Wednesday, April 24, 2024

-->

पुँजीवादी अति दोहन र जलवायु परिवर्तन

प्रकृतिको कार्यप्रणालीलाई साधनको भुक्तानीबाटै सम्मान गर्नुपर्छ, तब मात्रै आउँदै गरेको जलवायु महासंकटका साथै पर्यावरणीय संकट एवं पुँजीवादी शोषणको जोखिमबाट समग्र मानव समाजले मुक्ति र स्वतन्त्रता पाउँछ।

पुँजीवादी अति दोहन र जलवायु परिवर्तन

मानवीय सभ्यताले फड्को मार्ने क्रममा अघिल्लो समयको संरचनात्मक सन्तुलनमा फेरबदल आउँछ नै। उत्पादनका साधनहरूको अन्तरसम्बन्ध एवं तिनीहरूको भूमिकासमेत परिवर्तन हुन जान्छ र सामाजिक प्रणालीसमेत बदलिँदै जान्छ। यसै कारण, हजारौँ वर्ष अघिको आदिम मानव समाज घुमन्ते, कबिला, गणपति र दास प्रणाली हुँदै सामन्तवादी प्रणालीमा बदलियो। यति बेलासम्म मानव समाजको अन्तर्संघर्ष प्रकृति सँगसँगै सन्तुलन, संघर्ष र सहअस्तित्वपूर्ण रूपले जीवन निर्वाह गरी बाँच्नु नै थियो। 

सामन्तवादी प्रणाली लगभग पाँच हजार वर्ष जति चलेको अनुमान गर्न सकिन्छ। जनसंख्या वृद्धि र चेतनाको उन्नतिले उत्पादन सम्बन्धमा आएको फेरबदलका कारण मेसिनरी औजार, प्रशस्त ज्ञान, सीप र उपल्लो स्तरको चेतना र ऊर्जा शक्तिसहितको विज्ञान प्रविधिसँगै विगत दुई सय वर्षको हाराहारीयता मानव समाज पुँजीवादी प्रणालीमा प्रवेश गर्‍यो। यसपछि प्रकृतिमाथि मानव समाजले धावा बोल्न थाल्यो, प्रकृतिको अत्यधिक शोषण गर्न थाल्यो, प्राकृतिक सन्तुलन खलबल्याउन थाल्यो। पुँजीवाद सिर्जित प्रकृतिको विनाश लीलाको निरन्तरताको परिणामस्वरूप नै विश्वव्यापी जलवायु संकट निम्तिएको हो भन्दा अन्यथा हुँदैन। 

पुँजीवादको प्रारम्भिक कालदेखि उत्कर्ष कालको यो दुई सय वर्षको इतिहास हेर्दा पूर्वऔद्योगिक युगमा वायुमण्डलमा २१० पीपीएम मात्रा रहेको ग्रिनहाउस ग्यास र कार्बन अहिले ४२० पीपीएम हुन पुगेको छ। जसबाट विश्वव्यापी तापक्रममा आएको बढोत्तरी नै मानव समाजका लागि महासंकट (पोलिक्राइसिस) र असन्तुलित समस्याका रूपमा देखिएको छ। 'पेरिस सहमति'अनुसार सन् २०५० भित्रै १.५ डिग्री सेल्सियसभित्र वैश्विक तापमान स्थिर पार्ने चुनौती आइलागेको छ, तर पुँजीवादी प्रणालीमा नै फेरबदल नगरी यो सम्भव देखिन्न। 

उल्लिखित परिदृश्य हेर्दा विगत दुई सय वर्षयता समाजका दार्शनिक, वैज्ञानिक तथा चेतनशील तह र तप्काका मानिसहरूले यस्तो डरलाग्दो अवस्थाबारे पहिले नै आकलन गरेका थिए वा थिएनन् होला? विभिन्न समयमा उनीहरूले प्रतिपादन गरेका राजनीतिक, अर्थशास्त्रीय तथा विज्ञानका सिद्धान्त तथा ज्ञान र दर्शनहरूमा प्रकृति र वातावरणीय मुद्दा कस्ता थिए होला र तिनले मानव समाजलाई यो समस्याको चिरफार गरी बुझ्न, जान्न र दिशानिर्देश गर्न सक्ने चेतना पैदा गराए होलान् या गराएनन् होला? 

पुँजीवादको आगमनपछि खास गरी हाम्रा अग्रजले प्रतिपादन गरेका दर्शनशास्त्रमा समग्र ब्रह्माण्ड, पदार्थ, प्रकृति, वातावरण, मानव चेतना, ज्ञान र उत्पादनका साधनबीच हुने अन्तरक्रिया र व्यवहारउपर यथार्थपरक विश्लेषण भए कि भएनन् होला? हाम्रा जीवनयापन र सामाजिक छनोटलाई मार्गदर्शन गर्ने गरी दर्शनशास्त्रहरूमा 'हरिया पाना' राखे या राखेनन् होला? विभिन्न दार्शनिक अवधारणाहरूमा समाजको गतिविधि 'कार्बन न्युट्रल' हुनुपर्छ भन्ने नैतिक मूल्यका कुरा आए या आएनन् होला? पर्यावरणीय सम्भावित संकटबारे दर्शनशास्त्रहरूले कसरी व्याख्या गरे होलान्? 

पुँजीवाद र प्रकृतिको सम्बन्ध
सामन्तवादी उत्पादन प्रणालीलाई विस्थापन गरी आएको पुँजीवादले प्रारम्भमा प्रगतिशील चरित्रको थियो। खास गरी कोरा, कष्टकर र जघन्य श्रम, आततायी सामन्ती शोषण, उत्पादन न्यूनताजस्ता समस्याबाट छुटकारा दिई विज्ञान र मेसिनरी प्रणालीमा आधारित पुँजीवाद स्थापना गरी घनघोर र दुखान्त श्रममा बाँचेका मानिसलाई जीवनयापन गर्न सजिलो बनाएको थियो उत्पादन यथेष्ट बनाएर समाजको उपभोग स्तरलाई माथि उकास्न केही सहयोग गरेको थियो। तर अत्यधिक/असीमित नाफा कमाउनु पर्छ भन्ने अनैतिक सोचले गर्दा पुँजीवाद अधिक रूपले प्राकृतिक स्रोतको लुटपाट र निकृष्ट श्रम शोषणमा लाग्यो। यो व्यवस्थाले मान्छेले मान्छेलाई गर्ने शोषण कायमै राख्यो। सँगै जमिन, जल, जंगल, खानी र समुद्रजस्ता सार्वजनिक उपभोगका विषय पनि जबरजस्ती कब्जा गर्न थाल्यो। पुँजीवादले तुलनात्मक लाभ (प्रकृतिको मिहिनेतबाट सिर्जित भएको सामाजिक लाभ)लाई पनि निजी नाफाका रूपमा राख्ने गर्न थाल्यो। प्राकृतिक स्रोतहरूको पुनः नवीकरण र पुनर्भरण हुनै नसक्ने गरी लुटतन्त्र चलायो। कोइला, पानी, माटो, पेट्रोल र वनजंगलको अधिक प्रयोग मेसिनरी ऊर्जामा गरेका कारण औद्योगिक क्रान्तियता पृथ्वीमा ग्रिनहाउस ग्यास (हरित गृह ग्यास) बढेर जाँदा हाल जलवायु परिवर्तनको विश्वव्यापी संकट निम्तेको छ। 

औद्योगिक एवं व्यापारिक रूपमा उदाएको पुँजीवाद कहिले  साम्राज्यवादी स्वरूपमा, कहिले उदारवाद र नवउदारवादको आवरणमा (ग्लोबलाइजेसन), कहिले वित्तीय पुँजीवादका रूपमा त कहिले समाज कल्याणसहितको पुँजीवाद (नर्डिक पुँजीवाद) त कहिले युरोपेली भर्सनको लोकरिझ्याइँ पुँजीवादका रूपमा फैलियो। नोम चोमस्कीले भनेझैँ अमेरिकी आणविक प्रभुत्वशाली पुँजीवाद, बर्नी स्यान्डर्सले भनेझैँ उबार पुँजीवाद हुँदै अचेल त सर्कुलर पुँजीवाद, क्रिप्टो एवं डाटा पुँजीवादका रूपमा समेत पुँजीवादले चोला फेर्ने प्रयास गरेको देखिन्छ। पुँजीवादले सामाजिक अन्तर्विरोध हल गर्ने नाममा राजनीतिक प्रणालीका रूपमा प्रजातन्त्र र समाजवादलाई पनि देखावटी रूपले खुब उपयोग गर्‍यो। यद्यपि, पुँजीवादको मूल चरित्र भनेको लालचपूर्ण नाफा र अनावश्यक रूपले व्यक्तिगत सम्पत्तिको थुपार्ने हो। पुँजीवादसमेतका कारण सामाजिक–आर्थिक–सांस्कृतिक असमानता निम्तेको छ। शोषणको निरन्तरता र पर्यावरणीय चक्रमा यसले प्रभाव पारेको छ। 

यस्ता समस्याहरू हल गर्ने ल्याकत जुनसुकै भर्सनको पुँजीवादले पनि राख्न सकेन। अन्तर्विरोध हल गर्न नसक्दा पुँजीवाद हमेसा मानवताविरोधी कुकर्ममा हिँडेको हिँड्यै छ। केही पहिले संसारमा आणविक युद्ध उन्मादको त्रास छ भनेर चर्चा हुन्थ्यो, अहिले जलवायु परिवर्तनको डरलाग्दो महासंकटभित्र (क्लाइमेट पोलिक्राइसिस) भित्र पुँजीवाद फस्न गइरहेको देखिन थालेको छ, जसमा संसारका मानवलगायत अन्य जीवसमेत पर्दै गएका छन्। 

एउटा सामान्य उदाहरण हेरौँ: यति बेला आममानिसले पिउने पानीको हाहाकार छ। हिजोसम्म पर्याप्त रहेको सौर्य प्रकाश, पिउने पानी,  स्वच्छ हावा, सामुद्रिक वस्तु लगायतका मानवीय आधारभूत साधन अहिले बजारको कब्जामा छिर्दै छ। अन्यायपूर्ण रूपले तिनको मूल्य तिराउने तरखरमा पुँजीवाद लागेको छ। उल्लिखित पृष्ठभूमिमा पुँजीवादको आर्थिक प्रणाली आज पनि खास गरी शास्त्रीय अर्थशास्त्रीहरूकै दार्शनिक अवधारणबाट चलेको देखिन्छ। आडम स्मिथले प्रतिपादन गरेको अर्थशास्त्रको सिद्धान्तअनुसार ‘जसरी पनि धन थुपार्नु पर्छ’ भन्ने बाटो हिँडेको शास्त्रीय पुँजीवाद अल्फ्रेड मार्सल, रिकार्डो, माल्थस र जेबी सेकै लेसेज फेयरपथमा हिँड्यो। यसले प्रकृति र सामाजिक न्यायको जिम्मेवारी बहन गर्न चाहेन, बरु सरकारी हस्तक्षेपमुक्त अराजक बजारवादकै वकालत गर्दै अन्यायपूर्ण समाज निर्माणमा इट्टा थप्दै हिँडिरह्यो। 

केही हदसम्म रिकार्डोले भूमिको उर्वरापनबारे लगान सिद्धान्त प्रतिपादन गरेपछि भने भूमि, जमिन, जंगल, खानीजस्ता स्रोत मानवीय कल्याणका लागि प्रयोग हुने भएकाले सोको संरक्षण गर्नु पर्नेबारे थोरै सचेतना बढ्यो। शास्त्रीय अर्थशास्त्रको यो कालखण्डमा मात्रै अलिकति ‘हरियो’ विचार उत्पन्न भएको देखिन्छ। आधुनिक अर्थशास्त्रको विधा फराकिलो भएपछि आएका रबिन्स, स्यामुल्सन, लांकास्टर, किन्स, स्टिगलर, मिल्टन फ्राइडमेन, काल्डोर, सोलोका सिद्धान्तहरू सन्तुलित वृद्धि सिद्धान्तमा आधारित भएका र दिगो विकासलाई कहीँ कतै जोड दिएकाले थोरै मात्र भए पनि हरियोजन्य नै मानिन्छन्। 

तर, केल्भिन लाङकास्टरले मागको सिद्धान्त प्रतिपादन गर्दा वस्तु र सो भित्रको प्राकृतिक गुण (नेचुरल ऐसेन्स)को छनोटको संयोगलाई अघि सारेकाले उनको अर्थशास्त्रीय धारणा केही हदसम्म हरियो मान्नुपर्ने हुन्छ। यद्यपि, यी सिद्धान्त पूर्ण ‘कार्बन न्युट्रल’ भने थिएनन्। यसै समयावधिमा कोइला, पेट्रोलजस्ता प्राकृतिक संसाधनमाथि अधिक दोहन भएको, विज्ञान र प्रविधिको अति प्रयोग गरी बढी कार्बन उत्सर्जन भएको देखिन्छ। अहिले आउँदा जलवायु परिवर्तनको मूल कारक तत्त्व रहेको कार्बन डाइअक्साइडको दुई तिहाइ खण्ड अमेरिका, युरोप, भारतलगायत पुँजीवादी मुलुक  (जी-७ समेत) बाटै यसै समयमा उत्सर्जन भएको र यो उत्सर्जनको ऐतिहासिक क्षतिपूर्ति पनि ती देशहरूले बेहोर्नुपर्ने आवाज उठिरहेको छ। यसबाट पनि पुँजीवाद लालचपूर्ण नाफाकै लागि पृथ्वीमा वातावरणीय विनाश लीला मच्चाउन जिम्मेवार रहेको देखिन्छ।

मार्क्सवादभित्रको हरियो पानो
उत्पादन, उपभोग, वितरण र वातावरणीय सुरक्षासम्बन्धी समस्याको हल मानिसहरूले नै सामाजिक उत्तरदायित्व लिई गर्नुपर्ने, सोको लागि विज्ञानले प्रदान गरेका ज्ञान, चेतना एवं प्रविधिको बृहत्तर उपयोग गर्ने प्रणालीको स्थापना गरेर मात्र सम्भव रहेको निर्क्योलसहित समाजवाद/साम्यवादको दार्शनिक आधार कार्ल मार्क्सले तयार पारेका हुन्। उनले त प्रुधो तथा हेगलेको भौतिकवादी दर्शनलाई सुल्टो पारे, इतिहास निर्माणमा श्रम, प्रकृति, उत्पादन साधनको सम्बन्ध, अतिरिक्त मूल्यजस्ता विषयमा खोज गरे, वर्ग संघर्ष (सामाजिक श्रम सम्बन्ध) नै इतिहास निर्माणको मुख्य चालक शक्ति हो भने। निजी सम्पत्तिको लालच र अतिरिक्त शोषण दरको व्यापकताले पुँजीवाद विकास हुँदै अघि बढे पनि उल्लिखित सामाजिक समस्या हल गर्न सक्दैन र अन्त्यमा यसले समाजवादमा चोला फेर्छ भने। 

सन् १८६७ तिरै आफ्नो महान् कृति दास क्यापिटल रचना गर्दाका बखत पुँजीवादी उत्पादन र वितरण प्रणालीले मानिसको अतिरिक्त श्रम शोषण मात्रै गर्ने नभई पृथ्वीका पर्यावरणीय वस्तुउपर समेत गिद्धे दृष्टि लगाएको महसुस स्वयं मार्क्सले गरेका थिए। उक्त कृतिमा पुँजीवादले कसरी कृषि उत्पादनमा शोषण गर्छ, माटो र भूमिको उर्वरापनलाई कसरी लुट्छ भनी ‘मेटाबोलिक रिफ्ट’बारे एउटा ‘हरियो पाना’ पनि राखेका थिए। प्राकृतिक साधन स्रोत, वन जंगल, पानी, माटो, उर्वरापन र खानीहरू मानिसले उत्पादन गरेको पनि होइन, तर पुँजीपतिहरूले मेसिनको प्रयोग गरी अधिक दोहन गर्छन्, पुनर्स्थापना नहुने गरी गरी लुट्छन् र निजी सम्पत्तिका रूपमा थुपार्छन्, जो ऐतिहासिक रूपमा अन्यायपूर्ण/कपटपूर्ण छ। र, यस्तो साझा सामाजिक सम्पत्तिको निजीकरण बर्बर रहेको मार्क्ससँगै ऐंगेल्सले पनि पछि आफ्नो छुट्टै कृतिमा विस्तृत रूपले लेखे। 

लेनिनले ‘राज्य र क्रान्ति’ पुस्तकमा पुँजीवाद साम्राज्यवादमा विकसित हुँदा कसरी औपनिवेशिक मुलुकबाट सित्तैमा श्रम र प्राकृतिक स्रोत लुटेर लैजाने गर्छ भनी अझ मिहिन पाराले लेखेको देखिन्छ। इकोलोजी एन्ड मार्क्सिजम् (२०१०)  मा जोन बेलामी फोस्टरले लेखेका छन्, “प्रकृतिप्रति मार्क्समा आदर भाव थियो। मार्क्स ज्ञान र चेतनाका प्रोमिथस हुनुहुन्थ्यो। मार्क्सवादभित्र हरियोपन पनि छ। मार्क्सवाद पर्यावरणीय अनुपालकसमेत छ, तसर्थ यो मानवतामैत्री छ।” भारतीय लेखक तानिया बसु दासले पनि मार्क्सवादलाई हरियो दर्शनको शुरूआतकर्ता भनेकी छन्। अहिले आउँदा अर्नेस्टो लाक्लाउ, गोरान थरबोर्न, मेक्स वेबर, डेभिड हार्बेलगायतका धेरैजसो नवमार्क्सवादीहरूले पनि दिगो विकास र हरियो विकासको कुरा तीव्र रूपले उठाएका छन्। 

दुई सय वर्षमा प्रकृतिबाट पुँजीवादको लुट
प्रकृतिमा नै संग्रह भएको वस्तु तथा सेवालाई लूटमार्फत व्यक्ति विशेषले निजी धनका रूपमा आफ्नो निजी स्टोरमा सञ्चिती गर्ने कुरा गलत छ भनी सामाजिक न्यायसहितको आर्थिक प्रणालीमा वकालत गर्ने सबै अर्थशास्त्रीले भने पनि पुँजीवादले निर्ममतापूर्वक प्रकृति लुटी नै रहेको छ। कोस्टान्जा आर (१९९७) लगायतका प्रख्यात पर्यावरणविद्हरूले प्रकाशित गरेको आलेखमा विश्वभरिको प्राकृतिक स्रोतले प्रतिवर्ष सृजना गर्ने वस्तु तथा सेवाको आर्थिक मूल्यांकन सरदर ३३ ट्रिलियन डलर हुने देखिन्छ। जबकि, यसको आधा भाग युरोप र अमेरिकाले नै खपत गर्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको 'मिलेनियम इकोसिस्टम असेसमेन्ट रिपोर्ट, २००५' अनुसार विगत पचास वर्षको अवधिमा मात्र तीन चौथाइ जैविक विविधता र प्रकृतिको विनाश विकसित देशबाटै भएको छ। जेम एन्डरर्सनले २००८ जनवरी २१ को गार्जियन पत्रिकामा आकलन गरिएअनुसार हरेक वर्ष गरिब मुलुकबाट १.८० ट्रिलियन डलर बराबरको प्राकृतिक परिसम्पत्ति धनी मुलुकहरूमा भित्रिने गरेको छ। 

यस प्रकारका विवरण विश्लेषण गर्दा अमेरिका र युरोपेली पुँजीवादी देशहरूले विगत डेढ सय वर्षदेखि गरेको प्रकृतिको लुटको आकलन गर्दा कम्तीमा पनि चार सय ट्रिलियन डलर प्राकृतिक स्रोत/सम्पत्ति एसियन, अमेजन र अफ्रिकी गरिब मुलुकहरूबाट सित्तैमा लगेको देखिन्छ। जबकि, अहिले आएर जलवायु परिवर्तनसँग जुध्न यिनै गरिब देशहरूलाई तत्कालै चाहिने 'लस एन्ड ड्यामेज कोष'मा धनी मुलुकहरूले तीन सय ट्रिलियन डलर जम्मा गर्नुपर्छ भनेर आग्रह गर्दा धनी मुलुकहरू अन्कनाएको देखिन्छ। धनी मुलुकहरू अमानवीय युक्रेन युद्धमा विशाल रकम खर्च गर्न तयार छन्, तर जीवनदायी वातावरण र प्रकृति जोगाउन तत्पर देखिन्नन्। यसले के देखाउँछ भने ऐतिहासिक रूपले प्राकृतिक दोहन र कार्बन उत्सर्जनप्रति धनी मुलुकहरूले गैरजिम्मेवारी रवैया अपनाएका छन्। 

हरियो अर्थशास्त्र र साधनहरूको भुक्तानी परिकल्पना
अर्थशास्त्रले उत्पादनका साधनहरूको संरचना, तिनीहरूबीचको अन्तरसम्बन्ध र उत्पादन प्रणाली समेतको 'पोजिटिभ' तथा 'नर्माटिभ' दुवै खाले व्याख्या गर्दछ। मानवीय आवश्यकता असीमित रहेका तर ती आवश्यकता पूरा गर्ने साधन सीमित रहेका कारण सोको दुर्लभता र छनोटको वैकल्पिक संयोगलाई समेत व्याख्या गरेको हुन्छ। खास गरी सन् १९३९ मा लियोनल रबिन्सले गरेको अर्थशास्त्रको उक्त परिभाषालाई सर्वमान्य मानिएको छ। रबिन्स यो मान्यताअनुसार प्राकृतिक वस्तुहरूमा दुर्लभताको गुण नहुने भएकाले जे जति परिमाणमा उपभोग गरे पनि हुने भन्ने मान्यता राखेर लुटतन्त्र मच्चाउन प्रोत्साहित गरेकाले यसमा हरियो र नैतिक प्रश्न खडा गरेको छ। 

हुन त रबिन्सको यो परिभाषाले सापेक्षतावादलाई अनुग्रहण गरेको छैन। किनकि, असीमित आवश्यकता र सीमित साधनको संयोग निरपेक्ष मान्यता हो। जलवायु परिवर्तनको संकटको आरम्भ यहीँबाटै शुरू हुने गर्दछ। यस्तोखाले शास्त्रीय मोडलबाट हेर्दा उत्पादनका साधनहरू (फ्याक्टर प्राइसिङ)मध्ये  भूमि, श्रम, पुँजी र संगठनहरूको संयोगबाट वस्तु उत्पादन गर्ने, उक्त वस्तु बजारमा बिक्री गरी आएको आम्दानी र मूल्यबाट ती साधनहरूको भुक्तानी हुने गर्दछ। भूमिले उर्वरापन कायम गर्न लगानी लिन्छ, श्रमले ज्याला (जीवनस्तरको लागि मात्रै) लिन्छ, पुँजीले ब्याज लिन्छ, संगठन अर्थात् कम्पनी र मालिकले नाफा लिन्छ। यहीँनेर शास्त्रीय भुक्तानी र वितरण प्रणाली अनैतिक रहेको कुरा वातावरणीय अर्थशास्त्रीहरूले भन्ने गरेका छन्। 

कोरा भूमि मात्रै उत्पादनको साधन नभई भूमिसहितको सबै पर्यावरणीय वस्तु वा वातावरणीय साधन (इकोसिस्टम प्रणाली नै) पनि उत्पादनको साधन हो। यसैले वातावरणीय वस्तु र सेवा प्रदान गरेबापत त्यसले प्रणालीगत रूपले नै साधनको योगदान मूल्य पाउनु पर्दछ। यसमा हावा, पानी, माटो, वन जंगल, जैविक विविधता एवं जलवायु योगदानका थुप्रै मूल्य समावेश हुन्छन्। तर, पुँजीवादले आफ्नो अकूत नाफा घटने डरले यसको भुक्तानी दिन मान्दैन। मार्क्सले औँल्याएझैँ जसरी श्रमिक र मजदुरहरूलाई श्रमको अतिरिक्त मूल्य दिइँदैन, त्यसरी नै पुँजीवादले वातावरण र 'इकोसिस्टम'लाई उसको 'हरियो योगदान'को भुक्तानी दिँदैन।

विगत डेढ सय वर्षदेखि यो अतिरिक्त हरियो मूल्यसमेत पुँजीवादले आफ्नै स्टोरमा संग्रह गरेको छ, लुटेको छ। यो हरियो मूल्य समाजको मूल्य हो, तर पुँजीवादले एक्लै लुकाएर राखेको देखिन्छ। हाल आएर कार्बन उत्सर्जनको ऐतिहासिक क्षतिपूर्ति लिने नै हो भने यही अतिरिक्त हरियो मूल्यको लडाइँ लड्नु न्यायोचित हुन्छ। यो अर्थशास्त्रको नर्माटिभ मान्यताभित्र पनि पर्दछ। नवमार्क्सवादीहरूले पुँजीवादसँग लड्दा श्रमको अतिरिक्त मूल्य र पर्यावरणीय योगदानको अतिरिक्त मूल्य (हरियो मूल्य)का लागि समेत भीषण लडाइँ गर्नुपर्ने देखिन्छ। यसर्थ शास्त्रीय अर्थशास्त्रको मोडेलमा नै पुनर्संरचना गर्दै विद्यमान जलवायु महासंकटको समाधानका लागि आवश्यक हरियो लडाइँ पनि यही बिन्दुबाट शुरू गर्नुपर्छ। 

दर्शनशास्त्रको पुनर्संरचनाको बहस र 'क्लाइमेट पोलिक्राइसिस'बाट मुक्ति
'हरियो दर्शन'को अवधारणाले प्रकृतिको आफ्नै क्रियात्मक/द्वन्द्वात्मक पद्धति रहन्छ, उसको उत्पादन क्षमता भनेको 'डार्बिनिजम्'कै प्राकृतिक छनोटको सिद्धान्तअनुसार नै अघि बढ्छ भन्ने हो। नवसंस्करित जीव विज्ञान र उद्वि‍कासका अन्य खोज जस्तै: 'म्युटेसन', 'जिनेटिक ट्रान्सफर', वंश चरित्र पनि 'लिनर' वा 'कर्भिलिनर' गतिशीलतामै बढ्ने गर्छ। मानिसहरूले यसमा हस्तक्षेप गर्न आवश्यक छैन। जब मानिसहरू चेतना, ज्ञान र विज्ञान प्रयोग गरी निजी छनोट र सामाजिक छनोटसम्बन्धी अर्थ-राजनीतिक वा सामाजिक सांस्कृतिक प्रणाली चयन गर्न अघि बढ्छन्, त्यति बेला प्राकृतिक छनोट ('कस्मोलोजिकल ग्रोथ' वा 'इकोलोजिकल क्यारिङ क्यापासिटी' वा 'ग्रिन ग्रोथ') को आधिपत्य ता स्वीकार गर्नुपर्छ। 

आर्थिक सामाजिक वृद्धिदर (स्मल आर) प्राकृतिक वृद्धिदर (ठूलो आर) मातहत नै रहने गरी आर्थिक–सामाजिक प्रणालीको चयन हुनुपर्छ। प्रकृतिको कार्य प्रणालीलाई साधनको भुक्तानीबाटै सम्मान गर्नुपर्छ, तब मात्रै आउँदै गरेको जलवायु महासंकटका साथै अन्य पर्यावरणीय संकट एवं पुँजीवादी शोषणको जोखिमबाट समग्र मानव समाजले मुक्ति र स्वतन्त्रता प्राप्त गर्दछ। त्यस बेला मानव समाजले बहुध्रुवीय पोलिक्राइसिसबाट समेत छुटकारा पाउनेछ। 

'ग्रिन इपिस्टोमोलोजी' (हरित तत्त्व ज्ञान अर्थात् जैविक ज्ञान), 'ग्रिन मेटाफिजिक्स'  र हरित तार्किकतावाद पनि सोही परिधिमा विकास गरिएको छ। सारमा भन्नु पर्दा पुँजीवाद होस् कि समाजवाद, या किन नहोस् साम्यवाद, जोसुकैले प्राकृतिक ग्रोथ (क्यापिटल आर)को आधिपत्य ता स्वीकार गर्नुपर्छ अनि प्रकृतिसँग सहअस्तित्वपूर्ण सम्बन्ध कायम गर्नुपर्छ। त्यसो हुँदा, आजको दिनमा हाम्रा पुराना दर्शनशास्त्रहरूको पनि पुनर्संरचना आवश्यक छ। 

प्राकृतिक छनोटको सिद्धान्तले 'लिनियरिजम्' वा व्यापक वृद्धिसहितको द्वन्द्वात्मक र विज्ञानलाई अनुसरण गरी अघि बढ्ने भएकाले मानव समाजले समग्र प्रकृति (पर्यावरण र ब्रह्माण्ड) सँग मित्रतापूर्ण संघर्ष गर्नुपर्छ, अन्यथा समाज विनाशको दिशातर्फ अघि बढ्छ। हरित दर्शनशास्त्रको संरचनात्मक र क्रियात्मक पद्धति हेर्दा प्रकृति (पर्यावरण चक्र वा ब्रम्हाण्डीय वस्तु, जैविक–अजैविक अन्तर्क्रिया), पदार्थ (भौतिक पिण्ड/वस्तु/क्वान्टम/ऊर्जा) र चेतना (मानवीय ज्ञान/विज्ञान, समय र प्रणाली छनोट) को संयोजन र ऐतिहासिक विकासको निरन्तरतालाई अंगीकार गरेको हुन्छ। पुराना दर्शनहरूले पदार्थ र मानवीय चेतनाको दुई ध्रुवीय संयोग/द्वन्द्वात्मकतालाई बढी ध्यान दिएका थिए। 

त्यस्तो संयोजनमा स्थान, समय र प्रकृति अटाएको थिएन, तर हरित दर्शनशास्त्रले प्रकृति, पदार्थ र चेतना बीचको बहुध्रुवीय अन्तरसंघर्ष (मूलतः त्रिपक्षीय द्वन्द्वात्मकता) र सन्तुलनको नयाँ 'इपिस्टोमोलोजी' लिएर आएको छ। यहीनेर विख्यात अर्थशास्त्री डा. अमर्त्य सेनले 'भोकको अर्थशास्त्र'मा भन्नु भएको एउटा उद्धरण सम्झना हुन्छ। जसले प्रकृतिको दर्शनशास्त्रीय महत्त्वलाई उजागर गरेको देखिन्छ, “साधारण मानिसहरूको भोक पनि पुँजीवादले नै संग्रह गरेको छ। जतिखेर प्रकृति, जमिन, कृषि उत्पादन, उर्वरता र भोकका लागि मानिसहरू न्यायिक लडाइ लड्न आउने छन्, त्यस बेला पर्यावरणीय संकटको पुनर्सन्तुलन र पुनर्स्थापनाको मुद्दा पनि सँगै उभिने छ। उक्त संकट निरूपणका लागि लड्ने लडाइँको स्वरूप भने पीडित स्वयंले नै गर्नेछन्।” 

आउनुहोस्, सबै जलवायु परिवर्तनका असरबाट पीडित संसारका नागरिकले नयाँ संघर्षको रूपको छनोट गरौँ र हरियो दर्शनशास्त्रको बहसलाई तीव्रतर ढंगले अघि बढाऊँ।


सम्बन्धित सामग्री