Saturday, February 04, 2023

-->

नियात्रा
एक्ले देउरालीको पारिलो प्रभात

पिटर, निक, ज्याक्लिन र ब्रान्डनले मलाई अँगालो हाल्न आइपुग्छन्। बेहद खुसी गन्तव्य चुम्दाको। स्वयम्लाई उच्च भूगोलमा पाउँदाको खुसी। यसैका निम्ति त आएका हुन् उनीहरू, सात समुद्रपारिबाट।

एक्ले देउरालीको पारिलो प्रभात

सूर्यले पूर्वी क्षितिज आरोहण गर्नुअघि नै एक्ले देउराली टेक्न पुग्छु म।

पौने छ बजेको छ यति बेला।

मोबाइलको अल्टिमिटरले ४२०० मिटर देखाउँछ, देउरालीको उचाइ। आफैँमा पनि सानो हिमाल नै हो देउराली। अन्नपूर्ण हिमशैलका दर्जनभन्दा बढी चुली देखिने भएकोले अचेल एक्ले देउरालीको अर्को नाम ‘भ्यू प्वाइन्ट’ बसेको छ जनजिब्रोमा।

क्रमशः उज्यालिन खोज्दै छ धर्ती। 

आदर्श, पिटर, नीक, ज्याक्लिन र ब्रान्डन पहिले नै त्यहाँ पुगेर आरामी श्वास लिइरहेका थिए। नाथान र मार्टिनले पनि उकालो तुर्नै लागेका छन्। अलिकति पछाडि परेका छन्, राजी र लीना। उनीहरू सायद मानव ट्राफिकमा परे होलान् भन्ठान्छु म।

हिमालहरू पनि कति नजिकिएका! 

सामुन्नेमा उभिएका छन्– दिदीबहिनी भनेर चिनिने दक्षिणी अन्नपूर्णा र हिउँचुलीका सेता पिरामिड। त्यसैको पछाडिपट्टि छ, विश्वको आठौँ अग्लो चुली अन्नपूर्णा– १ (८०९१ मिटर) र क्रमशः लाइन लागेका छन्– थर्पुचुली, सिंहचुली र गङ्गापूर्णा। मानव जातिलाई चुनौती दिइरहेको छ, अन्नपूर्णा हिमशृङ्खलामा पर्ने एकमात्र कुमारी हिमाल माछापुच्छ्रे (६९९३ मिटर)ले। र, माछापुच्छ्रे कै पछाडि उभिएर पर्यटकहरूलाई स्वागत गरिरहेको छ गन्दर्भचुली (६२४८ मिटर) र अन्नपूर्णा–३ (७५५५ मिटर)ले।

दुई सय सत्तरी डिग्रीमा घुमेर ज्याक्लिन, नीक र पिटरलाई औँलाको टुप्पोले देखाउँदै हिमाललाई साक्षत्कार गराउँछन् आदर्श। उनलाई बिचमै रोकेर प्रश्न गर्छिन् ज्याक्लिन, “ह्विच वन इज द मार्डी हिमाल?” 

“द वन सिचुएटेड राइट इन्फ्रन्ट अफ फिसटेल।” आदर्शको जवाफ।

झलक्क हेर्दा माछापुच्छ्रेकै अंगजस्तो लाग्छ– ५५८७ मिटर अग्लो मर्दी हिमाल। कतिपय हिमाल त्यस्ता छन्, जसलाई पहिचान गर्न किमार्थ सजिलो छैन। पृथक् स्वरूप हुनुले माछापुच्छ्रेलाई टाढाबाट सजिलै पहिचान्न सकिन्छ। तर अन्नपूर्ण शृङ्खलाका गङ्गापूर्ण, लमजुङ हिमाल, अन्नपूर्ण पहिलो/दोस्रो/तेस्रो र चौँथो चुचुरा छुट्याउन हम्मेहम्मे पर्छ । मर्दी हिमाललाई त झन् टाढाबाट पहिचान गर्नै सकिन्न। 

मर्दीलाई हिजो बादलडाँडाबाट देख्दा आमाको छातीमा लिपिक्क टाँसिएको बालक झैँ लाग्थ्यो। आज ‘भ्यू प्वइन्ट’बाट हेर्दा हाम्रै हातका चोरीऔँला र बूढीऔँलाका आकृतिजस्तै लाग्छ। मर्दीकै सामीप्यताले माछापुच्छ्रे यति सुन्दर देखिन्छ। कुनै वस्तुको अवस्थिति कुनै ठाउँमा हुनु र नहुनुले पनि सौन्दर्यमा अन्तर पर्दोरहेछ। 

“साँच्चै, मर्दी नहुँदो हो त कस्तो देखिन्थ्यो होला माछापुच्छ्रे!” आत्मलाप गर्छु म।
०००
बिहान साढे चार बजेसम्ममा ‘भ्यू प्वइन्ट’का लागि यात्रा शुरू गरिसक्ने हाम्रो योजना थियो। त्यही भएर चार बजेको लागि ‘अलार्म’ मिलाएको थिएँ। होटल हाइक्याम्पका पाहुनाहरूले राती तीन बजेदेखि नै कल्याङमल्याङ गरेपछि चङ्ख भए मेरा कान। अनि त मोबाइलको स्क्रीनझैँ स्वाट्टै खुलेथे आँखाका पर्दा। 

निद्रा पनि कसरी परोेस् त बिचराहरूलाई ! एउटा डाइनिङ हलमा पैँतालीस यात्री सुतेका थिए। कस्तो विडम्बना ! प्रकृतिको मजा लिन पनि यति धेरै कष्ट सहनुपर्छ नेपालमा; त्यो पनि नेपालीहरूले नै। निसास्सिएर सुतिरहनुभन्दा त बेलैमा उठेर आफ्नो बाटो लाग्नु नै जाती। ठिकै गरे। कमसेकम बाटो त काटिन्छ। त्यही भएर होला, कोहीकोहीले त उति बेलै बाटो तताइसकेका थिए।

चार बजे ‘अलार्म’ बजेपछि निक, ब्रान्डन र ज्याक्लिनका सुतेको कोठाका ढोका ढक्ढक्याउन पुगेँ। सूर्योदय (सनराइज) हेर्न नजाने निर्णय गरेका ब्रुसको निद्रा खल्बल्याइनँ। 

काठमाडौँमा शरद नसकिँदै नेपालका २५०० मिटरभन्दा माथिका भूगोलमा जवानीको मात चढिसकेको हुन्छ हेमन्तको। केउको उचाइको चिसो छेक्न न्यानो ट्राउजर उनेँ, डाउन ज्याकेट भिरेँ र हातमा पन्जा र शिरमा टोपी गुथेँ।

कोठाबाहिर निस्केर हेर्दा ‘भ्यू प्वइन्ट’ जाने नागबेली गोरेटोमा सल्बलाइरहेथ्यो टर्चलाइटको उज्यालो। मसाल जुलुस त होइन, जुनकिरीको झल्को चाहिँ दिन्थ्यो त्यसले। बालवयमा जुनकिरीसँग खेल्थेँ  म। मेरा सँगाती थिए राजकुमार, रञ्जन, राजु, ज्ञानु। साँझपख उडिरहेका जुनकिरी समाउथेँ। उनीहरूसँग जुनकिरी समाउने होड नै चल्थ्यो। जुनकिरीको पिलपिल देख्न पनि मुस्किल छ अचेल त। एकातिर जलवायुको प्रदूषण, अर्काेतिर धर्तीमा झिलीमिली बिजुली बत्तीको साम्राज्य। अनि किन नलागोस् त जुनकिरीको उठिबास। 

प्रकृतिको अवयव हो– जुनकिरी। लाटोकोसेरो र चमेराको आहार पनि हो– जुनकिरी। पर्यावरण सन्तुलनमा महत्वपूर्ण भूमिका छ यसको। जुनकिरी नभए लाटकोसेरो र चमेराको भविष्य के होला! चीनको वुहान सहरको पार्कमा जुनकिरीको पिलपिल हेर्न सिजनका बेला लाखौँ पर्यटक पुग्छन्। यस्तो सम्भावना नेपालमा पनि नभएको होइन तर जुनकिरीको संरक्षणमा हामी उदासीन छौँ।

अघिल्लो दिन केउको मेघमालाले ‘कुहिरोको काग’जस्तै बनाएथ्यो हामीलाई। कता पूर्व, कता पश्चिम; एकछत्तै। आज बिहान पो होटलको आँगनबाट देखेँ मैले पोखरा दक्षिणी खाल्डोतिर। मधुरो देखिन्थ्यो कुहिरोलाई छेडेर निस्केको बिजुली बत्तीको किरण।

“सम्भवतः यति बेला मोहक बिहानीको कल्पना गर्दै होला पोखरा!” त्यही खाल्डो हेर्दै कल्पना गरेथेँ मैले।

यस्तो प्रतीत हुन्थ्यो कि कतै काठमाडौँजस्तै पोखरा पनि खोक्रा भाषणहरूले दिएका फोस्रा आश्वासन र आशाका सिरानीमा मस्त निदाइरहेको त छैन? 

निजी क्षेत्रले पो कमाल गरेको छ त पोखरामा। र, त तालको सहर भनेर चिनिने पोखराले आफ्नो चिनारीको घेरोलाई फैलाउन सकेको छ। पहिलेपहिले नव–विवाहित जोडीको स्वप्न गन्तव्यका रूपमा चिनिन्थ्यो पोखरा। अहिले साहसिक पर्यटनका लागि पनि उत्तिकै आकर्षणको केन्द्र बनेकोे छ।

खर्च किफायत गर्न काठमाडौँबाटै ‘पोर्टेबल ग्याँस बर्नर’ बोकेका छन् पिटरले। स्टोभलाई होटलको आँगनमा राखिएको टेबलमाथि राखेर पानी उमाले उनले। नत्र एक लिटर पानीलाई रु. ७५०।– सम्म ठटाउँछन् यतातिर। कति महङ्गो ! खाने कुराको त झन् कुरै नगरौँ! हुमाल (लो क्याम्प)मा एउटा अण्डा, चार–पाँच टुक्रा ह्यास ब्राउन पोट्याटो र एउटा टिबेटियन ब्रेडको मूल्य रू. ६५०।– मात्र। चियाको कप दुब्लाएर त्यस्तै! ‘दुई कप चिया पिउँदा पनि धीत मरेन’ भन्दै थिए एक यायावर। सडकमार्ग जोडिएको सिधिङबाट तीन घण्टाको बाटो हो हुमाल। त्यसैले त स्वाभाविक लाग्छन् नि यात्रीका गुनासा ! खानाको मूल्य बेसी परिमाण कम। यति कुरामा त अलिक महङ्गो भए पनि बरु सगरमाथा क्षेत्र नै ठिक भन्छु म त। 

पिटरले दिएको एक मग तातोपानी पिएथेँ। ज्यान पनि तात्यो। पानीको मात्राको पनि पूर्ति भयो। त्यसैले होला डेढ घण्टाको उकालो चढ्दा पनि शरीरले पानी मागेन मसँग।

साढे तीन सयको हाराहारीमा थिए होलान् केउमा रात काट्ने यात्री। हामीले यात्रा शुरू गर्नुअघि नै कतिले त आधा बाटो तुरिसकेका थिए। 
०००
निर्धारित समयमै शुरू भएथ्यो हाम्रो यात्रा। समय तालिकाअनुसार चल्ने विदेशीहरूको शैली मलाई औधी मनपर्छ। उनीहरूसँगै सिकेको हुँ मैले पनि। ठिक समयमा चल्नु भनेको आफ्नो लक्ष्यमा स्पष्ट हुनु हो। लक्ष्यलाई निर्दिष्ट गर्ने कायदा र, अबेर गर्नेका लागि शिक्षा पनि हो यो। 

केही परको गौँडो काट्नेबित्तिकैको उकालोमा अन्य पदयात्री भेटेथ्यौँ हामीले। 

बिहानीको प्रथम प्रहर। कृष्ण पक्षको समय। चुक घोप्ट्याएसरि अँध्यारो। साँघुरो गोरेटो। अँध्यारोलाई चिरेको थियो सबैका टाउकामा जडित ‘हेडलाइट’ले । धीमा गतिमा उठिरहेका थिए, पदयात्रीका पाइला। 

मृग कुदेझैँ कुद्नु पर्ने ज्याक्लिन मानव ट्राफिकमा फसिन्। उनको पछाडि थिएँ म। तत्काल उछिन्न सक्ने अवस्था थिएन। मेरो छायाँ उनको लाइटको उज्यालोमा र अरुको छायाँ मेरोमा पथ्र्यो। नागबेली गोरेटोमा भइरहेथ्यो त्यस्तो घरीघरी। मैले त्यही छायाँमा यात्राको अर्थ खोजेथेँ। ‘सन राइज टुर’को दौरानमा टर्चलाइटको झल्याकझुलुक उज्यालोमा बिहानका थुपै्र यस्ता प्रहर काटेको र साटेको छु मैले। जस्तो कि– म्याग्दीको घोडेपानीबाट पुनहिल उकालिँदा। त्यस्तै चितवनको हात्तीबाङबाट सिराइचुली उक्लँदा। परार साल पिकेपिक चढ्दा चिसो सिरेटोले मलाई घुच्चुकमा हानेको ताजै छ। सूर्योदय हेर्न हिँडेका विगतका सम्पूर्ण बिहानहरू मेरा स्मृतिदंशमा आइरहे। त्यही बेला एउटा आशाको चाँदनी उदाएथ्यो मेरो मनमा। 

थोरै माथि पुगेपछि ज्याक्लिनले उनीभन्दा अगाडिका केहीलाई उछिनिन्। उनकै पदचापलाई पछ्याउँदै थिएँ म। 

“ए, दाइ!” 

हठात् महिलाको आवाज ठोक्कियो मेरो कानमा। 

एक पुरुष र दुई महिला बाटोको छेउमा उभिइरहेका थिए। बाबु–आमा र छोरी रहेछन्। छोरी चाहिँको थियो त्यो आवाज। 

रोकिएँ।

“तपाइँसँग ट्वाइलेट पेपर छ?” सोधिन् छोरी चाहिँले।

‘इमर्जेन्सी ट्वाइलेट’ जानुपर्ने भएछ बिचरीलाई। पेपर रहेनछ साथमा। क्या फसाद! 

“छ।” भनेँ मैले।

“अलिकति दिनुस् न ! हामीले पनि ल्याएका त थियौँ। कोठामै छोडिएछ। यस्तो पर्ला भन्ने सोचिएन।”

आफूसँग भएको रोलबाट निकालेर उनलाई चाहिने जति दिएँ। यात्रामा धेरै पटक यस्तो आकस्मिकताको सामना गरेको छु मैले।

ललितपुरको नेवार समुदायका रहेछन् उनीहरू।

गन्थनमन्थनको सिलसिलामा सहयात्रीभन्दा पछि परिसकेको थिएँ म। करिब पन्ध्र मिनेट उक्लेपछि थलीमा पुग्दा आफ्नो समूहका सबैलाई भेटेँ। 

थलीपछि ठाडै उकालो लागियो। तर रफ्तार आ–आफ्नै। कोही अगाडि, कोही पछाडि। आदर्श, पिटर, निक, ज्याक्लिन र ब्रान्डन मज्जाले तन्किए। मभन्दा पछाडि नाथान र मार्टिन थिए। राजी र लीना झन् पछाडि पर्दै गएथे।

न घाम, न पानी। परमानन्द आउँछ सखारै पहाड चढ्दा। एउटा त प्रकृतिसँगको सान्निध्यता र अर्को निरन्तरता सिक्ने तौरतरिका हो यो। पहाड चढेरै तनाव न्यूनीकरण गर्छु म। पहाड चढेरै बढेको हो मेरो शारीरिक लचकता। आत्मविश्वास पनि बढेको महसुस हुन्छ मलाई। 

पाइलैपिच्छे अनौठो आवाज निकालेथ्यो, मेरो ‘ट्रेकिङ पोल’ले। सङ्गीतको विलम्बित क्रमझैँ लाग्थ्यो प्रत्येक चोटि जमिनमा टेकाउँदा हुने कम्पन। यस्तो लाग्थ्यो– मेरो ‘ट्रेकिङ पोल’ले मलाई समयमा गन्तव्य चुम्न नसक्ने हो कि भनी सचेत गराइरहेको छ।

उकालोलाई ढुङ्गेनी सिँढीले निकै सहज बनाइदिएको छ। नत्र उबडखाबड गोरेटो हिँड्न ज्यानलाई कम्ताको सकस हुन्थेन। सम्म होला भनेर टेक्दा खाल्डोमा र खाल्डो भनेर टेक्दा ढिस्कोमा ठोकिन्थे गोडा। यति असहज गोरेटोलाई सहज बनाउन पहल गरेका थिए सिधिङका सुदीप गौतमले। उनी केउका चल्तापुर्जा होटल व्यवसायी। राम्रो काम गर्ने मान्छे नै भगवान्को प्यारो हुँदोरहेछ। उनलाई सम्झँदै पयर उचालेँ मैले।

‘ब्लू आवर’को शुरूवाती चरणमा म एक्ले देउरालीसँग नजिकिइसकेको थिएँ। क्षितिजमा सुनौला रेखाहरू कोरिने सुरसार हुँदै थियो। मनमा अनेक तानाहरू परेड खेल्दै थिए। पहाडको थाप्लो टेकेको पत्तै भएन।
०००
पिटर, निक, ज्याक्लिन र ब्रान्डनले मलाई अँगालो हाल्न आइपुग्छन्। बेहद खुसी गन्तव्य चुम्दाको। स्वयम्लाई उच्च भूगोलमा पाउँदाको खुसी। यसैका निम्ति त आएका हुन् उनीहरू, सात समुद्रपारिबाट। यसैका लागि पसिना फ्याँकेका थियौँ हामीले। सबैभन्दा खुसी देखिन्छन् ब्रान्डन। स्वास्थ्यले साथ नदिँदा झन्डै हुमाल(लो क्याम्प)मै बस्ने निधो गरिसकेका थिए उनले। हामीले नै उक्साएका थियौँ उनलाई हिजो केउ (हाइ क्याम्प) आउन।

खासमा हाम्रो निर्धारित गन्तव्य मर्दी हिमाल आधार शिविरसम्मको हो। तर दृश्यपानको हिसाबले आधार शिविरभन्दा देउराली नै उत्तम। तसर्थ यसैलाई अन्तिम गन्तव्य बनाउँदा रहेछन् आम पदयात्री। हामीले पनि त्यसै गर्‍यौँ। 

‘भ्यू प्वइन्ट’मा गाडिएको छ, नेपालको निशान। त्यसैमा अड्काइएको छ, बौद्घमन्त्र अङ्कित ध्वजा। त्यसैको छेउमा छाप्रो हालेर तातोपानी, चिया र कफी बेचिरहेका छन् सिधिङका भीमबहादुर तामाङ। पर्यटकको चापले भ्याइनभ्याइ छ उनलाई। 

‘भ्यू प्वइन्ट’मा मान्छेको भीड भएपछि अलिक पर लाग्छौँ हामी। त्यहीँ देखाउँछन् पिटरले आफ्नो योगको कला। दुई हातले भुइँमा टेकेर निकै बेर उभिन्छन्। उनमै केन्द्रित हुन्छ पर्यटकहरूको ध्यान। सबैका मोबाइलमा कैद हुन पुग्छन् उनी। आफू पनि यसरी उभिन सके पो! कम ईष्र्या लाग्दैन मलाई उनको योगकला देखेर।

भीमबहादुरको चिया दोकानमा फर्कन्छु म।

“चिया त खानै पर्ला जस्तो छ दाइ!” 

“आच्या हो, खानुस् न! तपाइँहरूकै लागि त हो मेरो सेवा।” रसिक पारामा बोल्छन् उनी।

उनले एक कप कालो चिया थमाए।

यही बेला मैले मर्दीको अर्थ सोधेँ उनीसँग।

‘गुरुङ भाषामा ‘मर्’ को अर्थ सुन। ‘धी’को अर्थ छाना। अर्थात् सुनको छाना। सूर्योदय र सूर्यास्तमा यसको रङ सुनौलो हुने भएकोले ‘मर्धी’ नाम रह्यो। अपभं्रश हुँदै जाँदा ‘मर्दी’ भनिन थाल्यो। अचेल त झन् ‘मार्दी’ भन्छन् मान्छेहरू।’ जवाफ दिन्छन् उनी।

‘एक्ले देउराली’ भनिनुको कारण के हो? मेरो थप जिज्ञासा।

“बेस क्याम्पनिरको कुनामा पानीको मूल छ। असाध्यै पवित्र। यसलाई वराह क्षेत्र पनि भनिन्छ। पहिलेपहिले हरेक जनै पूर्णिमाको दिन मेला लाग्थ्यो रे। भक्तजनहरू स्नान गर्न आउँथे रे। एकपटक तेह्र जनाको एउटा समूह आएका रहेछन्। उनीहरू स्नान गरेर फर्कंदै थिए रे। बाह्र जना उः त्यो डाँडोमा आइपुगेका रहेछन्। उनीहरूमध्ये एक जना यहाँ आइपुगेका रहेछन्। त्यही बेला अकस्मात् चट्याङ परेछ। चट्याङले सबै जनाको एकैचोटि ज्यान लिएछ। उः त्यो बाह्रजना मरेको डाँडा(हातको औँलाले देखाउँदै)लाई बगाले देउराली र एक जना मरेको यो डाँडोलाई एक्ले देउराली भनिन थालेछ। तिमध्ये रजस्वला भएकी महिला पनि रहिछन्। देउता रिसाएर त्यसो भएको रे। त्यो घटनापछि मेला लाग्ने क्रम पनि टुट्यो रे।” दुःखद कहावत सुनाए उनले।

यहाँ ‘भ्यू प्वइन्ट’ मात्र छैन। ‘भ्यू प्वइन्ट’हरू छन्। लमतन्न सुतेको पहाडको ढाड टेकिरहेका छौँ हामी। र, यो जोडिन पुगेको छ मर्दीको नाभीसम्मै। पहाडको दुवै छेउ ठाडै भिरालो छ। अग्ला–होचा परेका छन् पहाडी ढाडको सतह। अनेक नाम पाएका छन् तिनले विभिन्न कालखण्डमा। 

अलिक अघि उनै भीमबहादुर तामाङले भनेका थिए– “मर्दी आधार शिविरलाई इन्छत्री, त्योभन्दा यताको डाँडोलाई ताइछा र क्रमशः यताकालाई  सागाडाँडा, बगालेदेउराली र एक्ले देउराली भनिन्छ।”
०००
काठमाडौँकी जीवित देवी कुमारीको निधारको रातो टीकाजस्तै बनेर क्षितिजमा उक्लन थाल्छ बाल सूर्य। यस्तो लाग्छ क्षितिजमा टुसाइरहेछ छ एउटा गुराँसको कोपिला र फक्रँदै छ शनैःशनैः। यसैको उपज त हो दिन, रात, याम, युग, इतिहास र सभ्यता। 

घाम– आकाशगङ्गाको एउटा अम्लान फूल। घाम– सौर्यमण्डलको एक मात्र उज्जर तारा। घाम– सौर्यमण्डलको नाभी, ग्रहहरूका राजा। घाम– भिटामिन डीको अजस्र प्राकृतिक स्रोत। एक अपरिहार्य ऊर्जा। लोकप्रिय आराध्यदेवमध्येको एक। ईश्वरीय शक्तिको जीवन्त प्रतीक। नित्य उदय र अस्त यसको कर्म। भनिन्छû– जीवनको आधा बाटो बिताएको छ रे घामले। अझैँ पाँच करोड वर्ष बाँच्छ रे घाम। 

सूर्य त उही हो तर प्रत्येक दिनको सूर्योदय नितान्त पृथक् लाग्छ मलाई।

हर्षित देखिन्छिन् ज्याक्लिन। उनको आभायुक्त मुस्कान र क्षितिजमा उठ्दै गरेको बाल सूर्य उस्तै लाग्छ मलाई। 

हाम्रा लागि सुखद दिनको निमन्त्रणा गरेझैँ लाग्छ सूर्योदयले। सूर्योदयलाई हठात् स्वागत गर्छन् मेरा नयनले। मैले मनमनै अर्घ दिँदै गर्दा सूर्यले क्षितिजबाटै गौरवशाली अभिवादन गर्छ पहाड र हिमाललाई। ठिक ६ः१३ बजे कान्ति छाउँछ हिमालमा। यही बेला एक्ले देउराली चुम्छन् राजी र लीनाले पनि।

आहा, माछाको पुच्छरझैँ लाग्ने हिमालको आकृति, त्यसमा पोतिएको रङ र अप्रतिम सौन्दर्य ! म माछापुच्छ्रेको यो सौन्दर्य कलाकारको रङमा देख्छु। एक्ले देउरालीमा पनि एउटा झरिलो प्रभात खसिसकेको छ। हामी अत्यन्तै उमङ्गित भएका छौँ यतिखेर। हिमालहरू आफैँ पनि उमङ्गित भएझैँ लाग्छन्। हाम्रो धर्ती, हाम्रै सूर्य। लाग्छ– यतिखेर धराको गति रोकिएको छ र सूर्यले परिक्रमा गरिरहेको छ धरालाई। साँच्चिकै पृथ्वी रोकिए त के पो होला ! कल्पना पनि गर्न सक्दिनँ म।

“वाउ! दिस इज माइ फेवुरेट कलर!” 

स्वेत हिमशैलले धमाधम सुनौला पोशाक फेर्न थालेपछि ज्याक्लिनको मुखारबिन्दबाट निस्कन्छ यो उत्तेजनापूर्ण आवाज।

“सुनौलो रङ कसलाई पो मन नपर्ला र!” ज्यक्लिनजस्तै उत्तेजित भएर मभित्रको ‘म’ बोल्छ। 

आफैँमा एउटा रोमाञ्चक घटना हो अरुणोदय। दुर्लभ आनन्द र मान्छेको जीवनको एउटा नवीन अध्यायको शुरूआत पनि हो। प्रत्येक पर्यटक आफ्ना क्यामरामा योे पललाई कब्जा गर्न व्यस्त भएका छन्। 

यही बेला म सम्झन्छु ब्रुसलाई। 

र, सोच्छु– “बिचरा ब्रुस, के गर्दै होलान् ? यहाँसम्म आउन सकेका भए कति रोमाञ्चित हुन्थे होलान् उनी !”

हिजो केउ आइपुग्ने बित्तिकै उनले भनेको सम्झन्छु– “दिस इज द म्यक्सिमम् हाइट आई क्यान बी !”

उनको उमेर र शारीरिक अवस्थाले त्यो उचाइ नै काफी थियो।

एक्ले देउरालीलाई घामले मुसार्न थालेपछि ऐनाझैँ टलक्क टल्किएको तुषारो हठात् रुन थाल्छ र नरम बन्छ माटोको सतह। घामको चमकमा कावा खाँदै देउरालीसम्मै गाउन आइपुग्छन् एक बथान मलेवा। र, अनन्ततामा प्रतिध्वनित हुन थाल्छ तिनको सुमधुर नाद।

एउटा स्वर्गीय ठाउँ। एउटा स्वर्गीय पल। वर्णनातीत छ यति बेलाको एक्ले देउरालीको यो अनुपम सौन्दर्य। 

एक्ले देउरालीबाट छोमरोङ र सिनुवाका बस्तीमा नजर डुलाउँछु। छोमरोङको माथमा बसेको भुइँकुहिरो शनैःशनैः सल्बलाएको देख्छु। दुवै बस्तीसित गाढा साइनो गाँसेको छु मैले। तिनै बस्ती भएर पटकपटक अन्नपूर्णा आधार शिविर आरोहण गरेको छु मैले। एक बाजी अन्नपूर्णा आधार शिविरबाट फर्कंदा छोमरोङ कटेजमा आइपुगेपछि भोकको झोकमा टन्न मासु र भात खाएर अटेसमटेस भएको बिर्सन्नँ म। बम्बु र हिमालयमा टुसा र वनसागको स्वादिष्ट तरकारी खुवाउने गरेको याद आइरहन्छ। सुन्दर लाग्छ मलाई कचौराजस्तो अन्नपूर्णा आधार शिविर। प्रत्येक पटक जाँदा अन्नपूर्णा हिमनदीको गति मापन गर्न खोज्थेँ  म।  यही बेला मेरो कानमा गुञ्जिन्छ मोदीको कल्लोल आवाज। 

तल हरियो, त्योभन्दा माथि खैरो, त्योभन्दा पनि माथि कालो र सबैभन्दा माथि सेतो। यस्तै देखिन्छ अन्नपूर्णा दक्षिण र हिउँचुलीको काया। प्राकृतिक रङहरूको अपूर्व संयोजन।

गगनचरले जस्तै कावा खान निम्तो दिएझैँ भान हुन्छ आकाशले मेरा नयनलाई। अनि त नीलिम आकाशगङ्गामा डुबुल्की मार्न पुग्छ मेरो मन अनायासै। 

“उः त्यो खोचबाट बग्छ मर्दीखोला।” मेरो छेउमै आएर मर्दी हिमाल मुन्तिरको खोचतिर औँला सोझ्याउँछन् आदर्श। 

मर्दी खोलाबाट दूर छौँ हामी। खोचभित्र लुकेको छ खोला। न देखिन्छ, न त सुनिन्छ नै त्यसको आवाज। बरु एक्ले देउरालीमै चलिरहेको मन्द वायुमा उल्लासमय गीत गुञ्जेको प्रतीत हुन्छ मलाई।

दुई दिनअघि हुमालमा भेटिएका पोखराका ‘फ्रील्यान्स गाइड’ परी अधिकारी हाम्रो छेउमा आइपुग्छन्। 

उनी मलाई भन्छन्– उः त्यो मर्दी बेस क्याम्पदेखिको परको भागलाई गहिरएिर हेर्नुस् त सर, सुतिरहेको बाघको आकृतिजस्तै देखिन्छ नि!”

गहिररिएर हेर्दा तइस्तै आकृति देखिन आउँछ आँखामा। सुतिरहेको एउटा बाह्रहाते बाघको कल्पना गर्छु म।

हर्षित देखिन्छन् योगी पिटर यति बेला।

मेरो सामु आएर भन्छन्– “हाउ पिसफुल इज द सन राइज ! इजन्ट इट?”

उनी थप्छन्– “ओपन योर हार्ट एन्ड फील इट ! एन्ड अलाउ इट टु परमियट योर बिइङ !”

दुरुस्तै अनुभूत हुन्छ उनले भनेझैँ गर्दा।

घामको गुलाबी रङमा डुबुल्की मार्दा मार्दै आठ बजिसकेको थियो एक्ले देउरालीमै। पौने नौ बजे हामी केउ फर्कंदा ब्रुस एउटा म्याट्रेस भुइँमा बिछ्याएर पद्मासनमा थिए। उनले आँखा खोलेपछि मैले सोधेँ– “हाउ आर यु ब्रुस?”

“ओ राज, यु गाइज ह्याभ अराइभ्ड ! आई रियली इन्जोइड द मर्निङ भ्यूज। आई वोक अप याट सिक्स एन्ड केम आउट अफ द रूम। बाइ द टाइम, दि इन्टायर हाइक्याम्प वाज एम्टी। दोज माउन्टेन्स वेयर सो ड्याजलिङ। वेल ! आइ वाज एलोन। आई फेल्ट लाइक दे वेयर कलिङ मी। यु नो, आई रियली ह्याड अ फ्रेन्ड्ली कन्भरसेसन विथ देम।”

उनको कुराले यस्तो प्रतीत हुन्थ्यो कि ४२०० मिटरमा पुगेर फर्केका हामीभन्दा कैयौँ गुणा प्रशन्न थिए उनी।


सम्बन्धित सामग्री