Saturday, April 20, 2024

-->

दबंग मञ्जुको मनमौजी

२०७४ सालको चुनावअघि समानुपातिक सूचीमा आफ्नो नाम पुछारतिर परेपछि मञ्जुले बालुवाटारमै बबण्डर मच्चाएकी थिइन्। त्यसको पाँच वर्षपछि संसद् छिरेरै छाडेकी उनी नक्कली शरणार्थी प्रकरणले 'चर्चा'मा आइन्।

दबंग मञ्जुको मनमौजी

२०५६ साल भदौ १३ गते। नेपाल मेडिकल कलेजमा एमबीबीएस दोस्रो सेमेस्टरका विद्यार्थी गणेश मण्डल अत्तरखेलस्थित होस्टलमै थिए। मोबाइल फोन आउन केही वर्ष बाँकी नै थियो। विद्यार्थीका लागि फोन आउने निश्चित ठाउँ थियो। गणेशलाई सिरहाबाट फोन आएको भन्दै बोलाइयो।

फोनमा गणेशलाई बुवामाथि आक्रमण भएको भन्दै यथाशीघ्र घर आइपुग्न भनियो। बेलुका ९ बजिसकेको थियो, त्यो पनि सशस्त्र द्वन्द्वले मान्छेका दैनिकी बिथोलेको समय। उनले भोलिपल्ट बिहानै जनकपुर जाने बस समाते। 

नौबिसेमा चियानास्ता गर्न उत्रिएका बेला हकरले ‘माओवादीद्वारा बाबुछोराको हत्या’ भन्दै पत्रिका बेचिरहेको थियो। गणेशले पत्रिका किने र पढ्न थाले। समाचार उनकै बुवा र दाइबारे थियो।

त्यसको एक वर्षअघि पनि गणेशका बुबा धनिकलालमाथि आक्रमण भएको थियो। सुतिरहेको बेला झ्यालबाट उनको कञ्चटै ताकेर गोली दागिएको थियो। कञ्चटलाई अडेस लगाएको हातमा गोली लाग्यो, धनिकलाल बालबाल बाँचे। 

समाचार पढ्नु अघिसम्म गणेश पोहोर जस्तै बुवा सकुशल रहेकोमा विश्वस्त थिए। तर, बुवामात्र होइन २२ पुगेर २३औँ वर्षमा कुदिरहेका, बीएस्सी पढिरहेका र तीन महिनाअघि मात्र विवाह गरेका दाजु महेशको समेत हत्या भएको थियो। 

बसका अरू यात्रुले पनि त्यो अखबार किनेका थिए। त्यसपछि यात्रुबीचको कुराकानी बाउछोराको हत्या, माओवादी सशस्त्र युद्ध, देशको भविष्य आदिबारे केन्द्रित भइरहेको थियो। गणेशले आफूलाई सम्हाले। गफिइरहेका यात्रुले हत्या गरिएका बाउछोराको छोरा र भाइ त्यही बसमा छन् भन्ने छनकै पाएनन्। ढल्केबरमा ओर्लिएर पूर्वतिरको बस पकडे। अब, त झनै नजिकैको घटना त्यस बसभित्रका यात्रुलाई गफको विषय हुने नै भयो। अझ, कान्छो छोरा काठमाडौँबाट आउँदैछन्, आएपछि सदगत हुनेसम्मका गफगाफ यात्रुबीच भइरहेको थियो। 

लहानबाट मोटरबाइकमा घर फर्किंदै गर्दा धनिकलाल र महेशको हत्या भएको थियो। कल्याणपुरमा पुल निर्माणाधीन भएकाले सडक डाइभर्सन गरिएको थियो। डाइभर्सनतिर मोटरबाइक ओर्लिएपछि कसैले ‘जय नेपाल’ भनेर चिच्याउँदै रोक्न खोज्यो र तत्कालै फायर खोल्यो। ६ गोली लागेका महेशको घटनास्थलमै सास गएको थियो। धुकुरधुकुर सास चलिरहेका धनिकलालले भने अस्पतालमा दम तोडेका थिए। जेजे भए पनि जिन्दगीको यात्रा अघि बढाउनु नै थियो, गणेश काठमाडौँ फर्किएर डाक्टरीको पढाइलाई निरन्तरता दिए। 

त्यही क्षेत्रबाट राजनीति गरिरहेका र दुई चुनाव लडिसकेका नेता प्रदीप गिरिसँग कांग्रेसकै क्षेत्रीय सभापति धनिकलाल मण्डलको सम्बन्ध हुने नै भयो। मण्डल परिवारको चाहिँ त्योभन्दा बढी र पुरानो सम्बन्ध थियो। 

२०५१ सालको मध्यावधि चुनावमा गिरिले जित्दै गर्दा धनिकलाल नै तत्कालीन सिरहा–५ को कांग्रेस क्षेत्रीय सभापति थिए। भर्खरै हारेको २०५६ सालको चुनावमा पनि गिरिको क्षेत्रीय कमान्डर उनै थिए। बुवा र दाजु एकसाथ गुमाएका गणेशको अभिभावकको भूमिकामा अब गिरि देखिन थाले। 

गणेश अध्ययनरत मेडिकल कलेजका प्रिन्सिपलसहित मुख्य जिम्मेवारहरूलाई गिरिले आफ्नै संरक्षकत्वमा रहेको छोरासमान भएको बताए, त्यही हैसियतले गणेशको खबर लिने गर्थे। बुवा र दाजु गुमाएका गणेशको मनमा बदलाको भावना पैदा नहोस् भनेर ‘काउन्सिलिङ’ गरिरहन्थे। बदलाबाट बच्न गिरिले गरेको काउन्सिलिङकै कारण हुनुपर्छ गणेशमा अरू माओवादीपीडितमा जस्तै माओवादीप्रति आक्रोश सुनिँदैन।   

एमबीबीएस पास गरेपछि गणेश गाउँ फर्किए। आफ्नो क्षेत्रकै मिर्चैया बजारमा क्लिनिक खोले। दुई वर्षपछि थाइल्याण्डबाट जनस्वास्थ्यमा स्नातकोत्तर (एमपीएच) गरेपछि चाहिँ उनको बाटो मोडियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा जागिर शुरू गरे।

२०७० सालको संविधानसभा चुनाव चाहिँ उनको जीवनको धार नै मोड्ने घटना भइदियो। उनले डब्लूएचओको अन्तर्राष्ट्रिय जागिरमा आवेदन दिएका थिए। एकातिर चुनाव नजिकिँदै थियो, अर्कातिर डब्लूएचओमा उनको छनोट प्रक्रिया शुरू भएको थियो। गिरि संविधानसभा चुनावमा उम्मेदवार भई प्रत्यक्ष राजनीतिमा उत्रिन उत्प्रेरित गरिरहेका थिए। डब्लूएचओको जागिरे भई संसारका विभिन्न देशहरूमा आकर्षक तलब सुविधासहितको जागिरको अवसर थियो। 

जसै, संविधानसभा चुनावका लागि कांग्रेसको टिकट वितरणको प्रक्रिया अघि बढ्दै थियो, उता डब्लूएचओको छनोट प्रक्रिया पनि अघि बढ्दै थियो। यता सिरहा–५ मा कांग्रेसबाट टिकट कन्फर्म भयो, उता डब्लूएचओको जागिरमा छनोट भई अमेरिकाको एटलान्टामा तालिमको इमेल आयो। उनले गिरिको अभिभावकत्वमा राजनीति गर्ने अठोट गरे, डब्लूएचओको जागिर हापे। उनी निर्वाचित पनि भए। 

२०७४ सालको चुनाव, अर्थात् संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो आमचुनाव संघ र प्रदेशका लागि एकसाथ हुँदै थियो। २०७० सालको चुनावमा ६ वटा क्षेत्र रहेको सिरहा यसपालि चार वटामा खुम्चिएको थियो। यसअघि सिरहा-५ मा पर्ने उनको थातथलो अब सिरहा–४ मा समेटिएको थियो। 

पहिलोचोटि गठन हुन थालेको प्रदेशसभामै काम गर्ने जुनूनका कारण गणेश प्रदेशसभामै उम्मेदवारी दिन इच्छुक भए। संविधान जारी हुँदाताकाको मधेश आन्दोलनपछिको पहिलो चुनाव थियो, आन्दोलनको रापताप, मधेशीको शहादत आलै थियो। फेरि गठबन्धन गरी मतदातासमक्ष गएका दुई क्षेत्रीय शक्ति तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) माथि मधेशी जनताले भरोसा गरे, गठबन्धनको प्रदर्शन उम्दा रहन गयो। गणेश प्रदेशसभामै पराजित भए। 

यसपालि (२०७९ मंसिर ४ को चुनावका लागि) पनि कांग्रेसको जसपासँग गठबन्धन हुने निश्चितजस्तै अवस्थाबीच गणेश प्रदेशसभाकै चुनावमा उम्मेदवारी दिने तयारीमा थिए। यसैबीच, जसपा गठबन्धनबाट बाहिरिएपछि उनलाई संघतिरै दाबी गर्न पनि भनिएको थियो। तर, गणेशले प्रदेशसभाकै तयारीलाई निरन्तरता दिए। 

उनको एकल नाम सिफारिस भयो। लास्टाँ उनको प्रदेशसभा क्षेत्र लोसपाको जिम्मा लगाइयो। गणेश हिस्स परे। ६ महिनाअघि मात्र भएको स्थानीय तह चुनावमा क्षेत्रभरिमा लोसपाले जम्माजम्मी १३० भोट पाएको थियो, गठबन्धनको नाममा त्यही सिट लोसपालाई जिम्मा लगाइएको थियो। आफूलाई पन्छाउनकै लागि सिट लोसपालाई दिइएको गणेशले नबुझेका होइनन्, तर मौन छन्। 

स्थानीय कांग्रेसीहरू त्यतिबेला कांग्रेस केन्द्रीय सदस्यका साथै गृहमन्त्री बालकृष्ण खाँणपत्नीको रूपमा रजगज गरिरहेकी मञ्जुको कोपभाजनमा गणेश परेको दाबी गर्छन्। गणेश उनकै ‘प्रदीप अंकल’को उत्प्रेरणामा राजनीतिमा छिरेका थिए भने मञ्जुले अन्तबाट कांग्रेसको क्रियाशील सदस्यता लिनधरी नसकेपछि प्रदीप गिरिकै जोडबलमा सिरहाबाट क्रियाशील सदस्यता प्राप्त गरी त्यहीँबाट राजनीति शुरू गरेकी थिइन्। कांग्रेसमा दबंगको इमेज बनाएकी उनले प्रदीप अंकलकै प्रिय भतिजलाई ‘पटखनी’ दिइन्।   

कांग्रेसमा श्रीमती खाँणको रजगज बुझ्न, बालकृष्ण खाँण समातिएको अनि, श्रीमती खाँण मोबाइल अफ गरी सम्पर्क विच्छेद गरेको खबर बाहिरिनासाथ सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको भिडियोबारे थाहा पाउनुपर्छ। एक वर्षअघि स्थानीय चुनावका क्रममा बर्दिबास नगरपालिकाको नगर प्रमुखको उम्मेदवारका लागि टिकट वितरणमा मञ्जुले देखाएको बाहुबल त्यो भडियोमा झल्किन्छ। 

भिडियो बनाउनेहरूले दबंग मञ्जुको डरले मोबाइलमै कैद गरी राखेको भिडियो, उनी लुकिछिपी बसेको, अझ विदेशै भागेको सुनेपछि सार्वजनिक गर्ने हिम्मत जुटाएका हुन्। भिडिओमा कांग्रेसको मधेश प्रदेश कार्यालयमा छिर्दै मञ्जु भन्छिन्, “चिरञ्जीवी हमालले (टिकट) पाएनन् भने म पनि छोड्छु राजनीति, केन्द्रीय सदस्यबाट राजीनामा दिन्छु। को–को बसेर छलफल गर्नुभा’छ? दिन्नँ दिन्नँ। हेरौँ त कसरी हुँदो रहेछ राजनीति! हेरौँ त टिकट कसरी हुँदो रैन्छ। यस्तो धोका हुन्छ? राजनीतिक धोका। कहाँ छलफल गर्नुभयो? सभापतिज्यू, हामी पनि गुलेली खेलेर आएको हैन, राजनीति गरेर आएको। मलाई महिला भनेर हेपेको होला, म पनि २ नम्बर प्रदेशमा राजनीति गरेको। म पनि जितेर आएको केन्द्रीय सदस्य। सभापति भेट्न नपाउने! पार्टीको सभापति हो, कसैको व्यक्तिगत हैन। कसरी टिकट दिन्नन् हेरुँ त! राति नै दिएँ भन्ने? को–को छ मिटिङमा? कसले कसले सही गर्नुभएको छ, म पनि हेर्छु।”

त्यसैबीच श्रीमती खाँण कसैलाई फोन लगाउँछिन् (सायद चिरञ्जीवी हमाललाई) र भन्छिन्, “तपाईं यहाँ आउनुस् न उभिनुस्। पार्टी हाम्रो हो, लगानी गरेको। अर्काको पार्टीमा हामी बसेको हो र? आउनुस्। चुनाव भनेको जित्नका लागि हो। सबैको सहयोग चाहिन्छ। लुकेर टिकट दिएर चुनाव कसैले जित्छ?”

बीचैमा एक महिला देखिन्छिन्। तत्कालीन गृहमन्त्रीपत्नी भन्छिन्, “तपाईंले चिरञ्जीवी हमालको टिकटमा सही गर्नुभयो? रातभरि बस्नुभा’थ्यो। तीन दिन भो’ गाउँ आउनुभएको छैन। सबै फोन उठाउँदैनन्।”

उहाँकै एकल प्रवचन चलिरहँदा कसैले प्वाक्क बोल्छ, ‘आगबबुला’ खाँण ‘ए बर्दिबासको गुण्डा आइजो’ भन्दै खेदाउँछिन्। 

खासमा बर्दिबास नगरपालिकामा कांग्रेसको उम्मेदवार प्रह्लाद क्षेत्री बन्ने टुंगो लागिसकेको थियो। प्रदेश कांग्रेस इकाईले निर्णय गरेपछि टिकटै क्षेत्रीको हातमा परिसकेको थियो। श्रीमती खाँण प्लेनमार्फत जनकपुर पुगेर भाइरल भिडियोमा देखिएको त्यो रडाको मच्चाएकी थिइन्। गृहमन्त्री पत्नीसमेत रहेकी खाँणको हस्तक्षेपपश्चात् क्षेत्रीले पाउनेगरी प्रदेशले गरेको निर्णयविपरीत केन्द्रबाट हमालले नै टिकट पाए। 

आफूमाथिको अन्यायपछि क्षेत्री डा. गणेश मण्डलजस्तो चुपचाप बसेनन्, बगावत गरी उपमेयर वडाध्यक्षसहित स्वतन्त्र उम्मेदवारी दिए। उपमेयर र पाँच वडाध्यक्षसहित क्षेत्री मेयरमा विजयी भए। २०४९ र २०५४ सालको स्थानीय चुनावमा तत्कालीन बर्दिबास गाविसका अध्यक्ष र दोस्रो संविधानसभामा तत्कालीन महोत्तरी–६ मा कांग्रेस उम्मेदवार रहिसकेका हमालले जमानतधरी जोगाउन सकेनन्। मञ्जुले हमाललाई टिकट दिलाउन दादागिरी देखाउनुको कारण चाहिँ हमालकी बहिनी उनको बालसखी हुनु थियो। मेयर क्षेत्रीले आफू कांग्रेसै भएको भनिरहँदा पनि बेवास्ता गरिरहेको नेतृत्वले हालै पार्टीमा भित्र्याएको छ। 

सिरहा कांग्रेसको जिल्ला नेतृत्वको चुनावमा त मञ्जुले पुलिस/प्रशासनको बलमा बुथ क्याप्चर गरी चुनाव जिताएको भन्दै इतरपक्षले चुनावी नतिजा नै स्वीकार गरेको छैन। जिल्ला नेतृत्वका लागि रामसुन्दर चौधरी र रामचन्द्र यादव आमुनेसामुने थिए। सदरमुकाममै अधिवेशनका कार्यक्रम हुने गरेकोमा अन्यत्र (गोलबजार) मा हुने भयो। रामसुन्दरहरूले विरोध गरे, सहभागी नहुने घुर्की लगाए। 

तर, निर्वाचन अधिकृत सञ्जीव लामाले सहभागी नहुने भए एकतर्फी घोषणा गरी काठमाडौँ फर्किने भनेपछि गोलबजारमै चुनाव हुने भयो। बुथ क्याप्चर भएको भनी जिल्लाकै नेताहरूले पनि भोट दिएनन् वा दिन पाएनन्। “छानबिनका लागि नेताका द्वार–द्वार चहारियो, सुनुवाइ भएन,” रामसुन्दरको गुनासो छ।   

युवराज खाती नेपाल विद्यार्थी संघ र कांग्रेसको राजनीतिमा थिए। पञ्चायतको अन्त्यतिर स्कुल पढ्दै गरेका हाम्रा लागि खाती किंवदन्तसरह थिए। संगठन, भाषणदेखि मारमुङ्ग्रीसम्म अग्रपंक्तिमा रहने खातीका बारे जनकपुर पढ्दै गरेका गाउँका दाजुहरूले बेलिविस्तार लाउँथे। खातीका अनुसार विद्यार्थीकालमा मञ्जुको राजनीतिको दूरदूरतक सम्बन्ध थिएन। मञ्जुले नै दाबी गरेजस्तो उनी नेविसंघको राजनीतिबाट आएकी होइनन्। खोटाङबाट जनकपुर बसाइँ सरेको परिवार हो, बुवा जनकपुर चुरोट कारखानामा जागिरे थिए। पञ्चायतविरुद्ध आन्दोलन गरेको परिवार हैन, बरू व्यवस्था समर्थक परिवार थियो। हेमबहादुर मल्लको बफादार थिए।  उनी खेलकुदतिर रुचि राख्थिन्। टेबल टेनिस राम्रै खेल्थिन् पनि। 

२०३९ सालमा त्रिविको केन्द्रीय क्याम्पस (कीर्तिपुर) मा स्ववियु चुनावमा चन्द्रबहादुर केसीको नेतृत्वमा नेविसंघको प्यानल बनेको थियो, जसमा युवराज खाती उपाध्यक्षका उम्मेदवार थिए। बालकृष्ण खाँणलाई सदस्यको उम्मेदवार बनाइएको थियो। तर, अध्यक्षमा गौरी प्रधानले केसीलाई हराए, खाँण पनि पराजित भए। उपाध्यक्ष सदस्यसहित बाँकी सबै पदमा नेविसंघको प्यानलले जित्यो।

२०४१ सालको स्ववियु चुनावमा खातीकै नेतृत्वमा नेविसंघले प्यानल बनायो, प्यानलै विजयी भयो। खाँण उपाध्यक्षमा निर्वाचित भए भने, जयप्रकाश प्रसाद गुप्ता (जेपी आनन्द) सचिव बने। २०४३ सालमा खाँणलाई स्ववियुको अध्यक्ष जिताएर खाती जिल्ला फर्किए। 

“कीर्तिपुरमा नेविसंघको अध्यक्ष चाहिँ लामो समयदेखि पूर्णबहादुर खड्का थिए,” खाती सम्झिन्छन्, “एकचोटि इकाइ गठन गर्न आएका केन्द्रीय अध्यक्ष बलबहादुर केसीको कलर समात्दिएपछि खाँणको राजनीतिक कद उकासियो।”

पञ्चायतकालको पुछारतिर नेतात्रयको सहमतिमा खाँण नेविसंघकै अध्यक्ष भए। कांग्रेसको १३औँ महाधिवेशनको क्रममा नजिकै अरूसँग जिस्किँदै गरेका डा. मिनेन्द्र रिजाललाई “यो ....लाई अहिले टिपेर भूइँमा फाल्दिन्छु” भनेर बालकृष्णले भन्दा उपस्थित पत्रकारहरू (भागवत भट्टराई, सबिन मिश्र) छक्क परेका थिए, पाको उमेरमा पनि खाँणको दबंगई देखेर। 

कीर्तिपुरमा अध्ययनरत रहँदै २०४२ सालमा बालकृष्णले दिलमायासँग विवाह गरेका थिए। २०४८ सालमा रुपन्देही–३ बाट खाँण प्रतिनिधिसभाका लागि निर्वाचित भए। सँगसँगै अर्की महिलासँग ‘रिलेसनसिप’मा रहेको खासखुस नेताहरूसमक्ष पुग्न थाल्यो। २०५१ सालको मध्यावधि चुनावमा खाँण पराजित भए। २०५२ सालमा मञ्जुसँग दोस्रो विवाह रचाए। खातीका अनुसार २०५१ सालतिर गाउँले चेलीका रूपमा भेट्दा मञ्जुका श्रीमान् न्यायसेवामा थिए। उनी दुईवटा विक्रम टेम्पो र गार्मेन्ट व्यवसायतिर साझेदारी गरी व्यवसायतिर लागेकी थिइन्।  

कांग्रेस नेतासँग विवाह गरे पनि शुरूमा राजनीतिक महत्त्वकांक्षा देखिएको थिएन। हुन त धेरै नेतापत्नीमा २०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् नै राजनीतिक महत्त्वाकांक्षा अंकुरण भएको हो, जब शानदार संख्यामा महिलाले संसदमै प्रतिनिधित्व गर्न पाउने भए, दलको तलदेखि माथिसम्मै इकाईमा प्रतिनिधित्व गर्न पाउने भए। आरजु राणा देउवामै त्यसअघि राजनीतिक महत्त्वकांक्षा नदेखिएको देउवासँग सन्ध्याकालीन बैठकीहरू गर्दै राजनीति अघि बढाएका उनका सहयोगीहरू नै बताउँछन्।

मञ्जुको महत्वकांक्षा जाज्वल्यमान भए पनि कांग्रेसको क्रियाशील सदस्यता लिनै हम्मे परेको थियो। कांग्रेसको क्रियाशील सदस्यता यसै पनि आ–आफ्नो जिम्मेवारी बनाएर ढसमस्स बसेका नेताले अरूलाई ढिम्किनै नदिने त्यसमा पनि मञ्जु श्रीमानको गृहजिल्ला रुपन्देहीमा नजाने। धनुषाका एकसे एक नेतामध्ये उनलाई छिर्न दिन कोही तयार थिएनन्। यस्तो अवस्थामा उनको उद्दारक बनिदिए प्रदीप गिरि। सिरहाको बन्दीपुरमा मामाघर भएको आधारमा उनले क्रियाशील सदस्यता दिलाइदिन अनुरोध गरिन्। विमलेन्द्र निधिले पछि पछुताउनु पर्नेमा सचेत गर्दागर्दै गिरिले सिरहाबाट मञ्जुलाई प्रवर्द्धन गर्ने निर्णय लिएका थिए। 

पुलिस, प्रशासनमा सरसिफारिस गर्दिन जिल्लावासीबाट आउने अनुरोधले वाक्कदिक्क भएको भन्दै मञ्जुलाई सिरहा लगेपछि आफूलाई यस्ता सरसिफरिसमा हाइसञ्चो हुने तर्क उनी गर्थे। गिरिले क्रियाशील सदस्यताको लागि गरेको प्रयत्न सिरहा कांग्रेसका तत्कालीन उपसभापति रामसुन्दर चौधरीले अझै बिर्सेका छैनन्।

गिरिले बोलाएअनुसार घर (भिमसेनगोला) पुग्दा मञ्जु त्यहीँ थिइन्। गिरिले मञ्जुको पुलिस, प्रशासनमा अच्छा पहुँच रहेको भन्दै त्यसबाट सबैलाई फाइदा पुग्ने आदि इत्यादि फाइदा गिनाए। फर्किने बेला सुन्धारा लजमा बसेको भनेपछि मञ्जुले आफ्नै गाडीमा राखेर शहीदगेटसम्म पुर्‍याइदिइन्। गाडीमा उनले सिरहाबाट क्रियाशील सदस्यता दिलाइदिए मात्र रामसुन्दरकै राजनीति उकास्दिने आश्वासन दिलाइन्। उनै रामसुन्दर मञ्जुले गत जिल्ला अधिवेशनमा बुथ क्याप्चर गरी आफूलाई हराएको भन्दै दरबदर भट्किएका थिए।

२०७४ सालको चुनावअघि समानुपातिक सूचीमा आफ्नो नाम पुछारतिर परेपछि उनले बालुवाटारमै बबण्डर मच्चाइन्। दीपशिखा शर्माको नाम शिरतिर परेकोमा उनको आपत्ति थियो। ‘त्यो दाह्री (विमलेन्द्र निधि), त्यसकी जेठी सासूभन्दा म सिनियर’ भन्दै फतरफतर शुरू गरेकी उनले निधिबारे लेख्न नमिल्ने टिप्पणी पनि गरेकी थिइन्। कसैले ‘खाँण दाइ पनि खस/आर्यको पहिलो नम्बरमा रहेकोले तपाईंको नाम पुछारतिर पुगेको होला भाउजू’ भन्दिँदा पनि उनी आफूलाई सिनियर बताउँदै उफ्रेकी थिइन्।  

दीपशिखा २०४८ र २०५१ सालमा सिन्धुली–३ बाट निर्वाचित ध्रुवप्रसाद शर्माकी श्रीमती हुन्। कांग्रेसी बाबुका छोरा ध्रुवले युवा उमेरमै बीपीको चिकित्सकको भूमिका पनि निभाएका थिए। निधि र ध्रुव साढु दाइभाइ हुन्। क्यान्सरबाट निधन भएका शर्माकी श्रीमतीलाई दोस्रो संविधानसभामा खस/आर्य महिला क्लष्टरबाट समानुपातिकतर्फ निर्वाचित थिइन्। घटनास्थलमै उपस्थित प्रदीप गिरिका सहयोगीले घटनाबारे गिरिलाई सुनाउँदा ‘विमलजीले त सचेत गराएका थिए, आज मलाई गला (पछतावा) लागेको छ’ भनेका थिए। 

चुनावपछि समानुपातिकबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेहरूको सूचीमा नअटाएपछि नैनसिंह महर, रत्न कार्कीसहित गिरिको भिमसेनगोलास्थित घरमा पुगेकी मञ्जु डाँको छोडेर रोएको गिरिका सहयोगीहरू अहिले पनि झल्झली सम्झिन्छन्। दीपशिखासमेत २०७४ सालको समानुपातिक सूचीबाट सांसद बन्न पाइनन्।          

भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका उडाउन पैसा उठाउने दलाल र पैसा दिनेबीच भएको एउटा कुराकानीमा आरजुलाई समेत पैसा दिएको टेप बाहिरिएपछि टेलिभिजनहरूमा अन्तरवार्ता दिँदा श्रीमती देउवाले मञ्जु खाँणसँग बोलचालधरी नभएको बताएकी छन्। बोलचालै नभएको कुरा उति पत्यारिलो नभए पनि सम्बन्ध सुमधुर चाहिँ नभएको कांग्रेस नेताहरू नै पुष्टि गर्छन्। खासगरी, पछिल्लो आमचुनावको समानुपातिक सूची बनाउने क्रममा देउवापत्नी र खाँणपत्नीबीचको तिक्तता सतहमै आएको थियो।

शुरूमा खस/आर्य महिला क्लष्टरमा आरजु र मञ्जुको नाम क्रमशः एक र दुई नम्बरमा थियो। नेतापत्नीको नाम पहिलो र दोस्रो नम्बरमा परेकोमा व्यापक कुरा कटाइपछि आरजुको नाम उनकै इच्छामा तेस्रो नम्बरमा झारियो। यसरी झार्दा मञ्जुको नाम लगत्तै चौँथो नम्बरमा पारिएकोमा देउवा दम्पतीको आपत्ति रह्यो। यसपछि मञ्जुको नामलाई छैटौँ नम्बरमा पुर्‍याइयो। खाँणले दबाब सिर्जना गरेपछि माथि सारियो। तर, देउवाले सही गर्नै मानेनन्। अन्तमा देउवालाई मनाएर पाँचौँ नम्बरमा सूची फाइनल गरिएको थियो। 

सम्बन्ध तिक्त हुनुमा कांग्रेसी नेताहरूका आ–आफ्नै अनुमान र विश्लेषण छन्। कोही आफूलाई अभिजात्य ठान्ने आरजु म्याडमले मञ्जुको नाम आफूसँग जोडिएर आएकोमा चित्त नबुझाई दूरी कायम गरेको बताउँछन्, कोही हिसाबकिताब नमिलेको अनुमान गर्छन्। अर्कोथरी चाहिँ ‘यी अहिले भर्खर शेरबहादुर दाइसँग कुरा भएको थियो, भर्खरै आरजु दिज्जुले मर्जी भएको थियो’ भन्दै हिँड्ने बानीका कारण सम्बन्धको दुरुपयोग भएको ठम्याएर श्रीमती देउवाले ‘कन्नी काटेको’ बताउँछन्।    

तनहुँ–१ को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने निश्चित भएपछि कांग्रेस परित्याग गरेको घोषणा गर्दैगर्दा स्वर्णिम वाग्लेले कांग्रेस दाइ, भाउजू, भतिज र सालोको गिरोहमा परिणत भएको आरोप लगाएका थिए। कांग्रेस परित्यागको घोषणा गरे पनि सदाबहार शुभचिन्तक मानिने कृष्ण खनालले लेख लेखेर कांग्रेसमा गिरोहको रजगज रहेको जनाएका छन्। 

“अहिले नेतृत्वका नाममा जेजस्ता गिरोहको रजगज छ, तिनलाई बोकेर कांग्रेस सुधार सम्भव छैन। नेतृत्वमा गिरोहका नाइके दाइ, दिदी, भाउजू, वा तिनका आसेपासे बोकेर होइन, नयाँ प्रण र वाचासहित स्वयमसेवीहरूको स्वस्फूर्त जमात तयार गर्नु आवश्यक छ,” खनाल सरले लेखेका छन्।

अष्ट्रेलिया उडेको हल्लाखल्लाबीच बिहीबार मञ्जु प्रतिनिधिसभा बैठकमा उपस्थित भइन्। भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रतिवेदन फाइनल गरिरहेको अवस्थामा आफू समातिने सम्भावना नदेखेपछि केही दिन ‘अलप’ भएकी मञ्जु एकाएक प्रकट भइन्। जुनखाले गिरोहको फन्दामा कांग्रेस छ, गाह्रो–साह्रो परे पनि, मौन बस्नु परे पनि, फेरि पनि मञ्जुहरूकै हालीमुहाली भइरहने सम्भावना दूर भएको छैन।


सम्बन्धित सामग्री