Thursday, April 25, 2024

-->

प्रश्नहरू अझै जीवित छन्

प्रश्नहरू मनुष्यको अस्तित्व, गरिमा र सौन्दर्यसँग जोडिएका छन्। प्रश्नहरू नै स्वतन्त्रता, समानता र सामाजिक न्यायका जननी हुन्। प्रश्न गर्नु मनुष्य जिउँदो हुनुको प्रमाण हो। मुर्दाहरूले प्रश्न गर्दैनन्।

प्रश्नहरू अझै जीवित छन्

मानव समाजको विकासमा प्रश्नहरूको ठूलो महत्त्व छ। मानिस आफैँ र अरुसँग प्रश्न गर्दैनथ्यो भने उसको अघिल्तिरको यात्रा पनि सम्भव हुँदैनथ्यो। ज्ञानका सबै क्षेत्र प्रश्नहरूसँग सम्बन्धित छन्। 

म को हुँ? जीवन के हो? जगत् के हो? जस्ता प्रश्नहरूबाटै दर्शन जन्मियो। प्रश्नहरूबाटै साहित्य, कला, संगीत जन्मिए। प्रश्नहरूबाटै ज्ञानका अनेकन ढोकाहरू खुले र मनुष्य अगाडि बढ्यो। प्रश्नहरूबाट शुरु भएको खोज र उत्तरहरूको अटुट श्रृङ्खला हो संसार। प्रश्नहरू आफू र जगत् बुझ्ने माध्यम थिए, सत्, असत्, न्याय, अन्याय, अँध्यारो र उज्यालो छुट्याउने आधार थिए। पूर्व होस् वा पश्चिम हाम्रा अग्रजहरूको यात्रा प्रश्न र उत्तरहरूको खोजको यात्रा हो। यही यात्रा उसको सफलताको आधार पनि हो। 

मानिसले प्राचीन समयदेखि नै अँध्यारोको प्रतिवाद र उज्यालोको खोजीमा आफूलाई उत्सर्ग गर्दै आएको छ। धेरै मानिस गरिब र थोरै मानिस किन धनी छन्? गरिखानेहरू अभावमा र बसी खानेहरू वैभवमा जिउने स्थिति कसरी बन्यो? एउटा व्यक्ति शक्तिशाली र अरु कमजोर कसरी भए? मानिसहरू सबै बराबर होइनन् र? धर्तीमा सबैको समान हक हुनुपर्ने होइन र? धनी र गरिब, शासक र शासित हुने कुरा ईश्वरले निर्धारण गरिदिएका हुन् र? यस धरा र ब्रह्माण्डमा कतै ईश्वरको अस्तित्व छ र? यस्ता प्रश्नहरूबाटै समानता, स्वतन्त्रता, सामाजिक न्यायका विचारहरू अगाडि आएका हुन्। यिनैले मनुष्यलाई आफ्ना हकका निम्ति संघर्ष गर्न प्रेरित गरेका हुन्। प्राचीन समयमा भएका दासहरूका संघर्ष यसका उदाहरण हुन्। 

दास युगमा मालिकहरूविरुद्ध भएका संघर्षहरू होउन् वा सामन्तवादी युगमा सामन्तवादविरुद्ध भएका संघर्षहरू होउन् वा पुँजीवादका विरुद्ध भएका संघर्षहरू होउन्, सबैमा प्रश्नहरूको अहम् भूमिका छ। प्रश्न गर्दैनथ्यो भने स्पार्टाकसमा विद्रोह गर्ने आँट नै आउँदैनथ्यो। प्रश्नले उसलाई विद्रोह गर्न मात्र प्रेरित गरेन, आफ्नो हकका निम्ति मृत्युवरण गर्ने आँट पनि दियो।

सामन्तवादको अन्त्य र पुँजीवादको जन्म एवं विकासमा प्रश्नहरूले ऐतिहासिक भूमिका सम्पादन गरेका छन्। प्रश्नहरू कुनै एउटा विषय वा क्षेत्रलाई मात्र लिएर गरिएनन्, दर्शन राजनिति, साहित्य, अर्थ, शासक र शासन सबैलाई लिएर गरिए। राजा हुनु ईश्वरीय विधान हो वा अरू केही हो? राजा ठूला कि जनता? व्यक्ति महत्वपूर्ण कि समाष्टि? जस्ता प्रश्नहरूले नै लोकतन्त्रका निम्ति आधार निर्माण गरेका थिए। 

पुनर्जागरणले प्रश्नलाई अत्यधिक महत्त्व दियो। ऊ स्वयम् प्रश्नहरूको उत्पादन थियो। राजा र राजतन्त्रको अधिकार, राजा र जनता, शासनको चरित्र तथा यसले सम्पादन गरेको भूमिकाका सम्बन्धमा पुनर्जागरणले गरेका प्रश्नहरूले नै राजतन्त्र अन्त्यको वैचारिक आधार निर्माण गरेका थिए। तर्क, तथ्य र विज्ञानलाई महत्त्व, अन्धविश्वास र रुढीहरूको आलोचना, निरंकुशताको विरोध र जनअधिकारको पक्षपोषणलाई पुनर्जागरणको विशेषताका रूपमा लिइन्छ। 

ब्रुनोलाई जिउँदै जलाइयो। उनको वैज्ञानिक चेतना धर्माधिकारीहरूलाई सैह्य थिएन। उनले धार्मिक अन्धविश्वासलाई ठाडो चुनौती दिएका थिए। ब्रुनो पुनर्जागरणका प्रकाश थिए। भौतिक रूपमा उनलाई नष्ट त गरियो, तर उनको विचारको प्रकाशले मानव जातिलाई नयाँ दिशा र गति दियो। यस्ता अरु पनि वैज्ञानिक र विचारकहरू छन्, जसले मध्ययुगीन सामन्ती विचार र मूल्यहरूमाथि प्रश्न गरे र नयाँ विचार दिए। यसबाटै नयाँ युगको सूत्रपात भयो।

ज्ञानोदयकालमा अझ बढी प्रश्नहरू गरिए। ज्ञान, चिन्तन र आविश्कारका दृष्टिले यस समयको अझ बढी महत्त्व छ।

नेपाली इतिहासलाई हेर्यो भने पनि प्रश्नहरूले नै परिवर्तन र अघिल्तिरको यात्राका निम्ति भूमिका सम्पादन गरेका छन्। जोसमनी सन्त कविहरूले धार्मिक रुढी र अन्धविश्वासका विरुद्ध खुलेर प्रश्नहरू गरे। योगमायाले समाज र सत्ताका अगाडि गम्भीर प्रश्नहरू राखिन्। लखन थापाले जंगबहादुरको शासनमाथि प्रश्न गरे र विद्रोहको नेतृत्व लिए। उनी मारिए, तर उनका प्रश्नहरू मरेनन्। उनको विद्रोहले शासकहरूलाई तर्साइरह्यो।

राणशाहीका विरुद्ध गरिएका गम्भीर प्रश्नहरूबाटै राणा शासन विरोधी आधारको निर्माण भएको थियो। राजनितिक संगठनहरू निर्माण गरिएका थिए। चार जनालाई ज्यान सजाए दिइएको थियो। सयौँलाई जेलमा राखिएको थियो र सर्वश्वहरण गरिएको थियो। साहित्यकारहरूले पनि प्रश्न गरेका थिए र दण्डको भागी भएका थिए। प्रश्न र उत्तरहरूको खोजीकै परिणाम थियो ००७ सालको आन्दोलन, राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापना। त्यसपछिका आन्दोलन र परिवर्तन पनि प्रश्नहरूकै परिणाम हुन्। प्रश्नहरू सकिएका छैनन्, आज पनि जीवित छन्।

प्रश्नहरूले सुकरातलाई सुकरात बनाएका थिए। यसबाटै उनमा सत्यका निम्ति विष पिउने साहस जन्मिएको थियो। कोपरनिकस, केपलर, ग्यालिलियो, डार्बिन, न्युटन र मार्क्स सबै प्रश्नहरूबाटै बनेका थिए। प्रश्न गर्दैनथे भने वर्तमान र भविष्य समेतलाई प्रभावित गर्ने गरी आ–आफ्नो क्षेत्रमा ऐतिहासिक योगदान पनि यिनीहरूबाट सम्भव हुँदैनथ्यो। प्रश्नहरूकै कारण युग बदलिएका छन्, समाज र जीवन बदलिएका छन्। 

प्रश्नहरू मनुष्यको अस्तित्व, गरिमा र सौन्दर्यसँग जोडिएका छन्। प्रश्नहरू नै स्वतन्त्रता, समानता र सामाजिक न्यायका जननी हुन्। प्रश्न गर्नु मनुष्य जिउँदो हुनुको प्रमाण हो। मुर्दाहरूले प्रश्न गर्दैनन्। जिउँदाहरूले नै प्रश्न गर्ने साहस गर्छन र युग पनि बदल्छन्। प्रश्नहरूबिना न फ्रान्सेली क्रान्ति हुन्थ्यो, न त गौरवमय क्रान्ति, न अमेरिकी स्वतन्त्रता संग्राम नै हुन्थ्यो, न त अक्टुबर क्रान्ति नै। सबै ऐतिहासिक आन्दोलन र क्रान्तिहरूका कारक प्रश्नहरू नै हुन्। सार्थक प्रश्नहरूले मनुष्यलाई बचाउँछन्, फेर्छन् र अघिल्तिर डोर्याउँछन्।

आज अनौठो लाग्ने गरी मनुष्यको प्रश्न गर्ने चरित्रमा ह्रास आउँदैछ। हामी यस यथार्थका बीचबाट गुज्रँदैछौँ। 

आज प्रश्न गर्ने कुरामा वैश्विक रूपमै कमी आएको छ। विश्वमा देखिएका थरिथरिका अतिवादी विचारहरू प्रश्न गर्ने कुरामा आएको कमीका परिणाम हुन्। कयौँ चिन्तकहरू, खासगरी द्धितीय विश्वयुद्धपछि प्रश्न गर्ने कुरामा कमी आउन थालेको उल्लेख गर्छन्। यसमा सत्यको ठूलो अंश छ। पुनर्जागरण र ज्ञानोदयले प्रश्नलाई महत्त्व प्रदान गरेका थिए। ज्ञानोदय पुनर्जागरणको चरम थियो। ज्ञानोदयका कयौं चिन्तकहरूको जीवनदर्शन भौतिकवादी थिएन तर पनि उनीहरू तथ्य र तर्कलाई महत्त्व दिन्थे। अन्धविश्वास एवं रुढीहरूका विरोधमा उभिन्थे। उनीहरूमा ज्ञानको भोक थियो। 

उनीहरू नयाँ गर्न चाहन्थे। पुँजीवादका आफ्ना आर्थिक, राजनितिक, सांस्कृतिक सीमा थिए, आफ्ना प्रतिबद्धता र पक्षधरता थिए। तर यसले एक भिन्न स्थितिको निर्माण गरेको थियो। पुँजीवादको जन्म र विकासबाटै मध्ययुगीन अँध्यारो अतीतबाट मनुष्यको अघिल्तिरको प्रस्थान सम्भव भएको थियो। 

पुँजीवादको शुरुको चरित्र भने सँधै रहेन। यो बढी विभेदकारी, मुनाफामुखी र सीमित हुनेखानेहरूका निम्ति सञ्जीवनी बन्दै गयो। पुँजीवाद र उदारवादका कारण देखिएका सपनाहरू ओइलाउन र मर्न शुरु गरे। भयानक युद्धहरू, मिथमा बदलिँदै गएको स्वतन्त्रता, समानता र सामाजिक न्यायको कुरा, अभिजातहरूको वर्चश्वले थला पर्दै गएको लोकतन्त्र आदिका कारण मानिसमा मोहभंगको स्थिति निर्माण हुन शुरू गर्यो। संचार प्रविधिको विकासले मनुष्य समाजलाई गहिरो गरी प्रभावित गर्यो। यही स्थितिका माझबाट उत्तरआधुनिकतावादी चिन्तन अगाडि आयो। 

उत्तरआधुनिकतावाद, सञ्चार प्रविधिद्धारा निर्मित परिदृश्य, वित्तीय पुँजीवाद र उपभोत्तावादले मनुष्यको प्रश्न गर्ने चरित्रमाथि डरलाग्दो गरी धावा बोल्न शुरू गरे। मनुष्यको बस्तुकरण मात्र होइन विमानवीकरणको प्रक्रिया अझ सघन बन्यो। मानिस अझ बढी उपभोक्तावादी, संवेदनाहीन र व्यक्तिवादी हुन थाल्यो। मनुष्यको अतार्कीकरणको प्रक्रियालाई योजनाबद्ध रूपमै अघि बढाइयो। यसले मनुष्यको प्रश्न गर्ने चरित्रलाई कमजोर बनायो। यसको ध्येय पनि यही थियो।

उत्तरआधुनिकतावादी चिन्तक बौद्रिलार्ड स्वयले ‘द कन्ज्युमर सोसाइटी’ पुस्तकमा यसको गहिरो चर्चा गरेका छन्। उनले वस्तु र बजारको रंगीन दुनियाँले मनुष्यको तार्किक क्षमता, आलोचनात्मक विवेक र आत्मिक संसारलाई कसरी नियन्त्रण गर्छ र मुनष्यको वस्तुकरणको प्रक्रिया आरम्भ हुन्छ भन्ने यथार्थको गम्भीर विश्लेषण गरेका छन्। यस्तो मनुष्य तार्किक हुन्न। उसले प्रश्न गर्दैन। सजिलै ऊ सत्ताको उपयोगी उपकरणमा बदलिन्छ। फ्र्याङफ्रुट स्कुलका दिग्गजहरू वाल्टर बेम्जामिन, एडोर्नो, होर्किमारहरूले पनि यसको राम्रो विश्लेषण गरेका छन्।

बेम्जामिनलाई कयौं चिन्तकहरू बजारका दार्शनिक पनि भन्छन्। बजार र उपभोक्तावादका कारण मनुष्यले कसरी आफ्नो सारतत्त्व गुमाउँदैछ भन्ने वास्तविकताको उनले मर्मस्पर्शी व्याख्या गरेका छन्। पुँजीवाद र उदारवादको विफलता र त्यसबाट जन्मिएको संकट एवं प्रविधिको विकासले निर्माण गरेको मायावी दुनियाँले प्रश्न विमुख मुनष्यको निर्माणमा ठूलो भूमिका निर्वाह गरेका छन्।

एक खास स्थितिलाई जनाउन ‘उत्तर सत्य’ पदावलीको प्रयोग गरिन थालेको धेरै भएको छैन। व्यक्तिवाद, मनोगतवाद, भावनात्मकता, आफू केन्द्रित र आफ्ना विश्वासहरूलाई केन्द्रीय महत्त्व दिने अतार्किक मनुष्य यस पदावलीको केन्द्रमा रहेको छ। यसैमा टेकेर धार्मिक र सांस्कृतिक अतिवादी विचारहरू मौलाउँदै छन्। कमजोर बन्दै गएको तार्किक र आलोचनात्मक विवेकका कारण लोकप्रियतावादी, सांस्कृतिक राष्ट्रवादी र फासीवादी विचार तथा गतिविधिहरू फस्टाउँदै छन्। 

तर्क र तथ्यसँग अतिवादी विचारहरू डराउँछन्। यिनीहरू तर्क, तथ्य र आलोचनात्मक चेतना होइन भावना, अन्धविश्वास र अन्धश्रद्धा रुचाँउछन्। यसमै यिनको विस्तार र अस्तित्व सम्भव हुन्छ। प्रश्न गर्नेहरू यिनको प्रहारको निशाना बन्छन् र बन्दै आएका छन्। 

के प्रश्नहरू गर्न पूरै छाडिसकिएको हो त? के आलोचनात्मक विवेक पनि पूरै मरिसकेको हो त? यथार्थ पक्कै पनि यस्तो होइन। प्रश्नहरू गरिँदैछन् र स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्यका निम्ति संसारभरि साना–ठूला संघर्षहरू पनि चलेकै छन्। तर विगतको तुलनामा प्रश्न गर्ने कुरामा असाधारण रूपमा कमी आएको छ। योजनाबद्ध रूपमै मुनष्यको वस्तुकरण र विमानवीकरणको प्रक्रियालाई अघि बढाइएको छ। 

भर्खरै भारतको एउटा अदालतले गौ हत्यासम्बन्धी एउटा मुद्दाको फैसलामा गाईको हत्या गरे हत्या गर्नेको शरीरमा भएका रौँहरू बराबरको समय नर्कमा बस्नुपर्ने मिथकीय विश्वासलाई सकारात्मक आशयसहित प्रस्तुत गर्यो। 

केही दिन पहिलेको एउटा कार्यक्रममा भारतका प्रसिद्ध साहित्यकार अशोक वाजपेयी सेन्सरका कारण उपस्थित भएनन्। यस सेन्सरका पछि हिन्दू अतिवादी विचारले काम गरेको थियो। धार्मिक अतिवाद, रंगभेद र श्वेत सर्वोच्चतावाद सधैँ प्रश्नहरूको विरोधमा उभिदै आएका छन्। प्रश्न गर्ने कुरामा आएको कमी यिनका निम्ति वरदान जस्तो भएको छ। यी स्वयंले पनि प्रश्न गर्ने चेतनालाई भुत्ते बनाउँछन् र बनाउँदै आएका छन्। आजको यथार्थले आउँदा दिनहरूमा प्रश्न गर्ने कुरामा अझ कमी आउनेछ र मानिस अझ बढी अतार्किक बन्दै अतिवादी र लोकप्रियतावादी विचारहरूको सिकार हुने बताउँछ।

नेपाली समाजमा पनि प्रश्न गर्ने कुरामा कमी आएको छ। यसका निम्ति व्यक्तिवाद र उपभोक्तावाद मात्र जिम्मेवार छैनन्। राजनीति, संस्कृति र धर्म पनि जिम्मेवार छन्। 

समकालीन नेपाली राजनीतिका निम्ति प्रश्नहरू त्यति प्रिय छैनन्। वामपन्थी राजनीति होस् वा उदारवादी राजनीति, दुवैमा प्रश्नहरूलाई निषेध गर्ने प्रवृत्ति हुर्किएको छ। सत्ता, पद, प्रतिष्ठा र धनको लोभले प्रश्न गर्ने आलोचनात्मक विवेकलाई भुत्ते बनाउँदै छन्। राजनीतिक विकृति र विसंगति मौलाउनुका पछि यसको ठूलो हात छ। 

सांस्कृतिक र धार्मिक अति मौलाउन र लोकप्रियतावाद प्रिय लाग्न थाल्नुका पछि पनि प्रश्न गर्ने कुरामा आएको ह्रासले काम गरेको छ। खन्चुवा वा उपभोक्तावादी एवं नैतिक–अनैतिकको भेदै नगर्ने मूल्य स्खलित चरित्र त यसका निम्ति उत्तरदायी छँदैछ। आज न राजनितीक विसंगति र विकृतिविरुद्ध गम्भीर प्रश्नहरू गरिदैछन्, न त अन्धविश्वास, रुढी, जात, लिंगका अनेकन विसंगत पक्षहरूमाथि गम्भीर आलोचना हुँदैछ। अतीतमुखी चेतनाको खेती गर्ने प्रवृत्ति हलक्क बढ्दैछ। 

अतार्किकता, अराजकता,  भावनात्मक अतिरेक, चरम व्यक्तिवाद, उपभोक्तावाद र आलोचनात्मक चेतनामा ह्रास अन्यत्रको जस्तो नेपाली समाजको पनि यथार्थ हो। यसका विरुद्ध जाग्न सकिएन भने आउँदा दिनहरू अझ कठिन हुनेछन्। 

स्वतन्त्रता, समानता र सामाजिक न्यायको प्राप्ति एवं सुन्दर समाज निर्माणका निम्ति प्रश्नहरू गरिन आवश्यक छ। प्रश्न मर्नु भनेको प्रश्न गर्ने चेतना मर्नु हो। प्रश्न गर्ने चेतना वा आलोचनात्मक विवेक मर्नु भनेको मनुष्य हुनुको अर्थ गुमाउनु हो। समकालीन पुँजीवाद, यसबाट निःसृत समस्या र संकट, थरिथरिका अतिवाद, लोकप्रियतावाद र मनुष्यको विमानवीकरणलाई लिएर आज अझ गम्भीर प्रश्नहरू गरिन आवश्यक छ। प्रश्नहरू र हामीले गर्ने संघर्षले नै हामीलाई जोगाउने छन्।


सम्बन्धित सामग्री