परापूर्वकालदेखि नै मानिसले आवश्यक पर्ने खाद्यान्न, फलफूल, काठ, बासस्थान र धार्मिक प्रयोजनका लागि रूख रोप्न शुरू गरेका थिए। उपनिवेश विस्तार र विभिन्न खाले यात्राको क्रममा अनेक थरिका रूख संसारभरि फैलाउनमा रोमन, ग्रिक, युरोपेली र चिनियाँहरूको भूमिका महत्त्वपूर्ण छ। सबैभन्दा पहिला मानिसले खेती गर्न शुरू गरेको रूख जैतून (ओलिएया यूरोपिया) हो भने खान योग्य नेभारोको रूख (फिकस क्यरिका) हुन्। यी रूख करिब चार हजार इसापूर्वमा भूमध्यसागर क्षेत्रको सिरियाली र एनाटोलिया तटहरूमा खेती गर्न शुरू गरिएका थिए।
एशिया महाद्वीपमा भने सबैभन्दा पहिला चिनियाँहरूले फलफूलका रूख करिब दुई हजार इसापूर्वयता खेती गर्न शुरू गरेका थिए। यसरी मानिसले विभिन्न सभ्यताहरूको विकाससँगै आ–आफ्नो आवश्यकताअनुसार अनेक प्रकारका रूख रोप्ने गरेका थिए भन्ने कुरा धार्मिक ग्रन्थ र ऐतिहासिक किताबहरूबाट थाहा पाउन सकिन्छ।
सन् १५०० पछि युरोपेलीहरूले बगैँचा, पार्क र वनस्पति उद्यानहरू बनाउन शुरू गरे। यी ठाउँहरूमा आवश्यक पर्ने रूख तथा अन्य बोटविरुवाहरू संसारभरिबाट खोजेर ल्याउन थाले। यतिले मात्र नपुगेर कृत्रिम प्रजनन प्रविधि प्रयोग गरेर रूख तथा अरू बोटविरुवाका नयाँ प्रजातिको विकास पनि गर्न थाले। परिणामस्वरूप संसारमा नयाँ–नयाँ प्रजातिका बोटविरुवा र रूख देखा पर्न थाले।
बेलायती ‘लन्डन प्लेन’
बेलायती पूर्वमहारानी एलिजाबेथ द्वितीयको राज्यारोहणको ५०औँ वार्षिकोत्सव, सन् २००२ मा ‘बेलायतका महत्त्वपूर्ण रूखहरू’ वा ‘द ग्रेट ब्रिटिस ट्रिज’ भनेर ५० प्रजातिका रूख चयन गरिएको थियो। ती रूख वातावरण, मानव स्वास्थ्य, आर्थिक, शैक्षिक, सुरक्षा र सभ्यताका दृष्टिले महत्त्वपूर्ण मानिएका थिए र चयन गरिएका थिए। यसका अतिरिक्त ती रूख साझा संरचनाका प्रतीक मानिँदै आएका थिए। बेलायत रूखका प्रकार र विविधतामा त्यति धनी छैन र त्यहाँ जम्माजम्मी ८६ प्रजातिका रूखहरू मात्र पाइन्छन्।
बेलायतका महत्त्वपूर्ण रूखहरूमध्ये एक ‘लन्डन प्लेन’ नामको रूख हो। यो रूखको वैज्ञानिक नाम प्लाटानुस X एसरीफोलिया हो। नामको बीचमा ‘X’ लेख्नुले यो ठिमाहा प्रजाति हो भन्ने बुझिन्छ। प्लाटानुस X एसरीफोलिया १७औँ शताब्दीमा प्लाटानुस ओरिएन्टलिस र प्लाटानुस ओक्सीडेन्टालिस नामका दुई किसिमका रूख एकअर्काको नजिकमा रोपेर संकरीकरणद्वारा बनाइएको नयाँ प्रजाति हो। यो रूख हेर्दा आकर्षक, ठूलो, राम्रो जराहरू भएकोले हत्तपत्त नढल्ने, चिसो मौसम सहन सक्ने र व्यापक रूपमा वायु प्रदूषणको सामना गर्ने हुँदा शहरी क्षेत्रहरूमा लोकप्रिय भयो र अहिले पनि छ। अमेरिका, अफ्रिका, एशिया र युरोपका विभिन्न ठाउँमा आजसम्म पनि यो रूख व्यापक रूपमा रोपिने गरिन्छ।
प्राचीन मूर्ति, गिर्जाघर, कला, वास्तुकला र खुला पार्कहरूले भरिएको शहर प्रागमा लन्डन प्लेन रूख १९५ वर्ष पहिला रोपिएको रहेछ। अंग्रेजी भाषामा प्राग भनिने शहर मध्य-युरोपको भूपरिवेष्टित देश चेक गणतन्त्रको राजधानी हो। यो शहरलाई चेक भाषामा प्राहा, जर्मनी भाषामा प्राग र ल्याटिन भाषामा प्रागा भनिन्छ। नाममा विविधता भएझैँ यो शहर राजनीतिक, सांस्कृतिक र आर्थिक रूपले उत्तिकै विविध छ। ‘लन्डन प्लेन’ रूख शहरको बीच भागमा रहेको ‘चार्ल्स स्क्वायर’ नामको पार्कमा सन् १८२६ मा रोपिएको रहेछ। चार्ल्स स्क्वायरलाई सन् १३४८ मा एक खुला ठाउँको रूपमा चार्ल्स चौँथोले स्थापना गरे तापनि बस्तुभाउ बेचविखन बजार हुँदै सन् १८६० मा मात्र आएर यसलाई पार्कको रूपमा परिणत गरिएको रहेछ। यो पार्क लगभग ८० हजार ५५२ वर्ग मिटरमा फैलिएको र अत्यन्त प्रसिद्ध छ।
यही पार्कको एक कुनामा लन्डन प्लेन रूखलाई विशेष तरिकाले गोलाकारमा फलामे पट्टाहरूले घेरिएको छ र अत्यन्त मेहनतका साथ संरक्षण गरिएको छ। पार्कमा पाइने अरू बोटविरुवाभन्दा भिन्नै तरिकाले संरक्षण गरेर राखिएको यो रूखलाई आकर्षक प्लेटमा नामकरण गरेर राखिएको छ। रूखहरू आफैँमा महत्त्वपूर्ण हुन्छन् र यिनले अन्य बोटविरुवा तथा जनावरहरूको अस्तित्वमा पनि मद्दत पुर्याउँछ्न्।
चिसो ठाउँमा रहेको चार्ल्स स्क्वायरको लन्डन प्लेनमा जैविक विविधता धेरै छैन। तर पनि यो रूखको इतिहास र सौन्दर्यलाई सम्मान गर्दै राज्यले यसलाई महत्त्व दिएको छ। जिउँदो इतिहासको धरोहरको रूपमा रहेको यो रूख सयौँको संख्यामा आउने पर्यटकहरूमाझ प्रख्यात छ। प्रयोग गर्न जाने विष पनि अमृत हुन्छ भनेझैँ देशभर जम्मा ८४ प्रजातिका रूख मात्र भएको चेक गणतन्त्रमा प्रत्येक पार्क वा जंगलमा विभिन्न प्रजातिका स्वदेशी र विदेशी रूखहरू संरक्षण गरी प्रचुर मात्रामा उपयोग गरिएको छ। गर्वका साथ तिनीलाई आफ्नो प्राकृतिक सम्पदाका रूपमा चिनाइएको छ।
नेपाली ‘पूँवाले’
यही वर्षको असार–साउनमा काठमाडौँ उपत्यकाको पश्चिममा पर्ने मच्छेगाउँ र मातातीर्थ बीचमा रहेको ढाक्सी चोकको ‘पूँवाले’ रूखले मलाई प्रागको चार्ल्स स्क्यायरमा संरक्षण गरेर राखिएको लन्डन प्लेन रूखको याद गरायो।
केही उकालो पाखामा उत्तरी दिशामा फर्केको बाटोको छेउमा उम्रेको पूँवालेमुनि पानीको धारो, एक छेउमा बगेको सानो खोल्सो छ, खोल्सो माथिको कुरूप रातो इँटको घर, रूखको पूर्वमा झन्डै-झन्डै भग्नावशेषका रूपमा रहेको पुरानो स्कुल भवन र निजी घर पूँवालेको वरपरको वातावरणीय परिदृश्य हुन्। पूँवाले प्राकृतिक रूपमा नेपाल, भारत, भुटान र चीनको ६०० देखि २१ सय मिटर उचाइमा पाइने रूख हो र यसको वैज्ञानिक नाम ‘आइलेक्स एक्सेल्सा’’ हो।
नेपालमा रहेका जम्मा ६२१ प्रजातिका रूखमध्ये यो रूखले किन ध्यान खिच्यो त? यो रूख प्रागको पार्कमा झैँ रोपिएको विशेष रूखजस्तो पनि होइन। यो पूँवाले साधारण आँखाले हेर्दा सामान्य रूख मात्र भए पनि वैज्ञानिक र जैविक विविधताको हिसाबले अत्यन्त महत्त्वपूर्ण रूख हो। यो रूखमा पाँच प्रजातिका अत्यन्त सुन्दर सुनगाभाका प्रजाति उम्रिएका छन्। उक्त प्रजाति डेन्ड्रोबियम एमोएनम, ईरिया स्पिकाटा, ग्यास्ट्रोचिलस प्रजाति, रिनकोस्टाइलिस रेटुसा र भान्डा क्रिस्टाटा प्रकार मल्टीफ्लोरा हुन्।
सुनगाभा विशेष प्रकारका विरुवा हुन्। यी फूल फुल्ने विरुवाका वर्गमा पर्छन्। सुनगाभा फूलहरू प्रायः रंगिन र सुगन्धित हुन्छन्। संसारमा करिब २८ हजार प्रजातिका सुनगाभा पाइन्छन्। लगभग सबै किसिमका वासस्थानमा पाइने सुनगाभा हिमनदीहरूमा भने पाइँदैनन्।
नेपालमा भने ६० मिटरदेखि ५२ सय मिटरको उचाइसम्म ४५० भन्दा धेरै प्रजातिका सुनगाभा पाइन्छन्। विभिन्न प्रजातिका सुनगाभा जमिन, ढुंगा र रूखमा झुन्डिएर उम्रनुका साथै यिनलाई निश्चित प्रकारको हावापानी र प्रजातिपिच्छे फरक-फरक किसिमका ढुसी आवश्यक पर्छ। धेरैजसो सुनगाभा अत्यन्त ढिलो गरी हुर्कने र यिनको जीवन चक्र जटिल हुने गर्छ। सुनगाभाको बीउको अंकुरण दर पनि अत्यन्त कम हुन्छ। अधिकांश सुनगाभाका प्रजाति सजावटी बोटविरुवा, खाना, सुगन्ध, कामोत्तेजक औषधि र विभिन्न रोगहरूको उपचारका लागि प्रयोग गरिन्छन्। अत्यधिक प्रयोगले गर्दा सुनगाभाका सबै प्रजातिलाई संसारभरि नै खतराको सूचीमा राखिएको छ।
यसका साथै कृषि, बस्ती निर्माण, वासस्थानको विनाश, अनियमित सडक निर्माण, अत्यधिक प्राकृतिक स्रोतको दोहन, वन फँडानी, आगजनी, कतै-कतै हुने खोरिया खेती, चरन र जलवायु परिवर्तनका कारण पनि सुनगाभा विनासोन्मुख छन्।
ढाक्सी चोकको पूँवालेमा जम्मा पाँच प्रजातिका सुनगाभा भए पनि त्यहाँ ती प्रजातिका हजारौं संख्यामा बोट छन्। झुन्डिएर उम्रने सुनगाभाका बोटहरू भएको यो रूख करिब ३०० वर्ष पुरानो हो भन्ने स्थानीय बूढापाखाको कथन छ। कसैको संरक्षणविना मानव बसोबासको बीचमा यति धेरै सुनगाभा भएको रूख फेला पार्नु आफैँमा अचम्मको कुरा थियो।
यो पूँवालेको विशिष्टता र महत्वबारे मेरा अग्रज दाइ तथा समाजशास्त्री डा. दिनेश प्रसाईंसँग छलफल गरिसकेपछि हामीले स्थानीय वडाध्यक्षलाई बोलाएर पूँवाले र सुनगाभाबारे जानकारी दियौँ। ढाक्सी चोकमा जीवित इतिहासको रूपमा उभिएको पूँवालेलाई संरक्षण गर्न आग्रह गर्यौं। लन्डन प्लेनको उदाहरण पनि पेश गर्यौं। उहाँ सकारात्मक देखिनुभयो। आशा गरौँ, केही सकारात्मक पाइला चालिने छ।
नेपालमा धेरै किसिमका रूख मुख्यतः पाटी, पौवा, चौतारा, पँधेरा, कुवा, खेतबारीका छेउछाउमा, पदमार्ग र आफूले उपयोग गर्न सकिने धेरै स्थानमा विशेषतः काठ, फलफूल, बासस्थान, सौन्दर्य र अन्य प्रयोगका लागि रोपिने चलन सदियौँदेखि चलिआएको छ।
यद्यपि, मानव बसोबासभित्र वा नजिक रोपिएका रूखमध्ये फलफूल र तेल उत्पादनका निम्ति प्रयोग हुने रूखबाहेक अन्य प्रजातिका रूखलाई वैज्ञानिक दृष्टिकोणले व्यापक रूपमा बेवास्ता गरिएको पाइन्छ। अधिकांश वैज्ञानिक अध्ययन वन वा मानव बस्तीबाट टाढा रहेका ठाउँमा केन्द्रित हुने गर्दछन्। धेरै मानव बस्ती भएका शहरी क्षेत्रमा वा नजिकै उम्रने रूखहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् किनकि ती रूखले छायाँ र ताजा हावाका प्रदान गर्नुका साथै विभिन्न प्रकारका बोटविरुवा आफूमा उम्रन र चरालाई बासस्थान दिन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्।
पूँवाले पनि अत्यन्त महत्त्वपूर्ण छ किनभने यो लगभग ३०० वर्ष पुरानो हो। हामीले ‘डेन्ड्रोक्रोनोलोजिकल’ अध्ययन विधि प्रयोग गरेर पूँवालेको काठ हेरी यो क्षेत्रको विगतको जलवायुको ढाँचाहरूबारे पत्ता लगाउन सक्छौँ। विकिरणधर्मी प्रविधि र ‘कार्बन आइसोटोप डेटिङग्’ प्रविधि प्रयोग गरेर पहिला र अहिलेको प्रदूषणको स्तर पनि थाहा पाउन सक्छौँ। हामी यस रूखलाई मानिसको इतिहाससँग जोडेर हेर्न सक्छौँ। यसका साथै स्थानीय बासिन्दाले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने पानीको मुहान नजिकै रोपिएको हुनाले यो रूख सामाजिक र धार्मिक हिसाबले निकै महत्त्वपूर्ण र पवित्र मानिएको हुनुपर्छ भन्ने आकलन पनि गर्न सक्छौँ। त्यसैले पूँवालेले हाम्रो धर्म, संस्कृति र समाजमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेलेको हुनु पर्छ। यति धेरै महत्त्वपूर्ण हुँदा-हुँदै पनि कसैको यथेष्ट चासो वा उचित संरक्षणविना यो रूख अटल रूपमा उभिरहेको छ।
उपसंहार
पुराना र ठूला रूख जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण छन् भन्ने कुरा सन् २०१७ मा गरिएको शिवपुरी र गोदावरीमा पाइने, झुन्डिएर उम्रने सुनगाभा र उन्यू प्रजातिका विविधता, संरचना र निर्भर-प्रजातिसम्बन्धी अध्ययनले स्पष्ट पारेको थियो। उक्त अध्ययनले झुन्डिएर उम्रने सुनगाभा र उन्यू प्रजातिका विरुवाहरूको दीर्घकालीन संरक्षणको अभीष्ट पूरा गर्न ठूला र पुराना रूखहरूलाई पनि संरक्षण गर्न आवश्यक छ भनेर निष्कर्ष निकालेको थियो।
थोरै किसिमका रूख मात्र भएका युरोपियनहरूले केवल एउटा मात्र प्रजातिको एक रूखलाई महत्त्वपूर्ण रूखको रूपमा देखाइ, सजावट र राम्रो आम्दानीको स्रोतको रूपमा उपयोग गरेका छन्। तर, नेपालमा धेरै प्रजातिका रूखहरू भए तापनि हामीले बुद्धिमानीपूर्वक उपयोग गर्न सकेका छैनौँ। हामीले रूखको महत्त्व बुझ्न सकेका छैनौँ। कैयौँ किसिमका रूखको स्पष्ट रूपमा पहिचान पनि गर्न सकेका छैनौँ। शहरी क्षेत्रहरूमा रैथाने र स्वदेशी प्रजाति रूख नगण्य रूपमा प्रयोग गर्दै आएका छौँ। साँस्कृतिक, धार्मिक र सामाजिक दृष्टिकोणबाट रूखको संरक्षण गर्नुबाहेक, कुनै पनि रूख प्रजातिलाई विशेष प्रकारको भनेर आजसम्म एउटा पनि संरक्षित क्षेत्र रूख विशेषका लागि समर्पण गर्न सकेका छैनौँ।
प्रायः नेपाली राजनीतिज्ञहरूले देशलाई स्विजरल्याण्ड वा सिंगापुर बनाउने कुरा गर्छन्, तर रूखलाई लोकप्रिय बनाउने कुरा कहिल्यै उल्लेख गरेको पाइन्न। तसर्थ, हामीले देशमा रहेका ६२१ प्रजातिका रूखका किसिमलाई मिहिन रूपले चिन्न बृहत् अध्ययन गर्न जरुरी छ। हामीसँग भएका रूखसम्बन्धी तथ्यांकहरूको अद्यावधिक र भरपर्दो तथ्यांकको सिर्जना र भण्डारण गर्न आवश्यक छ।
हामीसँग प्रागको चार्ल्स स्क्वायरमा पाइने उच्च सम्मानित र संरक्षित लन्डन प्लेन रूखभन्दा धेरै पुराना रूख छन्। हामीले ती रूखको उपयोग गर्न सक्छौँ। उदाहरणका लागि हामीले भद्रकालीमा रहेको पुरानो खरीको रूखजस्तै पशुपतिनाथ र स्वयम्भू क्षेत्रका पुराना रूखलाई पनि हाम्रो राष्ट्रिय धनको रूपमा आत्मसात् गरी त्यहाँका धार्मिक संरचनाजस्तै रूख पनि सम्पन्न सम्पदा हुन् भनेर देखाउन सक्छौँ। यसैगरी देशका विभिन्न क्षेत्रमा रहेका रूखबाट फाइदा लिन सक्छौँ। प्रत्येक रूख प्राकृतिक स्रोत र जैविक विविधताको सानो अंशका मात्र नभई आफैँ ‘एक सिंगो जैविक विविधताको संसार’ हो। त्यसैले रूख चिनौँ। संरक्षण गर्नुका साथै उपयोग पनि गरौँ।
रोकाया चेक रिपब्लिकस्थित इन्स्टिच्युट अफ बोटनी तथा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटको चेक एकेडेमी अफ साइन्सेजमा कार्यरत छन्।