Friday, March 29, 2024

-->

मातृका यादवसँग अन्तर्वार्ता
‘राष्ट्रपतिमा सहमति नभए जोसँग अजेन्डा मिल्छ, उसैलाई सघाउँछौँ’

“जुन सहमति भएको थियो, त्यसमा सबै अडिनुपर्छ। तपाईं आफूले चाहिँ विश्वास तोड्दै जाने, माओवादी मात्र त्यसमा उभिनुपर्छ भन्ने कुरा हुन्न।”

‘राष्ट्रपतिमा सहमति नभए जोसँग अजेन्डा मिल्छ उसैलाई सघाउँछौँ’

नयाँ राष्ट्रपति चयनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनभित्र असमझदारी र अविश्वास बढ्न थालेको देखिन्छ। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन’ गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने संकेत गरेपछि गठबन्धनको प्रमुख घटक नेकपा एमाले सशंकित बनेको छ। आपसी संशय हटाउन एमाले र माओवादीका शीर्ष नेताबीच निरन्तर संवाद चलिरहे पनि त्यसले दूरी घटाउन सकेको छैन, बरु बढिरहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादीले के गर्छ? त्यसले निम्त्याउने नतिजाले सत्ता गठबन्धनको भविष्य के होला? यिनै विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवसँग उकालोका लागि बीपी अनमोलले गरेको कुराकानीको सारसंक्षेपः

राष्ट्रपति निर्वाचनलाई लिएर एमाले र माओवादीबीच असमझदारी बढ्दै गएको हो?
एमाले अध्यक्ष ओलीजीको जुन रवैया छ, रवि लामिछानेलाई गृहमन्त्री बनाउन र पद गइसकेपछि पनि गृहमै पुर्‍याउन उहाँले जुन भूमिका खेल्नुभो, त्यसले शंका उब्जाएको छ। अर्को, पुस १० गते गठबन्धन बन्दा प्रतिगमन (हिजोको संसद् विघटन)बारे केही नबोल्ने सहमति भएको थियो। तर, ओलीजीले संसद्मै लगातार प्रतिगमनको बचाउ गर्ने काम गर्नुभयो। उहाँले त्यहीँबाट सहमति पालना गर्न खोज्नुभएन। त्यसले हामीलाई झस्कायो। गडबड त्यहीँबाट भएको हो। 

बालकोटमा जे सहमति भयो, त्यो पालना भएन?
हो, त्यहाँ भएको सहमति उल्लंघन भयो। उहाँ (ओली)ले उल्लंघन गर्नुभयो। हाम्रो पार्टीको निर्णय त राष्ट्रपति चयन राष्ट्रिय सहमतिबाट गर्नुपर्छ भन्ने मात्र हो। त्यसमा छलफल र बहस गरौँ भन्ने हो। जो व्यक्ति फिट हुन्छ, त्यो व्यक्तिलाई उम्मेदवार बनाउनुपर्‍यो भन्ने हो। राष्ट्रिय सहमतिका लागि पहल गर्ने हो। भएन भने जोसँग हाम्रो अजेन्डा मिल्छ, उनीहरूसँग मिलेर जाने हो।

गठबन्धन बन्दा त राष्ट्रिय सहमतिको कुरा थिएन। अहिले एमालेले माओवादी एकाएक सहमतिबाट भाग्न खोज्यो भनिरहेको छ नि?
एमाले झुटो कुरा गरिरहेको छ। पूर्ववत् सहमतिबाट त पहिले ओलीजी हट्नुभएको हो। हामी कहिले हट्यौँ? कहाँ हट्यौँ? प्रतिगमनका विषयमा केही पनि नबोल्ने भनेर हाम्रो अध्यक्ष र उहाँका बीचमा समझदारी बनेको थियो। छलफल गर्नुपर्ने भए भोलिका दिनमा आपसी सहमतिमा गर्ने भन्ने थियो। तर, उहाँ सबै ठाउँमा बोल्न थाल्नुभयो। त्यहीँबाट गठबन्धनभित्र कुरा बिग्रिँदै गएको हो।

केपी ओलीले हिजोको संसद् विघटनको बचाउ गर्न थालेपछि समस्या भयो?
हो नि त। विवादित विषयबारे गठबन्धनका सहयात्री दलका नेताहरूले त बोल्नु भएन नि।

तर, माओवादी र कांग्रेसका नेताहरमा त ओलीले आफूनिकट व्यक्तिलाई राष्ट्रपति बनाउँदा आफूलाई अप्ठ्यारो पर्छ भन्ने डर प्रमुख देखिन्छ नि?
त्यो डर त सबैलाई छ नि। ओलीजीकै पार्टीभित्र पनि त्यो डर छ। मानिसहरूले नबोलेको मात्र हो। एमालेकै कतिपय नेतालाई सोध्नुस् त, उनीहरू पनि अध्यक्षको काम गर्ने तौरतरिकाबाट डराइरहेका छन्। विगतमा पनि त्यस्तो देखिएकै हो। मुख्य कुरा ओलीजीले हिजो पनि सहमति पालना नगर्नुभएको हो, अहिले पनि विगतका कमजोरीलाई सुधार गर्न तयार देखिनु भएन।

तपाईंहरले खोजेको राष्ट्रिय सहमतिचाहिँ के हो? खासमा कस्तो मानिस खोज्नुभएको हो?
विगतको जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका संघर्षबाट प्राप्त जुन उपलब्धिहरू छन्, त्यसप्रति इमानदार हुने व्यक्ति राष्ट्रप्रमुख हुनुपर्छ। संविधानको रक्षक बन्ने व्यक्ति हुनुपर्छ। विगतमा त्यो भएको देखिन्न। त्योबारेमा खुलेर बृहत् छलफल होस् भन्ने हाम्रो चाहना हो। यी सबै हिसाबले को व्यक्ति काबिल छ, त्यसलाई खोज्नुपर्‍यो।

एमालेले त्यस्तो व्यक्ति दिँदैन, त्यही भएर कांग्रेसको उम्मेदवारलाई समर्थन गर्छौं भन्नुभएको हो?
सर्वसम्मत भए त गठबन्धनबाट नै उम्मेदवार बन्छ। हामीले त अहिलेको व्यवस्था, संविधान, शान्तिप्रक्रियालाई पूरा गर्ने खालको व्यक्ति राष्ट्रपतिका रूपमा चाहियो पो भनेका हौँ। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा त पार्टीले केही दिनमा निर्णय गर्ला।

यो विषयमा असमझदारी बढ्दै गयो, तपाईंहरूले कांग्रेसका उम्मेदवारलाई सघाउनुभयो भने एमाले गठबन्धनबाट बाहिरिने अवस्था आउँदैन र?
हाम्रो पार्टीले जहिल्यै देश र जनताका लागि योगदान दिएको छ। त्यसका लागि पार्टी अध्यक्षले प्रधानमन्त्रीबाट राजीनामा नै दिनुभएको हो। त्यसकारण हाम्रा लागि अजेन्डा ठूलो कुरा हो, अरू कुरा गौण हुन्। मुख्य कुरा जुन सहमति भएको थियो, त्यसमा सबै अडिन सक्नुपर्छ। माओवादी मात्र अडिने भन्ने कुरा त हुँदैन नि। तपाईं आफूले चाहिँ विश्वास तोड्दै जाने, माओवादी मात्र त्यसमा उभिनुपर्छ भन्ने कुरा त हुन्न नि।

गठबन्धनबाट एमालेले सर्वस्वीकार्य उम्मेदवार दिनुपर्‍यो भन्न खोज्नुभएको हो?
गठबन्धनबाट नै होइन के, त्योभन्दा बाहिरको पनि कोही राजनीतिक व्यक्ति छ भने त्यसमा सबैजना सहमत हुनुपर्‍यो। यो सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिएको हो। दुई जनाबाहेक सबैले मत दिएको अवस्थामा हामी कसैलाई पनि बाहिर बस भन्दैनौँ। भन्ने कुरा पनि हुँदैन। सबैसँग छलफल र संवाद गरेर राष्ट्रिय सहमति खोजौँ भन्ने हाम्रो जोड हो। त्यसका लागि सबै जना तयार हुनुपर्छ भन्ने हो।


सम्बन्धित सामग्री