Friday, April 19, 2024

-->

पुस्तक-चिन्तन
दि क्यान्डी हाउस: हामीलाई लोभ्याउने भगवानदृष्टि

जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।

दि क्यान्डी हाउस हामीलाई लोभ्याउने भगवानदृष्टि

दि क्यान्डी हाउसका एक पात्र हुन् अल्फ्रेड। 

“नौ वर्षको उमेर नपुग्दै अल्फ्रेडको बनावटीपनप्रतिको असहनीयता जीवन/कलाको तगारो नाघेर दैनिक जीवनमा छिरिसकेको थियो।” उनको मनमा सधैँ एउटा प्रश्न खेल्ने गर्थ्यो, “किन मानिसहरू आफू जे छन्, त्यसको पनि ढोंग गर्छन्?”

अल्फ्रेड हल्यान्डर फेसबुकजस्ता सामाजिक सञ्जालको युगमा सच्चाइको खोजीमा छन्। मान्छेको बनावटी नकाव उतार्न उनी पागलजस्तै चिच्याउन सक्छन् वा अनेकथरी नाटक मञ्चन गर्न सक्छन्। उनी ‘शब्दको खोल’बारे चिन्तन गर्छन्, चिन्ता गर्छन्। ‘शब्दको खोल’ भनेको ‘गोली नभएको खोका’ हो; एउटा शब्द जसलाई कोटेशन मार्कभित्र मात्र प्रयोग गर्न मिल्छ, किनभने त्यसको सच्चाइ विलिन भैसकेको हुन्छ।

जेनिफर इगनको पछिल्लो उपन्यास, दि क्यान्डी हाउस, अंग्रेजी साहित्यमा निकै चर्चित कृति हो। दि न्यूयोर्क टाइम्सले यो पुस्तकलाई सन् २०२२ को १० उत्कृष्ट पुस्तकको सूचीमा राखेको छ।

दि क्यान्डी हाउसमा इगनले उपन्यासभित्रै एउटा नयाँ प्रविधिको आविष्कार गरेकी छन्, जसले लेखकलाई नयाँ खालको सूत्रधार सिर्जना गर्न मौका दिएको छ। सामाजिक सञ्जालको युगमा हाम्रा अनुभूतिहरू विशिष्ट प्रकारका हुन्छन् र यी विविध अनुभूतिहरूलाई आख्यानमा बाट्न यो प्रविधिले सटिक भूमिका निर्वाह गरेको छ।

इगनले लेखन शैलीमा मात्र नभएर आख्यान भन्ने तरिका र पात्र तथा घटनाहरूलाई जोड्ने तरिकामा पनि विभिन्न खालका रोचक प्रयोग गरेकी छन्। यी प्रयोगले परम्परागत समय र दृष्टिको सरल रेखाबाट आख्यानकारलाई मुक्त गरेको छ। यसैकारण फरक पात्रहरूका जीवनका महत्वपूर्ण क्षण र विषयवस्तुलाई कथामा बाट्न इगन सफल भएकी छन्।

अनौठो काल्पनिकी, नयाँ-नयाँ प्रयोग र अप्रत्याशित आख्यान शैलीका लागि इगन परिचित छिन्। उनका उपन्यासको जति भावनात्मक रूपमा मज्जा लिन सकिन्छ, त्योभन्दा बढी बौद्धिक मनोरञ्जन लिन सकिन्छ। परम्परागत ढाँचाबाट भिन्न र बिम्बहरूको अनौठो प्रयोगका लागि उनी विख्यात छिन्।

सन् २०११ मा उनले ए भिजिट फ्रम दि गुन स्क्वाड नामको आख्यानका लागि पुलित्जर पुरस्कार जितेकी थिइन्। गुन स्क्वाडलाई कथासंग्रह पनि भन्न मिल्छ, र उपन्यास पनि। करिब ११ वर्षपछि प्रकाशित दि क्यान्डी हाउसमा एकपल्ट फेरि गुन स्क्वाडकै पात्रहरू भेटिन्छन्, तर अप्रत्याशित परिस्थिति र नौला परिवेशहरूमा।

अंग्रेजी साहित्य कता जाँदैछ र पछिल्ला कृतिहरूमा कस्ता खालका प्रयोगहरू हुँदैछन् भन्ने बुझ्नका लागि पनि यो पुस्तक चाखलाग्दो छ।

क्यूब: नयाँ सूत्रधार
जेनिफर इगनको पछिल्लो उपन्यासको केन्द्रमा छ एउटा क्यूब। त्यो एउटा काल्पनिक आविष्कार हो, जसले आख्यानकारलाई कथाको संसारसँग जोड्छ।

​​इगनको एउटा बानी के छ भने, उनले कुनै अपरिचित व्यक्तिलाई देखिन् भने पनि त्यो व्यक्ति कस्तो होला भनेर कौतुहल हुने गर्थ्यो। इगनलाई त्यो व्यक्तिको घरमै पुगेर उसँग वार्तालाप गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। 

वर्षौंदेखि जम्मा भएका ती पात्र र तिनका कथाहरूलाई एउटै उपन्यासमा समेट्ने सूत्रधारको खोजीमा थिइन्। अचानक उनलाई एउटा विचार फुर्यो। किन उपन्यासभित्रै एउटा यस्तो प्रविधिको आविष्कार नगर्ने, जसले सबै कथाहरूलाई एउटै सूत्रमा बाट्न मद्दत गरोस्।

अन्तत: उनको कल्पनाले एउटा आविष्कार गर्छ जसको नाम हो, आफ्नो अचेतनको स्वामित्व लिनुहोस्। यो एउट क्युब हो। एउटा घन, जहाँ कुनै पनि व्यक्तिले स्वेच्छाले आफ्ना स्मृतिहरू जम्मा गर्न सक्छ र यसको बदलामा जुनसुकै बेला क्यूबमा संकलित स्मृतिहरूमा विचरण गर्न सक्छ, चाहे आफ्नो होस् या अरूको। 

साँच्चिकै संसारमा अनजान व्यक्तिहरूको निजी जीवनमा चियाउन नपाए पनि दि क्यान्डी हाउसको संसारमा इगनलाई त्यसो गर्ने छुट छ। त्यसैले गुन स्क्वाडका ससाना पात्रहरू पनि यो उपन्यासमा महत्वपूर्ण भएर आएका छन्। 

इगनको लागि क्यूब नै भविष्यको सबैभन्दा महत्वपूर्ण आविष्कार हो। क्यान्डी हाउसको दुनियाँमा यो प्रविधिसँग सबै पात्र जोडिएका छन्, चाहेर या नचाहेर।

कथामा त्यो प्रविधिको आविष्कारकर्ता हुन् विक्स बाउटन्, एउटा टेक लेजेन्ड। ​​विक्स बाउटनको बारेमा उनले सन् २०१२ (उपन्यास छापिनु १० वर्षअघि) देखि नै लेखिरहेकी थिइन्। त्यस्तै अरू कैयन पात्र छन् जो अहिले यो प्रविधिको सहायताले मात्र जोडिन पुगेका छन्। इगनका अनुसार उनले लेखेको आधा सामग्री त त्यसै खेर गएको थियो।

उपन्यासका धेरै पात्रहरू आफ्नो जीवनको अर्थ खोज्दै गर्दा क्यूबको सहारा लिन पुग्छन् र आफैँलाई अरू व्यक्तिको दृष्टिकोणबाट पनि हेर्ने गर्छन्। यो क्यूबलाई फरक पात्रले फरक उद्देश्यका लागि प्रयोग गर्छन्।

एकथरि मानिस छन् इल्युडर्स अर्थात् भगौडाहरू, जो यो प्रविधिबाट लुक्न चाहन्छन्। तर उनीहरू साँच्चिकै भाग्न सक्दैनन्। किनभने हामी जीवनमा कैयौं अरू मानिससँग अन्तर्क्रिया गरिराखेका हुन्छौँ र उनीहरूको स्मृतिमा रहन्छौँ। यसैले हामी भाग्न चाहेर पनि भाग्न सक्दैनौँ। यसको उपाय के त? यसका लागि मानिसहरू आफ्नो पहिचान ओडेर आफूजस्तो व्यवहार गर्ने प्रोक्सीहरू सामाजिक सञ्जालमा राख्न थाल्छन्।

सामाजिक सञ्जाल: आख्यान बाट्ने नयाँ तरिका
अहिलेको युग सामाजिक सञ्जालको युग हो। यस युगमा क्यूबजस्तो स्मृति शेयर गर्न मिल्ने प्रविधि मिलेपछि हाम्रो समाज कस्तो बन्ला? अनि यस्तो समाजलाई प्रतिविम्बित गर्ने उपन्यास लेखियो भने कस्तो होला?

‘आफ्नो अचेतनको स्वामित्व लिनुहोस्’ भन्ने प्रविधिले इगनलाई एउटा नयाँ अवसर प्रदान गरेको छ। हुन त लेखकहरूले जे पनि लेख्न सक्छन्। तर लेख्न सक्छन् भन्दैमा जे पनि लेख्न मिल्दैन। किनभने, कथामा विश्वसनीयता चाहिन्छ। जसरी फूलका थुँगाहरूलाई मालामा उन्नका लागि सियो र धागो चाहिन्छ, त्यसैगरी विविध कथा र पात्रहरूलाई जोड्ने आख्यानको सूत्र चाहिन्छ।

त्यसैले विभिन्न व्यक्तिका अलगअलग कथा मिलेर एउटा उपन्यास बन्न सक्छ भनेर ठोकुवा गर्न मिल्दैन। यदि कुनै उपन्यास विविध पात्रहरूको मात्र नभएर उनीहरू मिलेर बनेको सामाजिक सञ्जालको कथा हो र ती पात्रहरू सबै एउटै बृहत साइबर स्पेसको स्मृतिमा अट्न सक्छन् तथा एकअर्काको स्मृतिसँग जोडिन सक्छन् भने पक्कै पनि त्यो उपन्यासले नयाँ स्वरूप ग्रहण गर्न सक्छ।

न्यूयोर्क टाइम्ससँगको कुराकानीमा इगनले एउटा खुलासा गरेकी छन्। त्यो के भने, यदि उनले उपन्यासमा क्यूब आविष्कार नगरेको भए उनले शायद दि क्यान्डी हाउस लेख्न सक्दिन थिइन्। “यो उपन्यासमा गुन स्क्वाडको तुलनामा धेरै विविध पात्रहरू छन् र ती सबैलाई (एउटै उपन्यासमा) कसरी अटाउने भन्ने प्रश्न सबैभन्दा ठूलो थियो,” उनले भनेकी छन्।

इगनले सिर्जना गरेको प्रविधिले उनको आख्यानलाई पत्यारलाग्दो बनाएको छ। यो प्रविधिको आडमा उनी समयक्रमसँग खेल्न सक्छिन्, पात्रहरूको स्मृतिसँग खेल्न सक्छिन् र पात्रहरूको एकापससँगको सम्बन्ध वा सञ्जालसँग खेल्न् सक्छिन्। त्यसैले उनको उपन्यासमा नितान्त फरक लाग्ने अपरिचित पात्रहरू पनि एकापससँग जोडिन पुग्छन् र ती व्यक्तिहरू मिलेर एउटा नयाँ र झन् ठूलो पात्र सिर्जना गर्छन्।

उपन्यास पढिसकेपछि पनि पाठकलाई उपन्यासको संसारमा विचरण गरिरहन मन लाग्छ। उपन्यासका पात्रहरू धेरै नै विविध छन्। तर ती पात्र एकापससँग कसरी जोडिएका छन् र कसरी एकअर्कालाई प्रभावित पारिरहेका छन् भनेर थप अध्ययन गर्न मन लाग्छ।

आख्यानमा भएका प्रयोग
इगनका अनुसार उनले गुन स्क्वाड र क्यान्डी हाउसका लागि ‘तीन आधारभूत संरचना’को प्रयोग गरेकी छन्: उनको हरेक परिच्छेदमा फरक पात्र छन्, हरेक परिच्छेदलाई एउटा अलग्गै कथाको रूपमा पढ्न सकिन्छ र हरेक परिच्छेदको आफ्नै फरक संसार र रस छ।

उनले विभिन्न परिच्छेदमा विभिन्न खालका आख्यान शैलीहरूको प्रयोग गरेकी छन्। तर रमाइलो के छ भने, ती कुनै पनि शैली जबर्जस्ती प्रयोग गरेको जस्तो लाग्दैन। हरेक फरक शैलीले त्यो परिच्छेदमा भएका पात्रहरूको फरक व्यक्तित्वलाई उजागर गरिरहेको हुन्छ। अर्थात् पात्रहरूको व्यक्तित्व जस्तो छ, आख्यानको शैली पनि उनीहरूसित ठ्याक्कै मिल्छ।

उदाहरणको लागि, चौँथो अध्यायमा एउटा पात्र छन्, लिंकन। उनी गणितज्ञ हुन् र मन्डला भन्ने कम्पनीमा काम गर्छन्। उनको काम व्यक्तिहरूबारे तथ्यांक जम्मा गर्नु हो। रमाइलो के छ भने उनी तथ्यांककै भाषामा संसारलाई देख्छन् र बुझ्छन्। 

लिंकनले एम भन्ने एक महिलालाई प्रेम गर्छन्। “एमको नाकमा चारवटा प्राथमिक धब्बा छन् र करिब २४ वटा सहायक धब्बा छन्। मैले ‘करिब’ भन्नुको कारण उनको सहायक धब्बाहरू गन्न नमिल्ने भएर हैन- संसारमा बहुत कम कुरा छन्, जसलाई गन्न मिल्दैन। बरू किनभने सहायक धब्बाहरू गन्नको लागि म एमलाई असजिलो नबनाई उनको नाकमा एक टक लाएर हेर्न सक्दिन। उनको कपाल हामीकहाँ काम गर्ने ४० प्रतिशत महिलाको भन्दा बाक्लो छ र ५७ प्रतिशतको भन्दा लामो छ, अनि उनी २४ प्रतिशत समय हेयरब्यान्ड लगाउँछिन्, २८ प्रतिशत समय नाक खुम्च्याउँछिन् र उनको कपाल ४८ प्रतिशत समय खुला हुन्छ।” 

एमको भने अर्कै एउटा ब्वाइफ्रेन्ड हुन्छ। अध्यायभरि लिन्कन एमलाई आफूप्रति आकर्षित गराउन चाहन्छन्। उनी त्यस्तो एउटा तत्व (एक्स फ्याक्टर)को खोजीमा छन् जसले एमलाई लिन्कनप्रति प्रेमभाव जगाउन सक्छ: “रबर ब्यान्डहरू? हिप्पो? एउटा सानो चिनियाँ (माटोको) बिरालो जुन मैले एउटा ग्यारेज सेलमा फेला पारेको थिएँ र क्राउडसोर्स गरिएको तथ्यांकले केटी मान्छेहरू बिरालो मन पराउँछन् भनेको कारण किनेको थिएँ?”

अन्य अध्यायहरूमा पनि यस्तै प्रयोग गरिएको छ। आठौँ अध्यायमा क्रिस सलाजारको कथा छ। उसको काम अल्जेब्राको माध्यमबाट आख्यानहरूलाई तिनको स्टोरी ब्लक वा स्टक क्रियाहरूमा टुक्रा पार्नु हो। अर्थात् जसरी इँटाहरू मिलेर घर बन्छ, त्यसैगरी मानिसले सिर्जना गरेका हरेक आख्यानहरू स्टोरी ब्लक वा स्टक क्रियाहरू मिलेर बनेका हुन्छन्। ती आख्यानहरूका हरेक स्टोरीब्लकहरूको पहिचान गर्न सकियो भने आर्टिफिसियल इन्टेलिजेन्सले पनि कथा वा साहित्य लेख्न सक्छ। 

इगनको उपन्यासमा अनुहारमा फ्याँकिएको रक्सीलाई अलजेब्रीकरण गर्दा यस्तो देखिन्छ: a (+रक्सी) X (रक्सी फाल्ने क्रिया) = a (- रक्सी) + i/२

यहाँ i भनेको नायक हो। नायक मुखमा रक्सी फालिने पात्र हो, रक्सी फाल्ने पात्र हैन। रक्सी फालिएपछि उसको आत्मसम्मान आधा घट्छ। यसरी नै कथाका हरेक क्रिया वा घटनालाई अल्जेब्रामार्फत देखाउन सकिन्छ र यस्ता हरेक स्टोरीब्लकहरूलाई कोड नम्बर दिएर सूचीकरण गर्न सकिन्छ। जस्तै, अनुहारमा दिएको झापड, तिमीले मलाई कहिल्यै वास्ता गरेनौ, तेरो हिम्मत? आदि।

प्रविधि, सामाजिक सञ्जाल र प्रयोगका बावजूद यो उपन्यासको सबैभन्दा घतलाग्दो पक्ष भनेको पात्रहरूका जीवनका महत्वपूर्ण क्षणहरूको चित्रण हो। यो उपन्यास त्यो क्यूबबारे पनि हैन। त्यो क्यूब त सिर्फ एउटा पृष्ठभूमि हो, अथवा भनौँ एउटा पृष्ठसंगीत, जसको आडमा अर्कै नाटक मञ्चन भैरहेको छ। 

यो उपन्यास हाम्रो अस्तित्वको मौलिकता, हाम्रा चाहना र हाम्रा भूतप्रतिको आशक्तिबारे मन्थन हो। मिठाई घर प्रलोभनको विम्ब हो, जहाँ हाम्रा चाहना, हाम्रा स्मृतिहरू हामीलाई लोभ्याउँछन्, जहाँ विलास र विषादको सम्मिश्रण छ।

हरेक मानिसको जीवन अनुभूतिहरूले भरिएको हुन्छ। तीमध्ये केही अनुभूतिहरूले जीवनमा विशेष मान्यता राख्छन् वा जीवनलाई नै परिभाषित गर्छन्। जेनिफर इगनले आफूले छानेका पात्रहरूको यस्तै विशेष क्षणहरूको वरिपरि यो उपन्यासलाई बुनेकी छन्।

आखिर हाम्रो भविष्यको समाज कस्तो होला? अनि त्यो बनावटी समाजमा सच्चाइ र जीवनको अर्थ कहाँ र कसरी फेला पार्ने होला?


सम्बन्धित सामग्री