Tuesday, April 23, 2024

-->

द कुरौटे फाइल्स
शायरीसँग मौन अवधि

एकथरी मान्छेहरू चाङ लागेको समस्याको समाधान खोज्दै‌ हुन्छन्। अर्कोथरी तिनै मान्छेलाई खोजी–खोजी तिनकै समस्या बेच्छन्, केही थान सपना त्यसमै थपेर। मान्छे उनका कुरामा बहकिन्छन्, चिप्लिन्छन्, चुन्छन्।

शायरीसँग मौन अवधि

"असर भी ले रहा हूँ तेरी चुप का
तुझे काइल भी करता जा रहा हूँ"

तिम्रो मौनताको फाइदा पनि लिइरहेको छु, तिमीलाई मनाइरहेको पनि छु...

कवि फिराक गोरखपुरीले यी हरफ शायद उनले रुचाएका कुनै प्रिय व्यक्तिका लागि कोरेका थिए। तर, उल्लिखित शब्दहरू कसैगरी उपनिर्वाचनको पूर्वसन्ध्यामा लागू भइसकेको मौन अवधिका लागि ठ्याक्कै उपयुक्त हुन पुगेका छन्।

एउटा वार्षिक पर्वको कोलाहलमध्ये हिजो ‘मौन अवधिभर यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन तर यसो उसो गर्न मिल्छ’ विषयमा आचारका खाका कोरिएका खबरहरू पढिरहेको थिएँ, जुनबेला मलाई टक्करकै माथिको पंक्ति याद आयो। अनि याद आए 'सियासी' राजनीति, चुनावका भाव समेटी उर्दूमा लेखिएका अरू दुई–चार शेरहरू, जसका भाव सुन्दर छन्, सान्दर्भिक छन्, र आजको मौन कुराग्राफीमा समेटिएका छन्।

निर्वाचन आयोगले कखग–कारणका लागि उपनिर्वाचनलक्षित आचारसंहिता जारी गरिसकेको छ। कुनै पनि उम्मेदवारको पक्ष–विपक्षमा सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट मत माग्न, वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न र हारजितको पूर्वानुमान गरी सञ्चारमाध्यममा राख्न निषेध‌ित, ४८ घण्टा अगाडिदेखि लागू हुने मौन अवधि बिहीबार मध्यरातबाट चालु छ।

जानिफकारहरू भन्छन्– मौन अवधिको अन्तिम रातभरमा अग्राख पलाउँछ। हामीले देख्ने सुन्ने गरेका छौँ– मौन अवधिमा फलानाले घरघर गएर पैसा बाँडे, खानपिन गराए, मतदाता प्रभावित पार्ने प्रयास गरे आदि। प्रचारप्रसारका दौरान खुल्लमखुल्ला हुन नसकेका भलाकुसारी, लेनदेन पनि हुन्छन् रे, अनि रातको अँध्यारोमा कहिले उम्मेदवार आफैँ, कहिले उनीहरूका छाया सलबलाउँछन् रे।

नियमानुसार, चाडपर्वभन्दा निर्वाचनलाई बढी गम्भीर रूपमा लिने अधिकांश राजनीतिक रूपमा सचेत नागरिक र विशेष गरी एनआरएनहरू रुचाइएको दल तथा उम्मेदवारलाई प्रत्यक्ष रूपमा अनुमोदन नगर्न बाध्य भएका छन्।

तर, धन्य छ हाम्रो 'कलेक्टिभ्–क्लेभरनेस्'– जतिसुकै जटिल कानूनले बाँध्न खोजे पनि कतै न कतै, कुनै न कुनै छिद्र खोजेर त्यसमार्फत सर्लक्क निस्किने हाम्रो अद्भुत कौशल छ। यस्तो प्रतिभाका धनी हामीलाई प्रत्यक्ष आचारसंहिताको अप्रत्यक्षीकरण गर्न कति गाह्रो काम हो र?

यस अवधिमा ४८ घण्टा पनि छुकछुक नगरी बस्न नसक्ने निर्वाचनमा होमिएका दलका तलबी एवं स्वयंसेवी प्रचारकर्ताहरूलाई साथ दिने उपयुक्त माध्यम बनेको छ 'बिम्बात्मक प्रावधान'।

यो प्रावधानले प्रतिकात्मक अभिव्यक्ति र विम्बका माध्यमबाट अप्रत्यक्ष रूपमा प्रचार गर्ने, मनपरेको उम्मेदवार/दलको पक्षमा र प्रतिद्वन्द्वीको विपक्षमा मत व्यक्त गर्ने सुविधा दिन्छ, नियम उल्लंघन गर्दा आउन सक्ने अबगालबाट छुट दिन्छ। तसर्थ,‌ मौन अवधिमा पालना गर्नुपर्ने नियम ‘बाइपास’ गर्ने बाटो भेटेका उनीहरू,
रूखको छहारीमुनि नाचिरहेका छन्
सूर्यको प्रकाशमा रमाइरहेका छन्
मन्दिरमा घण्टी बजाइरहेका छन्
लाउडस्पिकरमा कराएकै छन्
छाता ओढेर सयर गरिरहेकै छन्
उनीहरू मौन बिछट्टै छन्,
तर उनीहरू मौन पटक्कै छैनन्।

ब्लगको शुरूआतमा कवि गोरखपुरीले भनेझैँ यी दल हाम्रो मनमस्तिष्कमा यति हाबी छन् कि सजिलै हाम्रो मौनताको फाइदा उठाउँछन्, हामीलाई मनाइरहन्छन्। हामी मानिरहन्छौँ।

°°°
देशका तीन विभिन्न क्षेत्रमा विविध कारणवश वैशाख १० गते उपनिर्वाचन हुन गइरहेको छ–

१) एउटा ठाउँमा जननिर्वाचित प्रतिनिधि राष्ट्रपति हुन चाहेर
२) अर्को ठाउँका प्रतिनिधि उपराष्ट्रपति बनाइएर र,
३) अर्कै ठाउँमा पहिलेका निर्वाचित उम्मेदवारमाथि 'षड्यन्त्र' भएर

गत मंसिरमा आमनिर्वाचन सम्पन्न भएको तीन महिना नपुग्दै उपनिर्वाचन गराउनुपर्ने परिस्थिति आउन जिम्मेवार राजनीतिज्ञहरू नै हुन्, जसको भर्पाई थाहा भई-नभई मतदाताले नै गर्छन् ।

कवि वसीम वरेल्वी भन्छन्–
"इस दौर-ए-सियासत का इतना सा फ़साना है
बस्ती भी जलानी है, मातम भी मनाना है"

अहिलेको जमानामा चलिरहेको राजनीतिको कथा एउटै छ, बस्ती जलाउनु पनि छ, शोक मनाउनु पनि छ ।

उनले यो शेर हिन्दुस्तानी परिवेशका लागि लेखे तापनि यी हरफमा नेपाली सत्ता-राजनीतिको यथार्थ प्रतिबिम्बित भएको छ, खास गरी चुनावी सन्दर्भमा ।

एकथरी मान्छेहरू चाङ लागेको समस्याको समाधान खोज्दै‌ हुन्छन्। अर्कोथरी तिनै मान्छेलाई खोजी–खोजी तिनकै समस्या बेच्छन्, केही थान सपना त्यसमै थपेर। मान्छे उनका कुरामा बहकिन्छन्, चिप्लिन्छन्, चुन्छन्। मतदाता बन्छन्। 

अर्कोथरी चुनिन्छन्। नेता बन्छन्।

उसै त, पुरानो समस्याको थुप्रो, बिस्तारै त्यसमाथि नयाँ–नयाँ आगो सल्काउँछन्। आगोले क्षति गरेपछि आफैँ काँध दिन आउँछन्। आगो निभाउने भने होइन, आश्वासन बाँड्छन्।

आफ्नो दलको उम्मेदवारलाई जितेर पठाए मन्त्री बनाएर विकास गर्ने, पानीको धारादेखि अर्थतन्त्र चलायमान बनाउने बाचा गरिन्छन्। 

बरेल्वीकै अर्को कविताको शब्दमा–
"वो झूठ बोल रहा था बड़े सलीक़े से
मैं ए'तिबार न करता तो और क्या करता"

उसले झुट पनि यति तरिका पुर्‍याएर बोल्यो, म नपत्याइरहन सकिनँ।

काँध र आश्वासन पाएका मान्छे, यानेकि मतदाता, फेरि बहकिन्छन्। चुन्ने, चुनिने सिलसिला चलिरहन्छ।

°°°°
फ़ैज़ जौनपूरी भन्छन्, बस्तीमा तिमी खुब राजनीति गर्छौं, ठाउँमा पुगेर बस्तीको समस्या समाधान गर्ने कुरा गर, तब मानौँला।

"बस्ती में तुम ख़ूब सियासत करते हो
बस्ती की आवाज़ उठाओ तो जानें"

नेताहरूको चुनावको बेला टोल–टोलमा गएर हरेक ठूला–साना समस्या आफू निर्वाचित हुनेबित्तिकै समाधान गर्न पहल गर्छु भन्ने तर ठाउँमा पुगेपछि सर्लक्कै बेवास्ता गर्ने चरित्र स्थानीयदेखि संघीय तहसम्मै देखिन्छ।

आचारसंहिता लागू हुनुअगाडि दलगत प्रचार कार्यक्रमहरूमा ठाउँपिच्छे मन्त्री बाँड्ने गफ, चुनाव आएपिच्छे फेरि–फेरि अर्को नेतासँग लभ पर्ने प्रसंगहरू हरेक पटक सुनिन्छन्।

विडम्बना नै यही हो कि उही–उस्तै कुरा पटकपटक, उनै नेताहरूको मुखबाट सुनिन्छ। सार्वजनिक खपतका लागि सम्भव–असम्भवको दायरा मिच्दै जे पनि बोलिदिन्छन्। ओछ्यानमै पुगेर सपना बाँड्छन्। तर चाहिएको 'बेर मिनिमम्' पनि पाउन धौ–धौ।

सार्वजनिक खपतका कुरा गर्दा नियमको परिधि, परिभाषा धुमिल पार्दै जनता भुलाउने अभ्यासमा कतिपय मिडिया पनि सम्मिलित हुन पुग्छन् ‌।

ठ्याक्कै राहत इन्दोरीले लेखेझैँ :
“बन के इक हादसा बाजार में आ जायगा,
जो नहीं होगा वो अख़बार में आ जायगा ..”

°°°
फेरि फर्कौं मौन अवधितर्फ।

नेपालमा नयाँ–पुराना, साना–ठूला दल र तिनका समर्थकको एउटा विशेष चरित्र ठ्याक्कै मेल खान्छ।

“औरों के ख़यालात की लेते हैं तलाशी
और अपने गरेबान में झाँका नहीं जाता”

मुज़फ़्फ़र वारसीले लेखेका यी पंक्तिहरूको सिधा अर्थ हो– अर्काको कानमा जुम्रा देख्नेले आफ्नो आङको भैँसी देख्दैन।

दलगत प्रचारप्रसारका लागि दिइएको समयदेखि यस अवधिभर बिम्बात्मक प्रावधानको प्रयोग गर्दासम्म भिन्दाभिन्दै पक्ष–विपक्षबीच हिलो छ्यापाछ्याप चलिरह्यो।

अहिले पनि तपाईं झुक्किएर सामाजिक सञ्जालतिर पुग्दा देखिने पहिलो पोस्टमा एउटा दलको समर्थकले इतर दल/उम्मेदवार वा समर्थकको बदख्वाइँ गरेको भेटिन्छ– फरक यति छ कि मौन रहनुपर्ने हुनाले हिजो रातिदेखि प्रेषित गरिएका सन्देश परोक्ष छन्।

ऊबेला शुरू भएको आरोप–प्रत्यारोप अझै धूमधामका साथ चलिरहेको छ, ‘प्रक्सिवार’ सकिने मेलो छैन, धेरैको लुकेको सिर्जनशीलता एकदम प्रस्फुटित भएको छ‌।

आफ्नो सकारात्मक पक्ष बेचेरभन्दा प्रतिद्वन्द्वीको कमजोरीको ‘मार्केटिङ’ गरी मत तान्ने प्रयास लोभ लाग्दा छन्। 

यसैबीच, ‘भिक्टिम–कार्ड’ खेल्नेको आफ्नै 'स्वाग' छ, तँछाडमछाड छ‌।

बरु निर्वाचनमा होमिएका चर्चित उम्मेदवारमध्ये भिक्टिम–कार्ड नखेल्ने एक जना भेट्नुभयो भने मलाई भन्नुहोला, म उनको साथै तपाईंलाई पनि चाँदीमा मोडेको सम्मान–पत्र प्रदान गरौँला।

तबसम्म किबोर्ड बन्द गर्ने मेसो गर्नुपर्‍यो।

किनकि, धेरै कुरा गर्दैजाँदा चिप्लिइएको पत्तै पाइन्न। फ्याट्ट मौन अवधिको मर्मविपरीत केही टाइप गरिहालियो भने चाँदीको सम्मान–पत्र किन्ने पैसा जरिबाना तिरेर सकिने डर भयो।

अन्त्यमा, यस मौन अवधिमा रचिएको यो कुराग्राफी राहत इन्दोरीका यी दुई लाइन भावानुवाद नगरी समाप्त गर्न चाहन्छु। 

"नए किरदार आते जा रहे हैं
मगर नाटक पुराना चल रहा है..."

नयाँ–नयाँ चरित्र आउँछन् जान्छन्, तर नाटक पुरानै चल्दै गर्छ...


सम्बन्धित सामग्री