बाँकेमा तेलहन बालीको उत्पादन बर्सेनि घट्दो क्रममा

बाँकेमा तेलहन बालीको खेती हुने क्षेत्रफल नै घट्दो क्रममा छ। यसको खेतीलाई प्रोत्साहन गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने किसानहरूको भनाइ छ।

राँझा– बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ। खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए।

उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बाँकेमा ६ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो। यो उत्पादन अघिल्लो आवको तुलनामा १४.४१ प्रतिशत कमी हो।

बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ। तोरीबाहेक सर्युं, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ। किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्युं ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए। उनले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताए। 

नेपालगन्ज–२२ का किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउन, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउन र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउन आवश्यक रहेको बताए।  

तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।