेलनमा हिमाली र पर्वतीय मुद्दा उठाइने छ। यसको मतलब तराई र तराईसँग जोडिएको चुरे–भावर क्षेत्रको विषय ओझेलमा पर्ने छन्। बिर्सन नहुने कुरा यो छ कि चुरे-भावरमा रहेको कुल जिल्लाको संख्या ३७ छ र यसमा २४ वटा जिल्ला तराईका छन् र यो क्षेत्र वातावरणीय संवेदनशीलताका लागि संरक्षित क्षेत्र घोषणा गरिएको छ।
मध्य पहाड र तराई जोड्ने ट्रान्जिट क्षेत्र हो चुरे-भावर क्षेत्र। हिमाली पर्वतशृंखलाले बनाएको भिरालोमा अवस्थित चुरे-भावरले तराईका २४ जिल्लामा वर्षभरि माथिबाट आउने पानी भूसतहभन्दा तल संकलन गरी जल बहावलाई उत्तर दिशाबाट ओरालोमा रहेको दक्षिण दिशामा कायम राख्छ। चुरे-भावर क्षेत्रमा जल बहावलाई भूतलभित्र कायम राख्न सम्भव त्यस क्षेत्रमा हुने रुख र अन्य वनस्पतिको जराले बुनेको जालोले गर्दा हुन्छ।
तराईका जिल्लामा खानेपानीको समस्याको मुख्य कारण चुरे-भावरमा पानीको सञ्चितिमा आएको कमी हो र त्यसको मुख्य कारण तराई र चुरे-भावर क्षेत्रमा भएको अत्यधिक वन फडानी र अन्य वनस्पतिको विनाश हो। चुरेमा पानी घट्दै गएपछि तराईका जिल्लामा गर्मीमा तापमान पहिलाभन्दा बढी हुन थालेको छ। नेपालगन्जजस्ता क्षेत्रमा त यो ४५ डिग्री सेल्सियससम्म पुगेको पाइएको छ।
तसर्थ, अब पग्लिरहेको हिमाल र मध्य पहाडका समस्या सम्बोधन गरेर मात्र नेपालले सामना गरिरहेको जलवायु परिवर्तनको समस्याको सम्बोधन हुन सक्दैन। एक तथ्यांकअनुसार विश्व तापमान १ डिग्री सेल्सियस बढेको अवस्थामा हिमाल वरिपरिको तापमान १ .८ डिग्री सेल्सियसले बढ्न जान्छ। यसको कारण नेपालभित्र भएका वन विनाश र विकासको नाममा भएका अन्य मानवीय गतिविधि वा हस्तक्षेप पनि हुन सक्छन्, त्यो वैज्ञानिक अनुसन्धानको विषय हो।
वातावरणीय क्षयको प्रमुख कारण विकासको नाममा प्रकृतिमा भएको मानवीय हस्तक्षेप पक्कै हो र त्यसका लागि कुनै बाह्य कारणभन्दा पनि देशभित्रको त्रुटिपूर्ण विकास, नीति, कार्यक्रम तथा विभेदमा आधारित शासन र भ्रष्टाचार पनि जिम्मेवार छ।
महासचिव गुटेरेससँग गएका सरकारी अधिकारीले मिडियाकर्मीसमक्ष दिएको आफ्नो वक्तव्यमा हिमाल र पहाडको मात्र कुरा गरे र तराईका समस्याबारे एक शब्द भनेनन्। तराई र तराईका जनताप्रति विभेदमा आधारित शासनको ज्वलन्त उदाहरण हो यो। कथन र व्यवहारमा यस्तो विभेद कायम रह्यो भने महासचिव गुटेरेसले भनेझैँ नेपालको तल्लो तटमा रहेको तराईमा नै जल र जमिनका लागि द्वन्द्व शुरू हुन्छ। आशा गरौँ, सर्वसाधारणलगायत सबै सरोकारवाला भविष्यमा यस्तो द्वन्द्व ननिम्तिनका लागि समयमै सचेत रहून्।
गिरी पूर्वमन्त्री हुन्।