समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २० देखि

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ।

काठमाडौँ– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुँदैछ।

आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी शुरू गरिएको हो। निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन्। 

मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ। आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेदवारको बन्द सूची अन्तिम प्रकाशन हुनेछ। 

समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराई छन्। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि  ४१  कर्मचारी खटिने छन्। 

विद्यमान कानून अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ। सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ। 

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ।