Friday, June 14, 2024

-->

तीजको लहर कि कहर?

९१ वर्षसम्म हिन्दू उच्च जात कहलिएका भारतीय महिलाले आत्मदाह नगर्दा पनि धर्म उल्लंघन गरेको ठहरिएन, तर सोही धर्म र जातका नेपाली महिलाहरूलाई भने भटाभट डढाएर मारियो।

तीजको लहर कि कहर 

प्रेमकुमार गैरे 'क्वान्टम


पंक्तिकारले यो आलेख काठमाडौँ शहरको कुनै कुनामा अवस्थित कोठाभित्र बसेर टाइपिङ गर्दाको बखत अलि टाढाको नेपथ्यमा सुनिँदै गरेको गीत हो ‘तीजको लहर आयो बरिलै’। यही गीतमा तीजको लहर आयो भन्दै नेपालका हिन्दू धर्मावलम्बी महिलाहरू नाचेको ३२ वर्ष भएछ। कुनै पुस्ता ब्याट्री सकिने डरले रिललाई रुमाल, कलम वा झिँजोले रिवाइन्ड गरी गरी टेप रेकर्डर घन्काएर रिल सर्‍यो र त्यसमा फनन नाच्यो, कुनै पुस्ता सिडी/डिभिडी प्लेयरमा डिस्क जसरी रनन घुमेर नाच्यो। कुनै पुस्ता मेमोरी कार्ड वा पेन ड्राइभमा गीत भरे जसरी पेट भरी नाच्यो र अहिलेको पुस्ता युट्युब र टिकटकमा छमछमी नाचिरहेछ, भलै गीत उही छ। ०४६ को परिवर्तनसँगै बजारमा आएको कन्यादान भन्ने चलचित्रको उक्त गीतले तीन दशकभन्दा लामो समय तीजको लहर वर्षैपिच्छे अविच्छिन्न रूपमा ल्याउँछ। अनुमान गर्न सकिन्न, अझै कति दशक ल्याइरहने हो।

'तीजको लहर' साँच्चै आएको हो?
प्रत्येक वर्षको भदौ शुक्ल तृतीयाको दिनलाई नेपाल सरहदको पहाडी भूगोलका हिन्दू धर्मावलम्बी विशेष गरी जात व्यवस्थाअन्तर्गत उच्च जातका र हालको अवस्थामा यही पृष्ठभूमिका देश तथा विदेशमा छरिएर रहेका महिलाहरूले हरितालिका तीज पर्वका रूपमा धूमधाम मनाउने गरेको पाइन्छ। सामाजिक संरचनात्मक लाभांशको कोणबाट हेर्ने हो भने नेपालको सन्दर्भमा तीज पर्वमा विश्वास र आस्था राख्ने महिला नै सबैभन्दा अग्रपंक्तिका शक्तिशाली र अवसरहरूको पहिलो भागीदारका रूपमा हाम्रो समाजमा स्थापित छन्। तर यसको द्वन्द्वात्मकता पनि सँगै आइहाल्छ अर्थात् शासक वर्गकै भए तापनि पितृसत्तात्मक आर्थिक, राजनीतिक र सांस्कृतिक जगमा उठेको सामाजिक व्यवस्थाले जात व्यवस्थाअन्तर्गत रहेका कथित उच्च जातका महिलामा उत्पीडनको घनत्व बढ्ता थोपरेको देखिन्छ।

मानव विकासको एउटा चरणमा, कबिला युगमा अर्को कबिलाबाट अपहरण गरेर ल्याई सामूहिक बलात्कार गर्दै आफ्नो निजी स्वास्नी बनाई बन्धक बनाइएको मानिन्छ। त्यस्तो विवाह संस्था अहिले महिला प्रजाति स्वयंलाई सामान्य, उचित र अपरिहार्यजस्तो लाग्छ। ठिक त्यसै गरी करिब पाँच हजार वर्षअघिबाट शुरू भएको संसारकै सबैभन्दा लम्बाइमा लामो र मात्रामा घनत्व बढी भएको महिला उत्पीडनले खडा गरेको तीजजस्ता अपमान र असमान चाडपर्व पनि वैज्ञानिक, सामान्य र सान्दर्भिक लाग्नु र यो आलेख पढ्दा चिटचिट पसिना आउनु स्वाभाविक हो।

बिसौँ शताब्दीका अमेरिकी लेखक एवं रेडियोकर्मी अर्ल नाइटिंगेलका अनुसार हामीले हाम्रो अवचेतन मन (मस्तिष्क)मा पुनरावृत्ति र भावनाद्वारा मलजल गरी जे बीजारोपण गर्छौं, त्यो एक दिन सत्यजस्तो बनिदिन्छ। उनको दृष्टिकोणभन्दा अझै माथिबाट हेर्दा त्यो बीजारोपण र पुनरावृत्ति भावनामार्फत निरन्तर फकाएर वा डन्डा चलाएर लाद्ने काम भने आफ्नो अनुकूलताको शासन प्रणालीमार्फत शासक वर्गले गरिरहेको हुन्छ। 

हिन्दू धर्ममा आधारित सतीप्रथाको दृष्टान्तलाई नजिकबाट हेरौँ। सन् १८२९ डिसेम्बर ४ मा अंग्रेज शासकले इन्डिया साम्राज्यमा सतीप्रथा नरहने घोषणा गरिदिए, किनकि दहनमार्फत मारिएकी महिला र मरेको पुरुषको मिलन पछि कहीँकतै होला भन्ने कुरामा उनीहरूलाई रत्तीभर विश्वास थिएन, र त्यतिखेरका अंग्रेजले अभ्यास गरिरहेको धर्ममा त्यस्तो व्यवस्था थिएन। तर नेपालमा भारतको वैशालीका लिच्छवि हिन्दू राजाहरूको आगमनसँगै भित्रिएको सो प्रथा भारतमा भन्दा लगभग ९१ वर्षपछि मात्रै सन् १९२० जुलाई ८ मा उन्मुलन भएको देखिन्छ। 

९१ वर्षसम्म हिन्दू उच्च जात कहलिएका भारतीय महिलाले आत्मदाह नगर्दा पनि धर्म उल्लंघन गरेको ठहरिएन, तर सोही धर्म र जातका नेपाली महिलाहरूलाई भने भटाभट डढाएर मारियो। संवत् १९७७ असार २५ गते सतीप्रथा उन्मुलन हुनुभन्दा एक दिनअघिसम्म कथित उच्च जातका महिला स्वतःस्फूर्त रूपमा समेत सती गएकै थिए भने उक्त दिनबाट निषेध गर्नासाथ जान पनि छोडे। तर केही महिला भने असार २५ पछाडि पनि सती गएको इतिहास छ। आत्मघाती कुरा पनि लामो र निरन्तर रूपमा गलत ढंगले प्रशिक्षित गरियो भने प्रशिक्षार्थीलाई सही र जायज लाग्छ भन्ने कुरा त्यसबाट प्रमाणित हुन्छ।

शासक वर्गले  धर्मान्धता, जडता, अन्धविश्वास र पछौटेपनलाई पालन पोषण गर्छन् र जिउँदै राख्छन्। सहज सत्ता सञ्चालनका लागि यी तत्त्व आवश्यक ठानिन्छ। शासनसत्ताले आफ्ना धार्मिक, सांस्कृतिक र बौद्धिकलगायतका सबै संयन्त्र तथा गृह प्रशासन, मिडिया, बजार आदिको परिचालनमार्फत तीजको लहर पनि जबरजस्त ल्याएको हुन्छ, जसलाई सचेतन प्रयत्नकारीहरूले आलोचनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ।

चाडपर्वका दुई पक्षहरू
संसारभरका धर्ममा उद्धृत भएका र मानिसहरूले मनाउँदै आएका चाडपर्वहरूलाई विशेषतः दुई पक्षबाट हेर्न सकिन्छ। तीजलाई केन्द्र बनाएर हेर्दा पनि यसको दुई पाटालाई बुझ्नुपर्ने देखिन्छ।

१) धार्मिक पक्ष
पूर्वीय दर्शनमा विभाजित युगहरूमध्ये पहिलो सत्ययुगमा भगवान् शिवलाई पतिका रूपमा पाउन हिमालयपुत्री पार्वतीको कठोर तपस्याको कथाबाट हरितालिका तीजको मिथक शुरू भएको देखिन्छ। ती मिथकीय पात्रहरूले गरेजस्तै क्रियाकलाप अझै पनि हिन्दू धर्मावलम्बी महिलाले धार्मिक आस्थाका आधारमा गर्दै आएको जगजाहेर छ। अहिलेको जस्तो सामाजिक जटिलता र विज्ञानमा भएको चमत्कारिक विकासको युगमा एक दिनभरि निर्जल र निराहार व्रत बसेर शिवलिंगको पूजा गरेर, शिवजस्तो बेफिक्र जीवनसाथी पाउन अविवाहित र पाइसकेका विवाहित महिलाको तत्परता देखिँदैन। 

अर्को कुरा, पार्वतीको जस्तो फुर्सद अहिलेका महिलालाई पटक्कै छैन। तेस्रो कुरा, यो पितृसत्ताद्वारा निर्देशित प्रथा हो, किनकि कुनै पुरुष महिला पाउनका निम्ति व्रत बस्नु पर्ने नियम कतै भेटिँदैन। ऋषि पञ्चमीको दिनमा ३६५ वटा दतिवनका आँख्लाले दाँत माझ्दा अपवादबाहेक महिला प्रजातिभित्र प्राकृतिक हिसाबले आफ्नो जीवनकालमा हुने महिनावारीलाई पाप सम्झी पखाल्नुपर्नेजस्ता महिलाद्वेषी संस्कार यो पर्वले सहवरण गर्छ। आफ्नो प्रजाति रक्षा र पुस्ता निरन्तरताका निम्ति गर्भाधान प्रक्रिया अघि बढाउन पाठेघरमा हुने नियमित जैविक चक्रलाई पाप वा अनिष्ट देख्ने पितृसत्तात्मक विचारधारा बोकेका यस्ता अवैज्ञानिक र घोर असमान मान्यतालाई बेदखल गर्ने व्यापक बहसको सृष्टि गरिनु पर्दछ।

२) सांस्कृतिक पक्ष
हरितालिका तीजलाई 'महिला विशेष पर्व'को खोल लगाइएको भए तापनि यो विशुद्ध रूपमा पितृसत्ताको हुंकार मच्चाउने चाडको रूपमा चित्रण गर्नु वस्तुगत देखिन्छ। मैमत्त पितृसत्तालाई खुशी पार्ने र टिकाइराख्ने यसको संस्कृति हो भने महिलामाथिको दमन यसको राजनीति।

क) तीज गीतको सन्दर्भ
सामन्तवादी समाजमा सापेक्षिक रूपमा महिलालाई भएको दमन, अत्याचार र थिचोमिचो व्यक्त गर्ने कुनै सार्वजनिक स्थल थिएन। त्यसैले मनमा दबाएर र लुकाएर राखेको पीडा र मर्मलाई गीतमार्फत तीजको बेला महिलाले पोख्ने गर्थे। अहिले भने विकसित राजनीतिक चेतना र विज्ञान-प्रविधियुक्त विश्व भएको कारण अब शोषण-दमनलाई केबल तीजमा मात्रै होइन, पल-प्रतिपल लेख रचना, सामाजिक सञ्जाल र कार्यक्रम वा आफू संगठित संस्थामार्फत मुखरित गर्ने सुविधा छ। तलका जस्ता तीज गीतका भाष्यहरूलाई इतिहासमा यस्तो पनि हुँदो रहेछ भनेर सुन्दा हुन्छ, तर यसमा डुबेर गुनासो गर्नु हास्यास्पद हुने स्थिति आएको छ:

'बिर्सेर आजलाई कर्करे सासू
आमाजू-नन्दले दिएका आँसु'
'हाम फालेर मरौकी, त्रिशूलीको पानीमा
घरमा बसूँ सौता छ,माइत सानीमा'

जुन पितृसत्ताविरुद्ध जुरमुराएर ठिंग उभिँदै शोषित-उत्पीडित महिलाहरू संगठित हुँदै लड्नुपर्ने हो, उनै सहयोद्धा उत्पीडितको उछित्तो काढ्दै नुन खाएको कुखुराजस्तो झोक्राएर बस्नु बिलकुल सही र सान्दर्भिक हुँदैन। कोसँग किन लड्ने भनेर दुस्मन र कारण पहिचान गर्नु पनि अबका महिलाहरूको दायित्व हुन आउँछ। बुहारीको मुक्तिको बाधक तत्त्व सासू, आमाजू वा नन्द हुन सक्दैनन्, न त पुरुष नै हुन्। बाधक हो त केबल पितृसत्तात्मक विचारधाराद्वारा निर्देशित अर्थतन्त्र, राजनीति र संस्कृति। यही एकात्मक अर्थतन्त्र, राजनीति र संस्कृतिविरुद्ध लड्ने प्रतिरोधी भावना र विचार पैदा र निर्माण गर्ने गीतसंगीतलाई अबका युवाले तीजका गीत बनाएर गाउनु र नाच्नुपर्छ।

ख) दर खाने संस्कृति
पुरुषवादी चिन्तन बोक्ने महिला र पुरुषहरूको 'दर-पार्टी'मा रक्सी पिएको देख्दा पितृ सत्ताको आक्रोशको फँडा उठेको छ्यापछ्याप्ती देख्न सकिन्छ। तर के खाने भन्ने विषय व्यक्तिको रोजाइमा भर पर्ने विषय हो, तर महिनौँसम्म दर मात्रै खाने गलत परम्पराको अभ्यास विगत केही दशकबाट गरिएको छ। यो पनि समाजका निम्ति निकै घातक र प्रत्युत्पादक क्रियाकलाप हो। अतः धार्मिक क्रियाकलापबाट अलग्याएर सांस्कृतिक पक्षका केही सबल र सान्दर्भिक विषय जस्तै: साथीसंगी, परिवार र आफन्त जमघट भएर सौहार्दपूर्ण वातावरणमा खानपिन गर्नु र स्वस्थ गीतसङ्गीतमा नाच्ने र रमाउने संस्कृतिलाई अनुकरण गर्दै अगाडी बढाउनु पर्ने देखिन्छ।

तीजको वर्तमान अर्थ राजनीतिक अवस्था
पछिल्लो समयमा नेपालीका सबै चाडपर्वहरू महँगो र भड्किलो हुँदै गएको पाइन्छ। चाडपर्वहरू सर्वहारा वर्गका मानिसलाई खिसीटिउरी र अपमान गर्ने र ऋणमा डुबाउने आहाल बनेका देखिन्छन्। गहना, कपडा र अन्य सज्जाका सामग्रीहरूको प्रदर्शन गर्ने प्रतियोगिता र होडबाजीजस्तो हुन पुगेको तीज पर्वले वर्गीय पक्षधरता बोकेको स्पष्ट देखिन्छ। समाजशास्त्री एभलिन रीडको 'महिला मुक्ति आन्दोलनका सम्बन्धमा' पुस्तकमा 'काँचो मासुका नाफाखोरहरू' उपशीर्षकमा नाफाखोरहरूलाई मुख्य तीन समूहमा विभाजित गरिएको छ।

१) नारी शरीरलाई वर्तमान समयको स्तरीय फेसन तथा ढाँचामा ढाली नाफा कुम्ल्याउने;
२) नारी शरीरमाथि प्रसाधनका सामान, रंगरोगन तथा अत्तर आदि पोतेर नाफा कुम्ल्याउने; र
३) एक र दुई नम्बर बुँदामा उद्धृत शरीरमा रंगीबिरंगी उच्च दर्जाका फेसनका लुगा र गरगहना सजाएर नाफा कुम्ल्याउने।

तीजका बेला नारीहरूले लगाउने सामग्रीको सन्दर्भमा पनि नाफा कुम्ल्याउन लत बसेका पुँजीवादी व्यापारीहरूले यसरी नै लुटको धन्दा मच्चाइरहेका छन्। राजनीतिक दलका मानिसहरू भने नाफाखोरहरूकै पैसाले पार्टी सञ्चालन र व्यवस्थापन गर्दै बसेका छन्। चुनाव खर्च बटुल्नुपर्ने हुँदा सत्ता टिकाउनकै निम्ति शर्मनाक स्थितिमा सास गन्हाउने गरी चुप बसिरहेछन्।

विषय बैठान
पितृसत्ताको अजङको पहाडलाई महिला मुक्तिको नवीन जागरण र चेतनाको संगठित बलले भत्काउँदै समतुल्य समाज निर्माण गर्ने अभिभारा उत्पीडित महिला र सबै प्रगतिशील तथा क्रान्तिकारी पुरुषहरूको हो। धूम्रपान गर्नु स्वास्थ्यको प्रतिकूल छ भनेर जान्दाजान्दै चुट्की मार्दै बेहद खुशी मुद्रामा धूम्रपानकर्ताले फ्वाङ्ङ धुवाँ उडाएर छद्म मज्जा लिएझैँ भाग्यवाद, कर्मफलवाद र अभिभूतवादमा बलियो हात्तीपाइले टेक्दै महिलालाई दोयम कोटीको घोषणा गर्दै तीज उभिएको छ। तीजका यस्ता गलत भाष्यहरूलाई नपछार्ने हो भने तलको आत्मघाती हरफको पुनरावृत्तिलाई सुदूर भविष्यसम्म महिलाहरूले फलाकिरहनुको विकल्प छैन : तीजको लहर आयो बरिलै, तीजको कहर आयो बरिलै।


सम्बन्धित सामग्री