Friday, December 01, 2023

-->

को हौँ हामी कर्णालीवासी?

समाजमा कैयौँ काव्यहरू रचिएका छन्। सानो हुँदा हामीले सुनेका रहस्यमय र काल्पनिक कथाका पात्रहरूलाई हामी बिस्तारै वास्तविक चरित्रका रूपमा लिँदा रहेछौँ। आस्थाको रूपमा बदलिँदो रहेछ।

को हौँ हामी कर्णालीवासी

समाजबारे जान्ने र परिवर्तन गर्ने आकांक्षाले विगतमा कैयौँ दर्शन र नेतृत्व आए। आफ्नो अस्तित्वको खोजीका क्रममा कतिपय व्यक्ति र समाज हिंसामा समेत उत्रिए, उत्रँदै छन्। हामी को हौँ? हाम्रा पुर्खा को थिए? हाम्रो अस्तित्व के हो र भविष्य के भन्ने कोणबाट प्रश्नहरू गरिए। विगतका शताब्दीमा सीमित जानकारीका कारण जीव, जगत्, जीवन र मरणबारे कैयौँ सोच र धारणाहरू कल्पनामै बुनिएका रहेछन्। विज्ञान–प्रविधिको विकाससँगै हामीसँग थप जानकारीहरू छन्। विज्ञानको सोधखोजका कारण कैयौँ हाम्रा पुराना काल्पनिकता र अन्धविश्वासहरू भत्किएका छन्, अझै धेरै भत्कन बाँकी छन्।

नयाँ सिर्जित शासन र समाज व्यवस्थामा हाम्रो अस्तित्व, पहिचान र भविष्यबारे धेरै प्रश्नहरू छन्। नेपाली समाजबारे एउटा समूहको विश्लेषण छ– पुरानो समय ठीकै थियो। हामीले भोगेका बेथितिहरू नयाँ शासन व्यवस्थाका कारण हो। पुरानै व्यवस्था फर्काए त्यसले समाधान ल्याउँछ। वैदिक धर्म व्यवस्थाको पुनर्स्थापनाले समाज व्यवस्थित हुन्छ।

अर्को समूहको विश्लेषण छ– त्यही पुरानो सोच/मान्यताकै कारण समाजमा जातीय विभेद भयो, मान्छे–मान्छेबीच कृत्रिम विभाजन गरियो। पुरानो मान्यतामा चल्ने शासन व्यवस्थामा अन्याय र असमानता थियो। त्यसैले नै हाम्रो समाजमा द्वन्द्व शुरू भयो र नयाँ व्यवस्थाको माग भयो भने फेरि त्यही व्यवस्था फिर्तीको के अर्थ? 

शासन व्यवस्था बदलिए पनि गरिबी, अराजकता, भ्रष्टाचार र बेथिति समाजमा छन्। थोरै–थोरै होलान्, समस्या जगत‍्भर छन्। समाज अझै बिमार छ। कुनै व्यक्ति बिरामी भएपछि चिकित्सकले व्यक्तिको दुखाइ, विगतको खानपान र रहनसहनको सोधखोज गर्छ, ताकि उपचारको विधि पहिल्याउन सकियोस्। समाजको बिमारीपन पनि त्यस्तै हो। व्यक्तिको 'रोगको वास्तविक इतिहास' पहिल्याएर उपचार गरेझैँ समाजको पनि सही खोज महत्त्वपूर्ण हुन्छ, जसका कारण विगतको गल्ती सच्याउँदै भविष्यमा समाधान पहिल्याउन सकियोस्।

तर इतिहासको सत्य पहिल्याउने काम साह्रै असहज हुने रहेछ। लोककथा र मान्यताहरूसँग गुजुल्टिएर बसेका हुँदा रहेछन् कतिपय सत्य, अर्कोचाहिँ सत्ताधारीहरूले आफ्ना कमजोरी लुकाउन तथा जनतामाथि नियन्त्रण गर्ने क्रममा दबाइएका र मेटाइएका हुने रहेछन्।

हिमाली भेगको कथा
हिमाली भेगतिर पनि कैयौँ कथा थिए, छन्। दशौँदेखि चौधौँ शताब्दीतिर कागज, कलम र छापाको आविष्कार हुनुअघि आफूभन्दा परको लोकबारे जान्ने आकांक्षा तथा साहित्यकार–दार्शनिकहरूको कल्पना जोडिन पुग्दा पूर्वी र पश्चिमी समाजमा कैयौँ काव्यहरू रचिएका रहेछन्। सानो हुँदा हामीले सुनेका त्यस्ता रहस्यमय र काल्पनिक कथाका पात्रहरूलाई हामी बिस्तारै वास्तविक चरित्रका रूपमा लिँदा रहेछौँ। आस्थाको रूपमा त्यो बदलिँदो रहेछ। तर इतिहास र काल्पनिकको फरक छुट्टाउनै पर्ने रहेछ। आफूले पहिलेदेखि बुनेका या सत्य ठानेका कथाहरू भत्कँदा मनको भुईं भासिएको जस्तो पनि हुने रहेछ। 

तर सही धरातल भेटिनु आवश्यक छ, किनकि संसारको पछिल्लो भौतिक विकास र परिवर्तन काल्पनिक कथाभन्दा पनि यथार्थमा आधारित छ। गणित र ठोस तथ्यमा आधारित छ। देश र समाजले पहिचानको मुद्दामा बोलिरहेका बेला कर्णालीवासीलाई पनि लागिरहेको छ– हामी को हौँ? हाम्रो पुर्खा को हुन्? हाम्रो अस्तित्व, पहिचान् र भविष्य के? कर्णालीको इतिहास अझै गुमनाम छ, विगतमा त झनै नामनिसान नै रहेनछ। 

जुम्ला राज्य, पश्चिम तिब्बत अनि कर्णालीको इतिहास प्रकाशमा ल्याउन इटालीका प्रोफेसर जिसेप टुस्सीको भूमिका रहेछ, योगी नरहरिनाथ पनि त्यसमा लागेका रहेछन्। सन् १९३३ तिर ऐतिहासिक खोजको सिलसिला टुस्सी पश्चिम तिब्बतको गुगे आइपुग्दा कुनै समयको समृद्ध राजधानी शहरमा केही बासिन्दा र एक गोठालो परिवार प्राचीन भग्नावशेषमा बसिरहेको भेटे छन्। त्यहाँ उनीहरू संरक्षकको रूपमा बसेका रहेछन्। भत्किएका गुम्बा/मन्दिरमा केही भिक्षु र एक अधिकारीसमेत रहेछन्। भिक्षुमध्ये अधिकांश पढ्न र लेख्न नसक्ने रहेछन्।

त्यहाँबाट जुम्लाको सिञ्जा आइपुग्दा कुनै समयका बलिया राज्य, तिनका राजाहरूको इतिहास खण्डहरमा हराइरहेको भेटेछन् टुस्सीले। धेरै सोधखोजपछि देवल, स्तूप र स्तम्भहरूमा कुँदिएका अक्षरहरूमा गुमनाम खस राजा, तिनको जुम्ला राज्य र कृतिहरूको अभिलेख भेट्टाएछन्। १२औँ शताब्दीको पहिलो राजा नागराज (तिब्बती अभिलेखमा नागदे) र उनका उत्तराधिकारी हुँदै १४औँ शताब्दीसम्मका अन्तिम राजा पृथ्वी मल्लको गौरवशाली इतिहास त्यसपछि प्रकाशमा आएको रहेछ।

कैलाश मानसरोवरवरपर प्राचीनकालको श्याङश्युङ राज्य सातौँ शताब्दीतिर तिब्बतमा गाभिएको रहेछ। पछि १०औँ शताब्दीतिर तिब्बती राजवंशका युवराज किदे निमागोनले सेवानिवृत्त भई त्यहाँ अलग राज्य निर्माण गरेपछि उनका तीन छोराहरू पालगी गोन, टासी गोन र देछुक गोनले माथिल्लो सतलज र मानसरोवर तालको पश्चिमसम्मको भूभाग विभाजन गरेर लदाख, गुगे र पुराङ राज्य स्थापना गरेका रहेछन्।

पछि गुगेका राजा येसे होदले अनुवादक विद्वान रिन्छेन जाङपो (इस्वी सं ९५८–१०५५) र अतिसा दिपंकर (९८३–१०५४) को सहयोगमा बौद्ध धर्मको दोस्रो जागरण अभियान चलाएका रहेछन्। त्यसबेला कश्मीर र नेपालका कालिगडहरूले बनाएका कलाकृति र संरचनाहरू अद्वितीय कलाको नमूनाका रूपमा विश्वभर अझै मानिन्छन्। अनि रिन्छेन जाङपोको अनुवाद र शैक्षिक कार्यलाई अनुमोदन गरिएको संघायान स्पितीको ताबोमा राजा छेदेद्वारा बोलाइएको रहेछ। तर तिब्बती इतिहासकार बुटोन र ङोरको गुगेका राजाहरूको सूची भने यो शासनसँगै अन्त हुने रहेछ।

यस बिन्दुबाट सामान्य श्रृंखला 'उनको छोरा …थिए ...उनको पछि क्रमशः…'बाहेक थप टिप्पणी नहुनु राजवंशको परिवर्तन वा घट्दो शक्तिको संकेत हुन सक्ने बताइएको रहेछ। टुस्सी र उनका शिष्य प्रोफेसर लुसियानो पिटेकका अनुसार त्यस समय कुनै विदेशी आक्रमण वा राजनीतिक प्रभाव भएको आकलन रहेछ।

नागदेव (नागदे)ले विदेशी नामको झल्को दिन्छ। गुगे राज्यमा यो एक विदेशी नाम थियो, जसले विदेशी आगमनको संकेत दिन्थ्यो। फेरि अचानक इतिहासको पानाबाट त्यो नाम हराएछ। यो जानकारी तिनकै अन्तिममध्येका राजा पृथ्वी मल्लको दुल्लु–दैलेखको १३५४ को शिलालेख (कीर्तिस्तम्भ) मा भेटिएको रहेछ।

त्यसैबाट प्राचीन जुम्ला राज्यका शासकहरूको सूची भेटिएको रहेछ, जुन तिब्बती इतिहासमा रहेको 'याचे' राजाहरूको सूचीसँग पुरापुर मेल खान्थ्यो। एक अभिलेखमा यस्तो लेखिएको छ :

ओम मा नि पद्मे हुँ। मंगलम भवतु स्रि पृथ्वीमल्लदेव। ...लिखितम इदम पुन्यम जगति सिद्यस्य ...

'ओम मानि पद्मे हुँ' मन्त्र महायान बौद्ध परम्परामा अवलोकेश्वरको साधना, करुणा र वोधिचित्त अभ्याससँग सम्बन्धित छ। लिच्छविकलादेखि नेपाल उपत्यकामा प्रचलित लोकेश्वर तिब्बतमा इसाको चौथो शताब्दीतिर यताबाट पुगेको पहिलो ग्रन्थ कारण्डव्यूह सूत्र (भोट भाषा छोटकरीमा– सामातोक कोपा) मा पाइन्छ। तर यसलाई उल्था गरी, यसको अभ्यासको थालनी भने राजा स्रोङचेन गम्पोको पाला (छैटौँ शताब्दी)पछि मात्र शुरू भएको थियो। त्यसै बेला नै प्राकृत र संस्कृतबाट तिब्बती लिपिको विकास पनि गरिएको थियो। कालान्तरमा यो लिपि अनि यसको अभ्यास जुम्ला पुग्नु विशेष घटना थियो, त्यसको विशेष अर्थ थियो।

खारी–परदेशबाट आएका नागराज जावाका अधिपति हुन पुगे (यो जवेस्वरातम् आगत) भनिएकोमा योगी नरहरिनाथले खारी सिञ्जाको उत्तर–पूर्व खर्तम उपजिल्ला (दरा) हुनसक्ने सुझाव दिएका रहेछन् भने जावाचाहिँ जुम्लाको पूर्वी भागमा कर्णालीको सहायक, तिला नदीमा बग्ने एउटा सानो खोलाको नाम रहेको र त्यसैलाई जनाउन 'जावा (नदी) को अधिपति' भनिएको हुनसक्ने बताएका रहेछन्। टुस्सीले भने ताक्लाकोट, ताक्लाखारको 'खार' (कोट) हुनसक्ने इंगित गर्छन्।

गुगे क्षेत्रमा नागदे गैरतिब्बती शासकका रूपमा आएका थिए र ती राज्यहरू कमजोर हुँदै जाँदा तिनको भूभाग जितेर पछि कर्णाली छिरेका थिए भनिन्छ। तर शिलालेखमा नागराजका पुर्खाहरूको उल्लेख नहुनुले कर्णालीमा उनी आगन्तुक थिए कि भन्नेसमेत शंका इतिहासकारहरूको रहेछ। उनको मृत्युपछि भने पश्चिमी तिब्बत उनको परिवारबाट गुमेर स्वतन्त्र बनेको भनिन्छ।

दुल्लु शिलालेखका अनुसार नागराजको उत्तराधिकारी चाप र चापिल्ला थिए। त्यसपछि क्रसीचल्ल थिए। चाखलाग्दो कुरा के छ भने, देवनागरीको 'क'मा अर्ध 'र' लगाउँदा हुने 'क्र'बाट वनेको 'क्रसी' नामको कुनै अर्थ आउँदैन। तिब्बती वा खाम भाषामा 'क'मा अर्ध 'र' जोड्दा 'ट' उच्चारण हुन्छ। यसरी हुन जाने नाम टसीचल्लले अर्थ पनि भेट्छ, जुन चलनचल्तीको नाउँ हो। त्यसको अर्थ मङगल हुन आउँछ। टसीचल्ल पछि टधी वा क्रधिचल्ल थिए, जसलाई तिब्बती अभिलेखहरूमा डाक्पादे भनिएको छ।

पछि, बीचका पुस्तामा मुख्य नामका पछि मल्ल वा मल लेखिन थालिए पनि नेपाल उपत्यकाको मल्लहरूसँग राजा नागदेका खलकको सम्बन्ध नरहेको इतिहासकारहरूको मत रहेछ। कर्णालीमा विशेषगरी खसहरूमा अझै पनि प्रयोग गरिने नामहरू हुन: पुनिमल, देउमल, वारमल। पुनि र देवका पछाडि जोडिने 'मल' नामकै भाग हो र यसले जात जनाउँदैन। अर्को महत्त्वपूर्ण कुरा, यस बेलासम्म यस भेगमा जाति व्यवस्था रहेको प्रमाण भेटिँदैन।

यसकै केही शताब्दीअघि चिनियाँ यात्रीहरू र पछि गुगेका अनुवादक रिन्छेन जाङ्पो, ङोग लोदेन सेराप आदि वर्षौं कश्मीरलगायत भारतका अनेक ठाउँ डुल्दै ज्ञान लिने क्रममा कैयौँ वामन/ब्राह्मण गुरुहरूसँग बौद्ध शिक्षा लिएको लिखित वृत्तान्त भेटिन्छ। तर वामन, ब्राह्मण या पण्डित शब्दले त्यस समाजमा ज्ञानी, गुणी र विद्वान व्यक्तिलाई जनाइने रहेछ। मिहिनेत गरे जो कोही पनि वामन हुनसक्ने रहेछ। त्यसकै अनुसरण गर्दै तिब्बती विद्वानहरूलाई पनि पण्डित भन्न थालिएको रहेछ। कुंगा ग्यालजेन पनि त्यसबेला प्रख्यात ज्ञानी थिए र उनलाई पण्डित भनिन्थ्यो।

अल्मोडा जिल्ला बलेश्वर मन्दिरमा भेटिएको ताम्रपत्रमा राजा क्राचल्लले कान्तिपुर जितेको उल्लेखसँगै आफूलाई परमसौगत अर्थात् प्रतिबद्ध बुद्धमार्गी भनेर लेखाएका रहेछन्। उनीबारे कैलाश पर्वतबारेको एक तीर्थ पुस्तिकामा समेत उल्लेख भएको पाइन्छ। 

यसअनुसार राजा डाक्पादे आफ्नी आमाको अन्त्येष्टिका लागि मानसरोवर तालमा एक समय आएका रहेछन्। त्यहाँ पुग्नु केहीअघि सोधखोज गर्ने क्रममा गाउँमा रहेका गुरु ओन सेराप ज्युङने (११८७–१२४१) सँग उनको भेट भएको रहेछ। लामाबाट कैलाश क्षेत्रको इतिहास र वृत्तान्त सुनेर उनी प्रभावित भएछन्। सोही क्रममा उनले ज्युङनेबाट वज्रयान ध्यान विधिमा अभिषेक लिएर गहन ध्यान अभ्यास गरी साधनामा उच्चतम सिद्धि लाभ भएको उल्लेख छ। 

पछि तिनै लामा गुरुलाई क्राचल्लले जुम्लामा निमन्त्रणा गरेर डोलामा बोकाइ लिएको र आफ्नो गुरुको रूपमा मानेको उल्लेख छ। यससँगै हुम्ला, लिमी र अन्य क्षेत्रमा गुम्बा विद्यालयहरूको स्थापना र मर्मत सम्भार तथा सञ्चालनमा उनले सहयोग गरेको उल्लेख भएका अभिलेख अझै हुम्ला, विशेषगरी लिमीका गुम्बाहरूमा अझै संरक्षित छन्।

क्राचल्लपछि उनका छोरा र उत्तराधिकारी अशोकचल्लको उल्लेख बोधगयाका तीन वटा शिलालेखमा रहेछ, जहाँ तिनलाई खस देशको राजा भनिएको रहेछ। लिखित अभिलेख गोपालराज वंशावलीमा 'खस्याराजा जयतारी'ले नेपालमाथि तीन पटक आक्रमण गरेको उल्लेख रहेछ। यसले ती खस राजा र राज्यको त्यतिबेलासम्म कायम वा बढ्दो आर्थिक अनि सैन्य शक्तितर्फ पनि इंगित गर्छ।

जितारीमल्ल (खस्याराजा जयतारी) को उत्तराधिकारी उनका भाइ आनन्द मल्लले बोधगयामा पनि संरक्षक र दानपतिको रूपमा रहेको उल्लेख रहेछ। आनन्द मल्लका छोरा रिपु मल्लले धेरै क्षेत्रहरू आफ्नो अधीनस्थ ल्याएको उल्लेखसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा तीर्थयात्राका क्रममा निग्लिहवाको अशोक स्तम्भमा आफ्नो नाम र मिति कुँदेको अझै देख्न सकिन्छ:

औम मा नि पद्मे हुँ।–भोट लिपीमा

स्रि रिपुमल्ल चिरम जयतु १२३४ (सक संवत्)–पुरानो देवनागरी लिपीमा

...

लुम्बिनीको यात्राबाट उनी उत्तरतिर फर्केर सक संवत् १२३५ मा नेपाल प्रवेश गरी नेपालका प्रमुख तीर्थहरूमा दर्शन र दान गरेका रहेछन्। सँगै तिब्बत–ल्हासाको जोखाङमा पनि दानपतिको रूपमा उनको नाम रहेछ। सुर्खेतमा लेखिएको अभिसमय ग्रन्थको कोलोफोनमा पनि उनको नाम छ। स्रोङचेन गम्पोको पालामा ल्हासाको जोखाङ नेपाली कालिगढहरूले बनाएका थिए, जसलाई उनको नेपाली रानी पाल्वोजा वा भृकुटीसँग जोडिने गरिन्छ। तिब्बतमा नेपाली धर्म र कालिगढीको सबैभन्दा पुरानो नमूना हो यो र तिब्बतको सबैभन्दा पूज्य स्थान पनि हो।

यसै मन्दिरको अभिलेखमा पाँचौँ दलाई लामाले खस (याचे) राजा रिपु मल्ललाई 'तिब्बतका राजाहरूको शुद्ध वंशज' (बोद छ्योग्यालगी दुङग्यु डिमा मेपा) पनि भनेका रहेछन्। रिपु मल्लपछि उनको छोरा संग्राम मल्लको नाम पनि निग्लिहवाको अर्को लेखोटमा बुबाकै साथमा देखिन्छ। त्यसपछि तिनको भाइ खलक जितारी मल्लको हातमा शासन गएको देखिन्छ, जसलाई दुल्लु स्तम्भमा आदित्य मल्ल भनिएको छ। त्यसपछिका एक राजा अजित मल्ललाई तिब्बतको 'शाक्य गुम्बा'मा 'राजकुमार भिक्षु' उल्लेख गरिएको छ। उनी राजा भएपछि उनले १३२४ मा जारी गरेको तागबाई गुम्बास्थित अभिलेखमा (१९५९ देखि चिनियाँ क्षेत्र) भिक्षुहरूलाई धर्म निर्बाध अभ्यास गर्ने वातावरण सुरक्षित गरेका रहेछन्। 

नामपछि 'चल्ल' छाडेर मल्ल जोडिनु नेपाली भाषाको प्रभावको कारणसमेत भएको ठान्छन् केही इतिहासकार। उसो त, जुम्लाका स्तूप र कलाकृतिहरूमा नेपाल उपत्यकाको प्रभाव पनि भेटिन्छन्।

अर्को शासक कल्याण मल्लपछि प्रताप मल्लका छोरा नभएपछि उनकी छोरी शाकुनामलको पुराङ ताक्लाकोटका युवराज पुन्यमल (भोट भाषामा सोनामदे)सँग विवाह हुँदै उनी राजा भए भनिएको छ। पुराङ ताक्लाकोट शाही परिवारका सदस्य उनी जुम्लाको सिञ्जा आएर आफ्नो नाम अनुवाद गरी पुनिमल भए भनिएको छ। 

सोनामदे गैरखस रहेको धेरै प्रमाण छन्। यसको एक प्रमाण त्यो समयको सबैभन्दा विख्यात तिब्बती विद्वान बुटोन रिन्छेन डुप (१२९०–१३६५) ले पठाएको एक पत्र रहेछ, जहाँ 'धर्मको महान् संरक्षक राजा' भनी लामो धार्मिक निर्देशनसहितको पत्र छ। त्यसमा राजाको रूपमा सोनामदेको चयनको उल्लेख रहेछ। बुटोनको जीवनीमा पनि राजा पुनिमलले उपहार पठाएर बुटोनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र बदलामा उनले पत्र र 'बहुमूल्य धर्मको उपहार पठाएको' उल्लेख रहेछ।

पुनिमलपछि उनका छोरा पृथ्वी मल्ल पनि दानी व्यक्तित्वका रूपमा उदाएछन्। उनले मन्त्री यशो वर्मादेव (तिब्बती स्रोतमा पाल्देन डाक्पा) सँग मिलेर ल्हासा जोखाङमा मण्डप र सुनको गजुर दान गरेको अभिलेख रहेछ। सन्तान नभएका कारण पृथ्वी मल्ल खस राज्यको अन्तिम राजा हुन पुगेका रहेछन्।

भारतको दक्षिणतिर बौद्धमार्गी पाल वंशपछि उदाएका सेन वंशहरूको शैव मार्गको अवलम्बन, दिल्लीतर्फ मुगलहरूको उदय, तिनको दमनबाट बसाइँ सरेका राजपूतहरूको बाहुल्यता बढ्दै जाँदा खस राज्यको जनसंख्या र राजनीतिक परिवर्तन हुँदै गएको देखिन्छ। १७औँ शताब्दीमा गोरखालीहरूको विजयपछि तिनीहरू सांस्कृतिक रूपमा हिन्दूकृत भएका रहेछन्, भलै अझै पनि आफ्ना मौलिक संस्कृति धेरै कायम छन्।

कर्णालीको विगत इतिहास केलाइ हेर्दा केही महत्त्वपूर्ण कुराहरू भेटिन्छन्। एक, माथि उत्तरमा भोट र दक्षिणमा भारतका छिमेकहरूसँग निर्बाध सम्बन्ध र त्यसले गर्दा तुलनात्मक रूपमा अर्थ व्यवस्था बलियो र राज्य पनि व्यवस्थित देखिन्छ। अर्को महत्त्वपूर्ण पक्ष, यहाँ जात र वर्ण व्यवस्थाको विभाजन र विभेद देखिँदैन। 

उतिखेर नयाँ राज्य उदाउने र जितेको राज्यले पुरानो राजाको जानकारी नामेट बनाउने अभ्यास रहेछ। नेपाल तथा संसारकै इतिहास त्यसबाट अछुतो छैन। पुरानो राजा र समाजको वास्तविक इतिहास खोज्न धेरै कुरा केलाएर र निफनेर हेर्नुपर्ने रहेछ।

नेपाल मण्डलको इतिहासबारे एउटा चाखलाग्दो जानकारी १४औँ शताब्दीको हस्तलिखित पाण्डुलिपि गोपालराज वंशावलीमा रहेछ। प्रोफेसर सेसिल बेन्डलले सन् १८९८–९९ मा काठमाडौँको दरबार पुस्तकालयमा फेला पारेको पाण्डुलिपि वंशावलीको केही अंशमा यस्तो रहेछ :

" .. राजा श्री सिवदेव वर्ष १६ तेन श्री पशुपति भट्टारकय रजतपद्म निमितर्प नन्दिसाला विहार भिक्षु भोज्य सभा क्रितम (पाना २२)I

...राजा श्री नरेंद्रदेव वर्ष ३५। तस्य आचार्य वन्धुदत्त द्वायन श्री बुग्मा लोकेस्वर भट्टारकस्य जात्रा कृत भवति (पाना २३)।

...राजा श्री बलदेव वर्ष १७। राजा श्री वर्द्धम्मादेव वर्ष १६। राजा श्री संकरदेव वर्ष १२l राजा श्री वसंतदेव वर्ष २१ ll

तत्पश्चात् — भोटराजा नमयति : नेपालमण्डले राज्यम करोति।

प्राचीन लिच्छवि राजाहरूले आफूलाई परमभट्टारक भनेर लेखेका छन्, जुन भोट भाषामा 'जेचुन' भनेर उल्था गरिएको छ। बौद्ध साहित्यमा जेचुन वा भट्टारकको अर्थ महान्, सिद्ध, उच्चतम, आदरणीय र पूजनीय व्यक्तिहरूलाई प्रयोग गरिएको छ। जस्तै: भट्टारक अतिस दीपंकर, भट्टारक मिलारेपा। यही उपनाम जुम्लाका राजाहरूले पनि प्रयोग गरेका छन्।

नेपाल संग्रहालयमा रहेको शिलालेखअनुसार, त्यति खेरसम्म बुद्ध धर्मकै प्रभाव देखिने नेपाल मण्डलमा राजा आनन्ददेव (११४७–११६७) को पालादेखि भने दक्षिण भारतबाट आएका शंकरका अनुयायी शैव गुरुहरू पशुपतिनाथमा बसोबास गर्न थाले। पछि आनन्ददेव र युवराज महेन्द्रदेवका दुई छोरा वसन्तदेव र सोमेश्वरदेवले शंकरका अनुयायी गुरुहरूद्वारा दीक्षा लिन प्रारम्भ गरेको र सोमेश्वरदेव (११८–११८३) को समयदेखि नेपालसँग दक्षिण भारतका बाह्मणहरूको राजनीतिक र धार्मिक प्रभाव र घनिष्ठ सम्बन्ध शुरू भयो भनिएको रहेछ (प्रयाचितोपदेश, कैसर पुस्तकालय)।

रघुकुलटिका श्री सोमेश्वरदेशाय विजयाराज्य लिखितम् इदम्...(शिलालेखको मिति, मंसिर १४, ११६८)

अमृतदेवको पालामा शक्तिको थप क्षय र अनिकालको सामनासँगै ससाना राज्यहरूमा नेपाल टुक्रन थालेछ। अन्तमा विजयकामदेवपछि अरिमल्लबाट संवत् १२०० मा मल्लहरूको उदय भएको रहेछ। यस समयबाट छरपस्ट भएको उपत्यकाको राज्यशक्तिको लुछाचुँडी, लडाइँमा दुई प्रमुख गुट भोन्ता र तिरहुतमध्ये कसैले खसहरूलाई कसैले तिरहुतका लागि सहयोग माग्ने रहेछन्। यसै क्रममा १३१३ मा एक गुटले रिपु मललाई आमन्त्रित गरेको रहेछ।

यसै समय बंगालका मुसलमान शासक सुल्तान समसुद्दीन (१३४२–१३३७) ले राजा हरिसिंहलाई कर्नाटकबाट हटाए भनिन्छ। भागेर उनी सपरिवार नेपालमा शरण लिएको कथन रहेछ। उनी आफैँ छिटै बितेको बताइन्छ। उनकी श्रीमती देवलादेवी (देवलक्ष्मीदेवी)ले भने कालान्तरमा नेपाल मण्डलको राजनीतिमा अप्रत्याशित भूमिका निर्वाह गर्न सफल भएकी रहिछन्। राजनीतिक कलह बढ्दै जाँदा तथा तत्कालीन राजालाई छोरा नहुँदा तिरहुतका जयस्थिति मल्ल सन् १३७२ मे ३ मा कुलिनहरूको समर्थनमा पाटन राजदरबार प्रवेश गरेका रहेछन्। दक्षिणमा त्यस बखत उदाइरहेको शैव पन्थबाट प्रभावित उनकै पालादेखि मनुस्मृतिअनुसार नेपाली समाज जात व्यवस्थामा विभाजन भएको रहेछ।

उदाहरणका लागि एघारौँ शताब्दीसम्म विहार विश्वविद्यालयमा पढाउने अध्यापकलाई उपाध्याय र आचार्य भनिने रहेछ। त्यस्तै, पेसागत नाममा शिल्पकार र वैद्य आदि उल्लेख हुने अभ्यास रहेछ। भारतको नालन्दा विश्वविद्यालयमा पढ्न आएका चिनियाँहरू ह्वेन सांग, इचिंगका डायरीहरूमा यस्तो भेटिन्छ। हिमाली बौद्ध विद्यालयहरूमा त आठौँ शताब्दीदेखि नै यो परम्परा कायम छ। गुम्बाको मूलगुरु बज्रआचार्य, आचार्यलाई 'लोपोन', उपाध्यायलाई 'खेन्पो', विद्वान 'पण्डित' आदि। नेपालमा जयस्थितिको पालादेखि तथा भारतमा नालन्दा तथा विक्रमशीललगायत धेरै विश्वविद्यालयहरू नष्ट गरिएपछि यिनै पदवीहरू पछि जातिका रूपमा अँगालिएको भेटिन्छ।

योभन्दा अगाडि यी पदवीहरू जातका रूपमा रहेको प्रमाण भेटिँदैन।

फेरि यस्तो विभाजनहरू समाज र मानिसले आफैँ बनाउँदै पनि जाने रहेछन्। जस्तै: गाउँघर र छिमेकमा कसैको सजिलै याद हुने नाम हामी खोज्छौँ, त्यस्तो नामलाई टपक्क हाम्रो दिमागले टिप्छ। जस्तै: एकचोटि मात्रै मन्त्री भएको व्यक्ति बस्ने घरलाई समेत सधैँ मन्त्रीको घर वा कुनै बेला पण्डितको घरलाई सधैँ पण्डितको घर, लाहुरे वा हवलदारको घर आदि भन्छौँ। अनि समान काम र आर्थिकस्तरको समूहबीच एकता हुँदै पनि जान्छ। त्यस्तै एकताबाट क्लब, समाज, समूह आदि बन्दै जान्छन्। अनि तिनै समूहहरूमा लामो घुलमिल हुँदै पछि विभाजनको आधार पनि बन्ने रहेछ। परापूर्व कालमा काम, समूह तथा केही काल्पनिक कहानीका भरमा समाजमा अनेक खाले विभाजन बुनिँदै आए। त्यसकै आधारमा डरलाग्दा शोषण र अत्याचारसमेत हुने रहेछ। 

वर्षौं र शताब्दियौँपछि पनि भनसुन, कथा–कहानी र पुराणको वरिपरि मान्छेले आफ्नो इतिहास खोज्ने रहेछ। तथ्य खोज्नु आफैँमा चुनौतीपूर्ण हुन्छ। त्यसो नगरी इतिहास या पहिचानबारे कसैले चुनौती दिनेबित्तिकै मान्छेको आवेग उजागर भइसक्ने रहेछ। यसरी स्थिति झनै गुजुल्टिने रहेछ। तर सत्यको वैज्ञानिक खोज त आवश्यक छ नै। 

विज्ञानले खोजिसकेको कुरा हो, हामी सबै मानवको पुर्खा साझा हुन्। मानव पुर्खा र जीवहरूको आदिम कालदेखिका अवशेषहरू भेटिइसकेको अवस्थामा अब केही शताब्दीअघिका कथा–कहानी र पुराणका कुराहरू नकेलाई सुखै छैन। पूर्वाग्रह नराखीकन इतिहासको वैज्ञानिक, भाषिक र सामाजिक कोणबाट अध्ययन गर्ने हो भने हामी सबै मानवबीच विभाजन नभई करुणा र भाइचारा नजागी धरै छैन। कर्णाली, जुम्ला, गुगे, ङ्गारीका राजाहरूले त्यो सम्भावना पहिले पनि देखेका रहेछन्। बरु पछिका भने अलमलिएका रहेछौँ। तिनले त्यसै कुदेका होइन रहेछन्। 

ओम मानि पद्मे हुँ ! सर्वे चिरम जयतु।


बौद्ध ध्यान परम्पराका अध्येतासमेत रहेका लामा ग्रामीण विकासविद् र पर्यटनव्यवसायी हुन्।


सम्बन्धित सामग्री