Tuesday, March 19, 2024

-->

हेलो 'सभ्य मान्छे', फोहोरी नबनौँ

स्थानीय समुदायमा हुने सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक समारोह, बिहे, वनभोज आदिबाट निस्कने फोहोरको व्यवस्थापनमा ती कार्यक्रममा सहभागी तथा त्यस क्षेत्रका सरोकारवालाहरूले ध्यान दिनुपर्ने देखिन्छ।

हेलो सभ्य मान्छे फोहोरी नबनौँ

आजका मान्छेहरू जुनसुकै कुरा शुरू गर्दा पनि 'चेतनशील समाज'को रट लगाउन भुल्दैनन्, तर तिनको असभ्य हर्कत सडक, वनजंगल, खुला स्थान, नदी र तालतलैयामा प्रस्ट प्रकट हुन्छ। केही दशक अघिसम्म माछा पौडने खोलाहरूमा अचेल मलमूत्र र अन्य फोहोरको मिश्रण घिस्रिने गर्छ। हिमाली-पहाडी गाउँहरू पातलिँदै जाँदा शहर र समतल स्थानका बस्तीहरूमा घरायसी तथा अन्य क्षेत्रबाट निस्केका फोहोरहरू जल र जमिनमा थुप्रिँदै छ।

सबै स्थानीय तहहरूसँग फोहोर फाल्ने निश्चित ठाउँ (ल्यान्डफिल साइट)को कमी, फोहोर प्रशोधन गर्ने प्रविधि र साधनको अभावका कारण नेपालमा फोहोर व्यवस्थापन गम्भीर समस्याका रूपमा रहेको छ। काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर)कै फोहोर व्यवस्थापन स्थायी रूपमा समाधान भएको छैन। सडक र चोकमा त फोहोर थुप्रेकै छन्, दूरदराजका कञ्चन पानी बग्ने खोलाका मूलमा समेत प्लास्टिकका बोतल र प्लास्टिक पुगेका छन्। हिमाल चढ्नेहरूका कारण कतिपय हिमालमा फोहोर थुप्रेका खबर हामीले पढेका छौँ। फोहोरका यस्ता थुप्राहरूले 'सभ्य मानिस'को ज्ञान र सभ्यतालाई उदांगो पारिरहेछ।

खुला जमिनमा फोहोर फाल्नाले माटोको उर्वरा शक्ति ह्रास भएको छ भने फोहोरबाट निस्कने 'लिचेट' (फोहोरबाट निस्कने तरल) पानीमा मिसिई जल जीवनलाई प्रदूषित पारेको छ। फोहोरबाट निस्कने दुर्गन्धले वायु प्रदूषण भएको छ। फोहोरले दृश्यजन्य क्षेत्रको सौन्दर्य त बिगार्छ नै, यसले मानव, वनस्पति र धेरै जनावरको जैविक स्वास्थ्यमा समेत प्रतिकूल असर पार्छ।

दूषित माटो र हावापानीले झिँगा, मुसा र कीराजस्ता जैविक 'भेक्टर'लाई प्रजननस्थल प्रदान गर्छ। जैविक भेक्टरका कारण झाडापखाला, आउँ, ग्यास्ट्रोइन्टेस्टाइनल समस्या, कीराका संक्रमण, खाद्य विषाक्तता, डेंगु ज्वरो, हैजा, र ब्याक्टेरियाको संक्रमण, छाला, नाक र आँखाको जलनदेखि श्वासप्रश्वासका समस्यासमेत निम्तन सक्छन्।

बजार र प्लास्टिकजन्य सामग्री पुगेका ठाउँमा अचेल फोहोर नष्ट गर्ने नाममा प्लास्टिक जलाउने अभ्यास बढ्दो छ। वातावरणलाई सफा बनाउने नाममा मान्छेहरू उल्टै फोहोर र रोग बढाइरहेछन्। प्लास्टिक जलाउँदा त्यसले मानव स्वास्थ्यमा असर पार्ने मात्र नभई परोक्ष रूपमा वायुमण्डलमा हरित गृह ग्यास उत्सर्जन गर्ने र त्यसले जलवायु परिवर्तनमा सक्रिय भूमिका खेल्ने कुराप्रति आम जनतालाई चासो छैन। शायद, तिनलाई त्यसबारे बोध नै छैन।  

प्लास्टिक नियन्त्रण
२०७१ चैत १८ गते राजपत्रमा प्रकाशित भई २०७१ चैत १४ गतेदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा २० इन्च चौडा, ३५ इन्च लामो र ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, भण्डारण, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। त्यसलाई बिस्तारै देशका सबै स्थानीय तहमा लैजाने सरकारी योजना थियो।

तर यत्रा वर्षसम्म सरकारी निर्णयको उचित कार्यान्वयन हुन नसक्दा प्लास्टिक फोहोर नेपालको प्रमुख समस्याका रूपमा बनेको छ। प्लास्टिक फोहोरको मुख्य समस्या भनेकै 'डिग्रेडेसन' हो। एउटा प्लास्टिकको झोला पूर्ण रूपमा प्रकृतिमा कुहिन पाँच सय वर्ष लाग्छ। यसको मतलब हामीले हाम्रो जीवनकालमा प्रयोग गर्ने अधिकांश प्लास्टिक हाम्रो जीवनमा नष्ट हुने छैनन्, बरु त्यसबाट हाम्रा भविष्यका दर्जनौँ पुस्ता त्यसबाट पीडित हुनुपर्नेछ।

जल, जमिन र हावामा समेत पुग्ने प्लास्टिकका फोहोरहरू 'मेकानिकल' र भौतिक रासायनिक गुणमा परिवर्तन भई साना कण बन्छन्, जसको आकार (५ मीमी) भन्दा कम हुँदा तिनलाई माइक्रोप्लास्टिक्स भनिन्छ। माइक्रोप्लास्टिक्स प्रदूषणबारे पछिल्ला दिनमा वातावरण क्षेत्रमा काम गर्ने वैज्ञानिक र विज्ञहरूले चिन्ता जनाउन थालेका छन्।

माइक्रोप्लास्टिक्सको ठूलो मात्रा नदी प्रणाली र अन्ततः विश्वव्यापी महासागर वातावरणमा प्रवेश गर्छ। अन्ततः यसले मानव, अन्य जीव तथा समग्र वातावरणीय स्वास्थ्यमा जोखिम निम्त्याइरहेको छ। यति मात्र नभई, माइक्रोप्लास्टिकहरू फेरि थप साना टुक्रामा परिणत हुन्छ, जसलाई नानो-प्लास्टिक (एनपीएस) भनिन्छ। तिनको आकार  <०.०००१ मीमी हुन्छ। अति सानो आकारका कारण वनस्पति र जीवजन्तुमा त्यसले धेरै हानिकारक प्रभाव पार्छ। संसारका अन्य मुलुकझैँ नेपालमा पनि प्लास्टिक प्रदूषण विकराल बन्दै गएको देख्न सकिन्छ।

केन्द्रीय तथ्यांक विभागको 'फोहोर व्यवस्थापन आधारभूत नेपाल सर्वेक्षण–२०२०' अनुसार प्रतिनगरपालिका वार्षिक औसत कुल फोहोर संकलन २०७३/७४ मा २२ हजार ३१ मेट्रिक टन, २०७४/७५ मा २१ हजार ६४.४० मेट्रिक टन र २०७५/७६ मा २२ हजार ३२.७ मेट्रिक टन रहेको छ। महानगरहरूमध्ये दैनिक फोहोर संकलनको मात्रा घरपरिवारमा उच्चतम (१५ हजार ९ सय किलोग्राम प्रतिदिन), व्यापार प्रतिष्ठान (७ हजार ७ सय किलोग्राम प्रतिदिन) र शैक्षिक संस्थानहरू (४ हजार ६ सय ८० किलोग्राम प्रति दिन)बाट संकलन भएको देखिन्छ।

स्कुल र गाउँ बस्तीमा जागरण
दृढ इच्छाशक्ति र फोहोरप्रतिको सोच बदल्ने हो भने हामीले कमसेकम आफ्नो घर र वरपरको वातावरण सुन्दर पार्न सक्छौँ। सबैले यही दृष्टिकोण राख्न सके फोहोर व्यवस्थापनमा जुट्ने स्थानीय सरकारले पनि सहज रूपमा काम गर्न सक्छन्। अहिले आम सर्वसाधारणले पानीका बोतल, गुट्खा, चाउचाउ, लेज् र कुर्कुरेका खोल सडकमा यत्रतत्र फालिरहेका छन्। शिक्षित ठानिने विद्यार्थी र परिपक्व मान्छेले समेत लाजै नमानी जतासुकै यस्तो लाजमर्दो हर्कत गरिरहेका देखिन्छन्। विद्यार्थीले समेत अप्ठ्यारो नमानीकन सडकमा 'वेस्टेज' फ्याँक्नुले तिनले ग्रहण गरेको शिक्षामै त्रुटि देखिन्छ। तिनलाई अभिभावक र शिक्षालय दुवै तर्फबाट फोहोर र सफाइबारे पर्याप्त शिक्षा नभएको बुझिन्छ। त्यसको मतलब शिक्षक र अभिभावक नै फोहोरका समस्याबारे जागरूक छैनन्। 

त्यसका लागि विद्यालय तह र स्थानीय समुदायमा उचित ज्ञान र चेतनाको आवश्यकता देखिन्छ। यदि, साना विद्यार्थीहरूबाटै व्यवहार परिवर्तन गर्न सकियो भने फोहोर गर्नु असभ्य हो भन्ने मानसिकता विकसित हुनेछ, फोहोर व्यवस्थापन सहज हुनेछ। 

सरकार र स्थानीयवासीको भूमिका
स्थानीय समुदायमा हुने सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक समारोह, बिहे, वनभोज आदिबाट निस्कने फोहोरको व्यवस्थापनमा ती कार्यक्रममा सहभागी तथा त्यस क्षेत्रका सरोकारवालाहरूले ध्यान दिनुपर्ने देखिन्छ। साथै हरेक घरले प्लास्टिकको फोहोर कम गर्न प्लास्टिक आधारित सामग्रीको प्रयोग कम गर्ने प्रयास गर्नुपर्छ। 

ग्रामीण क्षेत्रमा फोहोर फाल्ने र जलाउने चलनका साथै शहरी क्षेत्रमा खुला जग्गा, खोला किनार, पोखरी र तालमा फोहोर फाल्ने कार्य बन्द गरिनुपर्छ। फोहोर मैला व्यवस्थापन घरबाटै शुरू गर्नुपर्छ। 'ननबायोडिग्रेडेबल' (नकुहिने) फोहोरको कम प्रयोग र 'बायोडिग्रेडेबल' (कुहिने) फोहोर मल बनाउन सके फोहोरको मात्र कम हुन जान्छ। बायोडिग्रेडेबल ठोस फोहोरको 'रिसाइकल'मार्फत 'भर्मी कम्पोस्ट' गर्न सकिन्छ। भर्मी कम्पोस्ट एक प्रक्रिया हो, जहाँ कीरा पालन गरी तिनीहरूको मल विरुवाहरूका लागि फेरि मलका रूपमा प्रयोग गर्न सकिन्छ। यसरी उत्पादित मललाई कौसीखेतीमा प्रयोग गर्न सकिन्छ र घरेलु फोहोर घटाइ व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ।

फोहोर व्यवस्थापनको मूल मन्त्र 'थ्री आर' हो। फोहोर घटाउने (रिड्युस), स्रोत र उत्पादनहरूको पुनः प्रयोग (रियुज) र पुनः प्रयोग (रिसाइकल) गर्ने सिद्धान्तलाई थ्री आर भनिने गरेको छ। फोहोर घटाउनुको अर्थ अधिक उपभोग नगर्नु या चाहिने जति मात्र उपभोग गर्नु पनि हो। सामग्री र सेवाको जिम्मेवारीपूर्वक प्रयोग गर्नु हो। यी अभ्यासले फोहोरको मात्रा कम गर्न, प्राकृतिक स्रोत, ल्यान्डफिल ठाउँ र ऊर्जा बचत गर्न मद्दत गर्दछ। यसो गरियो भने हामीले ल्यान्डफिल साइटसम्म फोहर पठाउन तिर्ने पैसाको समेत बचत हुनसक्छ।

के गर्ने?
प्लास्टिकजन्य सामानहरूको कम प्रयोग गर्ने। डिस्पोजेबल (एकचोटि प्रयोग गरेर फ्याँक्ने प्लास्टिकजन्य) सामानको सट्टा धेरै समयसम्म प्रयोग गर्न सकिने भाँडा र पानीका बोतल  प्रयोग गर्ने। प्लास्टिकको झोला, बक्स र प्लास्टिक र्‍यापरहरू अन्तमा ल्यान्डफिल साइटमा पुग्छन्। त्यसो हुँदा कपडा या जुटको झोला प्रयोग गर्ने, भान्सा र आँगनमा कम्पोस्टिङ शुरू गर्ने, भान्सा कोठालाई प्लास्टिकमुक्त बनाउने अभ्यास गर्ने। कागजको प्रयोग गर्दा पनि त्यसबाट अन्ततः वनजंगल विनाशमा योगदान पुग्ने भएकाले आफ्ना बिलहरूसमेत अनलाइनमार्फत तिर्ने अभ्यास गर्ने। यसका साथै धेरै प्रकारका गिलास, कागज, धातु, प्लास्टिक, टायर, कपडा, ब्याट्री र इलेक्ट्रोनिक्स आदि सामग्री पर्छन्, जसबाट पुनः नयाँ सामान उत्पादन गर्न सकिन्छ, त्यस्ता सामानको प्रयोगको अभ्यास गर्ने।  

नेपाल संघीयता प्रणालीमा गएसँगै अब स्थानीय सरकारले नै सबै स्थानीय फोहोरको व्यवस्थापन गर्नुपर्छ। त्यसो हुँदा प्रत्येक नगरपालिकाले फोहोर उत्पादनदेखि 'डिस्पोजल'सम्म फोहोरको मात्रा घटाउँदै लग्ने, उचित डम्पिङ तथा ल्यान्डफिल साइटको व्यवस्था गर्ने, कम्पोस्टिङ प्रक्रियालाई प्रवर्द्धन गर्ने, प्लास्टिक फोहोरको व्यवस्थापन र प्लास्टिकमुक्त नगरपालिका बनाउने जिम्मेवारी रहन्छ। थोरै मात्र जाँगर चलाउने हो भने फोहोरलाई हामी पैसामा परिवर्तन गर्न सक्छौँ। यो ज्ञान सबैमा फैलाउन सक्दा अव्यवस्थित फोहोर व्यवस्थापन घटाउन सकिन्छ। फोहर व्यवस्थापनमा जति सरकारी तदारुकता र कार्यान्वयन जरुरी छ, उत्तिकै जरुरी हुन्छ जनचेतना र जागरूकता। हामीले यसबारे अन्य देशहरूको उदाहरण लिन सक्छौँ, जसले फोहोरलाई 'शून्य फोहोर'मा परिणत गरेका छन्। ती देशबाट सिक्दै हामीले फोहोर शून्य गाउँ बस्ती र शहर बनाऊँ। फोहोरी नबनौँ।  


घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेकी छन्।


सम्बन्धित सामग्री