Friday, March 29, 2024

-->

पुस्तक अंश
सर्वसाधारणको घरमा पहिलोपटक पुगेका मोहनशमशेरलाई भर्‍याङ चढ्नै मुस्किल

जनकमानले ‘कुचिकारहरूलाई भित्र पस्न दिनू’ भन्ने आदेश दिए। यो निकै क्रान्तिकारी कदम थियो। यो कदमबाट नगरपालिकामा काम गर्ने कथित उपल्लो जातिका कर्मचारी रिसले चुर भए।

सर्वसाधारणको घरमा पहिलोपटक पुगेका मोहनशमशेरलाई भर्‍याङ चढ्नै मुस्किल

कुनै समयका कट्टर कम्युनिष्ट हुन् अरविन्द रिमाल। उनी २००७ सालको क्रान्तिका साक्षी हुन्। त्यसअघिदेखि नै विद्यार्थी आन्दोलनमा सक्रिय थिए। राणा–कांग्रेस सरकार गठनपछि भएका विद्यार्थी आन्दोलनहरूको उनले नेतृत्व पनि गरे। 

२००८ सालमा बीपी कोइराला गृहमन्त्री भएकै बेला भड्किएको विद्यार्थी आन्दोलनमा प्रहरीले गोली चलायो। नयाँ सडकमा भएको यो गोलीकाण्डमा चनियाकाजी तुलाधरको मृत्यु भयो। त्यो दिनको आन्दोलनको एक नेतृत्वकर्ता थिए रिमाल। उनै रिमालको मुखबाट म उक्त घटना सुन्न चाहन्थे।

रिमालसँग ती सम्झनाहरू अहिले पनि ताजा छन्। उनी इतिहास अध्ययन गर्न रुचाउँछन्। इतिहासबारे कलम चलाउँछन्। इतिहासका विषयमा गफिन मन पराउँछन्। 
उनले २००८ सालको त्यो हत्याबारे बताउनुअघि लामो भूमिका बाँधे।

२००७ सालअघिको राजनीति राणा शासनविरुद्ध केन्द्रित थियो। सबै पार्टीको लक्ष्य समान थिए, राणा शासनको अन्त्य।

२००७ सालमा राणा शासनको अन्त्य भएपछि भने राजनीति कठोर ढंगमा विभाजित भयो। अनेक दल खुले। विरोध, आलोचना, आरोप–प्रत्यारोप मात्र होइन एक–अर्कामाथि भौतिक आक्रमणसम्मको क्रियाकलाप हुन थाले। नयाँ सडक जुलुस, आमसभा र झडपको केन्द्र बन्यो। हरेक दल र समूहको सभा गर्ने ठाउँ भूगोलपार्क थियो। यहाँ भएका केही ठूला घटना इतिहासमा गाढा मसीले लेखिएका छन्। ती घटनासम्म डोर्‍याउने राजनीति चर्चायोग्य छ।

गंगालाल हलुवाईको नेतृत्वमा २००८ सालमा लाल कम्युनिष्ट पार्टी नामको दोस्रो कम्युनिष्ट पार्टी खुल्यो। गंगालाल हलुवाई नेकपा महासचिव पुष्पलालका कट्टर आलोचक थिए। उनी आफूलाई असाध्यै क्रान्तिकारी ठान्थे। गंगालाल नेतृत्वको पार्टीमा माणिकलाल श्रेष्ठ, बद्रीप्रसाद श्रेष्ठ, भुवनलाल प्रधानलगायत सदस्य थिए। यिनीहरुको भेटघाटको केन्द्र नयाँ सडक नै थियो।

लाल कम्युनिष्ट पार्टीले स्थापना लगत्तै गोपालचन्द्र अमात्यको अध्यक्षतामा नेपाल विद्यार्थी युनियन गठन गरेको थियो। ओमबहालबाट नयाँ सडक जाने चल्तीको बाटोमा गोपालचन्द्रको घर थियो। त्यसैले उनको घर विद्यार्थी नेताको भेटघाटको केन्द्र भयो (हराएको इतिहास, जनकमान श्रेष्ठ, पृष्ठ ३१)। विद्यार्थी युनियनका मात्र नभएर अखिल नेपाल विद्यार्थी फेडेरेसनका नेता पनि त्यहाँ पुग्थे।

अखिल नेपाल विद्यार्थी फेडरेसन २००७ सालमा प्रजातन्त्र आउनुअघि नै पुष्पलालको निर्देशनमा गठन भइसकेको थियो। यसको अध्यक्ष प्रचण्डराज सिंह सुवाल थिए। जनकमान श्रेष्ठ, वासुदेवप्रसाद ढुंगाना, प्रेमनरसिंह राणा, लक्ष्मीबहादुर हलवाई, मकबुल शाह, अरविन्दनाथ रिमाल आदि सदस्य थिए। कार्यालय मखन टोलको महादेवस्थानपछाडि थियो।

नेपाली कांग्रेसले २००७ सालको क्रान्ति लगत्तै नेपाल विद्यार्थी फेडेरेसन गठन गर्‍यो। पुष्करनाथ उप्रेती अध्यक्ष भएको यो संगठनको कार्यालय पनि नयाँ सडकमै थियो। यसरी देशका मुख्य तीन विद्यार्थी संगठनका कार्यालय नयाँ सडक र आसपास थिए। यीबाहेक नेपाल छात्र संघ र संस्कृत छात्र संघ पनि सक्रिय थिए।

गृहमन्त्री बीपी कोइरालाले २००८ सालमा लगाएको सुरक्षा कानूनविरुद्ध आन्दोलन गर्न नेपाल विद्यार्थी फेडेरेसन, नेपाल विद्यार्थी युनियन र संस्कृति छात्र संघले ‘विद्यार्थी संघर्ष समिति’ बनाए। समितिको आह्वानमा २००८ कात्तिक २० गते काठमाडौँमा विरोध प्रदर्शन भयो। प्रदर्शनपछि भूगोलपार्कमा भएको सभामा भने छात्र संघलाई पनि बोल्न दिइएको थियो।

विद्यार्थी फेडेरेसनका अध्यक्ष प्रचण्डराज सिंह, नेपाल छात्र संघका अध्यक्ष सुरेन्द्रराज शर्मा, संघकै अर्का नेता वासु रिसाल, विद्यार्थी युनियनका गोपालचन्द्र अमात्यले बोलिसकेका थिए। संस्कृत छात्र संघका अध्यक्ष श्रीप्रसाद गौतम बोल्दै गर्दा पाँचै जना नेतालाई प्रहरीले घेरा हालेर पक्राउ गर्‍यो। सभाका उद्घोषक अरविन्द रिमालले प्रतिवाद गर्न आह्वान गरेपछि उपस्थित विद्यार्थी र जनता उत्तेजित भए।

साँझ करिब साढे चार बजेको थियो। जुलुससहित ठूलो समूह गिरफ्तार गरिएका विद्यार्थी र प्रहरीको पछिपछि आफ्ना नेता छुटाउन हनुमानढोका थानातर्फ लाग्यो। भीड थानातर्फ बढ्न थालेपछि प्रहरी आत्तिए। उक्त जुलुस गद्दी बैठकबाट अघि बढेर श्वेतभैरव मन्दिर नजिक नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेर भिडलाई तितरवितर पार्‍यो। भाग्न लागेको भिडमाथि रक्षा दलका जवानले अचानक गोली चलाए (नेपालको राजनीतिक दर्पण, ग्रीष्मबहादुर देवकोटा, पृष्ठ ११६)। गोली लागेर शहिबुद्धिन, राममान श्रेष्ठ र चिनियाँकाजी तुलाधर घाइते भए।

उनीहरुलाई उपचारका लागि वीर अस्पताल लगियो। उपचारका क्रममै राति साढे १० बजे १४ वर्षीय चिनियाँकाजीको मृत्यु भयो। उनी विश्वनिकेतन हाइस्कुलका विद्यार्थी थिए। उनको घर यट्खामा थियो। उनकी दिदी हिराशोभा रमागृहमा रहेको नेपाल महिला संघमा कार्यालय सचिव थिइन्। चिनियाकाजी कुनै पार्टीसँग आबद्ध थिएनन्। तर, छात्र संघ र विद्यार्थी फेडेरसनले उनी आफ्नो सदस्य भएको दाबी गरे। बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा उनी कांग्रेसकै भएको उल्लेख गरेका छन् (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, गणेशराज शर्मा, पृष्ठ १७८)। उनको शवमा भने कम्युनिष्ट पार्टीको झन्डा ओढाइएको थियो।

उनको मृत्युपछि राति नै अस्पतालले शव परिवारलाई हस्तान्तरण गरेको थियो। शव हस्तान्तरण गर्ने बेला अस्पताल प्रशासन र विद्यार्थीबीच चर्काचर्की भयो। त्यही क्रममा प्रहरीले राति १२ बजे अरविन्द रिमाललाई पक्राउ गर्‍यो।

भोलिपल्ट विशाल शवयात्रा निस्कियो। शवयात्राको नेतृत्व देवलाल, वासुपासाहरू थिए। शवयात्रा नयाँ सडकलगायत प्रमुख बजार र चोकतिर पनि लगिएको थियो। गृहमन्त्री बीपीको आदेशमा गोली चलाएको भन्दै शवयात्राका क्रममा नेपाली कांग्रेसको झन्डा जलाइएको थियो। जुलुसमा नेपाल कम्युनिष्ट पार्टी, प्रजा परिषद् र स्वयम् नेपाली कांग्रेसका कार्यकर्ता सहभागी थिए। कांग्रेसबाट सहभागीहरु बीपीविरोधी मातृका खेमाका थिए। मातृका खेमाकै भए पनि त्रिपुरवर सिंह, विजय मल्ललगायतलाई नेकपा कार्यकर्ताको भीडले भूगोलपार्कबाट लखेटेको थियो। उनीहरु कांग्रेसको झन्डा छोडेर भागेका थिए।

चिनियाकाजी मारिएपछि समवेदना प्रकट गर्न प्रधानमन्त्री मोहनशमशेर आफैँ उनको घर फसिखेब गएका थिए। कोही पनि राणा प्रधानमन्त्री रैतीको घरमा समवेदनाका लागि गएको यो पहिलो पटक थियो। राणाकालमा प्रधानमन्त्री मृतकको घरमा जानुलाई इज्जत, प्रतिष्ठा र सानविपरीत ठानिन्थ्यो। मोहनशमशेर राजनीतिक कारणले त्यहाँ गएका थिए। संयुक्त सरकारमा रहेका राणा पक्ष र नेपाली कांग्रेसबीच सम्बन्ध बिग्रिसकेको थियो। प्रधानमन्त्री मोहनशमशेरले गोलीकान्डमा कांग्रेसलाई दोष लगाएका थिए। उनी कांग्रेस र गृहमन्त्री बीपी कोइरालाविरुद्ध जनता उकास्न र आफू जनप्रेमी देखिन चिनियाकाजीको मृत्युमा समवेदना दिन पुगेका थिए। 

पुरानो शैलीको घरको साँघुरो भर्‍याङ सकि–नसकी उक्लिएर मोहनशमशेर चिनियाकाजीको परिवार भेट्न माथिल्लो तला पुगेका थिए। उनलाई त्यसरी भर्‍याङ उक्लिरहेको देखेपछि त्यहीँ रहेकी मंगलादेवी सिंहले भनेकी थिइन्, “ओहो ! नमस्कार प्राइमिनिस्टर। तपाईं पनि आज रैतीको घरमा आउनुभयो ?” तर, मोहनशमशेरले केही जवाफ दिएका थिएनन् (नारी संघर्षका पाइला, मंगलादेवी सिंह, पृष्ठ ११२ र ११३)
०००
नयाँ सडकमा नगरपालिकाको कार्यालय ठीक सामुन्ने नेपाली कांग्रेसको कार्यालय थियो। त्यहाँ कांग्रेसका नेता बीपी कोइराला, महामन्त्री धनमानसिंह परियार, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत नेता बाक्लै आउजाउ गर्थे। कांग्रेस पार्टी कार्यालय नयाँ सडकमै खोलिएको कारण राजनीतिको केन्द्र बनिरहेको थियो।

कांग्रेसले नगरपालिकामा सभापति र उपसभापतिको लागि नेकपासँग गठबन्धन गरेको थियो। खासमा नेकपाको प्रयासमा गठबन्धन भएको थियो। नेकपाले सभापति लिएर कांग्रेसलाई उपसभापति पद दिएको थियो।

यता प्रजापरिषद् पनि गठबन्धनका लागि कांग्रेसलाई मनाउने प्रयासमा थियो। चुनावकै दिनसमेत प्रजापरिषद्का सभापति टंकप्रसाद आचार्य कांग्रेस पार्टी कार्यालय गएर बीपी कोइरालालाई मनाउने प्रयास गरेका थिए। बीपी कम्युनिष्टप्रति अनुदार थिए। तर, गणेशमान सिंहको अडानका कारण नेकपासँग गठबन्धन कायम भएको थियो। सभापतिको निर्वाचनमा कांग्रेसको तीन र स्वतन्त्र सदस्यहरुको थप तीन भोट पाएका नेकपाका जनकमान श्रेष्ठ बाह्र भोटसहित विजयी भए। प्रजापरिषद्का पुष्करनाथले छ भोट पाए। यसरी राणा शासनको अन्त्यपछि भएको पहिलो चुनावमा कम्युनिष्टहरुले विजय हासिल गरेका थिए।

सभापतिको चुनाव भएको १५ दिनपछि उपसभापतिको चुनाव भयो। उपसभापतिमा कांग्रेसका प्रयागराज सुवाल र गोर्खापरिषद्का शुभशमशेर उम्मेदवार थिए। गोर्खापरिषद्बाट नगरपालिकामा उनको एक भोट मात्र थियो। तर, उनलाई प्रजापरिषद्को समर्थन थियो। चुनावमा प्रयागराज सुवालले १३ र शुभशमशेरले पाँच भोट पाए। प्रजापरिषद्का कोषाध्यक्ष मोहनबहादुर श्रेष्ठले कांग्रेस उम्मेदवारलाई भोट दिएका थिए।

सभापति भएपछि जनकमान श्रेष्ठले नगरपालिकामा केही सुधारका काम गर्न थाले। त्यति बेला काठमाडौँमा सीमित सडक थिए। ती सडक निकै सफा हुन्थे। तर, सडक सफा गर्ने कुचिकारलाई नगरपालिका कार्यालयभित्र पस्ने अनुमति थिएन। उनीहरु दिउसो एक बजेपछि खर्पन र झाडु लिइ नयाँ सडकस्थित नगरपालिका भवनको पेटीमा लाइन लागेर उभिन्थे। त्यहीँ निरीक्षकले उनीहरुको हाजिर लिन्थे। सडक बढार्ने कुचो र खर्पनसमेत उनीहरु आफैँले किन्नुपर्थ्यो। अन्य सरकारी कार्यालयमा पनि दलितहरुलाई भित्र पस्न दिइँदैन थियो।

जनकमानले ‘कुचिकारहरुलाई भित्र पस्न दिनू’ भन्ने आदेश दिए। यो निकै क्रान्तिकारी कदम थियो। यो कदमबाट नगरपालिकामा काम गर्ने कथित उपल्लो जातिका कर्मचारी रिसले चुर भए। यस्तो आदेश दिएको केही दिनपछि नगरपालिकाका सुब्बा होमप्रसाद लोहनीले सभापति जनकमानसँग गुनासो नै गरेका थिए। सुब्बा होमप्रसाद लोहनीले चार दिनदेखि बेलुका भात खाएका रहेनछन्। त्यसको कारण उनले लगाएको जनै थियो। दलित पनि कार्यालयमाभित्र पसेर एउटै सोफामा बसेपछि जनै नफेरी खान नहुने भयो। अनि भोलिपल्ट बिहान नुहाएर जनै फेरेर मात्र खाना खाँदा रहेछन्। उनको गुनासोबाट जनकमान निर्णय फिर्ता गर्ने पक्षमा थिएनन्। पछि अन्य कार्यालयमा पनि बिस्तारै दलितलाई प्रवेश दिन थालियो।

काठमाडौँका सरसफाइ मजदुरको तलब पनि निकै कम थियो। पियनसरहको तलब महिनाको सात रुपैयाँ। त्यही बेला सफाइ मजदुरहरु भक्तलाल श्रेष्ठ (शहीद गंगालालका बाबु)को अध्यक्षतामा गठन भएको अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघमा आबद्ध थिए। भक्तलाल घरेलु कार्यालयमा खरिदारसरहका जागिरे थिए। संगठनका महासचिव महेश्वरमान छोचूँ हनुमानढोका मुद्रा संग्रहालयका नायब सुब्बा थिए।

संघको आह्वानमा तलब वृद्धिको माग गर्दै कर्मचारीले २००९ सालमा आन्दोलन गरे। पियनसरहको तलब कम्तीमा अस्सी रुपैयाँ दश पैसा हुनुपर्ने उनीहरुको माग थियो। नगरपालिकाका सफाइ मजदुर पनि हड्तालमा उत्रिए। उनीहरुले काठमाडौँको सरसफाइ ठप्प पारिदिए। उनीहरुलाई उचालेको आरोप मंगलमान ‘नेपाली’ माथि लागेको थियो। उनलाई जेलसमेत हालिएको थियो।

मंंगलमान नेपाली त्यौडका मंगलमान प्रधान हुन्। राणाकालदेखि नै उनी हरेक आन्दोलनमा अग्रपङ्क्तिमा हुन्थे। उनी पहिलोपटक २००४ सालमा पक्राउ परेका थिए। उनका जेठा दाजु जुजुमान प्रधान सेनालाई तालिम दिँदा राणाविरोधी अभिव्यक्ति दिएपछि पक्राउ परे। त्यसको विरोधमा उत्रिएका मंगलमानलाई राणहरुले केही समयपछि नै पक्राउ गरे। उनी २००७ साल फागुन ४ गते मात्र रिहाइ भए (चन्द्रकमल एक थुँगा, चन्द्रमान प्रधान, पृष्ठ १४)। त्यसपछि आन्दोलन गर्ने र पक्राउ पर्ने सिलसिलामा नै उनको ज्यान गयो। अन्तिमपटक २०१७ सालमा तत्कालीन युवराज वीरेन्द्र शाहको अपहरण योजना बनाएको आरोपमा बीपी कोइराला नेतृत्वको सरकारले पक्राउ गरेको थियो। पुस १ गते पञ्चायती व्यवस्था शुरु भएपछि पनि अर्को एक वर्ष थुनामा राखेर उनलाई कठोर यातना दिइयो। त्यहीकारण उनी गम्भीर बिरामी परे। त्यसपछि रिहा गरियो। तर, त्यतिजेन्लसम्म निकै ढिलो भइसकेको थियो। जेलबाट छुटेको केही समयपछि २०१८ सालमा उनको मृत्यु भयो। उनको विद्रोही स्वभाव कस्तो थियो भने २००४ सालदेखि २०१७ सालसम्ममा १८ पटक जेलको यात्रा गरेका थिए।

यति मात्र परिचय मंगलमानका लागि अपूरो हुन्छ।

उनले १९९७ सालमा राणा शासकले प्रजापरिषद्का कार्यकर्तामाथि गरेको दमन देखेका थिए। उनी पनि १९९८ सालदेखि राणाविरोधी आन्दोलनमा सामेल भए। २००४ सालमा उनले मदनलोचन सिंह, नाति नापित, नूतनबहादुर थपलियालगायतसँग मिलेर आफ्नै काकाको घरमा ‘अछुत’ बालबालिकाका लागि छुट्टै स्कुल खोले। त्यसको नाम सिद्धिचरण श्रेठले ‘नेपाल ज्योत्सना विद्यालय’ राखिदिएका थिए। स्कुलमा पढाउने दुई शिक्षक पनि कथित अछुत समुदायका गोविन्दमान धोबी (मनोरञ्जन धोबी) र उनका भाइ थिए। तर, त्यसपछि मंगलमान जेल परेका कारण उक्त विद्यालय दुई तीन वर्षमा नै बन्द भयो (नेपालको जनक्रान्ति २००७, भुवनलाल प्रधान, पृष्ठ १४०)
०००
मंगलमानले गरेको विद्रोहका किस्सा अनेक छन्। २००८ सालमा मातृकाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री बनेका थिए। सरकारले दशैंका लागि तिब्बतबाट भेडा र च्याङ्ग्रा ल्याएर बेच्थ्यो। त्यसबाट सरकारलाई नाफा हुन्थ्यो। जनताको सेवा गर्नुपर्ने सरकारले गरिबबाट नाफा कमाएको मंगलमानलाई चित्त बुझेको थिएन। सरकारले ल्याएको भेडा, च्याङ्ग्रा मंगलमानले लुटे र जनतालाई परल मोलमा बेचिदिए। त्यसबाट आएको पैसा सरकारलाई जिम्मा लगाएका थिए। यस्ता धेरै घटनामा मंगलमानको सहभागिता हुन्थ्यो।

मंगलमान भारतका प्रखर विरोधी थिए। भारतले नेपालमाथि थिचोमिचो गरेको उनको ठहर थियो। भारतलाई ‘देखाइदिन’ उनले नेपाल–पाकिस्तान मैत्री संघ नामको संस्था खोलेका थिए। यो संस्थाको उनी संस्थापक अध्यक्ष हुन्। यसमा लक्ष्मण राजवंशी, कमल चित्रकार, मणिकलाल श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ लगायत सदस्य थिए।

त्यसअघि २००८ सालमै नेपाल–भारत मैत्री संघ खुलिसकेको थियो। नयाँ सडकस्थित व्यापारी बीएल शर्माको घरमा बसेको बैठकले बालचन्द्र शर्माको अध्यक्षतामा संघ स्थापना गरेको थियो। मित्रराष्ट्रका नाममा खोलिएको यो पहिलो मैत्री संघ थियो। मंगलमानले नेपाल–पाकिस्तान मैत्री संघ खोल्नुमा यसको पनि प्रभाव थियो।

मंगलमानले तीन वटा दैनिक पत्रिका पनि सम्पादन गरेका थिए। उनको सम्पादकत्वमा ‘भूगोल पार्क’, ‘ममता’ र ‘नेपाली’ दैनिक पत्रिका निस्किए। उनी सरकारसँग झुक्दैन थिए। सरकारका गलत कामको आलोचना गरेपछि पत्रिका बन्द गराइन्थ्यो। अनि तुरुन्तै अर्को पत्रिका प्रकाशन गरिहाल्थे।

२०१४ सालमा ‘ट्याक्सी ड्राइभर’ शीर्षकको सम्पादकीय लेखेर प्रधानमन्त्री डा. केआई सिंहलाई ‘ड्राइभर’ लेखेवापत उनको पत्रिका ‘भूगोल पार्क’को दर्ता खारेज भएको थियो। २०१४ सालमै सोही पत्रिकामा उनले राजा महेन्द्र निरंकुश बन्न लागेको उल्लेख गरेका थिए। उक्त वर्ष साउन ३ गतेको अंकमा ‘परिवर्तन’ शीर्षकको सम्पादकीयमा उनले लेखेका थिए, ‘हाम्रा प्यारा प्रजावत्सल राजा एकतन्त्र शासन चलाउने पक्षमा मात्र छैन, बन्दुक र मेसिनगनको आधारमा देशको शासन बागडोर आफ्नो हातमा लिने ताकमा पनि छ।’
०००
दयारामभक्त माथेमा दरबारका सचिव थिए। उनले जनसेवा हललाई भेटघाटको थलो बनाएका थिए। साँझ उनी कार्यालयबाट फर्किएपछि त्यहाँ राजनीतिकर्मी, विभिन्न अखबारका सम्पादक, अञ्चालाधीश एवम् सरकारी उच्च पदाधिकारीको जमघट हुन्थ्यो। त्यहाँ पुग्ने सम्पादकहरु समाज दैनिकका मणिराज उपाध्याय, नेपाल समाचारका शंकर शर्मा, नयाँ समाजका पशुपतिदेव पाण्डे, द कमनरका गोपालदास श्रेष्ठ थिए। काठमाडौँ उपत्यकाका कमिस्नर विष्णुमणि आचार्य, मजिस्ट्रेट अमृतमान श्रेष्ठ, परराष्ट्र सचिव नरप्रताप थापा, शिक्षा सचिव कुमारदास श्रेष्ठ, स्वास्थ्य सचिव गेहेन्द्रबहादुर राजभण्डारी पनि साँझ त्यहाँ पुग्थे।

जनसेवा पुग्ने राजनीतिकर्मीमा कांग्रेसका होराप्रसाद जोशी, तुलसी गिरी, प्रजा परिषद्का हरिकृष्ण श्रेष्ठ, डिल्लीरमण रेग्मीको पार्टी नेपाल राष्ट्रिय कांग्रेसका कृष्णप्रसाद रिमाल, नेकपाका पुष्पलाल र हिक्मतसिंह भण्डारी थिए। होराप्रसाद जोशीको घरै नयाँ सडक भएकाले उनी बिहान बेलुकै त्यहाँ पुग्थे। तारिणीप्रसाद कोइराला कहिलेकाहीँ जान्थे। उनी त्यहीँ बसेर रक्सी पिउँथे। नशा चढ्न थालेपछि दरबार र राजाको विरोध गर्थे। पुष्पलाल र हिक्मतसिंह भण्डारी पनि कहिलेकाहीँ त्यहाँ बसेर रक्सी पिउँथे। पुष्पलाल र दयारामभक्त माथेमा जुद्धोदय स्कुलदेखिका साथी थिए (अनुभव र अनुभूति, दयारामभक्त माथेमा, पृष्ठ ३१८ र ३१९)

दयारामभक्तलाई भेट्न साँझ डा. तुलसी गिरी जनसेवा पुगिरहन्थे। तुलसी गिरी प्रधानमन्त्री बीपी कोइराला निकट थिए भने दयारामभक्त राजा महेन्द्र निकट। २०१७ पुुस १ को शाही ‘कू’ अघि डा. तुलसी गिरी र राजा महेन्द्रबीच सम्बन्ध जोडिदिने दयारामभक्त पनि हुन्।

यता प्रधानमन्त्री बन्न बीपी र सुवर्णको दाउपेच र रस्साकस्सीले कांग्रेस फुट्न लागेको चर्चा थियो। पत्रपत्रिकाले बीपी पक्षका गणेशमानसहितका नेता र सुवर्ण पक्षका सूर्यनाथ उपाध्यायसहितका नेताबारे अनेक विवादका प्रसंग छाप्थे। यी प्रसंगले पनि पीपलबोटको माहौल तताउँथ्यो। कांग्रेस बैठक भने पार्टी कार्यालयमा नबसी सुवर्ण शमशेरको बालुवाटारस्थित घर (हाल राष्ट्र बैँक भएको भवन) मा बस्थ्यो।

नयाँ सडक काठमाडौँको यतिसम्म महत्वपूर्ण ठाउँ भइसकेको थियो कि राजा महेन्द्रले ‘कू’ गर्नुअघि त्यसको प्रभाव यहाँ परिसकेको थियो। राजाले सेना खटाएर नयाँ सडकलाई निगरानीमा राखेका थिए। बख्तरबन्द गाडीहरुको चहलपहल थियो। सैनिक विद्रोह हुने हल्ला फैलिएको थियो। 

परिस्थिति यति जटिल थियो कि, जनता दैनिकका सम्पादक रमेशनाथ पाण्डेले पत्रिका ननिकाल्ने निर्णय गरे। उनी १ पुस दिउसो दुई बजेतिर नयाँ सडक गए। उनीसँग त्यो दिन महेन्द्रविक्रम शाह थिए। त्यति बेलासम्ममा प्रधानमन्त्री बीपी कोइरालालगायत मन्त्री र नेताहरु पक्राउ परिसकेका थिए। नयाँ सडक दिउसै चकमन्न थियो। पसलहरु बन्द थिए।

त्यो चकमन्न तोड्दै एकैछिनमा एक युवा राजाविरुद्ध नारा लगाउन थाले। उनी नेपाल तरुण दलका काठमाडौँ सचिव मार्शलजुलुम शाक्य थिए। बीपी कोइराला लगायत नेतालाई थापाथलीमा हुँदै गरेको तरुण दलको अधिवेशनबाटै पक्राउ गरिएको थियो। त्यहाँबाट उम्किएर शाक्य नयाँ सडक आएका थिए।

नयाँ सडकमा नारायण मानन्धरको रेडियो मर्मत गर्ने र बेच्ने पसल थियो। उनी एम्लिफायर, माइक र ब्याट्री पनि बेच्थे। त्यहाँबाट शाक्यले शक्तिशाली ब्याट्रि र माइक लिए। शाक्यले प्रयोग गरेको ८२१ नम्बरको जीपमा मानन्धरले नै माइक जोडिदिए। उनी ‘शाही कदम मुर्दावाद’ भनेर नारा लगाउँदै तत्कालीन शाही नेपाल वायु सेवा निगमको भवनअगाडि पुगे। अनि गाडी फर्काएर त्यसरी नै नारा लगाउँदै जुद्ध सालिकसम्म पुगे। त्यहाँबाट फेरि गाडी फर्काएर नारा लगाउँदै रत्नपार्कतर्फ लागे (पहिलो संसद्, जगत नेपाल, पृष्ठ २५७ र २५८)


(माघ ७ गते शनिबार विमोचन हुने पुस्तक ‘जङ्क्सन पिपलबोट’बाट)


सम्बन्धित सामग्री