साप्ताहिक ब्रिफिङः विवादको घेरामा कार्की सरकार, आन्दोलनको धम्की दिइरहने प्रसाईंको के हो शक्ति?

यो साता उकालोमा, ‘रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनको ऋणको गाँठो कहाँ छ?, ‘मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?’, ‘पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?’सहितका खबरले हेडलाइन बनाए।

 

न्युजलेटर शुरू गरौँ, पोखरा विमानस्थलमा भएको अनियमितताको समाचारबाट। चिनियाँ ऋण सहयोगमा पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदै यसमा भएको अनियमितताको विषय छताछुल्ल भइसकेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको ओइरो लागेपछि अख्तियारले पनि अनुसन्धान शुरू गर्‍यो। तर तीन वर्ष बित्दासम्म अनुसन्धान जहाँको त्यहीँ रह्यो। समय मात्र गुजारेको भन्दै अख्तियारमाथि प्रश्न उठे। तर उपलब्धि केही भएन।

पछिल्ला केही हप्तामा यो प्रकरणमा अख्तियारले गरिरहेको अनुसन्धानले अस्वाभाविक गति लिएको छ। जस्तो, अख्तियारका अनुसन्धान अधिकृतहरू दिनभर यससम्बन्धी कागजात मिलानमा व्यस्त भइरहेका छन् भने राति अबेरसम्म यो अनियमिततामा संलग्न व्यक्तिहरूको बयान लिने काम गरिरहेका छन्। आयोगका एक अधिकारीका अनुसार यो प्रकरणको प्रारम्भिक अनुसन्धान सकिएर विस्तृत अनुसन्धानअन्तर्गत अहिले अभियोग–पत्र तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानले गति लिएको उल्लेख गर्दै उकालोसँग भने, “सरकारी हानि–नोक्सानी र खाइमासेको कसुर ठोस रूपमा स्थापित नभएसम्म यो प्रक्रिया जारी रहन्छ।”  

अख्तियारको अनुसन्धानको केन्द्रमा परेको छ विमानस्थल निर्माण सम्झौता। यही सम्झौता जसले अस्वाभाविक रूपमा निर्माण लागत ह्वात्तै बढाइदिएको थियो। त्यसपछि देखिन्छन् डिजाइन प्रक्रिया पूरा नहुँदै ठेक्का दिएर निर्माण शुरू गर्न देखाइएको हतारो। अनि धावनमार्गको उचाइ घटाउने, कर छुट दिने, डाँडा काट्ने र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाइदिएको खानेपानी ट्यांकी काट्ने निर्णय सिलसिलेवार रूपमा देखा पर्छन् जसले विमानस्थलको लागत बढाउँदै सुरक्षामा समेत प्रश्न उब्जाएका छन्। 

अख्तियारका एक अधिकारीका शब्दमा, “प्रत्येक तहका निर्णयलाई अलग–अलग हेर्दा छुट्टाछुट्टै गल्ती जस्तो देखिए पनि सबै निर्णयलाई एक ठाउँ राखेर हेर्दा यो सब योजनाबद्ध रूपमा भएको छर्लंग हुन्छ।” अब अख्तियारले के गर्ला? के उसले राजनीतिक, प्रशासनिक र प्राविधिक सबै तहलाई एउटै मापदण्डअनुसार कारबाहीको दायरामा ल्याउला? या पहुँचवालाको नाम आउनसाथ फाइल थन्क्याइएला? यिनै प्रश्नको सेरोफेरोमा पोखरा विमानस्थल घोटाला प्रकरण घुमेको छ। यसमा को कसरी जोडिएका छन्? बुझ्न दिपा दाहालको यो रिपोर्ट पढ्नुहोस् : पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?

अब कुरा गरौँ गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको समाचारबारे। भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको स्वामित्व धुर्मुस–सुन्तली फाउन्डेसनले पाँच वर्षअघि नै महानगरलाई सुम्पिएको थियो। तर त्यसअघिको उधारो भुक्तानी नहुँदा आफू र परिवारले मानसिक तनाव भोगिरहेको धुर्मुसको गुनासो छ।

फाउन्डेसनले रकम जुटाउन नसकेपछि रंगशालाको स्वामित्व लिएर बाँकी निर्माण सम्पन्न गर्न २०७८ पुस २ गते महानगरलाई पत्र पठाएको थियो। त्यसअघि, साउनदेखि नै रंगशालाको काम रोकिएको थियो। पत्र पाएको डेढ महिनापछि महानगरले २०७८ माघ २० मा स्वामित्व लियो।

महानगरले नयाँ ठेक्का लगाएर २०८१ साउनदेखि निर्माण अघि बढायो। तर फाउन्डेसनकै स्वामित्वमा रहको बेला रंगशाला निर्माणमा लागेको १८ करोड ४३ लाख ऋण भुक्तानीलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ। 

संघीय सरकारले उक्त ऋण तिर्न वार्षिक बजेटमार्फत नै रकम विनियोजन गरेको छ। तर उक्त रकम पनि नदिएको भन्दै आलोचना भएपछि भरतपुर महानगरले भुक्तानीका लागि कानूनी आधार नै नदेखिएको जनाएको छ। बरु यसको समाधान संघीय सरकारबाटै गरिनुपर्ने महानगरको भनाइ छ।

फाउन्डेसनलाई रकम उपलब्ध गराउने विषयमा दुई पटकसम्म मन्त्रिपरिषद् बैठकले नै निर्णय गरे पनि त्यसमा विभिन्न सर्त राखिएका छन्। तर त्यसरी भुक्तानी दिँदा सार्वजनिक खरिद ऐनविपरीत हुने भन्दै सम्बन्धित मन्त्रालय र महानगरका कर्मचारीहरू उक्त प्रक्रियामा सामेल हुन डराएका छन्। अब कुन निकायको निर्णयले फुक्न सक्छ गाँठो? यसबारे थप बुझ्न पढ्नुहोस् केशु लामिछानेको यो रिपोर्ट : रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनको ऋणको गाँठो कहाँ छ?

साताका प्रमुख हेडलाइनहरू

देश-समाज​​​​​​​

अराजक अभिव्यक्ति र आन्दोलनको धम्की दिइरहने दुर्गा प्रसाईंको शक्ति के हो?
कुनै समय सशस्त्र युद्धमा लागेका प्रसाईं शान्ति सम्झौतापछि मेडिकल व्यवसायीको रूपमा देखा परे। त्यसपछि अनेक अभियान चलाउँदै अहिले राजनीतिक दल खोल्ने प्रक्रियामा छन्। उनको यो शक्तिका पछाडि कोको छन्?

‘विशेष सुरक्षा योजना’को नाममा भएका व्यक्तिहत्याः सर्वोच्चको परमादेशपछि के हुँदैछ अनुसन्धान?
मधेशका जिल्लामा तत्कालीन सरकारले लागू गरेको ‘विशेष सुरक्षा योजना’अन्तर्गत मारिएका करिब चार सय व्यक्तिबारे अनुसन्धान गर्न सर्वोच्चले १४ वर्षपछि परमादेश दिएसँगै पीडित–सरोकारवालामा सत्य खुल्ने आशा जागेको छ।

मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?
अन्नबाली लगाउने र उठाउने मौसममा वर्षाको प्रवृत्ति निरन्तर परिवर्तन भइरहँदा पनि किसानले परम्परागत बीउ र विधि नै प्रयोग गरिरहेको कारण उत्पादन घट्दो छ। के अब मौसम अनुकूल हुन बालिचक्र नै बदल्नुपर्ने हो?

विवादै विवादको घेरामा कार्की सरकार
प्रधानमन्त्रीले मन्त्रीका लागि छानेका नामबाट शुरू हुन थालेको विवाद प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सचिवालयमा नियुक्ति गरेको खबरसँगै सुशीला कार्कीविरुद्धै प्रश्न उठ्न थालेको छ।

सडकमा छापछापी सार्वजनिक कुकुर, व्यवस्थापन मुस्किल हुँदा दुर्घटना
काठमाडौँ उपत्यकामा सार्वजनिक कुकुरको व्यवस्थापन चुनौती बन्दा मोटरसाइकल र पैदलयात्री जोखिममा परिरहेका छन्। तर स्थानीय तहले बन्ध्याकरणबाहेक व्यवस्थापनका अन्य उपाय पहिचान गर्नै सकेका छैनन्।

विचार-टिप्पणी

राजनीतिको कालो बादल: कांग्रेसलाई जोखिम उच्च
ओली, देउवा र दाहालको पतनले नागरिकले आशाका किरण देख्न थालेका थिए। दलको नेतृत्वमा नयाँ पुस्ता आउने र उनीहरू सुधारिएसँगै देशमा सुशासनको वातावरण हाबी हुने जनविश्वास जागेको थियो।

सबैभन्दा ठूलो देउता को?
सेवकहरू भन्दैछन्, "त्रीदेवमध्ये यिनै मूल हुन्। प्रजातन्त्रको मियो यिनै इष्टदेवको निवासमा गाडिएको छ। अन्यत्रका खम्बा सबै फलामका, यहाँको स्वर्णस्तम्भ। महाभेला गरेर प्रभुको शक्तिउपर सन्देह गर्नु पाप हो।"

अन्तर्वार्ता

‘देश निर्वाचनमा जाँदा राजनीतिक दल त्यसबाट पछि हट्न सक्दैनन्’
कानून भनेको चुनावको ढोका हो। त्यो ढोका खोलेपछि आयोगलाई अरु तयारी गर्न सजिलो हुन्छ। त्यसैले, मेरो आग्रह छ– छिटोभन्दा छिटो कानून ल्याइदिनुस्।​​​​​​​

'अष्टावक्रले सुझाएजस्तो नेतृत्व चाहिएको छ हामीलाई'
बीपी नेतृत्वको काँग्रेस निकै क्रान्तिकारी र अग्रगमनकारी पार्टी हो। आजको एमालेभन्दा २०३६ सालपछि, मदन भण्डारीहरूले नेतृत्व गरेको पार्टी निकै अग्रगमनकारी र क्रान्तिकारी हो।​​​​​​​

कला/संस्कृति

फिर्ता आएका मूर्ति पुनर्स्थापनामा कतै उत्साह, कहीँ अन्योल किन?
मूर्ति पुनर्स्थापनाका विषयमा कुनै समुदायमा देखिएको उत्सुकता र कतै देखिएको अन्योललाई समुदायको परिवर्तित मूल्यमान्यता र अपनत्वको भावनाले प्रभाव पारेको विज्ञहरू बताउँछन्।

सुगम–संगीत अर्थात् घाटाको बिजनेस (भिडियोसहित)
नारायण गोपाल वा अम्बर गुरुङले भनेजस्तो, संगीत विधा मनोरन्जन र आत्मरन्जनको मिलापमा चल्नुपर्ने हो। तर, त्यसो हुन सकेको छैन।​​​​​​​

खेल

पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुर २५ रनले पराजित
जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनमा पहिलो जित दर्ता गराएको छ।

विश्व

श्रीलंकामा बाढीपहिरो: मृत्यु हुनेको संख्या ५६ पुग्यो
बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडक जलमग्न भएका छन्। पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ।