Wednesday, April 24, 2024

-->

विश्व क्षयरोग दिवस
'नेपालमा क्षयरोगले वर्षमा १७ हजारको ज्यान लिने गरेको छ'

गत वर्ष केबल ३७ हजार ८ सय ६१ बिरामी पत्ता लागे। भन्नुको मतलब उनीहरू उपचारको दायरामा आए। अझै पनि करिब ३२ हजार क्षयरोगका बिरामी उपचारको दायरामा आएका छैनन्।

नेपालमा क्षयरोगले वर्षमा १७ हजारको ज्यान लिने गरेको छ

सन् २०२१ मा मात्र विश्वमा क्षयरोगबाट १६ लाख मान्छेको मृत्यु भयो। आज पनि विश्वभर मृत्युका अनेकौँ कारणमध्ये १३ औँ प्रमुख कारणमा यो रोग पर्छ। सन् १८२२ मा यो रोगको कीटाणु पहिचान भएको हो। नेपालमा पनि क्षयरोगका कारण धेरैले ज्यान गुमाउने गरेका छन्। विश्व क्षयरोग दिवसका सन्दर्भमा सो रोग र निदानबारे राष्ट्रिय क्षयरोग केन्द्रका निमित्त निर्देशक तथा वरिष्ठ छातीरोग विशेषज्ञ नवीनप्रकाश शाहसँग उकालोले गरेको कुराकानी: 

क्षयरोग के हो र कसरी सर्छ?
माइकोब्याक्टेरिय ट्युबरकुलोसिस (टीबी) भन्ने सूक्ष्म कीटाणुबाट हुन्छ र संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने साना थुकका छिटाहरूबाट स्वस्थ मान्छेमा समेत यो संक्रमण हुन जान्छ। यसले मुख्य रूपमा फोक्सोलाई असर गर्छ। क्षयरोग, पेट, हड्डी र स्नायुलगायत अन्य अंगमा समेत क्षयरोगको संक्रमण हुन सक्छ। 

क्षयरोगका लक्षणहरू के के हुन्?
क्षयरोग लागेका मानिसहरूमा शारीरिक कमजोरी अत्यधिक देखिन्छ। अन्य लक्षणमा लगातार  खोकी लाग्नु, शरीरको तौल अप्रत्याशित घट्नु, खकारमा रगत देखिनु हो। त्यस सँगै, बिरामीमा हल्का ज्वरो देखिने र साँझपख बिरामीलाई हल्का ज्वरो आउने पनि हुनसक्छ। त्यस्तै, रातको समयमा शरीरबाट धेरै पसिना बग्नु र खानामा अरुचि बढ्नु यसका लक्षण हुन्। 

नेपालमा क्षयरोगको पछिल्लो अवस्था के छ?
नेपालमा हरेक वर्ष नयाँ तथा पुराना गरी करिब एक लाख सत्र हजार बिरामीहरू हुने गर्छन्, जसमा नयाँ बिरामी ६९ हजार हुने गर्छन्। त्यसमध्ये १७ हजार जति बिरामीको मृत्यु हुन्छ। तर गत वर्ष केबल ३७ हजार ८६१ बिरामी पत्ता लागे। भन्नुको मतलब उनीहरू उपचारको दायरामा आए। अझै करिब ३२ हजार क्षयरोगका बिरामी उपचारको दायरामा आएका छैनन्।

यो रोगसँग जोडिएका अन्धविश्वास र गलत अभ्यासहरू के कस्ता छन्?
केही दशक अघिसम्म मात्र क्षयरोगबारे नेपाली समाजमा धेरै गलत बुझाइ र अन्धविश्वास थिए। बिरामीलाई छिछि र दुरदुर गरिन्थ्यो। घर र समुदायबाटै निकाल्ने अभ्याससमेत हुन्थ्यो। तर अहिले उपचार गरेपछि यो रोग निको हुन्छ भन्ने कुरा धेरैले बुझिसकेका छन्। रोगीप्रति गर्ने व्यवहार धेरै बदलिएको छ। अलि सम्भ्रान्त र सम्पन्न परिवारमा यो रोग लाग्दा 'कसैले थाहा पाउला कि' भनेर धक मान्ने या चिन्ता लिने गरिन्छ। त्यस्ता बिरामीहरू स्वास्थ्य संस्थामा नगईकन आफैँ औषधि किनेर खाने अभ्याससमेत गर्छन्, जबकि, बिरामीलाई क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउने गरेको छ। 

गरिबीसँग यो रोगको सम्बन्ध छ भनिन्छ। पर्याप्त पोषण नपाएका व्यक्तिहरू सहजै क्षयरोगबाट संक्रमित हुने हो?
आम नेपाली जनसंख्याको करिब ५० प्रतिशत नेपालीको जिउभित्र क्षयरोगको कीटाणु छ। रोगसँग लड्ने क्षमता राम्रो भएको अवस्थामा त्यो सुषुप्त क्षयरोग सक्रिय हुँदैन र रोगबाट पीडित हुनुपर्दैन। उसो त, पोषणको अवस्था राम्रो नहुँदा जोसुकैलाई, जुनसुकै रोग लाग्ने सम्भावना हुन्छ। क्षयरोग लाग्नुमा कुपोषण एउटा ठूलो कारण हो। शरीरमा पर्याप्त पोषण नहुँदा शरीरभित्र सुषुप्त रूपमा बसेका कीटाणु क्रियाशील हुँदै जान्छन् र यो रोग लाग्छ। 

कुनै व्यक्तिको शरीरमा क्षयरोगको कीटाणु प्रवेश भइसकेको तर लक्षणहरू नदेखिएको अवस्था नै 'सुषुप्त क्षयरोग' हो भने कीटाणु प्रवेश भई रोगका लक्षण देखिएको अवस्थाचाहिँ सक्रिय क्षयरोग हो। क्षयरोग सुषुप्त अवस्थामा रहँदा खतरा हुँदैन, तर यो सक्रिय भयो र समयमै उपचार भएन व्यक्तिको ज्यान पनि जान सक्छ।    

कोही व्यक्तिमा अरू रोगसमेत छ भने ऊ/उनीभित्र सुषुप्त रूपमा रहेको क्षयरोग सक्रिय हुनसक्छ। कसैलाई डायबिटिज, एचआईभी अथवा गम्भीर खालको मिर्गौलासम्बन्धी रोग भयो भने सक्रिय क्षयरोग हुने सम्भावना बढ्छ। पर्याप्त पोषण उपलब्ध नहुने हुँदा गरिबीमा यो रोग बढ्ने सम्भावना बढ्ने भयो। 

त्यसका साथै नियमित चुरोट र मद्यपान गर्नेमा पनि यो रोग हुने सम्भावना बढी हुन्छ। धुवाँ, धुलो र मद्यपानले फोक्सो कमजोर पार्ने हुँदा पहिले नै फोक्सोमा रहेका कीटाणुहरू सक्रिय भएर सक्रिय क्षयरोग हुने सम्भावना रहन्छ।  

कुन उमेर समूहमा र समुदायमा यो रोगको प्रभाव बढी छ?
सबै उमेर समूहमा यो रोग हुन्छ तर तुलनात्मक रूपमा वृद्ध वृद्धा र बालबच्चामा यो रोग हुने सम्भावना बढी हुन्छ। समुदायगत रूपमा हामीसँग कुनै तथ्यांक छैन, तर मूल रूपमा विपन्न वर्गमा यो रोग बढी छ। 

यसबाट बच्ने र बाँच्ने उपाय के हुन्?
भिडभाडमा जाँदा मास्क लगाउनुपर्‍यो र सन्तुलित भोजन खानुपर्‍यो। व्यायाम र निन्द्रा  आवश्यक छ। यदि, तपाईंमा डायबिटिज छ भने 'सुगर लेबल' नियन्त्रण गर्नुपर्‍यो। यति गर्न सक्दा धेरै हदसम्म यो रोगको संक्रमणबाट बच्न सकिन्छ। 

सरकारले सक्रियसँगै सुषुप्त (ल्याटेन्ट) अवस्थाको क्षयरोगको पनि उपचार गराउँछ होइन?
हो। अहिले सरकारले सक्रिय क्षयरोगको त उपचार गर्छ नै, निष्क्रिय या सुषुप्त क्षयरोगको पनि उपचार गर्छ। सुषुप्त क्षयरोगको उपचार गर्नुलाई हामी 'प्रिभेन्टिभ थेरापी' भन्छौँ। पाँच वर्षमुनिका बच्चाहरू जसका अभिभावक र परिवारमा क्षयरोग छ, तिनलाई 'प्रिभेन्टिभ क्षयरोग'को ‌औषधि खुवाउँछौँ। 

पहिले क्षयरोग भएर उपचार भएकालाई भने हामी स्वस्थ मान्छेमा गणना गर्छौं। क्षयरोगको उपचार नेपालको हरेक सरकारी स्वास्थ्य संस्थामा गरिन्छ। स्वास्थ्य संस्थाहरूमा स्थापना गरिएको 'डट्स सेन्टर'हरूबाट क्षयरोगीको उपचार गरिन्छ। कतिपय निजी स्वास्थ्य संस्थाहरूमा समेत डट्स सेन्टर सञ्चालनमा छ।  

क्षयरोगबाट निको हुन कति समयसम्म औषधी सेवन गर्नुपर्छ?
बिरामीको अवस्था हेरेर बिरामीले ६ महिनादेखि १२ महिनासम्म औषधी सेवन गर्नुपर्छ।

क्षयरोगमा औषधि प्रतिरोधको चुनौती छ भनिन्छ? औषधि प्रतिरोध भनेको के हो?
क्षयरोग उपचारमा विभिन्न औषधिहरूको प्रयोग गरिन्छ। त्योमध्ये एउटा औषधिचाहिँ सबैभन्दा बढी कडा (प्रभावकारी) हुन्छ। त्यसलाई उपचारको शुरूआतमै चलाइन्छ। त्यो औषधिले काम नगरेको अवस्थालाई हामी 'औषधि प्रतिरोध' मान्छौँ। त्यस्ता चुनौती हाम्रोमा देखिएको छ। हाम्रो देशमा कमसेकम २८ सय औषधि प्रतिरोधी बिरामी प्रतिवर्ष देखिने गरेका छन्। त्यसमध्ये नौ सय जना पत्ता लाग्छ र केबल छ सय मात्र उपचारका लागि आउने गरेका छन्। औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीमध्ये २१ सय जति बिरामी उपचारको दायरामा नआउनुले जटिल अवस्थाको संकेत गर्छ। 

एकचोटि क्षयरोग लागेको मान्छे उपचारपछि पूर्ण रूपमा निको हुन्छ कि हुँदैन? दोहोरिने सम्भावना कत्तिको हुन्छ?
उपचारपछि बिरामी पूर्ण रूपमा निको हुन्छ, तर फेरि नदोहोरिएला भन्नचाहिँ सकिन्न। नछुटाईकन नियमित औषधि खाएपछि क्षयरोग निको हुन्छ। यसको उपचार पनि सम्पूर्ण रूपमा निःशुल्क छ। आफूलाई ३ हप्तासम्म नियमित खोकी लागे या अन्य लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गएर खकार परीक्षण गराइहाल्नुहोला।


सम्बन्धित सामग्री