Friday, March 29, 2024

-->

नेपाली कांग्रेसको मधेश कार्यदिशा

मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या भएको मधेशी  क्लस्टरभित्र पनि निश्चित व्यक्ति, जाति, वर्ग र समुदायको मात्र प्रभाव रहेको हुँदा अरू जातजातिको उत्साह घटेको छ।

नेपाली कांग्रेसको मधेश कार्यदिशा

तराई–मधेश विगतमा सधैँ नेपाली कांग्रेसको आधार क्षेत्र रहँदै आएको र दुवै (मधेश र कांग्रेस) बीच सौहार्दपूर्ण र भावनात्मक सम्बन्ध रहेको कुरा सर्वविदितै छ। आफू नेतृत्वको प्रजातान्त्रिक आन्दोलन र संघर्षको समयदेखि निरन्तर मधेशको सहयोग र सद्‌भाव पाउँदै आएको कांग्रेसलाई त्यहाँको सामाजिक–सांस्कृतिक–राजनीतिक जीवनको एक अभिन्न अंगका रूपमा स्वीकारिँदै आइएको थियो। यस पार्टीको संगठन, संरक्षण र प्रवर्धनमा तराई–मधेशका राजनीतिक कार्यकर्ताको सधैँ महत्त्वपूर्ण भूमिका रही आएकोले कांग्रेसको तराई–मधेश हेर्ने आफ्नै मौलिक दृष्टिकोण हुनुपर्थ्यो, पर्छ। 

नेपालमा प्रजातन्त्रको स्थापना, बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि कांग्रेसको हैसियत/भूमिकामा ठूलो भिन्नता देखिएको छ। संसद्मा ठूलो दलको भूमिकामा पटक–पटक सरकारको नेतृत्वप्राप्त गर्न सफल रहे पनि, २०१५ सालदेखि २०७९ सालसम्म भएका लोकतान्त्रिक निर्वाचनको मतपरिणामअनुसार कांग्रेसलाई जनमतका आधारमा बलियो पार्टी मान्न सकिँदैन। २०७९ मा सम्पन्न तीनै तहको निर्वाचनमा कांग्रेस सीट संख्याको आधारमा सबैभन्दा ठूलो दल बन्न सफल भयो, तर पार्टीको जनाधार जान्ने मुख्य आधार; लोकप्रिय मत भने उल्लेखनीय रूपमा घटेको छ। 

देशव्यापी रूपमा पार्टीको समग्र निर्वाचन परिणाममा केही सुधार आए पनि कांग्रेसले आफ्नो परम्परागत आधार तराई–मधेशमा राम्रो प्रदर्शन गर्न सकेन। जनसंख्याको आधारमा दोस्रो ठूलो एवं कांग्रेसको सधैँ भरिको आधार क्षेत्र मधेश प्रदेशमा नेपाली कांग्रेसको प्रदर्शन कमजोर हुँदै गएको छ। अर्कोतर्फ, राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको प्रमुख प्रतिस्पर्धीका रूपमा देखा परेको नेकपा (एमाले)को प्रदर्शन अपेक्षाकृत राम्रो देखिएको छ। २०७९ मा मधेशमा ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७ सिट जित्दा एमालेले ९ सिट जितेको छ भने ६४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १३ सिट जित्दा एमालेले १५ सिट जितेको छ।

दोस्रो जनआन्दोलन र मधेश आन्दोलनपछिको राजनीतिक परिवर्तनपश्चात् क्षेत्रीय र जातीय पहिचानमा आधारित धेरै नयाँ राजनीतिक दलको उदय भयो। खास गरी तराई–मधेशमा व्यापक असन्तुष्टि, आक्रोश एवं मधेशीको भावनालाई  उचित  सम्बोधन र कुशल व्यवस्थापन गर्न नसक्दा मधेशकेन्द्रित दलहरूको उदय भयो। मधेशकेन्द्रित दलका बहुसंख्यक नेता–कार्यकर्ता कांग्रेसबाट विद्रोह गरी गएका छन्। अहिले पनि कांग्रेस नेता–कार्यकर्ता अर्को राजनीतिक दलमा जाने क्रम जारी छ। 

यति धेरै संख्यामा नेता–कार्यकर्ता पार्टीबाट पलायन भइरहँदा तथा आफ्नो परम्परागत आधार इलाका तराई–मधेशमा कांग्रेस निरन्तर कमजोर भइरहँदा पनि पार्टी नेतृत्व पंक्तिको ध्यानाकर्षण नहुनु, यसबारे पार्टीभित्र कहिल्यै गम्भीर छलफल, विचार–विमर्श र समीक्षा नहुनु चिन्ताजनक हो। यसले बफादार र समर्पित कार्यकर्तामा एक किसिमको नैराश्य छाएको छ।

विगत आठ दशकको इतिहासमा कांग्रेसको अग्रपंक्तिमा रहेर महत्त्वपूर्ण ऐतिहासिक योगदान गरेका थुप्रै सम्झनलायक र योग्य मधेशी नेताको राजनीतिमा उदय मधेशबाट भए पनि कोही पनि पार्टीको शीर्ष नेतृत्वमा पुग्न सकेनन्। यस विषयले नेपाली कांग्रेस पार्टीभित्र मधेशी समुदायको योग्यता र विश्वसनीयतामाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ। त्यसैगरी, यसले कांग्रेस मधेशी समुदायप्रति अनुदार रहेको भाष्य निर्माणमा बल पुर्‍याएको  छ। 

नयाँ पुस्ता तथा नयाँ व्यक्ति कांग्रेस पार्टीसँग जोडिनेभन्दा अलग्गिने क्रम बढ्दो छ। यस्तो गम्भीर विषयले पार्टीभित्र समीक्षा र छलफलको प्राथमिकता पाउनु सट्टा 'विगतमा पनि महत्त्वपूर्ण पद र जिम्मेवारीमा भएकाहरूले पार्टी परित्याग गर्ने गरेको र त्यसले कांग्रेसजस्तो विशाल पार्टीलाई केही फरक नपरेको/नपर्ने, बरु पार्टी परित्याग गर्नेहरू सिद्धिएर जाने गरेको/जाने' जस्ता तर्क गर्ने गरिन्छ। 

पार्टी परित्यागलाई अति सामान्य ठान्ने, छाड्ने सबैलाई अवसरवादी मात्र ठानेर नजरअन्दाज गरिनु पार्टीको निम्ति महाभूल हुन सक्छ। जबकि, नेतृत्व पंक्तिको आसेपासे र 'चापलुस'हरूलाई पार्टीको संगठन सुदृढीकरण र सबलीकरणभन्दा पनि आफ्नो निहित स्वार्थ पूरा गर्नुसँग मात्र सरोकार हुन्छ।

नेपालमा विद्यमान राजनीतिक दलमध्ये कांग्रेस लामो इतिहास बोकेको ठूलो लोकतान्त्रिक राजनीतिक दल हो भन्नेमा कुनै दुई मत छैन। पार्टीका संस्थापक नेतामा पनि कांग्रेसको संस्थापक नेताहरूको कद उँचो थियो। समकालीन नेतृत्वमध्ये पनि कांग्रेसको नेतृत्वको उचाइ, त्याग र संघर्षको इतिहास कोहीभन्दा कम छैन। समकालीन युवा नेतृत्वमा पनि कांग्रेस युवा नेताहरूको लोकप्रियता र 'क्रेज' अरू पार्टीको भन्दा बढी नै छ। हाल कांगेसभित्र पार्टी पदाधिकारीमा पनि युवा नेताको उल्लेखनीय प्रतिनिधित्व छ। तर पनि पार्टीप्रति नयाँ पुस्ता तथा नयाँ व्यक्तिको आकर्षणमा बढोत्तरी किन भइरहेको छैन भन्ने विषय निश्चय नै महत्त्वपूर्ण एवं विचारणीय छ। 

कांग्रेसमा समावेशी प्रश्न
नेपालमा १२५ भन्दा बढी जातजाति र १२३ भाषाभाषी छन्। नेपालको संविधान २०७२ अनुसार समानुपातिक समावेशीको सुनिश्चितताका लागि 'क्लस्टर' अनुसार आरक्षणको प्रावधान छ। सिद्धान्ततः आरक्षण स्पष्ट रूपमा सीमान्तकृत समूहको उत्थानका लागि हो। यद्यपि, संविधानमा उल्लेखित समावेशी/समानुपातिक सिद्धान्तको मर्मलाई कांग्रेसभित्र पनि बेवास्ता र उल्लंघन गरिएको छ। नेतृत्वसित सहज पहुँच भएका र क्लस्टरभित्रका निश्चित समुदाय र प्रभावशाली व्यक्तिको निम्ति पद प्राप्ति 'विशेषाधिकार' भएको छ। 

समानुपातिक समावेशीका नाममा नातावाद, कृपावाद र परिवारवादले मलजल पाएको छ। यस प्रकारको विकृति, स्वेच्छाचारी प्रवृत्ति र सिद्धान्तको अनुचित प्रयोगले पार्टीमा आम नागरिकलाई प्रोत्साहित गर्नुको सट्टा झन् निरुत्साहित बनाएको छ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ५३.६१ प्रतिशत जनसंख्या तराई–मधेशमा बसोबास गर्छन्। मधेश प्रदेशको जनसंख्या पनि कूल जनसंख्याको लगभग २१ प्रतिशत र सात वटै प्रदेशमध्ये दोस्रो ठूलो जनसंख्या रहेको छ। यस प्रदेशमा ११९ विभिन्न जातजातिको बसोबास छ। ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ६४ प्रदेशसभा निर्वाचन क्षेत्र र १३६ स्थानीय तह यस प्रदेशभित्र रहेका छन्।

भौगोलिक सुगमताका बाबजुद मधेश प्रदेशको शैक्षिकस्तर, स्वास्थ्य सेवाको गुणस्तरीयता, स्वच्छ पिउने पानी र सरसफाइको उपलब्धता, आर्थिक वृद्धिदर, रोजगारीका अवसरलगायत संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरूको प्राप्तिमा पनि निकै पछाडि रहेको अवस्था छ, जुन निश्चय पनि बहसयोग्य विषय हुन्। मधेश प्रदेशमा सबैभन्दा कम साक्षरता दर ६३.५ प्रतिशत रहेको छ। सबैभन्दा न्यून साक्षरता दर भएको जिल्ला रौतहट हो भने कम साक्षरता भएका पाँच जिल्लामध्ये चार जिल्ला मधेश प्रदेशकै छन्।

त्यस्तै, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीमध्ये सालाखाला ३० प्रतिशत मधेश प्रदेशकै हुने गरेका छन्। समग्र नेपालको तुलनामा मधेश प्रदेशको बहुआयामिक गरिबीको अवस्था (सूचकांक र प्रतिशत), मानव गरिबीको सूचकांक, र बेरोजगार युवाको प्रतिशत बढी छ भने मानव विकास सूचकांक नेपालभन्दा कम रहेको छ।

विगत लामो समयसम्म सत्तामा रहँदा पनि कांग्रेसले मधेशले अनुभूत गर्न सक्ने गरी खासै केही गर्न नसक्दा र कांग्रेसको एजेन्डामा यस्ता विषयले प्राथमिकता नपाउँदा त्यहाँका नागरिकमा असन्तुष्टि बढ्नुलाई अस्वाभाविक मान्न मिल्दैन। मुलुक संघीयतामा गएपश्चात् कांग्रेस खास गरी मधेश प्रदेशमा योजनाविहीन र उदासीन देखिएको छ। मधेश प्रदेशमा रहेका कांग्रेसीजनलाई कांग्रेसको नेतृत्वले न्याय गरिरहेको छैन। तथापि, ४६ स्थानीय तह प्रमुख र लगभग एक तिहाइ वडामा आफ्नो सम्मानजनक उपस्थितिको साथ कांग्रेसले भने मधेश प्रदेशमा न्याय नै पाएको छ।   

संसदीय लोकतन्त्रमा चुनावी गठबन्धन असामान्य होइन। हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएका देशमा सरकार गठन गर्न संसद्मा कुनै एक दलले बहुमत प्राप्त गर्न सक्दैन र गठबन्धन सरकारको अभ्यास सामान्य हुन्छन्। गठबन्धनको उद्देश्य कुनै पनि दलको बहुमत नभए पनि सरकार बनाउने, सञ्चालन गर्ने र संसदको कार्यकाल पूरा गर्ने प्रयास गर्ने हो। 

राजनीतिक दलहरूबीच यस प्रकारका गठबन्धन गर्दा संसद्को अंकगणितीय हिसाबमा मात्र केन्द्रित नभएर राजनीतिक, वैचारिक र नैतिक आधारबारे पनि गम्भीर ध्यान पुर्‍याउनु आवश्यक हुन्छ। चुनावी गठबन्धनको एक मात्र उद्देश्य सत्ताप्राप्ति नभएर पार्टीको सांगठनिक भविष्यको समेत सुनिश्चितता हुनुपर्छ। यसको औचित्य पुष्टि गर्न जे सुकै तर्क गरियोस्, तर आमजनतामा कांग्रेसको लागि सत्ता मात्र प्राथमिकता हो भन्ने नकारात्मक छाप पर्न गएको छ। बलियो सांगठनिक आधार भएको निर्वाचन क्षेत्र निरन्तर अरू दललाई हस्तान्तरण गर्दै जाँदा त्यहाँका नेता–कार्यकर्ता निरुत्साहित हुँदै जानुका साथै त्यसले दीर्घकालीन रूपमा पार्टीको संगठनमा नकारात्मक असर पुर्‍याउँछ।

समग्र कांग्रेस पार्टीमा कुनै खास वर्ग र समुदायको हालीमुहाली हुनुको साथै, आरक्षित समूहभित्र पनि निश्चित व्यक्ति, जाति, वर्ग र समुदायको प्रभुत्व छ। पार्टीभित्र सामाजिक इन्जिनियरिङको पाटो गौण छ। मधेश प्रदेशमा पनि सबैभन्दा ठूलो  जनसंख्या भएको मधेशी  क्लस्टरभित्र पनि निश्चित व्यक्ति, जाति, वर्ग र समुदायको मात्र प्रभाव रहेको हुँदा अरू जातजातिको उत्साह घटेको छ। त्यस्तै, मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या भएको दलित र चौथो ठूलो जनसंख्या भएको जनजाति मध्येबाट नेतृत्व विकास हुन सकेको छैन।

पछिल्लो समय कांग्रेस पार्टी नेतृत्व पंक्तिको सोच, कार्यशैली, निर्णय र पार्टीप्रति समर्पित कार्यकर्ता र मतदाताको मनोविज्ञानको बीच ठूलो खाडल सिर्जना भएको छ। कार्यकर्ता र मतदाताको भावना विपरीत निर्णय लादिँदा तिनमा निराशा बढ्छ। देश, काल र परिस्थितिको सही विश्लेषण गर्न नसक्नु र समाजको मनोविज्ञान अनुसारको समय–सापेक्ष नीति अवलम्बन गर्न नसक्नु कुनै पनि पार्टीको असफलताको एउटा महत्त्वपूर्ण कारक हो।

कांग्रेसको संरचना र संयन्त्र तल्लो तहसम्म भए तापनि पार्टीमा कार्यकर्ताको मूल्यांकन मानक मापदण्डको आधारमा भन्दा पनि कुनै निश्चित नेताको आशीर्वाद, निगाह र दृष्टिकोणको आधारमा गरिन्छ। ती नेताका आसेपासे र विश्वासपात्रले अवसर पाउने र योग्य, क्षमतावान् ओझेलमा पर्ने गरेका छन्। यी सबै कारणले युवा पुस्ताको कांग्रेसप्रति खासै आकर्षण छैन।          

लोकतन्त्रमा पार्टी गतिशील हुनुपर्छ, समाजको गति बुझ्ने हुनुपर्छ। समाजको गति बुझ्न नसक्ने पार्टीहरूको अस्तित्व नै समाप्त भएका कैयौँ इतिहास हाम्रो सामु छन्। कांग्रेसजस्तो ऐतिहासिक र जिम्मेवार राजनीतिक दलले एकातिर समाज विकासको नियमको ध्यान राख्नुपर्छ भने अर्कोतिर आम जनताको आशा–आकांक्षालाई सम्बोधन गर्न सदैव तत्पर रहनुपर्छ। अनि मात्र पार्टीको संगठन सुदृढ, दिगो र आमजनताको मनमा बस्न सफल हुन सक्छ। 


(लेखक संविधानसभा सदस्य एवं महासमिति सदस्य हुन्)


सम्बन्धित सामग्री