Friday, April 26, 2024

-->

पृथ्वी आफैँ ध्यानस्थल

जंगल मासेर जमिनलाई थप कंक्रिटमय बनाउनु वातावरण सखाप पार्नु हो। आश्रित सम्पूर्ण जीवजन्तुलाई बेघर बनाउनु हो। एउटा रूख काट्दा कति क्षति र नोक्सानी हुनसक्छ, त्यसको लेखाजोखा नै हुँदैन।

पृथ्वी आफैँ ध्यानस्थल

उमेरले ८० टेकेका वृद्धसँग एक समय बसमा सँगै यात्रा गरिरहेको थिएँ। हामी वृद्ध मित्रकै इच्छाअनुसार कुनै देवस्थलतिर जाँदै थियौँ। उक्त देवस्थल एउटा जंगलको बीचमा पर्थ्यो। देवस्थल पुग्नेबित्तिकै उहाँले भन्नुभयो, 'आहा! कति राम्रो मन्दिर, यस्तो घना जंगलको बीचमा यत्रो विशाल र सुन्दर मन्दिर बनाउने व्यक्ति को होलान्? मन्दिर बनाएर तिनले ठूलो पुण्य कमाएका छन्। करोडौँ खर्च भयो होला  हगी!'

कुनै पनि तर्क अनुचित लागेपछि त्यसको खण्डन गर्ने आदत छ मेरो, चुप लागेर बस्नै नसक्ने। मैले अलिकति पनि संकोच नमानीकन सहयात्रीसँग भनेँ, 'यो पटक्कै धार्मिक र पवित्र काम होइन। बरु अपवित्र र अधार्मिक काम हो।' 

'किन र?,' अनपेक्षित मेरो जवाफमा उनले प्रतिप्रश्न गरे।

मैले भनेँ, 'जंगल मासेर जमिनलाई थप कंक्रिटमय बनाउनु वातावरण सखाप पार्नु हो। आश्रित सम्पूर्ण जीवजन्तुलाई बेघर बनाउनु हो। एउटा रूख काट्दा कति क्षति र नोक्सानी हुनसक्छ, त्यसको लेखाजोखा नै हुँदैन। 

एउटा रूख
एउटा रूख काट्दा त्यस रूखमा बस्ने चराहरू घरबारविहीन हुन्छन्। कैयौँ कीरा फट्यांग्राको आश्रयस्थल मासिन्छ। तत्कालै उही अवस्थाको अर्को रूख रोप्न नसकिने हुनाले त्यस क्षेत्रको 'इकोसिस्टम'मा ढालिएको रूखको अभाव खड्कन्छ। जंगल मासिँदा त्यहाँ आश्रित अगणित जीव अकालमा मर्छन्; त्यस ठाउँबाट अनिश्चित र असुरक्षित ठाउँतर्फ भाग्न बाध्य हुन्छन्। 

जंगल हुँदा बर्सात पनि राम्रो हुन्छ। खोला, खोल्सा र ससाना पोखरी सुक्दैनन्। किसानहरूलाई पिउने पानी प्राप्त गर्न र सिँचाइ सहज हुन्छ। गाउँघरमा अझै पनि सुकेका हाँगाबिँगा बालेर खाना पकाउने अभ्यास छ। घर तथा अन्य संरचना बनाउन जंगलबाटै काठ ल्याइन्छ। गाईबस्तुलाई घाँस र स्याउला जंगलबाटै प्राप्त हुन्छ। 

जंगल हुँदा त्यहाँ फलेका काफल, जामुना, बेललगायतका फलफूल पक्षी र वन्यजन्तुले मात्र होइन, मान्छेले पनि खान पाउँछन्। वनजंगल जडीबुटीको भण्डार हो, उचित अध्ययन र मात्रा पहिल्याउन सक्दा हाम्रा रोग निदानमा तिनले भूमिका खेल्न सक्छन्। 

जडीबुटी निर्यात गरेर विदेशी मुद्रासमेत कमाउन सकिन्छ। जंगलका पत्करलाई सोतरका रूपमा प्रयोग गरेर त्यसबाट मल बनाउन सकिन्छ। पर्याप्त जंगल हुँदा घरपालुवा पशु त्यहाँ चराउन सहज हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, प्राणवायु नै हामीले बोटबिरुवाबाट पाउँछौँ। 

यी सबै तथ्य राखिसकेर मैले ती सज्जनलाई भनेँ, 'ल अब भन्नोस्, जंगल फाँडेर मन्दिर बनाउनु राम्रो कि जंगलको संरक्षण गर्नु राम्रो?' उनले 'कुरो त ठीकै हो' भने। हामी सँगै अघि बढ्यौँ। 

'रिटायर्ड' जीवनको मजा लिन म नेपालका अनेकौँ ठाउँमा पुगिरहेको हुन्छु, कहिले हवाई साधनमा त कहिले 'स्थल साधन'मा। 'चीलगाडी' र गाडीका झ्यालहरूबाट मेरो ध्यान रूख बुट्यान, खोला, झरना र पक्षीहरूमा पर्छन्। उसो त, धेरै मान्छेलाई प्रकृति खुबै मन पर्छ। प्राकृतिक छटा र परिदृश्यको अवलोकनबाट मेरो मन अति पुलकित हुन्छ। 

घरआँगन, गाइगोठ, धारापँधेरा, नदीनाला, खोल्साखोल्सी, तालतलैया, तोरी फुलेर पहेँलै भएका बारी, केराका घारी, हरिया बोटमा फुलिरहेका आरु र नास्पातीका फूल। प्रकृतिको मोहनी सधैँ प्रेरक बन्छ मेरो यात्राका लागि।

हवाईजहाजको सानो बन्द झ्यालबाट हेर्दा कहिलेकाहीँ नांगा पर्वत, डोजर सिर्जित पहिरोले बनाएका भिर र पैरा देख्दा भने मन दुखी हुन्छ। बगर बनेका खोला, बाँझो बारी र  खेतका गरा र रित्ता घर तथा झुपडी देख्दा भने मन बिरक्तिन्छ। बाटो बनाउने भन्दै अविचारपूर्वक डोजर चलाइन्छ, ढिस्का र टाकुरा खस्छन्। पानीका स्वच्छ मूलहरू मासिन्छन्।  

विकास गर्ने नाममा सयौँ वर्ष पुराना संरचना ढालिएका छन्। यात्रीहरूलाई शीतलता दिने पुराना चौतारीका रूखहरू उखेलिएका छन्। डाँडाकाँडा नांगिँदै जाँदा चराचुरुंगीहरू ठाउँ छाडेर हिँडेका छन्। खोल्साखोल्सी पुरिएका छन्। धन्न, यी सारा ध्वंसबीच पनि बचेका पाखा पखेरामा ऐसेलु, चुत्रो र काफल भने फलेकै देखिन्छ। 

ढकमक्क फुलेका लाली गुराँसले हाम्रो जमानामा पहाड र थुम्काहरू जगतै राताम्य देखिन्थ्यो। तर धर्तीका वक्षस्थल-पहाडहरू नांगिँदै र भत्किँदै जाँदा मन त्यसै त्यसै कुण्ठित हुँदो रहेछ। 

हरियो स्मृति
जब शैशवकालका यादहरू आउँछन्, पर्दामा कुमारी पाखाहरू छाउँछन्। शिशुकालमा हामी स्कुलमा कविता र निबन्ध लेख्ने गर्थ्यौँ– हरियो बन, नेपालको धन। हरिया चौरहरूमा गाईबस्तु र भेडा बाख्राले भरिभराउ हुन्थे। बागमती, विष्णुमती र नख्खु खोलामा हामी पौडी त खेल्थ्यौँ नै, बिनासंकोच ती खोलाको पानी अँजुलीमा उभाएर पिउँथ्यौँ। ती खोलाहरू बाह्रै महिना शीतलता लिएर सुसाइरहन्थे। 

खोलाका किनारहरूमा अग्ला रूख हुन्थे। साँझ परेपछि वास बस्न लागेका चराहरूको खलबल सुन्न पाइन्थ्यो। खोलानजिकका किनार र डिलमा फलेका किम्बु, जामुना, आलुबखडा, अम्बा र भोगटेहरू कति खाइन्थ्यो कति। कतिपय चराहरूको त 'ब्रेकफास्ट', 'लन्च' र 'डिनर' नै फल वृक्षमा हुन्थ्यो। 

फाँटमा पहेँलपुर भएर धान पाक्दा भँगेराहरू झुम्मिन्थे। कान्लाकान्ला छुट्टिएका हरिया मकै बारीमा फिस्टो चराहरू झुत्ती खेल्थे भने सुनजस्तै तोरीबारीमा माहुरीहरू झुम्मिन्थे। वस्ति पातलो थियो, प्रकृति बलियो थियो। शायद हामीहरूका लागि पनि ती सुनौला दिन थिए। यस्ता स्मृति कथाहरू सन्तानहरूलाई सुनाउँदा उनीहरू हत्तपत्त पत्याउँदैनन्। उडन्ते गफ ठान्दा हुन् उनीहरू। 

बदलिँदो वायु र पानी
अचेल गर्मी याममा हामी डढेलो लागेका खबर सुन्छौँ, देख्छौँ। एकै छिनमा डढेलोले ठूलो क्षेत्रफलका जीव र बोटबिरुवा सखाप पार्छ। डढेलो प्राय: मानव सिर्जित हुने गरेकाले यस्तो लाग्छ, मानव विध्वंसक हो। मानव जीवन समग्र प्रकृतिको विनाशक हो। प्रलयको कारक हो।   

नेपालको राजधानी अहिले संसारकै प्रदूषित देशहरूको शीर्ष स्थानमा पर्छ। कहिले यो सबैभन्दा प्रदूषितमा पर्छ त कहिले दोस्रो नम्बरमा। डर लाग्छ, कतै नेपालका बारे यस्ता तथ्यहरू उल्लेख गरिरहँदा कति मान्छेहरू आफ्नो भविष्यप्रति निराश भएर पलायन त हुने होइनन्? 

आज हाम्रा सहर बजार हेरौँ। चाहे त्यो काठमाडौँ होस् या विराटनगर, वीरगन्ज या नेपालगन्ज, जताततै ठुला औद्योगिक र व्यावसायिक समूहहरूले नाफा कमाउने प्रयोजनका लागि जमिनभित्रको पानी अवैध रूपमा तानेका छन्। प्राकृतिक स्रोत दोहनबापत उनीहरूलाई कुनै जरिवाना या कर असुलिन्न। घरेलु प्रयोजनका लागि तानिने पानीको परिमाणभन्दा त्यो कैयौँ गुणा बढी हुन्छ। 

प्रतिदिन ठूलो मात्रा जमिनमुनिको पानीको दोहन हुने कुराले जमिनमुनिको पानीको तह धकेलिँदै तलतल पुग्दै जानेछ। यसको तत्काल असर सर्वसाधारणलाई पर्ने छ। जमिनमुनिको पानीको भाग सुक्दै गएपछि भित्रको भूभाग खोक्रिँदै जान्छ र त्यसले जमिन भासिने खतरा रहन्छ। 

सानोमा सहर बजार घुम्दा कहिल्यै बोतलको पानी खानु परेन। सहरी जनसङ्ख्या यति बिघ्न बाक्लो थिएन, बजार र उपभोक्तावाद यति आक्रामक भएको थिएन। ठाउँ ठाउँमा ढुंगेधारा भेटिन्थे। निर्धक्क ढुंगेधारामै मुख थापेर प्यास मेटाइन्थ्यो, नुहाइन्थ्यो। ढुंगेधाराहरू पनि अब पर्यटकलाई देखाउने 'एन्टिक' विषय बनेका छन्। ढुंगेधाराहरूको मुहान राजकुला र पोखरीहरू थिए। ती अहिले 'रुमाल जग्गा' बनेका छन्। 

हाम्रो उन्नतिको मानक उपभोग बन्न गएको छ। जति सक्यो जमिनलाई कंक्रिटमय बनाउने, ठूला गाडी किनेर सडकमा धुवाँ उडाउने। बाँकी रहेका हरिया र स्वच्छ जंगलमा समेत वनभोज गर्ने नाममा प्लास्टिकका झोला र बोतलहरू फाल्ने। प्लास्टिक जम्मा गरेर बाल्ने। धूम्रपान गरेर चुरोटका ठूटा जथाभाबी फाल्ने। जबकि हाम्रो यस्तै बेवास्तापूर्ण कर्मकै कारण पनि जंगलमा आगलागी हुने गरेको छ। प्रदूषण बढेको छ। डढेलो लाग्ने एउटा कारण त्यो पनि हो। 

बायु प्रदूषणकै कारण हरेक वर्ष लाखौँ मान्छे मरिरहेका छन्। बाँचेकाहरू पनि दीर्घ रोगी भई बाँचिरहेका छन्। विश्वका झन्डै ९९ प्रतिशत मान्छे प्रदूषित बायु निलिरहेको भन्छ विश्व स्वास्थ्य संगठन। बायु प्रदूषण शीर्ष स्थानमा हुने नेपालको के हालत होला? दम, ब्रोंकाइटिस या श्वासनलीसम्बन्धी समस्या, मुटुरोग, फोक्सोको क्यान्सरका मुख्य कारक प्रदूषित हावा हो। यसले महिलाहरूको प्रजनन शक्तिमा पनि ह्रास ल्याउँछ। 

हावासँगै पानीका स्रोतहरू प्रदूषित भइरहेका छन्। रासायनिक पदार्थ, धातु, सूक्ष्म जीवाणुहरूका कारण पानी प्रदूषित हुने गरेको छ। दूषित पानीका कारण मानव र अन्य जीवको स्वास्थ्यमा प्रतिकुल असर पारेकै छ। त्यस्तै कीटनाशक विषादीको अचाक्ली प्रयोगले मानवलगायत प्रकृतिका अन्य प्राणीले खाने कुराहरूलाई पनि विषाक्त बनाइदिएको छ। 

पृथ्वी जोगाउन वातावरण शिक्षा 
हाम्रा विद्यालयहरूमा वातावरण विषय पढाइन्छ। तर उनीहरूलाई वातावरण बुझाउने गरी निकटवर्ती जंगल, नदी तलाउतिर शैक्षिक भ्रमण गर्न लगाएर, वातावरण र विज्ञानको सम्बन्ध दर्साउन सके शिक्षा परिणाममुखी हुने थियो। दुःखको कुरा, हामीले हाम्रा नानीहरूलाई कहिल्यै पनि वातावरणमैत्री र कम उपभोगवादी हुन सिकाएनौँ। परिणामस्वरूप तिनलाई बजारले झनै वातावरण दोहक बनाउँदै छ। 

जापान संसारकै सफा देशमध्ये पर्छ। त्यो हुनुको पछाडि त्यहाँका बच्चाहरूले विद्यालयमा पाउने वातावरणमैत्री शिक्षा यसको प्रमुख कारण हो। उनीहरूको शैक्षिक सामाग्री नै वातावरणमैत्री हुन्छ। उनीहरूको पाठ्यक्रम र कार्यक्रममा पर्यावरण अभिन्न र अनिवार्य हुन्छ। उनीहरूलाई आफ्नो वरपरको वातावरण सफा राख्न कक्षा शिक्षकले राम्ररी सिकाउँछन्। उनीहरूलाई कम साधन स्रोतको प्रयोग गर्न सिकाइन्छ।  

बालबच्चाहरू कक्षाकोठा आफैँ सफा राख्छन्। डेस्क, भुईँ, झ्याल ढोका पुछ्छन्। आफ्नो स्कुलका चौर सफा राख्नु उनीहरूको दैनिकी हुन्छ। उनीहरूलाई फोहोर पुनः प्रयोग गर्न सिकाइन्छ। पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहरलाई अलग राख्न सिपालु हुन्छन् उनीहरू।  

हाम्रो सुरक्षित भविष्यको प्रमुख आधार स्वच्छ वातावरण हो। हामीले जति भौतिक उन्नति र प्रविधिमा जति विकास गरे पनि जबसम्म हामीलाई, हाम्रा सन्ततिहरूलाई पृथ्वीको माया हुँदैन, तबसम्म हामी हाम्रो सुरक्षित भविष्यको परिकल्पना गर्न सक्ने छैनौँ। अत्यावश्यक पूर्वाधारका लागि पृथ्वी भत्काउनु हाम्रो बाध्यता होला, तर भ्यु टावर, सालिक र प्रार्थना स्थलका लागि पृथ्वी र वनजंगल विनाश अपराध हो। किनकि, पृथ्वी आफैँमा भव्य प्रार्थनास्थल र ध्यानस्थल हो।


सम्बन्धित सामग्री