३ दिनदेखि बेपत्ता व्यक्तिको गाडीसहित शव फेला

शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा इन्ट्री भएपछि उनी त्यही रातदेखि सम्पर्कविहीन भएका थिए।

उदयपुर– तीन दिनदेखि बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका ४० वर्षीय दीपेन्द्र केसीको शव सुमो गाडीसहित उदयपुरको कटारी–१४ पाखेमारा भीरमा फेला परेको छ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार, सोमबार साँझ सडकबाट करिब ३०० मिटर तल सुमो क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। क्षतिग्रस्त सुमो नजिकै केसीको शव पनि फेला परेको हो।

प्रहरीले मध्यराति नै भिरबाट शव उद्धार गरी शव परीक्षणका लागि कटारी अस्पताल पठाएको छ। उनले १३ मंसिरमा ना १ ज ५८१२ नम्बरको सुमोसहित उदयपुरको ताप्ली गाउँपालिका रूपाटार जाने भनी यात्रा शुरू गरेका थिए। रूपाटारमा विवाहका लागि रिजर्भ भएको जन्ती लिन केसी एक्लै सुमो लिएर गएका थिए।

शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा दर्ता (इन्ट्री) भएपछि उनी त्यही रातदेखि सम्पर्कविहीन भएका थिए। कटारी–१४ घुर्मी नजिकसम्म आइपुगेको भनी जानकारी गराएपछि उनी बेपत्ता भएको प्रहरीलाई सिन्धुलीको दूधौलीमा रहेकी उनकी श्रीमती सुशीला कार्कीले जानकारी गराएकी थिइन्।

फोन लाग्ने तर नउठेपछि, स्थानीय र प्रहरी लगायतले कटारी–१४ आसपासमा खोजी शुरू गरेका थिए। सोही क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा उनको शव फेला परेको हो।

केसी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। पाखेभीर आसपास मानव बस्ती नभएको र अत्यन्तै अप्ठ्यारो भीर भएकाले दुर्घटनाबारे कसैले पनि तत्काल जानकारी पाउन नसकेको प्रहरीको भनाइ छ।

एम्बुलेन्स दुर्घटनामा दुई गम्भीर घाइते
त्यस्तै, भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन्। प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो। 

बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ। घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिए।