डा. अमर गिरीका एकैसाथ दुई साहित्यिक कृति सार्वजनिक

डा. अमर गिरीका कवितासंग्रह ‘रातमा कलम’ र चिन्तनपरक निबन्धसंग्रह ‘समय, शब्द र संवाद’ सार्वजनिक भएका छन्।

काठमाडौँ– डा. अमर गिरीका दुई साहित्यिक कृति एकैसाथ बजारमा आएका छन्। गिरीका कवितासंग्रह ‘रातमा कलम’ र चिन्तनपरक निबन्धसंग्रह ‘समय, शब्द र संवाद’ प्रकाशित भएका हुन्। कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा कलम चलाउँदै आएका गिरीका यी कृतिलाई बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो।

कवि गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताको क्षेत्रमा सक्रिय छन्। उनका यसअघि ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ’, ‘दुःसाध्य समय’, ‘शब्दहरूका बीचमा’ र ‘समय संवाद’ गरी पाँच वटा कविता कृति प्रकाशित छन्।

कविताबाहेक, गिरीका मौलिक र सम्पादित गरेर दर्जनौँ समालोचना प्रकाशित छन्। उनका प्रमुख समालोचनामा ‘समय, समाज र संस्कृति’, ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’, ‘भूमण्डलीकरण र साहित्य’, ‘साहित्य विमर्श’ र ‘कवितामा वर्गद्वन्द्व’ पर्छन्।

प्रकाशक बेला पब्लिकेसन्सले डा. गिरीलाई कविताको यात्रामा ‘नथाक्ने काव्ययात्री’को संज्ञा दिएको छ। “कविताको उकालोमा पाँच दशकभन्दा बढी समय निरन्तर सक्रिय रहनु आफैँमा एक असाधारण प्रमाण हो,” प्रकाशक बेला पब्लिकेसन्सले भनेको छ।

गिरीका कविताहरू समाज, प्रकृति, जीवन र वर्गसंघर्षजस्ता विषयदेखि लिएर प्रेम, पीडा, आशा, निराशा र चिन्ताजस्ता मानव जीवनका सूक्ष्म भावनालाई पनि सहज शब्द संयोजन र सुन्दर शैलीमा अभिव्यक्त गरिएका हुन्छन्। 

“आम मान्छेका सुखदुःखलाई वाणी दिने, जीवनको महत्त्वको गाथा गाउने, संघर्षशीलहरूसँग ऐक्यबद्धता जनाउने र विकृत दुनियाँको विरुद्धमा निर्धक्क उभिने – गिरीका यी कविता कोमल लवजका तीखा स्वरहरू हुन्,” प्रकाशक भन्छन्।

पाँच दशकदेखि नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन, साहित्य र संगठनका क्षेत्रमा सक्रिय डा. गिरी प्रगतिशील लेखक संघका पूर्वअध्यक्षसमेत हुन्। उनले नेपाली प्रगतिवादी कवितामा विद्यावारिधि अनुसन्धान गरेका छन्।