Wednesday, April 24, 2024

-->

द कुरौटे फायल्स
बल्ल पर्‍यो निर्माया माछा ढोक्सैमा : वर्ष–शब्द ‘ढोक्सा’को उतारचढाव

बृहत् नेपाली शब्दकोषले २०७९ साल समापन हुँदैगर्दा ‘ढोक्सा’लाई वर्ष–शब्द घोषणा गर्नुपर्छ, किनकि ओलीले प्रचलित बनाएको यो शब्दले राजनीतिक, सामाजिक र भाषिक वृत्तमा अद्भूत तहल्का मच्चायो र हलचल ल्याउँदै छ।

बल्ल पर्‍यो निर्माया माछा ढोक्सैमा  वर्ष–शब्द ‘ढोक्सा’को उतारचढाव

पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कैयन् विशेषता छन्। उहाँका करौडौँ विशेषताको वर्णन गर्न हजार जिभ्रा भएका शेषनागले नसके पनि उनका वफादार अरिंगाल (नोटः गाली हैन,उनकै शब्द सापटी लिइएको हो)ले सजिलै गरिदिन्छन्। शब्दजाल बुनेर लोकरिझ्याउने भाषण गर्न खप्पिस ओलीले आफ्ना वक्तव्यहरूमार्फत नेपाली राजनीतिक शब्दकोशलाई एक से बढी सुन्दर विशेषतायुक्त शब्दहरू दिएका छन्।

तर यो वर्ष उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो पटक विश्वासको मत लिने क्रममा प्रयोग गरेको शब्द ‘ढोक्सा’ले राजनीतिक, सामाजिक र भाषिक वृत्तमा अद्भूत तहल्का मच्चायो र अझै हलचल ल्याउने क्रममा छ।

सन् २०२२ मा मिरियम वेबस्टरले ‘ग्यासलाइटिंग’ लाई वर्ष–शब्दको उपाधि प्रदान गरेको थियो। ‘आफ्नो फाइदाका लागि अरूलाई भ्रममा राख्ने’ अर्थ जनाउने यो शब्दको खोजी इन्टरनेटमा त्यो साल १ हजार ७ सय ४० प्रतिशतले बढोत्तरी भएको थियो।

यसको अनुशरण गर्दै बृहत् नेपाली शब्दकोषले २०७९ साल समापन हुँदैगर्दा ‘ढोक्सा’लाई वर्ष–शब्द घोषणा गर्नुपर्ने मेरो विचार हो, र यो कुराग्राफीको अन्त्यमा यो विचारलाई तपाईंको पनि विचार बनाउने मेरो प्रयास रहनेछ। अहिले यो शब्द खोज्दा गुगलले एक सेकेन्डभन्दा कम समयमा करिब ७५ हजार २ सय शब्द फिर्ता गर्छ, जसमा लेखिने, देखिने, सुनिने सबै किसिमका सामग्री पर्छन्। 

केपी ओलीले यो शब्द प्रचलित बनाउनुअघि विचरा गुगललाई समेत ‘ढोक्सा’ शब्द खोज्न हम्मेहम्मे नै पर्थ्यो।

संसद्मा उनले बोलेपछि पुनर्ताजगी पाएलगत्तै यस शब्दले स्थान नपाएको कुनै रिपोर्ट थिएन होला, यसबारे चर्चा नगर्ने चल्तीका सामाजिक सेलिब्रेटी कोही बाँकी थिएनन् होला, यसैलाई केन्द्रिकृत गरेर निबन्ध आए, सायद गीत, कविता र चित्र पनि कोरिए। यहाँँ उकालोमा धरि ढोक्सा वरपर एउटा शोधपत्र बराबर कडा लेख लेखियो।

यसबीच केहीले ’ढोक्सा कि ढडिया’ जस्ता लेख लेखेर आफ्नो भाषिक विद्वता प्रदर्शन गर्ने मौकाको सदुपयोग गरे। यसरी सधैँझैँ केपी ओलीले एउटा वाक्यांशको माध्यमबाट मलगायत हजारौँ नेपालीहरूलाई लगभग हप्ता–दस दिन भुल्याए, र तीन करोड नेपालीले सुन्नैपर्ने, बुझ्नैपर्ने शब्द बनाए।

कांग्रेसले प्रम दाहाललाई विश्वासको मत दिनु राष्ट्रपति निर्वाचनको लागि ‘ढोक्सा’ थाप्नु हो भन्ने आशय जनाउँदै ‘शक्तिका लागि जाल बुन्ने’ अर्थ बुझाउने यो वाक्यांशमार्फत सदन र सञ्चारमाध्यम तताएका ओलीले समयक्रममा आफैँ कहिले माधव नेपाल नामको ढोक्सा थापे, कहिले कसको। अन्तमा एक्लै चेस खेल्दा चालिने डमी चाल जसरी सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यलाई बलिदानी उम्मेदवार बनाए।

‘ढोक्सा’ किन पनि वर्ष–शब्द हुनपर्छ भने, यही साल मुलाधिकृत भएको यसले राजनीतिमा देखिइरहने एक विशेष खालको प्रवृत्तिलाई प्रतिविम्बित गर्छ, जससँग सम्बन्धित गतिविधिहरू दुई–तीनवटा ठूला निर्वाचन, दुइटा सरकार गठन देखेको २०७९ सालमा उग्रै भएका थिए।

हाम्रो देशमा एउटा अनौठो चलन छ। कसैले केही व्यापार व्यवसाय गरेर नाम र दाम कमाए सबका सब त्यसै गर्नतिर लाग्छन्। गलैँचा, पश्मिना, रेस्टोराँ, अर्ग्यानिक खेती, डेलिभरी सर्विस, आदि, एक दुइटा सफल प्रयोग देख्दा धेरैले बजारको उचित अध्ययन नगरी व्यवसाय ‘रेप्लिकेट’ गर्नतिर लाग्छन्। अनि के हुन्छ भने उसै त सानो बजार स्याचुरेट (डम्मै) भएर नयाँ व्यापारहरू चल्दैनन्, पहिले चलिरहेकोले पनि मन्दी भेट्छन्।

भूपी शेरचनले नेपालको सामूहिक राष्ट्रिय चरित्र बुझाउने सन्दर्भमा ‘हामी वीर छौँ तर बुद्धु छौँ’ भनेका थिए। मलाई वीर, बुद्धुबारे खासै थाहा छैन, तर अनुसन्धानात्मक विश्लेषणका आधारमा हामी अरू केही नभए पनि अल्छी पक्कै छौँ झैँ लाग्छ। हामी अल्छी छौँ र त माछासँग केही लेनादेना नभए पनि बल्छी थाप्छौँ। बल्छी थाप्ने विशेषता हाम्रो डीएनएमै बुनिएको छ, अन्तर्निहित छ। त्यसबाट राजनीति फरक कसरी होस्? राजनीति हामीले नै बनाएको हो, राजनीति गर्ने पनि हामी नै हौँ।

उदाहरणका लागि, देउवाको ढोक्सामा राष्ट्रपतिको गतिलै शिकार परेको र खाना खान गएका पुष्पकमल दाहाल दुई महिनाभित्रै फर्किएको सफल प्रयोगपछि धेरै नेताहरू यस्तै ‘ढोक्सागिरी’ गर्न पल्किएका छन्।

अब एकछिन लागौं वर्ष–शब्दको सप्रसंग व्यख्यातिर।

प्रस्तावना
हिन्दी सिनेमाको 'थप्पड से डर नहीं लगता साहब, प्यार से लगता है' भन्ने संवाद सुन्नुभएको छ? मेरो त्यो डायलगसँग मिल्दोजुल्दो एउटा भाव छ। मलाई बडे पप्युलिस्टहरूबारे टिप्पणी गर्न त्यति धक लाग्दैन जति छोटे पप्युलिस्टसँग लाग्छ। केपी ओलीबारे कतै केही भन्न मनलागे निर्धक्क भएर भन्न सक्छु। तर, रवि लामिछानेका (अथवा बालेनकै) सम्बन्धमा केही भन्न परे सम्भावित प्रतिक्रियाबारे सोचेर निकै गम खान्छु। मनमा लागेको कुरा भन्न चाहिँ भन्छु, तर अलि बढी सोच्छु।

म अहिले सोच्दैछु, ओलीले मुलाधारित गरिदिएको शब्दलाई रवि लामिछानेले कसरी चरितार्थ गरे, कसरी त्यसमा महारथ हासिल गरे, त्यसमाथि एक–दुई अनुच्छेद लेखौँ कि नलेखौँ?  

आफ्ना लागि कानुनी प्रक्रियानै प्रभावित गर्नसक्नेगरी 'माकियाभेलियन ढोक्सालोजी'को प्रतीक बन्न पुगेका लामिछाने र हिजो दाहाललाई गाली गरेर नथाक्ने लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाललाई दोस्रो पटक विश्वासको मत दिँदै गर्दा ’नो नट अगेन’ नामक फेसबुक पेजले गिज्याइरहेको मान्छेहरूबारे केही बोलौँ कि नबोलौँ?

नयाँँ रविको राजनीतिक मूल्य–मान्यता केही नहेरी सत्तामा भुल्ने रहर चरम अवसरवादी भनेर कहलिएका पुराना मण्डलेभन्दा एक रत्ति फरक नभएको देख्दादेख्दै आँखा चिम्म गरिदिने समर्थकहरूको प्रवृत्तिबारे केही भनौँ कि नभनौं? 

रास्वपा (रवि)को बारे सित्तैमा यति चिन्तन मनन गरेर ‘ह्या होस्! केही भन्दिनँ’ जस्तो लागे पनि धन्न ‘ढोक्सा’ शब्दले संसद् र सञ्चारजगत‍्मा तहल्का मच्चाउँदै गर्दा केन्द्रमा रहेको नेपाली कांग्रेसबारे टिप्पणी गर्न भने दुईछिन् सोच्नपर्दैन।

सत्ता–राजनीतिमा कम्ब्याक गर्नका लागि शेरबहादुर देउवाको तत्परता हुने नै भयो, थियो। विश्वासको मत १.० को बेला चारतिर मुख फर्किएका कांग्रेसको अरू शीर्षनेताहरू पनि एक्कासि एक मुख भए। 

दुई महिना संसद्लाई प्रतिपक्ष–शून्य राख्न जिम्मेवार रहेको कांग्रेस, प्रधानमन्त्री दाहालविरुद्ध सर्वाेच्चमा विचाराधीन मुद्दा प्रभावित गर्न र युद्ध–अपराधका पीडकलाई जोगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस हुँदा मुकदर्शक बनिदिएको छ। अहिले नेपालको ग्र्यान्ड ओल्ड पार्टीका लागि ज्ञानेन्द्र शाहीले न्याय मागिदिनु परेकोछ, द्वन्द्वमा ज्यान गुमाएका उसका कार्यकर्ताको पीरको भकारी पूर्वपञ्चहरूले बोकिदिनुपरेको छ।

विस्तार
कांग्रेस त खैर संस्थागत रूपमा सुनिन छाडेको धेरै भयो, चुनाव र सरकार गठनका बेला देउवा–दाहालको जुगलबन्दीबाट आफूलाई अलग्याएका फरेभर युवा नेता गगन थापाले हाल साँधेको चुप्पी पनि यही ढोक्सामै आएर बल्झिन्छ।

यो ढोक्सालोजी भनौँ कि ढोक्सागिरी भनौँ यति संस्थागत भइसकेको रहेछ कि कुनै राजनीतिज्ञ यसको चक्रव्यूहमा परिसकेपछि भिन्न समयमा घटेका उस्तै घटनालाई फरक चस्माले हेर्दो रहेछ। 

हिजो ओली नेतृत्वको नेकपा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउने मनसायले आईटी बिलको प्रस्तवना ल्याउँदा (जुन ठीक थिएन) कांग्रेस (वा भनौँ थापा, जो त्यो बेला एक्ला प्रतिपक्षझैँ थिए)ले सदनमा यो मुद्दा उठाएको थियो, सडकमा विरोध गर्नेहरूसँग उभिएको थियो। तर, हाल सरकारले मिल्दोजुल्दो प्रकृतिको वैयक्तिक गोपनीयता र संविधानप्रदत्त मौलिक हकमा अतिक्रमण गर्ने गरी विधेयक (जुन ठीक होइन) ल्याउने खबर आएको दिनौँ बित्नलाग्दा, कतै केही चाइँचुइँ छैन।

लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीको विरोध गरेकै भरमा नागरिकको धरपकड हुँदा न सदन, न सञ्जाल न सडकमा कांग्रेसको दुई शब्द सुन्न पाइएको छ। बरु हालसालै पूर्वराजा भेटेर राजतन्त्रको पक्षमा माहौल बनाउन चम्किएका राजेन्द्र लिङ्देनले मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्  भनेको ‘ए!’ भनेर सुनिदिनुपरेको छ। 

गगन थापाले सबै कुराको ठेक्का लिनुपर्छ भनेको हैन। उनी हुट्टीट्याउँ हैनन्, उनले आकाश थामिदिनु पर्दैन। नेपाली कांग्रेस कुनै सिद्धिप्राप्त दल होइन, थाहा छ संसदीय राजनीति यसरी नै चल्दै आएको छ। तर एकै किसिमका फरक घटनालाई भिन्न व्यवहार गरेको देख्दा हल्का बिझाउँदो रहेछ। 

हिजो माओवादी अध्यक्षले ‘जनयुद्धमा मारिएका १७ हजारको त हैन, ५ हजारको जिम्मेवारी लिन सकिन्छ’ भनेको केही दिनमै ‘५ हजार हैन १७ हजार मानिसकै हत्याको जिम्मा पुष्पकमल दाहाल र बाबुरामले लिनैपर्छ’ भन्ने मान्छेको व्यक्ति विशेषको अनुकूलताका लागि ल्याईएको टिआरसी विधेयकमाथि मौन देख्दा ‘लौ त’ भन्न आउँदो रहेछ। सायद अब उनी सिजन्ड (मौसमले खारिएका) राजनीतिज्ञ भएका छन्। दाजुहरू झैँ हिसाबकिताब लगाएर मात्र प्रतिकृया दिन्छन्।  

बीचको नाम नै विरोधाभास भएको राजनीतिमा यत्तिको इधर–उधर त चलिहाल्छ क्यारे।

उपसंहार
कुरोले कुलो बगाउँछ भन्छन्, मेरो कुरोले त सुनामी नै आउँछ पो। ढोक्सालाई बर्ष-शब्द घोषणा गर्नुपर्ने अभियान थाल्न हिँडेको म भावनामा बहकिएर च्यासल, सानेपा, पेरिसडाँडा, बसुन्धारा, कामपा-४, कता-कता पुगेछु।

तर आज किबोर्ड बन्द गर्न अगाडि एउटा कुरा भनिहाल्छु है? भर्खरै विश्वासको मत पाएर प्रफुल्लित हुँदै एमाले अध्यक्ष ओलीलाई “पुषमा प्रधानमन्त्री बनाएर एउटा गुन तिर्नुभयो। दोस्रो गुन तिर्न बाँकी छ,” भनेर अर्को संभावनाको ढोक्सा थापेका पुष्पकमल दाहालसँग को-को सतर्क रहनु पर्ने हो रहिरहनु होला।

एउटा दुई–अक्षरको शब्दमाथि यति कुरा गरिसक्दा माधव नेपाललाई कसरी बिर्सेको होला भन्ने सोच्दै हुनुहुन्छ? नेपालको आधुनिक राजनीतिमा यो प्रवृत्तिको व्यापकीकरण माधव नेपालले गरेको हुनुपर्छ भन्न कुनै अनुसन्धान गरिरहनु पर्दैन। तर वर्तमान परिप्रेक्ष्यका कुरा गर्दा सफल उदाहरणहरू दिनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ। नेपालले थापेका ढडियाले न कहिले उनले चाहेजस्तो भएको छ, न वरिपरिका कसैलाई फाईदा। सब भताभुङ! यस्ता फुस्रा ढोक्साको के कुरा गराइ भो?

हस्। अर्को हप्ता फेरि अर्को कुनै विषयमा मरमसलासहित गफ लिएर आउनेछु।

अभिवादन भन्दा हल्काफुल्का भएकोले यसपालि सलाममा कुरा टुंग्याउँदै छु! न लाल, न हरियो, न पहेँलो। केवल सादा, स्वच्छ सलाम!


सम्बन्धित सामग्री