कर्णालीको रोमाञ्चक जित, साबिक विजेता जनकपुर अंकतालिकाको पुछारमा

एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णालीले साबिक विजेता जनकपुरलाई पराजित गरेको छ।

काठमाडौँ– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ।

कर्णालीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रनमा समेटियो।

जनकपुरका ब्याटर सञ्जय कृष्णमूर्तिले ३९ बलमा १ चौका र ४ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

त्यस्तै, संगीथ कुरेले ३२ बलमा २५ रन जोडे भने जान निकोल लोफ्टी-इटनले १३ तथा माज सदाकतले १२ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ कर्णालीका विलियम बासिस्टले २ विकेट लिए। त्यस्तै, मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान १-१ विकेट हात पारे।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। टोलीका लागि इमरान शेखले सर्वाधिक ३३ रन जोडे।

अन्य ब्याटरमा गुल्सन झाले १९, सोमपाल कामीले १८, प्रियंक पञ्चालले १६, विलियम बासिस्टले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाए।

जनकपुरका लागि बलिङतर्फ आदित्य महता र ललित राजवंशीले २-२ विकेट लिए।

प्रतियोगिताको लिग चरण समाप्त भएसँगै सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।

कर्णाली र जनकपुर यसअघि नै उपाधि होडबाट बाहिरिसकेका भए पनि आइतबारको खेल जित्दै कर्णालीले सुखद बिदाइ लिएको छ। यता साविक विजेता जनकपुर भने अंक तालिकाको पुछारमा रहँदै यस सिजनको प्रतियोगिता अन्त्य गरेको छ।